शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अबिरल वर्षाले ठाउँठाउँको विद्युत् आपूर्ति अवरुद्ध

शुक्रबार, २१ असोज २०७९, १९ : ०७
शुक्रबार, २१ असोज २०७९

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठुलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत् आपूर्ति अवरुद्ध भएको छ । मुख्य रूपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लामा विद्युत् प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ ।  

दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत बेलडाँगी भन्ने स्थानमा पहिरोले टावर ढालेको आशङ्का गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १३२ केभी प्रसारण लाइनको टावर ढलेको खबर आएको तर पहिरोका कारण उक्त स्थानमा पुग्न नसकिएकोले यकिन हुन नसकिरहेको बताए । प्रसारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएको र अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत् दिइएको कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत् आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत् खपत गर्ने सिमेन्ट उद्योगहरू सञ्चालित छन् । प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको अवस्थामा आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत् आपूर्तिको योजना बनाएको घिसिङले उल्लेख गरे ।

‘वर्षाले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्‍याएको छ, चाडपर्वको वेला पनि हाम्रा कर्मचारीहरूलाई काममा खटाएर तत्काल मर्मत सम्भार तथा वैकल्पिक व्यवस्था गरी ग्राहकलाई विद्युत् आपूर्ति दिइरहेका छौँ,' घिसिङले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप