मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रोकर लाइसेन्स माग्दै २ दर्जन कम्पनी नेप्सेमा, हिमालयन ब्रोकरेज पुग्यो बोर्ड

शुक्रबार, २८ असोज २०७९, १३ : ४६
शुक्रबार, २८ असोज २०७९

सेयर ब्रोकरको लाइसेन्स माग्दै २ दर्जन कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुगेका छन् । सरकारले ब्रोकर लाइसेन्सका लागि आवेदन खुल्ला गरेपछि सिफारिस गरिदिन भन्दै २४ कम्पनीले नेप्सेमा आवेदन दिएका हुन् ।

गत असोज २ गते सार्वजनिक सूचना जारी गर्दै धितोपत्र बोर्डले ३० दिने म्यादसहित ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्डले दिएको म्याद कात्तिक ३ गते सकिँदैछ । नेप्सेका अनुसार बिहीबारसम्ममा २४ वटा कम्पनीले लाइसेन्सका लागि सिफारिस माग गरेका छन् । 

बुधबार बेलुकासम्ममा १५ कम्पनीले ब्रोकर लाइसेन्सका लागि सिफारिस माग गरेकोमा बिहीबार थप ९ वटा कम्पनीको आवेदन परेको हो । नेप्सेका अध्यक्ष कृष्णबहादुर कार्कीका अनुसार आवेदन परेका मध्येका एक कम्पनी सिफारिस लिएर बोर्ड पुगेको छ । आवेदकले पहिला नेप्सेबाट सिफारिस लिएर धितोपत्र बोर्डमा ब्रोकर लाइसेन्सका लागि आवेदन दिनुपर्छ । ब्रोकरको लाइसेन्स भने बोर्डले दिन्छ ।

बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले एक कम्पनीको लाइसेन्सको आवेदन परेको जानकारी दिए । ‘अहिले दिउँसो साढे २ बजेसम्ममा एउटा मात्र कम्पनीको आवेदन परेको छ, दर्जनमाथि कम्पनीहरूले ब्रोकर लाइसेन्सका लागि नेप्सेबाट स्वीकृति लिएको र दर्ताका लागि बोर्ड आउने क्रममा नै रहेको भन्ने जानकारी पाएका छौँ’ देवकोटाले रातोपाटीसँग भने । 

बोर्डको ३० दिने आवेदन हद म्याद अनुसार आवेदन दिने अन्तिम मिति आगामी कात्तिक ३ गते सकिँदैछ । अन्तिम समय सीमाको साता दिन अघि (असोज २७ गते) सम्मा एउटा मात्र कम्पनीको आवेदन बोर्डमा परेको छ । धितोपत्र बोर्डका अनुसार हिमालयन ब्रोकरेजको नाममा पहिलो आवेदन परेको हो । उक्त कम्पनीका लागि सागर ढकालले आवेदन दिएका छन् ।

कुन कुन कम्पनीले मागे नेप्सेसँग स्वीकृति ?

अध्यक्ष कार्कीका अनुसार बिहीबारसम्ममा एलिट स्टक हाउस, जेबीएनएल सेक्युरिटीज, प्रोपटी बीजर्ड, पाही इन्भेष्टमेन्ट, इन्डेक्स सेक्युरिटिज, मेगा स्टक मार्केट, एनआईसी एशिया सेक्युरिटिज, हिमालयन ब्रोकरेज, इन्फिनिटी सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, माछापुच्छ्रे सेक्युरिटिज, कैलाश स्टक मार्केट, एनएमबी सेक्युरिटिज, केबीएल सेक्युरिटिज र म सेक्युरिटिजको नाममा नेप्सेमा लाइसेन्सको सिफारिस आवेदन परेको छ । जसमध्ये हिमालयन ब्रोकरेजले नेप्सेको स्वीकृति पश्चात् धितोपत्र बोर्डमा समेत आवेदन दर्ता गरिसकेको छ ।

मापदण्ड पुरा गर्नेले सबैले लाइसेन्स पाउने

ब्रोकर लाइसेन्सका लागि तोकिएको मापदण्ड, स्तर तथा प्रक्रिया पुर्‍याएर आवेदन दिने सबैले लाइसेन्स पाउने भएका छन् । लाइसेन्सको वर्गीकरण अनुसार तोकिएको चुक्ता पुँजीसहित कम्पनीका लागि तोकिएको प्रक्रिया र मापदण्ड पुर्‍याउने जो कोहीलाई लाइसेन्स दिइने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले रातोपाटीसँग बताए । 

‘कसैलाई रोक्ने र कसैलाई लाइसेन्स दिने भन्ने हाम्रो मनसाय होइन, प्रक्रिया पुर्‍याउने र मापदण्ड पुर्‍याउन सबैले लाइसेन्स पाउँछन् । कुनै कोटा छैन, खुल्ला रूपमा लाइसेन्स वितरण गर्छौ’ हमालले भने । 

धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरण तथा कम्पनी छनोट गर्न मुख्य ५ वटा मापदण्ड बनाएको छ । जसमा न्यूनतम पुँजीसहित अनुमति प्रदानसम्बन्धी दस्तुरहरू, सञ्चालकहरूको योग्यता, संस्था प्रमुखको योग्यता र सूचना प्रविधि लगायत रहेका छन् । यी मापदण्डका आधारमा ब्रोकर छनोट गरी लाइसेन्स वितरण गरिने बोर्डले जनाएको छ ।

धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संशोधन गर्दै मापदण्ड तोकेको बोर्डले स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालीन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ ।

उसो त हाल सञ्चालनमा ब्रोकरहरूले समेत दुई वर्षभित्र तोकिएको न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी अनिवार्य पुर्‍याउन धितोपत्र बोर्डले निर्देशन गरिसकेको छ । हाल ५० वटा ब्रोकर कम्पनीहरू सञ्चालनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप