शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१०१९ जना केयरगिभर इजरायल पुगे, १०० जना उडानको पर्खाईमा

इजरायलमा केयरगिभर पठाउने प्रक्रिया पुरा भयो
मङ्गलबार, २५ असोज २०७९, १३ : ५१
मङ्गलबार, २५ असोज २०७९

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउने नेपाली सहायक कामदार ‘केयरगिभर’ को प्रक्रिया टुङ्गिएको छ । नेपालबाट हालसम्म १ हजार १९ जना सहायक कामदार इजरायल पुगिसकेका छन् । भने अब १०० जना जान बाँकी छन् । उनीहरू सबै प्रक्रिया पुरा गरेर उडानको प्रतिक्षमा छन् । योसँगै केयरगिभर इजरायल पठाउने प्रक्रिया लगभग टुङ्गिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागका निर्देशक तथा सूचना अधिकारी कृष्ण प्रसाद भुसालका अनुसार अबको केही दिनमा बाँकी रहेकाहरू केयरगिभर इजरायल जानेछन् । त्यसपछि यो प्रक्रिया पूर्ण रूपमा सकिनेछ । 

केयरगिभरका लागि १ हजार १७५ जना अन्तिम छनोटमा परेका थिए । ती मध्ये १ हजार ११९ जना मात्रै इजरायल जाने भएका छन् । जसमध्ये १ हजार १९ जना गइसकेका छन् । भने १०० जना उडानको प्रतीक्षामा छन् । ती बाहेक अन्तिम छनोटमा परेका ५९ जना इजरायल जानबाट रोकिएका छन् । त्यसरी रोकिएकाहरूमा केही मेडिकल फेल भएका छन् भने केहीले नजाने भनेर आफैँले रिजेक्ट गरेका हुन् । 

नेपाली केयरगिभरलाई इजरायल पठाउन आवेदन आह्वान गरेको मितिदेखि हालसम्म १५ महिना लाग्यो । कोरोना महामारीकैबीच विभागले छनौट प्रक्रिया अगाडि बढाएको थियो । 

विभागले १२ साउन २०७८ मा पहिलो पटक इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान गरेपछि ६ हजार भन्दा बढीले आवेदन दिएका थिए । २८ भदौ २०७८ मा लिइएको लिखित परीक्षामा २ हजार ३९ जना पास भएका थिए ।  

पहिलो चरणमा ५ माघ २०७८ मा ९९ जना नेपाली केयर गिभर इजरायल प्रस्थान गरेका थिए । त्यसपछि माघ १५ र १८ गते गरेर जम्मा २९७ जना इजरायल गएका थिए । उनीहरू गएपछि भने लामो समयसम्म इजरायलले भिसा जारी गर्न बन्द गरेको थियो ।  

इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीको सेवा सुविधा बढाउनुपर्ने भन्दै थालेको आन्दोलनका कारण चार महिना भन्दा बढी समय प्रक्रिया बन्द भएको थियो । बन्द भएको भिसा जारी गर्ने प्रक्रिया गत साउनबाट पुनः सुचारु भएको थियो । 

दुई देशबीच १४ असोज २०७७ मा भएको श्रम सम्झौता अनुसार केयरगिभर इजरायल जान पाएका हुन् । इजरायलले केयरगिभरपछि कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने बताएको छ । त्यसका लागि दुवै देशका सरकारी अधिकारीहरू आवश्यक गृहकार्यमा लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप