शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङको मनी ट्रान्सफर लुटपाट : २१८ तोला सुनको हिसाब मिलेन

संलग्न अर्का एक पाँचथरबाट पक्राउ
मङ्गलबार, २५ असोज २०७९, १२ : २८
मङ्गलबार, २५ असोज २०७९

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान पाँचथरबाट मच्छिन्द्र लिम्बुलाई पक्राउ गरेपछि लुटपाटमा संलग्न भनिएका चारै जना पक्राउ परेका छन् । 

ताप्लेजुङ प्रहरीले सोमबार मात्रै लुटपाटमा संलग्न तीनजनालाई सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कैलाश राईका अनुसार सोमबार सार्वजनिक गरिएकामा लुटपाटका मुख्य योजनाकार रहेका फुङलिङ–२ का २९ वर्षीय राजायेन्द्र पोर्तेल, झापाको शिवसतासी नगरपालिका–१ का चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका १० का २५ वर्षीय मणिराज पोर्तेल रहेका छन् ।

असोज १७ गते अष्टमीको दिन बिहान ९ः३० बजे ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको वीरेन्द्र चोकमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आईएमई सेन्टरमा लुटपाट भएको थियो । सुनको कारोबारसमेत गर्ने अनुमति लिएको कञ्चन मनी ट्रान्सफरबाट ९ करोड मूल्य बराबरको सुन र ११ लाख ६३ हजार नगद लुटिएको दाबी गरिएको थियो । 

लुटपाट भएको तीन घण्टापछि नै लुटपाटमा संलग्न मुख्य योजनाकार स्थानीय युवा राजायेन्द्र पोर्तेललाई प्रहरीले फुङलिङ नजिकैको जङ्गलबाट पक्राउ गरेको थियो । प्रहरीले राजायेन्द्रले साथमा बोकेको झोलाबाट ६ लाख १३ हजार ३४० रुपैयाँ नगद र १ किलो ६८५ ग्रामको सुनको गरगहना बरामद गरेको थियो ।

लुटपाटको पहिलो दिन फुङलिङ बजार नजिकैको जङ्गलबाट राजायेन्द्र पोर्तेललाई पक्राउ गरेपछि राजायेन्द्रकै बयानका आधारमा त्यसको दुई दिनपछि झापाको चुनबहादुर सुनार मणिराज पोर्तेललाई पक्राउ गरेको थियो । फरार मच्छिन्द्र लिम्बुलाई मंगलबार बिहान पाँचथरबाट पक्राउ गरे पनि पक्राउ परेका अन्य व्यक्तिबाट थप सामान र नगद बरामद नभएको प्रहरीले जनाएको छ । 

आईएमई सेन्टर लुटपाटपछि सुरुमा कञ्चन मनी ट्रान्सफरले करिब ९ करोड मूल्य बराबरको सुनको गरगहना र ११ लाख ६३ हजार नगद लुटपाट भएको दाबी गरेको थियो । तर सोमबार दिएको जाहेरीमा भने कञ्चन मनी ट्रान्सफरले ३ करोड ३९ लाख ९९ हजार ६०० रुपैयाँ बराबरको सुन र ११ लाख ६३ हजार रुपैयाँ नगद लुटपाट भएको जाहेरी दिएको छ । कञ्चन मनी ट्रान्सफरले दिएको जाहेरी अनुसार करिब ३६२ तोला सुन लुटपाट भएको छ । यद्यपि बरामद भएको सुनको गरगहना हेर्दा करिब १४४ तोला मात्रै सुन बरामद भएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको र मनी ट्रान्सफरले दाबी गरेको सुन र लुटेराबाट बरामद भएको सुनको भेरिफिकेसन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

२१८ तोला सुनको हिसाब मिलेन

कञ्चन मनी ट्रान्सफरले दिएको जाहेरीमा आफूहरूको कुल ३ करोड ३९ लाख ९९ हजार ६०० रुपैयाँ बराबरको सुनको गरगहना लुटपाट भएको दाबी गरिएको छ । मंगलबारको सुनको भाउ प्रतितोला ९४ हजार छ र उक्त मूल्य बराबरको सुन ३६२ तोला हुन आउँछ । तर प्रहरीले बरामद गरेको सुनको तौल हेर्दा मात्रै १४४ तोला सुन रहेको छ । बाँकी २१८ तोला सुनको हिसाब अझै मिलेको छैन । १४४ तोला सुनको मूल्य हेर्दा करिब १ करोड ३५ लाख ३६ हजार हुन आउँछ भने २ करोड ४ लाख ६३ हजार ६०० रुपैयाँ बराबरको सुन अझै गायब छ । साथै लुटपाट भएको भनिएको ११ लाख ६३ हजार नगदमध्ये ६ लाख १३ हजार ३४० रुपैयाँ मात्रै बरामद भएकाले नगद करिब ५ लाख ५० हजार अझै गायब छ । 

लुटेरा सबै लागु औषध प्रयोगकर्ता

लुटपाटमा संलग्न चारै जना लागु औषधको प्रयोगकर्ता रहेको पाइएको छ । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कैलाश राईका अनुसार मुख्य योजनाकार रहेका राजायेन्द्र पोर्तेल लागु औषधका प्रयोगकर्ता तथा कारोबारीसमेत हुन् । पोर्तेल दुईपटक सुधारकेन्द्रमा बसिसकेका व्यक्ति हुन् भने एकपटक लागु औषध कारोबारको आरोपमा मुद्दा चलिसकेका व्यक्ति हुन् । मुद्दा चल्दा धरौटीमा छुटेका पोर्तेलको मुद्दा पछि के भयो बुझ्ने क्रममा रहेको प्रहरीले बताएको छ । 

लुटपाटमा संलग्न झापाको शिवसतासी नगरपालिका १ का चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका १० का २५ वर्षीय मणिराज पोर्तेल पनि लागू औषधका प्रयोगकर्ता हुन् । मंगलबार बिहान पाँचथरबाट पक्राउ परेका मच्छिन्द्र लिम्बु पनि लागु औषधको प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । लिम्बुलाई पक्राउ गरी ताप्लेजुङ ल्याइँदै गरेको कारण लिम्बुको ठेगाना र विगतबारे थप जानकारी नरहेको प्रहरीले जनाएको छ । 

फूलपातीकै दिन नै मनी ट्रान्सफर लुट्ने योजना

फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर लुटपाटको योजना असोज १६ गते फूलपातीका लागि तय गरिएको थियो । तर उक्त दिन आईएमई सेन्टर नखुलेपछि अष्टमीको दिन कर्मचारीलाई बोलाएरै मनी ट्रान्सफर खोल्न लगाएको पाइएको छ ।

सुनको कारोबारसमेत गर्ने अनुमति लिएको कञ्चन मनी ट्रान्सफरले सुन धितो राखी ब्याजमा पैसा दिने गरेको थियो । तर दसैँमा सुनको गरगहना लगाउनुपर्ने भएकाले जाकटीको सुन लिनुपर्ने भन्दै असोज १७ गते अष्टमीको दिन बिहानैदेखि मनी ट्रान्सफरको कर्मचारीलाई बारम्बार फोन आयो । पसल खोल्न भन्दै आग्रह आएपछि कर्मचारीले पसल खोलिन् । यसरी फोन गर्ने व्यक्ति मणिराज पोर्तेल थिए भने के–के बोल्ने भनेर सिकाउने व्यक्तिचाहिँ राजायेन्द्र पोर्तेल थिए ।    

मनी ट्रान्सफरको स्टाफलाई मणिराज पोर्तेलले फोन गरेर ‘मेरो आमाको सुन छ, दसैँमा लगाउनुपर्छ, झिक्नुपर्‍यो’ भनेर पटकपटक कर्मचारीलाई फोन गरेको पाइएको छ । तर मनी ट्रान्सफरको कर्मचारीले कम्प्युटरको डाटा इन्ट्रीमा हेरेर आमाको नाम भन्नुस् भन्दा नाम मणिराजले भनेको नाम मिलेन । त्यसपछि फुपुको नाममा होला भनेर फुपुको नामसमेत मणिराजले भन्छन् । तर फुपुको नामसमेत नमिलेपछि नाम नै फरक प¥यो जस्तो छ म त्यहीँ आएर पैसा दिइ सुन लिएर जान्छु भनेपछि कर्मचारीले मनी ट्रान्सफर खोलेको प्रहरीले जनाएको छ । 

असोज १७ गते गते अष्टमीको दिन मनी ट्रान्सफर खुल्ने वा नखुल्ने बारे लुटेराहरूले बिहानैदेखि रेकी गरेका थिए । मनी ट्रान्सफरको वरिपरि लुटेराहरू बसेका थिए । कर्मचारी आएर मनी ट्रान्सफर खोली कम्प्युटरमा डाटा हेरिरहेको अवस्थामा पछाडिको ढोका (ब्याक डोर)बाट अन्य दुई जना लुटेरा प्रवेश गरी कर्मचारीलाई नियन्त्रणमा लिई लुटपाट गरिएको सिसिटिभी फुटेजमा देखिएको छ । लुटेराहरूले एउटा मात्रै झोला ल्याएको पाइएको छ भने प्रहरीले उक्त झोलासहित लुटपाटमा संलग्न मुख्य योजनाकारलाई सोही दिन तीन घण्टापछि पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप