बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक भोटलाई १ हजार खर्चिँदै उम्मेदवार, कुल खर्च ११ अर्ब ५७ करोड

सोमबार, २४ असोज २०७९, १२ : ३१
सोमबार, २४ असोज २०७९

राज्यका निकायहरुले तोकेको जतिमात्रै रकम खर्च गर्दा पनि नेपालको निर्वाचन प्रणाली महँगो पर्न थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुले खर्च गर्न पाउने रकम र खस्ने सम्भावित मत तुलना गर्दा प्रतिमत १ हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारले प्रति उम्मेदवार २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म तोकेको छ । यसरी खर्चको सीमा तोक्दा आयोगले कुन निर्वाचन क्षेत्रमा कति खर्च गर्न पाइने भन्ने यकिन विवरण नै सार्वजनिक गरेको छ । मतदाता संख्या, क्षेत्रफल, भौगोलिक बनावट जस्ता विषयलाई आधार बनाएर आयोगले खर्चको सीमा तोकेको हो । यस्तै, प्रदेशसभा निर्वाचनको लागि एक जना उम्मेदवारले १५ लाख रुपैयाँदेखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाइने भनिएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभाको लागि २१ सय २८ जना उम्मेदवार बनेका छन् । यी उम्मेदवारले औसतमा गर्न खर्च २९ लाख रुपैयाँ मान्दा उम्मेदवारहरूले गर्ने खर्च ६ अर्ब १७ करोड १२ लाख रुपैयाँ हुन आउँछ । आयोगले दिएको सीमाभन्दा बढी खर्च भएमा यस्तो खर्च रकम अझ बढी हुनेछ । यद्यपि, कानुनी रुपमा भने आयोगले तोकेको सीमासम्मको मात्रै खर्च देखाउन पाइन्छ ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशसभा निर्वाचनको लागि २८ सय ४५ उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभा निर्वाचनको लागि एक जना उम्मेदवारलाई निर्वाचन क्षेत्र अनुसार १५ लाख रुपैयाँदेखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ । प्रदेशसभा उम्मेदवारले गर्न खर्च औसतमा १९ लाख रुपैयाँ मान्दा ती उम्मेदवारले ५ अर्ब ४० करोड ५५ लाख रुपैयाँ खर्च गर्ने देखिएको छ । र, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरूले गर्न पाउने खर्चको औसत हिसाव गर्दा पनि उम्मेदवारहरूको कुल खर्च ११ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ हुनेछ ।

आयोगले सार्वजनिक गरेको अर्काे एक विवरण अनुसार मंसिर ४ गतेको निर्वाचनको लागि १ करोड ७९ लाख ८८ हजार ५७० योग्य मतदाता छन् । गत बैशाख अन्तिम साता भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मत खसेको थियो । सो समयमा खसेको मतलाई नै आधार मान्ने हो भने मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा १ करोड १३ लाख ४९ हजार ५८३ मत (कुल मतको ६४ प्रतिशत) खस्नेछ । 

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्च र मतदाता संख्या तुलना गर्दा प्रति मतदाता १ हजार २० रुपैयाँ जति खर्च हुने देखिएको छ । अर्थात सो निर्वाचनमा एक जना उम्मेदवारले एक भोटको लागि १ हजार २० रुपैयाँ खर्च गर्दैछन् । 

१० अर्ब खर्च गर्दै सरकार

मंसिर ३ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारको पनि १० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । निर्वाचन आयोगले सो निर्वाचन सम्पन्न गर्नको लागि १० अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै सरकारसँग माग गरेको छ । 

सरकारले पनि आयोगलाई आवश्यक पर्ने रकमको व्यवस्था गरिसकेको छ । आयोगलाई आवश्यक पर्ने रकमको व्यवस्था गरिएको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । सो निर्वाचनमा उम्मेदवारले खर्च गर्न साढे ११ अर्ब र सरकारले गर्ने १० अर्ब गरी साढे २१ अर्ब रुपैयाँ खर्च हुने देखिएको हो । मतदाता संख्यालाई आधार मान्दा सो निर्वाचनमा प्रतिमत १९ सय रुपैयाँभन्दा बढी खर्च हुने देखिएको छ ।

कुन प्रदेशबाट कति उम्मेदवार ?

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि ४९ सय ७३ जनाले उम्मेदवारी दर्ता गराएका आयोगले जानकारी दिएको छ । यसमध्ये प्रतिनिधिसभाको लागि १९१ जना महिला र १९३७ जना पुरुष गरी २१२८ जना उम्मेदवार बनेका छन् ।

यस्तै, प्रदेशसभातर्फ २४४ महिला, २६ सय पुरुष र १ जना अन्य गरी कुल २८४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये प्रदेश– १ मा पुरुष ४४५ जना र महिला ४९ गरी कुल ४९४ जनाले, मधेश प्रदेशमा पुरुष ७११ जना, महिला ५५ जना र अन्य १ गरी कुल ७६७ जनाले, बागमती प्रदेशमा पुरुष ५६१ जना र महिला ७४ जना गरी कुल ६३५ जनाले तथा गण्डकी प्रदेशमा पुरुष १९९ र महिला २९ गरी जम्मा २२८ जनाले उम्मेदवारी दर्ता गराएका आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार लुम्बिनी प्रदेशमा पुरुष ४१४ र महिला २३ जना गरी कुल ४३७ जनाले कर्णाली प्रदेशमा पुरुष ७९ जना र महिला २ जना गरी कुल ८१ जना, सुदुरपश्चिम प्रदेशमा पुरुष १९१ जना र महिला १२ जना गरी कुल २०३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप