बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

क्यान्सर बिरामीहरूलाई विदेशमा उपचार गर्न जानबाट कसरी रोक्ने ?

बुधबार, २६ असोज २०७९, ०९ : १९

केही वर्ष पहिले टाटा मेमोरियल क्यान्सर हस्पिटल, मुम्बईमा सर्जिकल अन्कोलोजीमा तालिम प्राप्त गर्ने अवसर पाएको थिएँ । त्यतिबेला विभिन्न क्यान्सरका नेपाली बिरामीहरूका परिवारसँग दिनहुँ भेट हुन्थ्यो । साँझपख अधिकांश बिरामीका नातेदारहरूसँग चिया पिउँदै भलाकुसारी पनि हुन्थ्यो । कुराकानीमा बिरामीका नातेदारहरूले उपचारको क्रममा नेपालमा भोगेका कुराहरू उठाउनु हुन्थ्यो । उहाँहरूले नेपालको सरकारी तथा निजी स्वास्थ्य संस्था र चिकित्सकहरूको विषयमा गुनासो, जिज्ञासा र आक्रोश पोख्ने गर्नुहुन्थ्यो । 

उहाँहरूको प्राय: गुनासोहरू यस्ता थिए: नेपालमा क्यान्सर छ भन्यो, यहाँ देखिएन; नेपालमा क्यान्सर छैन भन्यो, यहाँ देखियो;  रोग पत्ता नै लगाउन सकेनन्; चिकित्सकहरूले राम्रोसँग बुझाएनन् र राम्रोसँग कुरा गरेनन् ।  एउटा डाक्टरले एउटा कुरा, अर्को डाक्टरले अर्को कुरा गरे; त्यसैले हामी यहाँ आउनु पर्‍यो । हामी आर्थिक रूपले सम्पन्न भएर यहाँ आएका होइनौँ, बाध्यताले आउनुपर्‍यो आदि आदि । 

बिरामी र तिनका परिवारहरू क्यान्सर निको गरिदिन्छु भन्ने समूहहरूबाट ठगिएका र केही भने सञ्चार माध्यममा प्रसारित क्यान्सर जडीबुटीले निको भएको एक दुई जना बिरामीहरूको विज्ञापनबाट प्रभावित भई उपचारमा ढिलाइ हुन पुगेको (पहिलो चरणको बिरामी अन्तिम चरणमा पुगेको) आफ्ना व्यथा सुनाए । “किन यी कुराहरू हाम्रो देशमा भइरहेका छन् ? यसमा कहिले सुधार आउने ? किन देशभित्र उपचार हुन सक्दैन ? यहाँ उपचार गर्दागर्दै घर खेत गइसक्यो” भन्ने थुप्रै गुनासो सुनियो ।

एक चिकित्सकको हैसियतले बिरामीको परिवारहरूको आक्रोश/पीडा मैले राम्रोसँग बुझेको थिए । त्यसमा पनि दीर्घरोगी बिरामीहरूलाई सेवा दिइराखेका परिवारका सदस्यप्रति म सम्मान गर्दछु । यस्ता बिरामीहरूलाई स्याहार सुसार गर्ने परिवारका सदस्यहरूलाई भगवान‍्का दूतहरू हुन् भन्दा पनि हुन्छ र उनीहरू सही अर्थमा चिकित्सकका सहयोगी पनि हुन् ।  

यो बीचमा देशभित्र क्यान्सरको जाँच र उपचार विधिमा उल्लेखनीय सुधार भएको छ । विश्वमा क्यान्सरसम्बन्धी अनुसन्धान हुनुको साथै बिरामीको उपचारका प्रोटोकलको स्थापना र सूचना प्रविधिको विकासले गर्दा क्यान्सर उपचारमा एकरूपता कायम हुनुका साथै उपचार स्तरीय हुन पुगेको छ ।

बिरामीका परिवारहरूसँग टाटा मेमोरियल क्यान्सर अस्पताल, मुम्बईमा करिब ६ महिनाको अवधिभित्र भएका भेटघाट र कुराकानीपछि मलाई लाग्यो उहाँहरूको प्राय: गुनासा र जिज्ञासा सही छन् । मैले के अनुभव गरे भने पहिलो चरणको क्यान्सर जुन नेपालमा नै उपचार हुन सक्थ्यो ती बिरामीहरू त्यहाँ पुगेका थिए, अनि अन्तिम चरणका बिरामी जसलाई संसारको कुनै भागमा गए पनि केही गर्न सकिँदैन थियो; उनीहरू पनि बाच्ने आशामा त्यहाँ पुगिराखेका थिए । उनीहरूलाई राम्रोसँग रोगको अवस्थाबारे जानकारी दिएको भए नेपालमा नै रोक्न सकिन्थ्यो होला सायद । 

यी माथिका कुराहरू १३ वर्ष पहिलेका हुन् । यो बीचमा देशभित्र क्यान्सरको जाँच र उपचार विधिमा उल्लेखनीय सुधार भएको छ । विश्वमा क्यान्सरसम्बन्धी अनुसन्धान हुनुको साथै बिरामीको उपचारका प्रोटोकलको स्थापना र सूचना प्रविधिको विकासले गर्दा क्यान्सर उपचारमा एकरूपता कायम हुनुका साथै उपचार स्तरीय हुन पुगेको छ । अर्कोतिर हाम्रो देशभित्र जनशक्ति र क्यान्सर संस्थाको वृद्धिले गर्दा पनि गुणस्तरीय सेवा दिन सफल भएको छ । यस्तो हुँदाहुँदै पनि आजको दिनसम्म क्यान्सर उपचार गर्न विदेश (मुख्यत: भारत)मा जानेको सङ्ख्या अझ बढ्दो देखिन्छ । ती बिरामीहरू किन विदेशमा उपचार गर्न गइरहेका छन् । यसमा अध्ययन र यसलाई रोक्न कहीँ कतैबाट प्रभावकारी प्रयास गरिएको पाइँदैन । 

विदेशमा उपचार गर्न जानुका मुख्य कारण:

१. नेपाल–भारतको खुल्ला सिमानाले गर्दा सजिलैसँग भारतको जुनसुकै राज्यमा पनि उपचारमा जान सक्ने अवस्था रहेको ।

२. भारतको सिमानाजस्तै गौरीफन्टा, लखनऊ, र कलकतामा अत्याधुनिक उपकरणद्वारा सस्तोमा जाँच गरिने विधिको स्थापना (जस्तै: Pet Scan ) ले त्यतातिर जान उत्साहित गरेको । 

३. क्यान्सर बिरामीको उपचार गर्नको लागि नेपाल वायुसेवा निगमले हवाई टिकटमा बिरामीलाई नि:शुल्क र परिवारलाई ५०% प्रति छुट उपलब्ध वर्षौँदेखि गर्दै आइरहेको छ । पहिले देशमा क्यान्सर उपचारको राम्रो व्यवस्था नभएको समयमा सुरु गरिएको यो सुविधा अहिलेसम्म पनि कायमै रहेकोले क्यान्सर लागेपछि विदेश जानुपर्छ भन्ने सन्देश गएको ।

४. हाम्रो देशमा कुनै बिरामीको मृत्यु भएमा सञ्चार माध्यमले चिकित्सक वा संस्थाको लापरबाहीले मृत्यु भएको भनेर अत्यधिक नकारात्मक सन्देश प्रसारण गर्नाले बिरामीहरूलाई आफ्नो देशको स्वास्थ्य प्रणालीमा विश्वास घटेको ।

५. हाम्रो समाजमा नातेदार/चिरपरिचित व्यक्तिहरूले बिरामी भेट्न जाँदा विदेशमा उपचार गर्न जानलाई विज्ञ जसरी सल्लाह सुझाव दिने गर्नाले विदेशमा उपचार गर्नु सामाजिक प्रतिष्ठाको विषय बनेको । 

६. विदेशमा लाखौँ खर्च गरेर बिरामी निको भएका कुरा बढुवा दिने तर विदेशमा उपचार गरेर घरबार समाप्त भएको वा बिरामीको मृत्यु भएका कुरा नगर्ने अनि नेपाली चिकित्सकहरूले बिरामी ठिक गरेका कुरा नगर्ने तर मरेका कुरा बढी प्रचार गर्ने हाम्रो संस्कार रहेको । 

७. क्यान्सर पत्ता लागेपछि बिरामी र नातेदारहरू हतारिने, आत्तिने र जसले जे भन्यो, त्यही पत्याउने गर्दा क्यान्सर स्वास्थ्य सङ्ख्या वा क्यान्सर विज्ञहरूसँग सल्लाह सुझाव नलिई आत्तिएर विदेश जाने गरेको ।

८. क्यान्सर विज्ञ चिकित्सकहरूले राम्रोसँग सल्लाह, सुझाव नदिएको र अन्य चिकित्सकहरूले सम्बन्धित स्वास्थ्य संस्था र विज्ञ चिकित्सकहरूलाई बिरामी रिफर गर्नुको सट्टा भारत जानको लागि सल्लाह दिने गरेको ।

९. देशभित्र क्यान्सर बिरामी विदेश पठाउने एजेन्टहरूको प्रभाव बढेको ।

१०. नेपालमा नै सबै क्यान्सरको उपचार हुन्छ भन्ने धेरैलाई जानकारी नभएको ।

माथि उल्लेखित कारणले क्यान्सर बिरामीहरू विदेशमा उपचार गर्न जान्छन् । हाम्रो समाजमा विदेशमा गएर उपचार गरेपछि सबै क्यान्सर ठिक हुन्छ भन्ने सोच विद्यमान छ । क्यान्सर निको हुने वा ठिक हुने क्यान्सरको किसिम र क्यान्सरको चरणमा भर पर्दछ भन्ने ज्ञानको अभाव छ । अर्कोतिर आर्थिक रूपमा कमजोर भएका बिरामीहरू पैसा भएको भए विदेशमा गएर उपचार गराउने सोच पालेर बसेका छन् । 

विदेशमा उपचार गर्न आर्थिक रूपमा सम्पन्न वा विपन्न दुवै वर्गको लागि त्यति सहज छैन । क्यान्सर उपचार पुरा हुन ६ महिना देखि १ वर्ष विदेशमा बस्नुपर्छ । बिस्तारै मै हुँ भन्ने  धनवानलाई पनि आर्थिक सङ्कट हुँदै आउँछ । अर्कोतिर कमाउने परिवारका सदस्य कामबाट बिदा लिएर जानुपर्छ । त्यसैले केही बिरामीहरू बीचैमा उपचार छोडेर स्वदेश फर्कनुपर्ने हुन्छ ।

 क्यान्सर उपचार पुरा भएपछि फ्लोअपको लागि पटक–पटक विदेश जान समय मिलाउन र पैसा जोहो गर्न गाह्रो पर्छ । त्यस्तै विदेशमा उपचारपछि जटिलता आउन सक्छ र त्यस्तो भएमा लामो समय विदेश बस्न वा पटक–पटक विदेश जान गाह्रो पर्छ । विदेशमा आफ्ना परिवार वा नातेदारले भोग्नु परेको दुःख र खर्च देखेर बीचैमा बिरामीहरूले आफै देश फर्कने इच्छा राख्दछन् । यी विविध कारणले गर्दा विदेशमा उपचार गरी फर्केका क्यान्सर बिरामीहरूको पछिल्लो चरणको उपचार स्वदेशमा भइराखेको छ ।

सातै प्रदेशमा क्यान्सर उपचार केन्द्र कसरी खोल्ने, उपचारको क्रममा आर्थिक सङ्कट भोगिराखेका बिरामीहरूलाई कसरी नि:शुल्क उपचार दिने, नेपालमै उपचार हुन सक्ने, बिरामीहरूलाई विदेश जानबाट कसरी रोक्ने, पाठेघरको मुखको क्यान्सरको रोकथामको लागि खोप कसरी उपलब्ध गराउने जस्ता उद्देश्यका लागि सबै सङ्गठित भएर लाग्नुपर्ने आजको आवश्यकता हो ।

विदेशमा उपचार गर्न जान कसरी रोक्ने ?

१. क्यान्सर पत्ता लागेपछि अव के गर्ने ? कस्तो गर्ने ? कहाँ उपचार गर्ने ? फेरि पुष्टि कसरी गर्ने ? को सँग सल्लाह गर्ने ? अव मरिहालिन्छ, ढिलो उपचार सुरु भयो भने मरिन्छ, जटिलता आउँछ वा फैलिन्छ भन्ने त्रासले तुरुन्त विदेश जाने देखिएको छ । 

त्यसैले क्यान्सर पत्ता लागि सकेपछि केही दिन या हप्ता रोगको प्रकृति, उपचारपछिको समस्या, अनुमानित खर्च र सबै किसिमको छलफल क्यान्सर स्वास्थ्य सङ्ख्या वा क्यान्सर विज्ञसँग गर्ने । यसमा बिताएको समयले क्यान्सर उपचारमा जटिलता थपिनुको साटो सहजता ल्याउँछ । 

२. आजको युगमा सञ्चारको प्रविधि राम्रोसँग विकास भएको छ । हरेक क्यान्सर रोगको जानकारी इन्टरनेटमार्फत पाउन सकिन्छ । विभिन्न तहका मानिसहरूको लागि सूचना राखिएको हुन्छ । त्यसबाट आफ्नो रोगबारे जानकारी लिने ।

३. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल, महाराजगन्ज, नेपाल क्यान्सर अस्पताल, हरिसिद्धी र पूर्वाञ्चल क्यान्सर अस्पताल, झापा, काठमाडौँ क्यान्सर केयर, भक्तपुर, चितवन मेडिकल कलेज क्यान्सर इन्स्टिट्युटहरूले दिइराखेको परामर्शलाई अझ प्रभावकारी र व्यवस्थित गर्ने । यसको लागि परामर्श समिति गठन गर्ने वा ट्यूमर वोर्डमार्फत् हप्ताको दुई दिन परामर्श दिने व्यवस्था मिलाउने ।

४. स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न विज्ञहरू सम्मिलित क्यान्सर परामर्श समिति केन्द्रमा र प्रत्येक प्रदेशमा गठन गर्ने ।

५. समितिसँग परामर्श लिन चाहने क्यान्सर बिरामीहरू स्वयम् उपस्थित भई वा नातेदारहरूले सम्पूर्ण कागजात लिई उपस्थित भएर परामर्श लिन सकिने व्यवस्था मिलाउने अथवा भाइवर/मेसेनजर/ह्वाट्सएपमा बिरामीको रिपोर्ट समितिमा पठाएर परामर्श समितिले अध्ययन पछि टेलिफोनबाट जानकारी गराउने व्यवस्था मिलाउने । 

६. परामर्श समितिले कुनै क्यान्सर बिरामीहरूको ग्यारेन्टी लिने होइन कि क्यान्सर चिकित्सा शास्त्रमा आधारित उपचारको विधि, प्रक्रिया, जटिलता, वैकल्पिक उपचारहरू, निको हुने सम्भावना, स्वदेशमा उपचारको सम्भावना र अनुमति खर्चबारे जानकारी मात्र दिने । उपचारसम्बन्धी  निर्णय लिने कुरा बिरामी र नातेदारहरुमा सुरक्षित रहनेछ । यस्तो परामर्श समितिले विदेशमा जाने बिरामीहरूको लागि ठुलो सङ्कटबाट मुक्ति दिलाउन सक्छ र यो एउटा भरपर्दो, सजिलो र खर्च नलाग्ने माध्यम हो ।

क्यान्सर विरुद्ध काम गरिराखेका संघ, संस्था र क्यान्सर विज्ञ चिकित्सकहरूको दायित्व अव चुरोट, सूर्ती, जाँड, रक्सी, पोलेको मासु नखाऔं, स्वास्थ्य वातावरणमा बसौँ, व्यायाम गरौँ र क्यान्सर उपचारका प्रोटोकलको कुरा गरेर मात्र क्यान्सर बिरामीहरू र राष्ट्रप्रति दायित्व पुरा हुँदैन । 

सातै प्रदेशमा क्यान्सर उपचार केन्द्र कसरी खोल्ने, उपचारको क्रममा आर्थिक सङ्कट भोगिराखेका बिरामीहरूलाई कसरी नि:शुल्क उपचार दिने, नेपालमै उपचार हुन सक्ने, बिरामीहरूलाई विदेश जानबाट कसरी रोक्ने, पाठेघरको मुखको क्यान्सरको रोकथामको लागि खोप कसरी उपलब्ध गराउने जस्ता उद्देश्यका लागि सबै सङ्गठित भएर लाग्नुपर्ने आजको आवश्यकता हो ।

लेखक, भक्तपुर क्यान्सर अस्पतालका सिनियर कन्सल्टेण्ट, सर्जिकल अन्कोलोजी तथा पूर्व मेडिकल डाइरेक्टर हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
लेखकबाट थप