शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेले मकवानपुरमा कमल थापालाई नसघाउने

शुक्रबार, २१ असोज २०७९, २१ : ३१
शुक्रबार, २१ असोज २०७९

मकवानपुर । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गर्ने चर्चा चले पनि अन्ततः जिल्लाका दुवै निर्वाचन क्षेत्रमा पार्टीबाट उम्मेदवार घोषणा गरेको छ । एमालेले प्रतिनिधिसभा अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा रामेश्वर राना र क्षेत्र नम्बर २ मा महेश बर्तौलालाई उम्मेदवार बनाउने भएको हो ।

एमालेको यो निर्णयसँगै मकवानपुरमा राप्रपा नेपालसँग उसको तालमेलको सम्भावना अन्त्य भएको हो । यसअघि मकवानपुरमा एमालेले राप्रपा नेपालसँग तालमेल गर्ने चर्चा चलेको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट उम्मेदवारी दिने तयारीमा छन् । उनले एमालेको समर्थन पाउने अपेक्षा गर्दै आएका थिए ।

तर, शुक्रबार एमालेले प्रतिनिधिसभातर्फ मकवानपुरका दुवै क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने गरी टिकट टुङ्ग्याएसँगै राप्रपा नेपालसँग तालमेलको ‘च्याप्टर क्लोज’ भएको छ ।

एमाले नेता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलका अनुसार एमालेले विगतदेखि नै राप्रपा नेपालसँगको गठबन्धन र कमल थापालाई सघाउने विषयमा छलफल गरेकै छैन । राप्रपा नेपाल र अध्यक्ष थापाले आफ्नो अनुकुलताका लागि एमालेसँगको गठबन्धनको हल्ला चलाएको पौडेलको भनाइ छ ।

‘एमालेभित्र विगतदेखि नै राप्रपा नेपालसँगको गठबन्धनको विषयबारे छलफल भएको छैन । चुनाव घोषणापछि एमाले र राप्रपाबीचको गठबन्धनबारे आफू अनुकुल राप्रपा नेपाल र सो पार्टीका अध्यक्ष कमल थापाले चर्चा चलाएका हुन्,’ उनले भने ।

राप्रपा नेपालको संगठन कमजोर रहेको र अध्यक्ष थापाको पनि मकवानपुरमा कुनै प्रभाव नरहेकाले आफूहरुले गठबन्धन गर्न नचाहेको पौडेलले बताए ।

‘उहाँहरुको न संगठन छ, न जनमत । हाम्रो मतले जित्छु भनेर हल्ला चलाएर हुँदैन नि ! जनताको साथ पनि त चाहियो । जनता नै राप्रपा नेपालको पक्षमा छैनन् भने हामीले के आधारमा गठबन्धन गर्ने ?’ उनले प्रश्न गरे ।

राप्रपा नेपालले गठबन्धनको चर्चा सुरु गरे लगत्तै एमाले मकवानपुरले पनि जिल्लाको वस्तुस्थितिबारे केन्द्रलाई जानकारी गराएको पौडेलले बताए । सोही अनुसार केन्द्रले आगामी निर्वाचनमा एमाले एक्लै चुनावमा जाने तयारी गरेर प्रतिनिधिसभातर्फको दुवै सिटमा आफ्ना उम्मेदवार उठाएको उनको भनाइ छ ।

‘राप्रपा नेपालले एमालेसँगको गठबन्धनबारे चर्चा सुरु गरेपछि हामीले सो पार्टीको बस्तुगत स्थितिबारे केन्द्रमा जानकारी गराएका थियौं । केन्द्रले पनि कमजोर धरातल भएको पार्टी र व्यक्तिलाई सहयोग गर्नुको अर्थ नरहेको निष्कर्ष अनुसार मकवानपुरको दुवै क्षेत्रमा हामीले हाम्रा उम्मेदवार उठाएका हौं,’ उनले भने ।

यता राप्रपा नेपाल भने अझै पनि एमालेसँग गठबन्धनका लागि कसरतमा  छ । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित महामन्त्री राजाराम बर्तौलाले केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तालमेलका लागि छलफल गर्दै आएको राप्रपा नेपालका एक नेताले बताए । उनका अनुसार मकवानपुर–१ मा कमल थापालाई एमालेसँगको गठबन्धनबाट उम्मेदवार बनाउन प्रयास जारी रहेको र आवश्यक परे थापा ‘सूर्य’ चुनाव चिह्न लिएर पनि चुनाव लड्न सक्ने गरी छलफल भइरहेको छ ।

आगामी निर्वाचनमा एमालेले मकवानपुरको प्रदेशसभातर्फको ४ क्षेत्रका लागि पनि उम्मेदवार तय गरेको छ । एमालेले मकवानपुर–१ (क) बाट कमल विष्ट, मकवानपुर–१ (ख)बाट एकलाल श्रेष्ठ, मकवानपुर–२ (क) बाट विष्णु ढकाल र मकवानपुर–२ (ख)बाट लालबहादुर थापालाई उम्मेदवार बनाउने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप