शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेंगुका बिरामी : पहाडमा घट्दै, तराईमा बढ्दै

अझै डेढ महिनासम्म डेंगुको जोखिम
बुधबार, २६ असोज २०७९, १२ : ३०
बुधबार, २६ असोज २०७९

डेंगुको प्रकोप पहाडी जिल्लामा घट्दै गएको छ । तराईका जिल्लामा भने प्रकोप बढ्दै गएको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । पहाडी र हिमाली जिल्लामा क्रमशः डेंगु संक्रमित घट्दै गए पनि तराईका जिल्लामा प्रकोप बढ्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख बाबुराम मरासिनी बताउँछन् ।

‘जाडो मौसम बढ्न थालेपछि काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा क्रमशः डेंगु संक्रमित कम हुँदै जान्छ, अब तराईका जिल्लामा संक्रमित बढ्छन्,’ उनले भने, ‘डेंगु सार्ने लामखुट्टे धेरै गर्मीमा बाँच्दैनन्, त्यसैले गर्मीमा तराईमा यसको प्रकोप तुलनात्मक रुपमा कम देखिएको हो तर अब गर्मी कम हुँदै गएकाले डेंगु संक्रमण तराईतिर बढ्छ ।’

डेंगु ‘पोष्ट मनसुन’ डिजिज हो तर, असार–साउनको तुलनामा भदौ–असोजमा पानी धेरै परेकाले डेंगुको संक्रमण अब तीव्र गतिमा बढ्ने उनको अनुमान छ । काठमाडौं उपत्यकासहित देशभर पानी पर्ने, रोकिने र फेरि पानी पर्ने गरिरहेकाले डेंगु संक्रमित बढ्ने उनी बताउँछन् ।

अझै डेढ महिनासम्म डेंगुको जोखिम

डेंगुको प्रकोप करिब डेढ महिनासम्म रहिरहने इडीसीडीले जनाएको छ । जबसम्म तापक्रम १५ डिग्री सेल्सियससम्म पुग्दैन, तबसम्म निरन्तर डेंगुको केस देखिने डा. मरासिनी सुनाउँछन् । उनी भन्छन्, ‘डेंगुका बिरामी लगातार वर्षभरि नै देखिने आधारहरु सिर्जना भएको छ ।’

सरकारले जाडो मौसम सुरु भएपछि केस घट्ने भन्दै डेंगु सार्ने लामखुट्टेको लार्भालाई नष्ट गर्ने तथा जनचेतनामुलक अभियान सञ्चालनमा चुक्दा साउन महिना यता ४४ जनाको ज्यान गएको छ । जाडो सुरु भएपछि संक्रमण हट्ने बुझाइका कारण तराईमा संक्रमितको दर बढ्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

२०७६ सालमा डेंगुले प्रकोपको रुप लिएको थियो । २०७६ सालमा १७ हजार ९९२ जना संक्रमित हुँदा १२ जनाको मृत्यु भएको थियो । हाल सरकारले ‘खोज र नष्ट गर’ अभियानलाई नारामा सीमित राखेकाले संक्रमित र मृत्यु हुने दर बढेको डा.मरासिनी सुनाउँछन् ।

हालसम्म ७६ जिल्लामा डेंगु फैलिएको छ । गएको साउन महिनादेखि ३३ हजार ९७५ वटा डेंगुको केस पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भएको छ । असोज महिनामा मात्रै २३ हजारभन्दा बढीमा डेंगु संक्रमण भएको पाइएको छ । त्यस्तै, संक्रमणको कारण ३३ जनाको मृत्यु भएको छ ।

डा. मरासिनीले स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको आँकडाभन्दा ६÷७ गुणा बढी डेंगु संक्रमित रहेको दाबी गरे । घरको एक जना सदस्यलाई डेंगु संक्रमण पुष्टि भएपछि परिवारका अन्य सदस्यलाई लक्षण देखिए पनि परीक्षण गर्न धेरै जना अस्पताल नपुगेको उनको भनाइ छ ।

डेंगु संक्रमणबाट जोगिन, मृत्युबाट बचाउन सरकारले प्रयास गरेको खण्डमा धनजनको क्षतिलाई रोक्न सकिने डा.मरासिनी बताउँछन् ।

सरकारले डेंगुले प्रकोपको रुप लिएको तीन महिना बितिसक्दा समेत कुन सेरोटाईपको डेंगु देखियो भनेर वर्गीकण गर्न सकेको छैन । हाल डेंगुलाई १, २, ३ र ४ गरी चार सेरोटाईपमा वर्गीकरण गरिन्छ । डेंगुको सेरोटाईपलाई पीसीआर विधिबाट सजिलै पत्ता लगाउन सकिने चिकित्सकहरु बताउँछन् तर, यसबारे सरकारले खासै चासो नदिएको जनस्वास्थ्य विज्ञहरु सुनाउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गत किटजन्य रोग शाखाका प्रमुख गोकर्ण दाहालले सातै प्रदेशबाट ५० भन्दा धेरै नमुना संकलन गरिएकाले अबको दुईतीन दिनमा परीक्षण गरिने बताए ।

यी हुन् बढी केस पुष्टि भएका जिल्ला

इडीसीडीको आँकडा अनुसार सबैभन्दा धेरै संक्रमित रहेको १० जिल्लामध्ये ६ जिल्ला बागमती प्रदेशमा छन् । सबैभन्दा धेरै काठमाडौं जिल्लामा ११ हजार ४६७ वटा केस पुष्टि भएको छ । यसपछि क्रमशः ललितपुरमा ८ हजार १५, मकवानपुरमा ३ हजार ३८२, भक्तपुरमा २ हजार ८, दाङमा १ हजार ८७५, चितवनमा १ हजार १६९, रुपन्देहीमा ८७१, धादिङमा ६३८, सुर्खेतमा ४५९ र कैलालीमा ४१७ केस देखिएको प्रमुख डा. दाहालले बताए ।

यस्तै, प्रदेश नम्बर १ मा १ हजार ११९, मधेस प्रदेशमा ४९७, बागमती प्रदेशमा २७ हजार ५८०, गण्डकी प्रदेशमा ८१८, लुम्बिनीमा ३ हजार ७३१, कर्णाली प्रदेशमा ६१३, सुदूरपञ्चिम प्रदेशमा १ हजार ८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप