शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नोटको कथाः रंग बदलेन रु २० र रु ५०० ले, सिद्धिए रु १,२, २५ र २५०

शनिबार, २२ असोज २०७९, ०९ : ०७
शनिबार, २२ असोज २०७९

दसैँ भन्ने वित्तिकै सम्झने एउटा प्रमुख कुरा नोट पनि हो । पैसा नभएर दसैँ मनाउन नपाएका, दसैँमा नयाँ नोट साट्ने, दसैँको लागि चानचुन पैसाको जोहो गर्ने जस्ता विषय नोटसँग नै सम्बन्धित छन् । 

नेपालमा पहिलो पटक नोट निष्कासन गरिएको विसं २००२ साल असोज १ गतेदेखि हो । सो मितिमा तत्कालिन श्री ३ जुद्ध शमशेरको इश्तिहारबाट कागजी मुद्राको रुपमा ३ दरका नोटहरु चलन चल्तीमा ल्याइयो । ती दरहरु रु ५,१० र १०० दरका थिए । हालसम्म नेपालमा ११ दरका नोटहरु चलन चल्तीमा आएका छन् ।

​स्वर्गीय जयहरि झाले लेखेको पुस्तक ‘नेपाली कागजी मुद्राः एक समीक्षा’का अनुसार नोटमा ३ जना खजाञ्चीले हस्ताक्षर गरेका छन् । तीन जना नै खजाञ्चीहरु पाण्डे थरका (जनकराज पाण्डे, भरतराज पाण्डे र नरेन्द्रराज पाण्डे) छन् । नोटमा १७ जना गभर्नरले हस्ताक्षर गरेका छन् । नेपाली नोटमा हस्ताक्षर गर्न पाउने एक जना डेपुटी गभर्नर पनि छन् । कार्यवहाक गभर्नरको रुपमा डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले पनि हस्ताक्षर गरेका छन् ।

खजाञ्चीका रुपमा नोटमा हस्ताक्षर गर्ने अन्तिम व्यक्ति नरेन्द्रराज पाण्डे हुन् । उनले पनि रु ५,१० र १०० दरकै नोटमा हस्ताक्षर गरेका थिए । विसं २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएपछि पहिलो पटक गभर्नर बनेका हिमालय शमशेर जवराले ४ थरीको नोटमा हस्ताक्षर गरेका छन् । 

अर्थशास्त्रमा विद्यावारिधी गरेका पहिलो गभर्नर डा. भेषबहादुर थापा हुन्, जसले ३ दरका नोटहरुमा हस्ताक्षर गरेका छन् । डा. यादवराज पन्त गभर्नर भएको बेलामा पहिलो पटक रु ५०० र  रु १००० दरका नोट चलन चल्तीमा ल्याइयो । यस्तै, कुलशेखर शर्मा गभर्नर बनेको समयमा रु. ५० दरका नोटहरु चलन चल्तीमा ल्याइएको हो भने रु. २ र रु २० दरका नोटहरु कल्याणविक्रम अधिकारी गभर्नर बनेको समयमा चलन चल्तीमा ल्याइएको हो । 

सबैभन्दा धेरै दरका नोटहरु गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठको पालामा चलन चल्तीमा आए । तत्कालिन राजा श्री ५ वीरेन्द्रको गद्दी आरोहण रजत महोत्सवको शुभउपलक्ष्यमा रु २५ र रु २५० दरका नोटहरु पनि चलन चल्तीमा ल्याइयो । रु १ दरका नोट अहिले राष्ट्र बैंकले छाप्दैन । रु १ दरका नोटमा हस्ताक्षर गर्ने अन्तिम गभर्नर पनि श्रेष्ठ नै हुन् । 

यस्तै,रु २ दरका नोट पनि राष्ट्र बैंकले छाप्न छोडेको छ । रु २ दरका नोटमा अन्तिम हस्ताक्षरगर्ने गभर्नर दीपेन्द्र पुरुष ढकाल हुन् । डेपुटी गभर्नर भएर पनि नोटमा हस्ताक्षर गर्ने सौभाग्य पाउने व्यक्ति कृष्णबहादुर मानन्धर हुन् । 

राजा त्रिभुवनको चित्र अंकित पहिलो नोटमा खजाञ्ची जनकराज पाण्डेको हस्ताक्षर छ भने त्रिभुवनको चित्र अंकित अन्तिम नोटमा खजाञ्ची नरेन्द्रराज पाण्डेको हस्ताक्षर छ । यस्तै, राजा महेन्द्रको चित्र अंकित पहिलो नोटमा गभर्नर हिमालय शमशेर जवराको हस्ताक्षर छ भने उनको चित्र अंकित अन्तिम नोटमा गभर्नर डा. यादवप्रसाद पन्तको हस्ताक्षर छ । 

राजा वीरेन्द्रको चित्र अंकित पहिलो नोटमा गभर्नर कुलशेखर शर्माले हस्ताक्षर गरेका छन् भने उनको चित्र अंकित अन्तिम नोटमा गभर्नर दीपेन्द्र पुरुष ढकालको हस्ताक्षर छ । एक रुपैयाँ दरको पहिलो नोटमा खजाञ्ची नरेन्द्रराजले हस्ताक्षर गरेका छन् । यो दरको नोटको रंग नीलो र खैरो छ । 

दुई रुपैयाँ दरको पहिलो नोटमा गभर्नर कल्याणविक्रम अधिकारीले हस्ताक्षर गरेका छन् । सो दरको नोटको रंग हरियो, नीलो, प्याजी, सुनौलो र बहुरंगी छ । पाँच रुपैयाँ दरको पहिलो नोटमा खजाञ्ची जनकराज पाण्डेको हस्ताक्षर छ । सो दरका नोटको रंग प्याजी र बहुरंगी छ । 

दश रुपैयाँ दरको पहिलो नोटमा खजाञ्ची जनकराज पाण्डेको हस्ताक्षर छ । सो दरको नोटमा रंग प्याजी र बहुरंगी छ । बीस रुपैयाँ दरको पहिलो नोटमा गभर्नर कल्याणविक्रम अधिकारीको हस्ताक्षर छ । सो दरको नोटको रंग गाढा सुन्तला, खैरो बहुरंगी छ । 

यस्तै, पच्चिस रुपैयाँ दरको पहिलो नोट (र अन्तिम पनि) मा गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठको हस्ताक्षर छ । सो दरको नोटको रंग हल्का खैरो, हरियो र रातो छ । पचास रुपैयाँ दरको पहिलो नोटमा गभर्नर कुलशेखर शर्माको हस्ताक्षर छ । सो दरको नोटको रंग हल्का बैजनी, नीलो, हल्का हरियो र खैरो छ । 

सय रुपैयाँ दरको पहिलो नोटमा खजाञ्ची जनकराज पाण्डेको हस्ताक्षर छ । सो दरको नोटको रंग गाढा हरियो, खैरो र बहुरंगी छ भने दुई सय पचास दरको पहिलो (र अन्तिम पनि) नोटमा गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठको हस्ताक्षर छ । सो दरको नोटमा नीलो, हरियो, रातो र बहुरंगी रंग प्रयोग गरिएको छ । 

पाँच सय दरको पहिलो नोटमा गभर्नर यादवप्रसाद पन्तको हस्ताक्षर छ । सो दरको नोटमा सुरुदेखि अहिलेसम्म नै खैरो र प्याजी रंग प्रयोग गरिएको छ । हजार रुपैयाँ दरको पहिलो नोटमा गभर्नर यादवप्रसाद पन्तले हस्ताक्षर गरेका छन् । सो दरको पहिलो नोटमा गाढा नीलो, गुलाफी, खैरो र हल हरियो रंग प्रयोग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप