शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालसंसार : पौडी सिक्दाको अनुभव

शनिबार, २९ असोज २०७९, ०७ : ५२
शनिबार, २९ असोज २०७९

मलाई पौडी खेल्ने इच्छा सानैदेखि थियो । तर कोरोना महामारी र विद्यालयको व्यस्तताले गर्दा पुरा हुन सकेको थिएन । तर यसपालि  विद्यालयको गर्मीको बिदामा पौडी खेल्न, सिक्ने मौका मिल्यो ।

गर्मी बिदा भए पछि म बिहान उठ्ने बित्तिकै पौडीबारे सोच्न थाले । म बस्ने ठाउँबाट पौडी सिक्ने ठाउँ दुरी आधा घण्टाको थियो । 

म आमाको साथ पौडी खेल्न सिकाउने ठाउँमा गएँ । पौडी सिक्नु भन्दा अगाडि एउटा फाराम भर्नु पर्दो रहेछ र आवश्यक सामाग्री पनि किन्नुपर्दो रहेछ । आमाले चश्मा, टोपी र स्वीमिङ कस्टम किनिदिनु भयो ।

भर्ना भएको भोलिपल्टदेखि म पौडी सिक्न जान थाले । मलाई पौडी सिकाउने गुरुले स्वीमिङ पुलमा पस्न भन्नु भयो । सुरुमा स्वीमिङ पुलको पानी छुने बित्तिकै म डुब्छु कि भनेर डर लाग्यो । आखिरमा बच्चाबच्चीलाई सिकाइने त्यो पुल जम्मा तीन फिटको रहेछ । 

पुल भित्र पसेपछि मेरो सरले मलाई पानीमा हिँड्न लगाउनु भयो । यो गुरुले मेरो मनोबल बढाउन गर्नु भएको रहेछ । त्यसपछि वेला आयो, आफ्नो पुरै जिउ पानीभित्र हुल्ने । पानीभित्र मुख छिराउँदा सास रोक्नुपर्छ भन्ने कुरा त्यो वेला मलाई थाहा भएन । त्यसैले, मैले अलिकति पानी खाएँ । म धेरै आत्तिएँ । 

पछि त्यहाँ खेल्ने दाइ दिदीहरूले  पानीभित्र मुख पसाउँदा सास रोक्नुपर्छ भन्नु भयो । त्यसपछि मैले अलिकति पौडी खेल्न सिके । मेरो पौडी खेल्न सिक्ने पहिलो दिन उत्साहका साथ रमाइलोसँग बित्यो । 

बिस्तारै बिस्तारै मैले पौडी खेल्न सिक्दै गएँ । पानीसँगको डर केही  मात्रामा हराएर गयो । 

तर केही दिनपछि मलाई अर्को कुराबाट डर लाग्न थाल्यो, त्यो थियो गहिरो पानीमा जाने । एक दिन सरले मलाई सात फिटको पुलमा लग्नु भयो । त्यो दिन म डराएको देखेर मेरो सरले मलाई अझै तीन दिन ३ फिटमा नै पौडी खेल्न लगाउनु भयो । 

तीन दिन पछि म फेरि त्यही ७ फिटको गहिरो पुलमा पुगे । तर यसपालि मेरो मनोबल बढाउन मेरा बाबा र मसँगै पौडी खेल्ने दाइ दिदीहरू पनि हुनुहुन्थ्यो । मेरो सरले मलाई  त्यो गहिरो पुलमा उफ्रिन लगाउनु भयो । दुई तीन चोटि त्यसरी नै उफ्रिएपछि मेरो मनोबल अलिकति बढ्यो । 

त्यसपछि मैले २५ मिटर एक चोटिमै व्रेस्ट स्ट्रोक गरेर पार गरे । त्यो गरी सकेपछि मेरो  गहिरो पानीमा खेल्ने डर हट्यो । आजकाल त म एउटा खप्पिस खेलाडीजस्तै पौडी खेल्छु । डर भन्ने कुरा पनि अज्ञान नै रहेछ भन्ने कुरा थाहा पाएँ ।

पौडी एउटा खेल हुँदाहुँदै शारीरिक व्यायाम पनि हो । पौडी खेल्दा शरीरका मांसपेशीको व्यायामको कारण स्वस्थ शरीर, बलियो मुटु र बलियो फोक्सो हुने गर्दछ । यसका साथै मानसिक तनावलाई कम गर्न पनि अत्यन्तै मद्दत गर्दछ । पौडी आफैमा एउटा पूर्ण व्यायाम हो ।

पौडीमा बानी बसेपछि मैले पौडी खेल्ने चलनबारे खोज्न थालेँ । ईशा पूर्व पच्चिस सय वर्ष अगाडि इजिप्टमा पौडी खेल्ने चलन सुरु भएको मानिन्छ । पौडी ऐतिहासिक वेलादेखि नै खेलिएता पनि यो इस्वी सम्वत १८३० को दशकदेखि बेलायतबाट यो प्रतिस्पर्धात्मक खेल बन्यो । त्यस बेलादेखि अहिलेसम्म पौडी खेलमा धेरै परिवर्तन भइसकेको छ ।

नेपालमा पनि पौडी एक मनोरञ्जनात्मक खेलका साथै प्रतिस्पर्धात्मक खेलको रूपमा प्रसिद्ध छ । नेपाल पौडी संघले नेपालमा पौडी खेलको लागि निकै नै काम गरेको छ ।

प्राचीन कालमा पौडी खेल, मानव सभ्यता नदी किनारमा विकास हुँदै गर्दा मानिसहरूले पनि पौडी खेल्न सिकेका होलान् । मानव सभ्यता आधुनिकीकरणतिर लम्किँदै गर्दा पौडी खेल प्रतिस्पर्धी खेलका रूपमा आधुनिक पौडी पोखरीमा खेलिन थाल्यो ।

पौडी खेल चार प्रकारका हुन्छन् । अंग्रेजीमा त्यसलाई स्ट्रोक भनिन्छ । ती हुन्( फ्री स्टाइल, व्रेस्ट स्ट्रोक, वटरफ्लाई स्ट्रोक र व्याक स्ट्रोक ।

विश्वका चार ठुला पौडी खेलाडीहरू मार्क स्पीट्स, माइकल फ्लेप्स, ल्यान थोर्प र अलेक्जेन्डर पोपोभ यी विश्व खेलाडीजस्तै नेपालमा महिला पौडी खेलाडी गौरिका सिंह हुन्, जसले धेरै कीर्तिमान कायम गरेकी छिन् । 

स्वस्थ शरीर र अनुशासित उच्च जीवनशैली अपनाउन पौडी वर्तमान समयमा चाहिने एउटा महत्त्वपूर्ण खेल हो । पौडी एउटा साहसिक र   रमाइलो खेल पनि  हो ।

लेखक मोडर्न इण्डियन स्कूल चोभार, काठमाडौँमा कक्षा ६ मा अध्ययनरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप