विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब गाउँ, गाउँ रहेन

सोमबार, २४ असोज २०७९, १२ : ००
सोमबार, २४ असोज २०७९

आज म मेरो गाउँघरको कथा कहन्छु ।  दशकअघि गाउँका प्रत्येक घर घरमा आफूलाई पुग्ने लसुन, प्याज, खुर्सानी, सागसब्जी लगायतका भान्साका अत्यावश्यक मसला र तरकारी करेसाबारीमा फल्थे । सिजनल फलफूल पनि वगैँचामा लटरम्म हुन्थे । धान, मकै, कोदो, गहुँ, फापर, तोरी, तिलले बारी झकिझकाउ र हराभरा रहन्थे । खेताला जाने, मेलापात अर्मपर्मको बेग्लै स्वाद र मजा हुन्थ्यो । विशेष गरी सत्यनारायण र स्वस्थानी पूजाको रौनक उल्लेखनीय र रोमान्चकारी हुन्थ्यो ।

महाभूकम्प २०७२ पछि गाउँघरको रूप फेरिएको छ । गाउँमा पनि प्रायः आरसीसी ढलान घर बन्न थालेका छन्् भने पुराना रातोमाटो र कमेरो पोतिएको घर भेट्टाउन मुश्किल छ । भूकम्प प्रतिरोधी घर बनाउन परेको कारण पुराना ढाँचाका घर मासिएर गाउँ आधुनिक घर निर्माणको चरणमा पुगेको छ ।

पिंढी, दलान, बुइगल र बार्दलीयुक्त घर एकदम थोरै मात्र छन्् । गाउँ हुनुको अर्थ बोक्ने घरहरू लोपोन्मुख बन्दै छन्् । गाउँको मौलिकता मासिएको छ । सभ्यता र संस्कृति आधुनिकीकरणको चपेटामा परेर बसेको छ । स्वत्व गुमाएको स्थितिमा छ गाउँ । अब गाउँ गाउँ रहेन ।

गाउँमा बलिया बाङ्गा, बाहुबली मान्छे र तन्नेरीहरू छैनन् । छन् त कमजोर वृद्ध बृद्धा र महिला, केटाकेटी अनि अशक्त मान्छेहरु मात्रै छन् । गाउँमा मरौ परौ पर्यो भने शव काँधमा राखेर हिँड्नेहरुको अभाव छ । मृतकको घर गएर सहानुभूति, सान्त्वना, सहयोग र समवेदना दिने मान्छेको अभाव छ । बरु मान्छे मरेको समाचार र समवेदना सामाजिक सञ्जालको भित्तोमा बेस्सरी हेर्न पाइन्छ ।

यसरी गाउँमा दुःखमा बसेका मान्छेको छेउमा बसेर सहानुभूति दिने मान्छेको रिक्तता छ । केही सीमित तन्नेरीले मात्रै गाउँको जीवन जेनतेन धानिएको छ । जीवित र चलायमान बनाउने थोरै मान्छेमात्र गाउँमा सकस खपेर बसेका छन् ।

गाउँ चलायमान बन्न कि दसैँ, तिहार जस्ता चाडपर्व आउनुपर्छ कि राजनीतिक पार्टीको कार्यकर्म या चुनाव आउनुपर्छ । अन्य समय गाउँ सुनसान र रौनकता हराएको बेहुली अन्माएको घर अनि कार्यक्रम सकिएको रङ्गमञ्च जस्तो हुन्छ  ।

त्यसो त दसैँमा पिङ हाल्ने र रमाइलो गर्ने नाचगान गर्ने चलनमा पनि उत्तिकै शिथिलता आएको देखिन्छ भने तिहारको देउसी भैलो पनि थोरै जाँगर भएकाहरुको कर्म काण्ड जस्तो मात्रै भएको छ । रमाइलो भनेको जाँड रक्सी खानु, झगडा गर्नु र जुवातास खेल्नुमा सीमित बनेको छ ।

गाउँबाट सिर्जनात्मकता हराएको छ । यद्दपि पहिले जति र पहिले जस्तो नभए पनि दसैँ, तिहारको रन्को र आत्मीयता भने अरुबेला भन्दा भिन्न र अलि बढी मोहक देखिन्छ र भोगिन्छ गाउँमा । दसैँले माटो सम्झाउँछ, कर्तव्य सम्झाउँछ, सत्यको बाटोमा हिँड भन्छ । दसैँ जस्तै हाम्रा चाडपर्व मेला उत्सवले सांस्कृतिक, भौतिक आर्थिक, मनोवैज्ञानिक, अध्यात्मिक पक्ष देश जोड्नु पनि हो । त्यसैले नेपालीहरू जो जहाँ रहे पनि पर्व विशेषमा आफ्नो सालनाल गाडेको माटोमा फर्कन र रमाउन चाहन्छन् ।

गाउँमा भौतिक विकास र परिवर्तन भने भित्रिएको छ । बिजुली बत्ती बलेको छ, मोटर बाटो बनेको छ । टोल टोलमा मोटर बाटो बनेर गाउँमा मोटरसाइकल चढ्ने मान्छे र भाडामा चल्ने ट्रयाक्टर, बोलेरो गाडी, ई रिक्सा पुगेका छन् । गाउँले जीवन सहज चै भएको छ ।

पहिले पहिले यी सब थिएनन् तर पनि मान्छेहरु आफ्नो भविष्य र भाग्य यही हो भनेर गाउँमै बस्थे । आफ्ना पाखुरी बजार्थे । दश नंग्रा खियाउँथे । श्रम र पसिनाले गाउँ हराभरा र मनोहर बनाउँथे । गाउँमै रंगीन सपना देख्थे र गाउँमा रङ्ग भर्थे । मेलापात, दाउरा घाँस जाँदा रनबन घन्काउँथे । यसरी गाउँ रमाइलो थियो । तर आजकल त्यो गाउँले रौनकता कता छुट्यो, कता हरायो बिलायो, खै...?

सूचना र सञ्चारमा सहरजस्तै गाउँले पनि ठूलो फड्को मारेको छ । धेरै घरमा परिवारका वयस्क सबैको हातमा मोबाइल छ । इमेल, इन्टरनेट, फेसबुकलगायत अनेकन सामाजिक सञ्जालको कारण गाउँका मान्छे पनि आफ्नो घर आँगनबाट संसार विचरण गर्न सक्ने भएका छन् । सूचना र सञ्चारमा अपूर्व क्रान्तिकारी छलाङ नै मारेको छ मेरो गाउँले । शायद तपाईको गाउँले पनि ।

अहिले गाउँमा स्कुल जताततै छन् । तर सरकारी स्तरबाट सञ्चालित विद्यालयमा विद्यार्थी छैनन् । तर, शिक्षक शिक्षिका थुप्रै छन् । गाउँका शिक्षकाहरु स्कुल कर्म कम, राजनीतिक कर्म बढी गर्छन् । उनीहरु आफ्नो पाठ्यपुस्तकबारे कम र राजनीतिक पार्टीका कार्यक्रमबारे बढी चासो सरोकार राख्छन्, जानकार हुन्छन् । राजनीतिक पार्टीको घोषणापत्र मुखाग्र पार्ने सर र म्यामहरु आफूले पढाउने विषय र व्यवस्थाबारे बेखबर छन् ।

गाउँका सरकारी स्कुलको गुणस्तर खस्कनुमा सोही स्कुलमा पढाउने शिक्षकहरुको पनि हात छ, जसले आफूले पढाउने स्कुलमा आफ्ना छोराछोरी र आफन्तलाई पढाउदैंनन् । अयोग्य कुनै शिक्षक शिक्षिका हटाउने बुता सम्बन्धित तालुकदार निकायको हुन्न । शिक्षक सङ्घ संगठनको दादागिरी अघिल्तिर सरकार निरीह छ । जसको नतिजा सरकारी शिक्षा नाजुक र गए गुज्रेको स्थितिमा छ ।

गाउँमा प्लस टु सम्मको शिक्षा सहज छ, जसले वैधानिक तवरले शिक्षाको डिग्री बाँडेको छ तर गुणस्तर शुन्य छ । सर्टिफिकेट यति पढेको छु भन्न र कतै जागिर खुले आवेदन दिन काम लाग्छ तर जीवनयापन गर्न सीप र दक्षता छैन । क्षमता अभिवृद्धि गर्ने र रोजगार दिने र कामको महत्व नहुने शिक्षाको के काम ? आज नेपालका अधिकांश गाउँ र शिक्षाको स्तर यही हो ।

गाउँमा मोटरबाटो पुग्नु राम्रो हो तर मोटरबाटो जानुपर्ने ठाउँमा नपुगेर कतिपय नजानु पर्ने ठाउँमा पनि पुगेको छ । प्राविधिक ज्ञान र भौगोलिक बनावटको अध्ययन अनुसन्धान र विश्लेषण बिना निर्ममतापूर्वक डोजर चलाएर बाटो खनिएको छ । गाउँमा राजनीति गर्ने मान्छे र तिनको लहडमा वैज्ञानिक पद्धति र मापदण्ड मिच्दै जथाभावी बाटो बनाउँदा मृत्युको धराप थापिएको छ भने बाढी पहिरो र भूक्षयको समस्या पनि बढ्दो छ ।

जेहोस्, गाउँमा मोटर पुग्यो तर मोटर पुगेपछि त्यसबाट फाइदा लिने र त्यसको वर्षभरि नै उपभोग गर्ने मान्छेको कमि छ । सहर पस्दा गाउँबाट आउने पोका पुन्तुरा कम देखिनुले गाउँको उत्पादन अवस्था झल्काउँछ । जबकि सहरमा गाउँबाट जति धेरै पोका झोला र कुम्लो आउँछ, उति नै गाउँ आत्मनिर्भर भएको सन्देश पाइन्छ तर स्थिति त्यस्तो छैन । बरु सहरको पोका, धोक्रा र प्याकिङ आइटम गाउँ पुगेको छ ।

साधारण पढेलेखेका मान्छे अवसर खोज्दै सहरी बस्तीमा त्यहाँ नभए सदरमुकामतिर र काठमाडौं छिरेका छन् । गाउँको बस्ती रित्तो छ । खेतीयोग्य भूमि निष्काम र बाँझा भएर झाडीमा परिणत भएको छ । व्यवसायिक खेती परको कुरा भयो, परम्परागत खेती गर्ने मान्छेको अभावमा गाउँ उजाड छ । मोटरबाटो पुगेका केही ठाउँका खेतीयोग्य जमिन प्लाटिङ गरेर घडेरीमा बिक्री हुँदै गरेको पाइन्छ ।

गाउँमा कृषि अपहेलित र अमर्यादित बनेको छ । हलो, धुलोसँग गाउँका मान्छेको वितृष्णा बढ्दै गएको छ । आलु, साग र लसुन उब्जाएर खान भन्दा किनेर खान सस्तो पर्ने र किन्दा गर्व गर्ने संस्कृति बन्दै गएको छ । कृषि कर्म गर्ने मजदूर, ज्यालादारी खेताला अर्मपर्म गर्ने मान्छे नपाउने कारण कृषि महँगो भयो ।

कृषिबाट प्रतिफल नगन्य मिल्ने तर लागत बढी र जोखिमयुक्त भयो । लगाएका बालीनाली पनि वन्यजन्तु बँदेल, बाँदरले खाएर हैरान बनाएको आम मान्छेको गुनासो छ । कृषि कर्म नै गर्छु भन्नेको लागि अपेक्षित लाभ लिने वातावरण र सरकार सहजकर्ता बन्न सकेको छैन । ठूलो उत्साह लिएर कृषिमा लाग्ने पनि अनपेक्षित हानी र क्षयले पेशाबाट पलायन बनेको देखिन्छ ।

कृषि मान्छेको सभ्यताको प्रारम्भिक दिनको एक सभ्य र सम्मानित संस्कृति आज हेलाको विषय बनेको छ । संस्कृति भनेको नै कृषि भनेर बुझ्न बुझाउन अत्यावश्यक छ । अग्र्यानिक बुद्धिजीवीले कृषिलाई सम्मानित पेशा बनाउन र मान्न विशेष वैचारिकी निर्माण गर्दै राज्यलाई दबाब दिन सकिएन भने कृषि धरासायी बन्ने पक्का छ ।

पहिले पहिले गाउँका हरेक घरमा गाई या भैसी दुहुना हुन्थे, खेतीपाती नगर्ने भएपछि मान्छेले गाई भैसी गोरु पाल्न पनि छोडे । दूध, दही, मही, घ्यू घर घरमा हुन छोड्योे । दूधको साटो हर्लिक्स र पाउडर दूधले स्थान लियो । दही मोइको सट्टा कोक फेन्टा र जुसका पाउडर गाउँ पुगेर रजाई गर्न थाल्या छ । सर्वत खाने, दही मोही खाने र पाउनालई खुवाउने चलनलाई चिसो पेय पदार्थका अनेक उत्पादनले विस्थापित गरेका देखिन्छन् ।

आफ्नो घरको घ्यू भन्दा सहरमा पाइने पाइने रामदेवको घ्यूमा गाउँका बा आमाले रेडियो सुनेर, टेलिभिजन हेरेर लोभिन र मगाउन थालेका छन् । सहर हुँदै रामदेवको उत्पादन गाउँ छिरिसक्यो । गाउँको अग्र्यानिक र मौलिक वस्तु र खाद्यन्न खाजा पनि विस्थापनको चपेटामा परेर चाउचाउ, चना चटपटे, पानी पूरी र लेज कुरकुरे स्कुले नानीहरु र बुढाबुढी बा आमाको स्वादको परिकार बन्दैछ ।

गाउँका मौलिक र स्वास्थ्यवद्र्धक खानपान पाखे र असभ्य बन्दै छ भने स्वास्थ्यको लागि हानिकारक केमिकल प्रयोग गरिएका अखाद्य तत्व मिश्रित वस्तु प्रिय खान्की बन्दै गएको छ । शायद अबको ५ बर्षभित्र धर्मवस्त्रधारी, धूर्त व्यापारी रामदेवको योग पिठ्ले हाम्रो बजारमा एकछत्र राज गर्नेछ । बजार अतिक्रमण युद्धस्तरमा सुरु भएको छ । प्रचारीकरणले बजार मैलो भएको तथ्य जगजाहेर छ ।

पतन्जलीको उत्पादनले हामी निरोगी हुन्छौ हुन्नौ, थाहा छैन । तर, हाम्रो अर्थतन्त्र निःसन्देह रोगाउने छ, मक्काउने छ । हामी गफमा स्वाभिमानी र स्वावलम्बी तर व्यबहारमा निर्मम तवरले परनिर्भरताको चंगुलमा फसेका छौं ।  आज हामी हाम्रो मौलिक उत्पादन गुन्द्रुक समेतमा परनिर्भर छौं भने जनै समेत चीनले उत्पादन गराएर पठाएको स्थिति छ ।

यसरी लवाई खवाई, शैली र जीवन पद्दतिसमेत अतिक्रमण र परनिर्भरताको जन्जिरमा फँसेको छ । कृषि उठाउने सरकारी नीति नबनेसम्म हाम्रो परनिर्भरता अरू बढ्ने छ ।

यद्दपि गाउँको गुमेको साख र रौनक फिर्ता ल्याउन अझै सकिन्छ । गाउँ हराभरा र भरिलो रसिलो बनाउने, जागरुक गतिशील र शक्तिशाली बनाउने सपना र उपाय जीवितै छन् । आत्मनिर्भर अर्थतन्त्र र आत्मनिर्भर स्वाभिमान निर्माण गर्न स्थानीय सरकारदेखि प्रदेश हुँदै केन्द्र सरकारले बिदेशिएका ८० लाख कर्मशील हात पाखुरालाई देशमा तान्ने र उता बेचेको श्रम र सिपले यही धनी बन्ने युवा लक्षित नीति र देश फर्काएर यहीँ राख्ने कार्यक्रम तय गर्नुपर्छ ।

हाम्रो अर्थतन्त्रको मेरुदण्ड कृषिलाई सम्मानको पेशा र आत्मनिर्भर अर्थतन्त्रको जग बनाउने उदेश्यसहित ग्राह्यता दिने बैंकिङ लोन र झन्झटबिहीन सरकारी प्रक्रियालाई पहिलो शर्त बनाउनु पर्छ । कृषिलाई व्यावसायिक, आधुनिक यान्त्रीकरण बजारीकरण, विविधीकरण र औखेगीकरण गरी सर्वसुलभ बीउबिजन, प्रविधि, सिँचाई र कृषकका उत्पादन स्थानीय स्तरमा भाउ तोकेर नै किनिदिने सरकारी संयन्त्र निर्माण गरेर आकर्षण गर्ने हो भने कृषि आफैमा गतिशील बन्ने पेशा हो ।

कृषि हीनताबोधी पेशा नभएर सम्मानको पेशा र मनग्य आयआर्जन गर्ने व्यवसायको रूपमा विकास गरिनुपर्छ । मान्छेको प्राण बचाउने संसारको उत्कृष्ट पेशा कृषि भनेर गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

कृषिका अलावा हाम्रो देशको जल, जमिन, जडीबुटी, जंगल र पर्यटन हिमाली पर्यटन र धार्मिक पर्यटन, प्राकृतिक सम्पदा सबै विदेशी मुद्रा आर्जन गर्ने आधार र सम्भावना प्रचुर भएका क्षेत्र हुन् । यसर्थ यिनको विकास र सम्भाबनालाई मध्यनजर गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य र उद्देश्य निर्धारण गरी देश विकासको नवीन खाका कोर्नुपर्छ । अनि मात्र गाउँ उज्यालो हुन्छ ।

गाउँ उज्यालो हुनु भनेको देश उज्यालो हुनु हो । गाउँको विकास र परिवर्तन कुनै अलौकिक कुरा हैन, जुन हाम्रै खेतबारी र प्रयासबाट सम्भव छ, मात्रै सरकारले होस्टेमा हैंसे थपिदिए पुग्छ । यसर्थ गाउँ बनाउने भिजन भएका मान्छेलाई गाउँलेले पनि प्रोत्साहन गर्नु जरूरी छ ।

 लेखक त्रिवि, कीर्तिपुरमा एमफिल–पीएचडी अनुसन्धाता हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप