बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्बपति चौधरीको भीडन्त चतुर त्रिपाठीसँग, यी हुन् नेतासँग भिड्दै गरेका व्यवसायी

शुक्रबार, २८ असोज २०७९, ०८ : ०३
शुक्रबार, २८ असोज २०७९

उद्यम व्यवसायको क्षेत्रमा सफलता पाएका उद्यमी व्यवसायीले यसपाली पनि नेताहरुसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उद्यमी व्यवसायीहरु चुनावी प्रतिस्पर्धामा सहभागी भएका हुन् । 

प्रतिनिधिसभातर्फको नवलपरासी–१ बाट अर्बपति विनोद चौधरी प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । ६७ वर्षीय चौधरीलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले उम्मेदवार बनाएको हो । नेपालबाट उदाएर बहुराष्ट्रिय कम्पनीहरु संचालन गर्ने चौधरी ग्रुपका अध्यक्ष समेत रहेका चौधरी यसपाली चतुर राजनीतिक खेलाडी हृदयेश त्रिपाठीसँगको प्रतिस्पर्धामा उभिएका छन् ।

अर्बपति व्यवसायी चौधरीसँग संसद फेस गरेको अनुभव १० वर्षभन्दा पुरानो छ । उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट सभासद भएका थिए । त्यसपछि २०७४ मा भएको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिकको सांसद भए । अहिले उनी नेपाली काँग्रेसको केन्द्रीय सदस्य पनि हुन् ।

तर, चौधरीसँग प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फको निर्वाचन लडेको अनुभव छैन । उनी पहिलो पटक प्रत्यक्ष तर्फको निर्वाचन लड्दै छन् । उनी निर्वाचन लड्न लागेको नवलपरासी जिल्ला भने चौधरीका लागि नौलो होइन । र, सो जिल्लाका मतदाताका लागि पनि चौधरी नयाँ पात्र होइनन् । किनभने नवलपरासीमा चौधरी ग्रुपका धेरै उद्योग प्रतिष्ठानहरु छन् ।

उनले सो क्षेत्रमा सामाजिक, विकास, पूर्वाधार र रोजगारीका कामहरु धेरै गरेको स्थानीयहरु बताउँछन् । विगतमा गरेका कामहरूले चौधरीलाई निर्वाचन जित्न सहज हुन सक्छ । यसमा पनि सत्ता गठबन्धन देशव्यापी रुपमै बलियो अवस्थामा रहेको कारण पनि चौधरीलाई चुनाव जित्न सहज हुन सक्छ ।

तर, व्यवसायिक जगतका सफल खेलाडी चौधरीलाई राजनीतिक जगतका चतुर खेलाडी हृदयेश त्रिपाठीसँगको प्रतिस्पर्धा आफैमा धेरै सहज नहुन सक्छ । गत निर्वाचनमा एमालेको समर्थनमा सोही क्षेत्रबाट निर्वाचित सांसद त्रिपाठीले यसपाली पनि एमालेको समर्थन पाएका छन् । यद्यपि, फरक के छ भने २०७४ को चुनावमा त्रिपाठी एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए, यसपाली आफ्नै दल जनता प्रगतिशील पार्टीको चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्दैछन् । 

२०४६ सालको राजनीतिक परिवर्तनपछि पटक पटक मन्त्री र संसदीय समितिहरूको सभापति हुने मौका पाएका त्रिपाठी राजनीतिक रुपमा कमजोर खेलाडी भने होइनन् । मुख्य गरेर चौधरी र त्रिपाठीबीच प्रतिस्पर्धा हुने विश्लेषण गरिएको सो क्षेत्रबाट विभिन्न १० वटा पार्टीका र स्वतन्त्र ७ गरी १७ उम्मेदवारले प्रतिनिधिसभामा निर्वाचित हुन प्रतिस्पर्धा गरिरहेका छन् । 

नवलपरासी जस्तै रोचक भिडन्त धनकुटामा पनि छ । पञ्चायतदेखि प्रजातन्त्र स्थापनापछि पनि राजनीतिक केन्द्रमा मुख्य खेलाडीको रुपमा देखापर्ने पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल थापा हिमालयन बैंकको संचालक समिति सदस्य पनि हुन् । बहुराष्ट्रिय दातृ निकायमा काम गरेर नेपाल आएका थापालाई हिमालयन बैंकको संचालक समिति सदस्य भएको आधारमा हामीले व्यवसायीको समुहमा राखेर विश्लेषण गरेका हौं ।

अहिले ६३ वर्ष लागेका थापा धनकुटाबाट प्रतिनिधिसभामा चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । नेपाली काँग्रेसका नेता समेत रहेका थापा एमालेको तर्फबाट उम्मेदवार बनेका ५६ वर्षीय राजेन्द्रकुमार राईसँग प्रतिस्पर्धा गर्दैछन् । राई २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट एमालेकै तर्फबाट निर्वाचित भएका थिए ।

यद्यपि, धनकुटामा सूर्यबहादुर थापाको पुरानो लिगेसी पनि छ । बाबुको लिगेसीले सुनिललाई चुनाव जित्न सहज हुन सक्छ । निवर्तमान सांसद राईले यो ४ वर्षको अवधीमा गरेका राम्रा नराम्रा कामको जस अपजस पनि बोक्नुपर्ने भएकोले थापालाई थप सहज हुने विश्लेषण गरिएको छ । धनकुटामा एक जना स्वतन्त्र र राजनीतिक दलहरूबाट ७ जना गरी ८ जना उम्मेदवार प्रतिनिधिसभा निर्वाचनको लागि प्रतिस्पर्धामा छन् ।

आगामी मंसिर ४ को निर्वाचनमा अर्काे रमाइले भिडन्त देखिने निर्वाचन क्षेत्र मोरङ–३ हो । सो क्षेत्रमा पूर्वमन्त्री भानुभक्त ढकालसँग सफल स्वास्थ्य व्यवसायी सुनिलकुमार शर्मा र मनोरञ्जन उद्योगकी सफल अभिनेत्री तथा निर्मात्री रेखा थापा पनि प्रतिस्पर्धामा छन् ।

शर्मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले ४४ वर्षीय शर्मालाई सो क्षेत्रबाट उम्मेदवार बनाएको छ । नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्मा राजनीतिक प्रतिस्पर्धामा कत्तिको सफल हुन्छन् भन्ने यकिन भने मंसिर ४ को मत परिणामपछि नै हुनेछ ।

शर्मासँगको प्रमुख प्रतिस्पर्धामा उभिएका छन् एमाले नेता तथा पूर्वमन्त्री भानुभक्त ढकाल । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र ६० वर्षीय ढकाल सो क्षेत्रका निवर्तमान सांसद पनि हुन् ।

सो क्षेत्रमा सफल अभिनेत्री रेखा थापा पनि चुनावी प्रतिस्पर्धामा छन् । मनोरञ्जन उद्योगमा सफलता हासिल गरेकी थापा सफल अभिनेत्री, कुसल निर्देशक र चलचित्र निर्मात्री पनि हुन् । मनोरञ्जन उद्योगमा सफलता हासिल गरे पनि उनले आम मतदातासँग भोट माग्ने निर्वाचनमा अनुभव हासिल गरेकी छैनन् । अर्थात उनी पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बन्दैछन् ।

अभिनेत्री थापा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बनेकी थिइन् । उनी राप्रपा नेतृ कुन्ती शाहीसँग पराजित भएकी थिइन् । राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी ४१ वर्षीय थापालाई राप्रपाले मोरङ–३ बाट उम्मेदवार बनाएको छ । सो निर्वाचन क्षेत्रमा विभिन्न पार्टीका १२ जना र स्वतन्त्र १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभाको सदस्यका लागि व्यवसायी उम्मेदवार बनेको अर्काे जिल्ला रसुवा हो । रसुवाबाट निर्माण व्यवसायी मोहन आचार्य उम्मेदवार बनेका छन् । ४५ आचार्यलाई सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा सत्तारुढ नेपाली काँग्रेसले उम्मेदवार बनाएको हो । आचार्य निवर्तमान सांसद पनि हुन् । उनको मुख्य प्रतिस्पर्धा ६२ वर्षीय छोवाङ तेन्जिङ तामाङसँग हुने छ । तामाङ एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् । सो जिल्लाबाट प्रतिनिधिसभाको लागि विभिन्न पार्टीका ७ जना र ३ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

अघिल्ला निर्वाचनहरूमा जस्तै यसपालिको निर्वाचनमा पनि चितवनले बेग्लै चर्चा बटुलिरहेको छ । चितवन–२ बाट शिक्षा व्यवसायी उमेश श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री समेत रहेका ६६ वर्षीय क्षेत्रलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले उम्मेदवार बनाएको हो । श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवा निकट व्यवसायी पनि हुन् ।

श्रेष्ठको निर्वाचन क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन पनि गर्न थालिएको छ । किनभने सो निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट निवर्तमान सांसद ५५ वर्षीय कृष्णभक्त पोख्रेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका पूर्व चर्चित संचारकर्मी ४७ वर्षीय रवि लामिछाने उम्मेदवार बनेका छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दलहरूबाट १० जना र स्वतन्त्र ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, निर्माण व्यवसायी पूर्णबहादुर तामाङ (कान्छाराम) रामेछापबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले उम्मेदवार बनाएको हो । उनको मुख्य प्रतिस्पर्धीको रुपमा एमालेका उम्मेदवार कैलाश ढुंगेल छन् ।

निवर्तमान प्रदेश सांसद ढुंगेल बागमती प्रदेशको पूर्व अर्थमन्त्री पनि हुन् । २०५१ लाखमा एमालेबाट सांसद विजयी भएका देवशंकर पौडेल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उम्मेदवार बनेका छन् । रामेछापमा विभिन्न राजनीतिक दलहरूबाट १७ जना र ५ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङ मनाङबाट उम्मेदवार बनेका छन् । उनको मुख्य प्रतिस्पर्धा एमालेका पोल्देन छोपाङ गुरुङसँग हुने विश्लेषण गरिएको छ । सो जिल्लाबाट काँग्रेस र एमाले बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ३८ मुख्या गुरुङले पनि उम्मेदवारी दिएकी छन् ।

प्रतिनिधिसभा सदस्यको लागि अछाम–१ मा पनि व्यवसायी उम्मेदवार छन् । सो क्षेत्रमा नेकपा एमालेले ५४ वर्षीय झपट बोहोरालाई प्रत्यक्षतर्फको टिकट दिएको छ । उनी पूर्व बैंकर हुन् । एमाले चर्चित नेता डा. भीम रावललाई टिकट नदिएर एमालेले व्यवसायी रावललाई उम्मेदवार बनाएपछि सो क्षेत्र थप चर्चामा छ ।

रावलको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका शेरबहादुर कुँवरसँग हुने विश्लेषण गरिएको छ । कुँवरलाई सत्ता गठबन्धनको तर्फबाट नेकपा एसले उम्मेदवार बनाएको हो । सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका ३ जना र ३ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

पर्यटन व्यवसायी बालकृष्ण सिवाकोटी दोलखाबाट चुनावी प्रतिस्पर्धामा छन् । उनलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो । सिवाकोटी लगानी बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सञ्चालक समिति सदस्य बनेका व्यक्ति हुन् । उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रले उम्मेदवार बनाएका ५७ वर्षीय गंगा कार्कीसँग हुनेछ । सो जिल्लामा विभिन्न राजनीतिक दलका १४  र ७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

पर्यटन व्यवसायी नरेन्द्र साह कलवार सर्लाही ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएको हो । उनको मुख्य प्रतिस्पर्धा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीसँग हुने बताइएको छ । सो निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दलका ७ र ६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

नेकपा एकीकृत समाजवादीले व्यवसायी किसान श्रेष्ठलाई बारा–४ बाट उम्मेदवार बनाएको छ । श्रेष्ठ पनि निवर्तमान सांसद हुन् । उनले यसअघि तनहुँबाट काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए । श्रेष्ठको मुख्य प्रतिस्पर्धा एमालेका उम्मेदवार एकवाल मियाँसँग हुने अनुमान गरिएको छ । सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका १० जना र १० जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

काठ व्यवसायी प्रेमबहादुर आले एकीकृत समाजवादीको तर्फबाट डोटीबाट उम्मेदवार बनेका छन् । उनको मुख्य प्रतिस्पर्धा एमालेका उम्मेदवार गौरी कुमारी ओलीसँग हुने देखिएको छ । सो जिल्लामा विभिन्न राजनीतिक दलका ४ र २ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

डोल्पाबाट उम्मेदवार बनेका धनबहादुर बुढा यार्सागुम्बा व्यवसायी हुन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट नेकपा एसले उम्मेदवार बनाएको हो । उनको मुख्य प्रतिस्पर्धा एमालेका उम्मेदवार गणेशबहादुर शाहीसँग हुनेछ । सो जिल्लामा विभिन्न राजनीतिक दलबाट ४ जना र १ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप