विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरोज बज्राचार्यको ‘एम्प्टिइङ’ : कला दर्शनको अलौकिक उद्घोष

शनिबार, २९ असोज २०७९, १४ : ४२
शनिबार, २९ असोज २०७९

आजभन्दा झन्डै १९ वर्षअघि कलाकार सरोज बज्राचार्यले अनौठो प्रकारको काम (कला सिर्जना) गरे । उनले ओशो तपोवनको घना जंगलभित्र एउटा सुरिलो रूखमा तलदेखि माथिसम्मै कागजका स–साना चरा र मान्छेका रूप बनाएर टाँसे । तल जमिनमा, सँगैको पानीको आहालमा समेत उनले यस्तै कागजका चरा र मान्छेलाई गाडेर राखे । मानौँ यी जीवजन्तु र मानवहरू पानीबाटै जन्मन्छन्, पानीमै विलीन हुन्छन् । ‘मानव–प्रवृत्ति’ नाम दिइएको यो गज्जबको शक्तिशाली ‘कन्सेप्चुअल इन्स्टलेसन’ काम गर्दा सरोज २७ वर्षका थिए । 

प्राकृतिक चराहरू बसिरहने प्राकृतिक रुखमा कृत्रिम चरा बसाएको सरोजको काम अनौठो लाग्थ्यो । मानव निर्मित कलालाई प्रकृतिमाथि समागमन गराई अस्थायी रूपमा सिर्जना हुन पुगेको उनको यो कलालाई नेपालमा पहिलो मान्न सकिन्छ । 

ओशो तपोवनमा सन् २००३ मा भएको यो कला कार्यशालामा २८ समसामयिक कलाकारले जंगलभरि ४७ वटा कला निर्माण गरेका थिए । ‘कक्सिङ द नेचर’ नाम दिइएको यस कार्यशालामा सिर्जना भएका कलालाई अवलोकन गर्न १० रूपैयाँको टिकट राखिएको थियो । हजारौँ दर्शक यी कला अवलोकन गर्न आएका थिए । यसअघि र अनि आजको दिनसम्म पैसा नै तिरेर यसरी हजारौँ दर्शक कला हेर्न आएको इतिहास छैन ।

नेपाली समसामयिक कलाको नितान्त नौलो मोड (आन्दोलन)को रूपमा देखापरेको यो कला कार्यशाला घोषित रूपमै भएको वैकल्पिक कलाको आन्दोलन थियो । नेपालमा कन्सेप्चुअल इन्स्टलेसन र पर्फर्मेन्स कलाको गतिशील शुभारम्भ यसै वेलादेखि भएको हो । त्यसताका यस्ता प्रवृत्तिका कलाका काम नितान्त नौलो लाग्थ्यो, मानिन्थ्यो । यसअघि यस प्रकारका कलाको स्वरूप देखिइसकेको थिएन, जसले गर्दा भावकले त्यस बखत साँच्चिकै अचम्म मानेका थिए । यस्ता कलाको प्रवृत्तिबारे त्यतिबेला सरोजहरुलाई भनिएको थिएन । यसलाई इन्स्टलेसन वा पर्फर्मेन्स भनिने र यो अहिले विश्वमा चलेको नवीनतम प्रयोग हो भनेर पनि भनिएको थिएन । तापनि सबैले आ–आफ्नै ढंगले काम गर्दै जाँदा देखिएको स्वरूप नै नितान्त नवीन शैली बन्यो ।

यो कलाको कार्यशालामा सबै युवा कलाकारको जमात भए पनि अलि पाका कलाकारमा म र लय मैनाली आमन्त्रित सहभागी थियौँ । योजनाबद्ध रूपमा गरिएको यो कला कार्यशालामा अनेकौँ अचम्मलाग्दा नियम बनाइएका थिए । जसलाई सहभागी कलाकारले मान्नैपर्ने हुन्थ्यो । जस्तो कि यो कार्यशालामा ओशो तपोवनभित्रै आठ दिनसम्म बस्नैपर्दथ्यो । बाहिर जान पाइन्नथ्यो । क्यानभासभन्दा बाहिर, नाराका साथ आयोजना भएको यो कार्यशालामा प्रकृतिलाई नै पृष्ठभूमि बनाएर कला बनाउनुपथ्र्यो । क्यानभास र ब्रस लिएर नआउन कलाकारलाई उर्दी नै जारी गरिएको थियो । 

त्यतिबेला जमिन (प्रकृति)कै एक भाग बनेर अचम्मलाग्दा कला इन्स्टलेसनको रूपमा बनेका पनि थिए । यस्ता खाले कला कार्यशाला एवं कलाको आन्दोलन सम्भवतः नेपालमा पहिलोपल्ट आयोजना भएको थियो । नितान्त नौलो आयाममा प्रवेश हुनुपर्ने बाध्यात्मक परिस्थितिले गर्दा त्यस बखत सबैजसो कलाकारका कला नितान्त नौलो स्वरूपमा देखापरेका थिए । यी सबैजसो कलामा राष्ट्रमा घटिरहेको समसामियक घटना (त्यस वेला माओवादी आन्दोलन उत्कर्षमा थियो), आममान्छेले भोगिरहेको त्रास, पीडा र भयावह अवस्था नै प्रतिविम्बित भएका देखिन्थे । अहिले हेर्दा यो नितान्त कन्सेप्चुअल कलाको रूपमा देखापरेको थियो । देखिने गरी सामाजिक, राजनीतिक सवाललाई कलामा उठाउन सम्भवतः यसै वेलादेखि थालिएको हो । त्यस बखत कलाको बाह्य स्वरूपमा इन्स्टलेसन, विषयमा समसामयिकता (कन्टेस्टलाई सम्बोधन), भावक एवं प्रकृति स्वयं कलामै एकाकार हुने प्रक्रिया आदि सबैजसो नयाँ कुरा यसै बखत कलामा देखापरेका थिए । यस्तो अचम्मको स्वभाव बोकेको कला कार्यशाला न पहिले भएको थियो, न आजको दिनसम्म भएको छ । अचेल कला कार्यशाला बढ्दो मात्रामा हुने गर्छ, तर घोषाणासहित कडा नियमका साथ भएको यस्ता कला कार्यशालालाई भने आजसम्म देख्न पाइएको छैन । 

सन् १९९५ को लुम्ले–सुन्दरीजल कला कार्यशालालाई पृष्ठभूमिमा राख्ने हो भने ‘कक्सिङ द नेचर’लाई औपचारिक र ऐतिहासिक रूपमा कला कार्यशालाको प्रारम्भ बिन्दु मान्नुपर्ने हुन्छ । त्यसभन्दा झन्डै एक वर्षअघि (सन् २००२ मा) भएको मनसुन हार्मोनी (कला कार्यशाला) पनि यसैको पृष्ठभूमिमै राख्नुपर्ने हुन्छ । सबै कलाकार अनि आयोजक समेत उही हुँदा पनि यो एक ‘रिहर्सल’जस्तो भई देखापरेको थियो । यसर्थ नेपाली कलाको इतिहासको सन्दर्भ उठाइराख्दा ‘कक्सिङ द नेचर’ कार्यशाला धेरै कुराले महत्वका साथ देखापर्छ । यस वेलादेखि नेपालको समसामयिक कलाले एक अलग्ग मोड समातेकै हो । कलाको प्रकृति, स्वभाव आदिलाई हेर्दा नेपालमा उत्तरआधुनिक कलाको शुभारम्भ त्यतिबेलै भएको मेरो ठहर छ । 

‘एम्प्टिइङ’

त्यतिबेला प्रकृति अनि कागजको चरासँग खेल्नु सरोजको कला यात्राको एउटा शुभारम्भ यात्रा थियो । आज अझ तीव्र रूपमा फड्को मार्दै एक अर्कै स्वरूपमा ग्यालरी एमक्युबमा सरोज देखापरेका छन्, ‘एम्प्टिइङ’ नाम दिइएको उनको यो अर्को कन्सेप्टचुअल कलाको अनुपम नमुना काम हो । आफैँले आफूलाई रिŒयाउनु वा खाली गर्नु मूलतः आफ्नो पहिचानको निर्माणको बाटोमा लाग्नु हो भन्ने जस्ता दर्शन बोकेको यो कला प्रदर्शनी धेरै कुराले अर्थपूर्ण देखिन्छ । यसपल्ट चित्रमाला (आर्ट सिरिज)मा उनिएका उनका कलामा खालिपनको आभास दिने यथेष्ट विम्ब सलबलाइएको देखिन्छ । यसअघि सन् २००० मा भएको ‘थ्री सोलोइस्ट’ नामक तीनजनाको कला प्रदर्शनीमा सरोज पनि समाहित थिए । खाली (एम्टी) भाव र अभिव्यक्तिमा रंगहरू पोखाउँदै खाली ठाउँ भर्ने प्रसंग उनले त्यसै वेला उठाएका थिए । त्यस वेलाको स्लोगन अचम्मको थियो– ‘ड्रिमिङ एन्ड नट स्लिपिङ रनिङ एन्ड नट मुभिङ’ । यसैको निरन्तरता तर अलि थोरै फरक ढंगबाट उनले यसपालि कला पस्केका छन् । उनी भन्छन्, ‘नयाँ भर्नका लागि खाली हुन जरुरी छ । यसर्थ खाली गर्ने प्रक्रियामा लागिरहनुपर्छ । यसर्थ म मुलाको अचारजस्तो हुँ । अचार बनाउन मुलालाई घाममा सुकाएर कुहाइन्छ । टक्सिङ (नराम्रा कुराहरूको अर्थमा) बाहिर निकालिन्छ । अर्थात् राम्रा विचार वर्षौंदेखि हामी भित्र बस्दाबस्दा कुहेर (राम्रो अर्थमा) पनि अचारजस्तो मिठो र लाभदायक भएरै बन्ने गर्दछ । अनि हामी त्यो अचार (विचार) मिठो मानेर खान्छौँ । कुहाउने प्रक्रिया सही रहेछ भन्ने मेरो अहिलेको सोच हो ।’ 

सरोज बज्राचार्य मूलतः कलाकार, कला लेखक, माझिएका क्युरेटर र कला मेनेजर समेत हुन् । हिजोआज कलाका प्रदर्शनी, मेला आदिमा क्युरेटर, कला–व्यवस्थापक (मेनेजर) र आर्ट एजुकेटर राख्ने चलन छ । आर्ट एजुकेटरको प्रचलन भने नेपालमा पस्न सकेको छैन । नितान्त अर्कै विधाको अर्कै विज्ञलाई कलामाथिको छलफल गराएर आर्ट एजुकेसनको विधालाई छायामा पारेको अहिलेको यथार्थ हो । विशेषतः सरोज कला दर्शनका प्रयोक्ता समेत हुन् । उनले परिकल्पना र कार्यान्वयन गरेका कला कार्यशाला हुन्– ‘फ्युचर अफ हिस्ट्री (रातो मच्छेन्द्रनाथको परम्परागत संस्कृतिमा आधारित), फेबल्स् अन द फ्लोर (लोकोक्ति र दन्त्यकथामा आधारित), एपिअरेन्स अफ लाइट (बौद्धिस्ट धर्मका तान्त्रिक गुरु पद्मसम्भवमा आधारित), खुला प्रकृति आदि । ती हरेक परियोजना ६ महिनादेखि एक वर्षका थिए । अनुसन्धानमूलक र अभिलेखनमा विशेष ध्यान दिएर गरिएका उनका यी परियोजनाका कामलाई अब्बल भन्नुपर्छ । 

कलागत प्रवृत्ति 

यसपालि सरोजले क्यानभासको बीचौबीच भागमा किसिम–किसिमका पात्र सलबलाउने, लडिबुडी खेल्ने जस्ता कलागत प्रवृत्तिको संयोजन गरेका छन् । सरोजका पात्र शून्यतामा उभिन्छन् । चित्रपटबाट पात्र एक अलग्गै खण्डमा उभिएको जस्तो देखिने यो खालको स्वरूप पछिल्लो कालमा आएर कलाकारको मनपर्ने शैली पनि बनेको देखिन्छ । यसको विपरीत (परम्परागत) शैलीमा क्यानभासको कुनै पनि हिस्सालाई सन्तुलित बनाउन कोसिस गरेको देखिन्थ्यो । संगति (हार्मोनी)को विचार गरी क्यानभासको हरेकजसो पाटोलाई मूर्त वा अमूर्त रंग वा रूपबाट भए पनि भर्ने काम गरिन्थ्यो । संगठित गरिएको मूल भाग जति महत्वको हुन्थ्यो, यसको अगाडि–पछाडि, दायाँ–बायाँ वा भित्र–बाहिर सबैतिर त्यत्तिकै महत्त्वका साथ कलाकारले प्रयोग गर्दथे । चित्रपटका सबै भाग कलाको दृष्टिकोणले त्यत्तिकै महत्त्वको हुन्थ्यो । 

यो टेक्निक सदियौँदेखि चलिआएको थियो । परम्परागत चित्रकलमा त चित्रपटको मूल भागमा मूल देवी–देवताका रूपलाई स्थापित गरेपछि यसैको अगाडि–पछाडि वा पृष्ठभूमिमा अनेक प्रकारका बुट्टा बनाइन्थ्यो । आफूखुसी यस्ता बुट्टा बनाउन कलाकार स्वतन्त्र थिए । क्यानभासको कुनै पनि भाग त्यसै छाडिँदैनथ्यो । यसो गर्दा स्वैरकाल्पनिक विम्ब पनि यथार्थ हो कि जस्तो भएर उदाएको देखिन्थ्यो । त्यतिवेला यही नै आकर्षणको केन्द्र थियो । क्यानभासमा यस्ता विम्ब धमिलो रंग, ‘टेक्स्चर’ (बनावट) वा रंगका विविध खालका तहले अमूर्त रूपमा छोपिएका जस्ता देखिन्थे । रेखालाई मूर्त वा अमूर्त रूपमा प्रयोग गर्ने गरिन्थ्यो । धेरैजसो कलाकारले आज पनि यही ‘टेक्निक’ प्रयोग गरिरहेका छन् । अर्कोतर्फ चित्रकलामा थोरै कलाकारले मात्र प्रयोग गर्ने यो नवीनतम कलाको प्रवृत्तिमा सरोजका पात्र कतै हावामा अल्झिएका, झुन्डिएका वा स्पेसमा तैरिएका जस्ता देखिन्छन् । जसले भावकको मनमा अलौकिक स्वैरकाल्पनिक तरंग जन्माउँछन् । उनको कलामा विम्बहरू अचानक कतैबाट उदाउँछन्, अनि बीचमै कतै विलीन हुन्छन् । विम्बहरू अलग्ग क्यानभासमा टाँसिएको जस्तो देखिनु उनको शैली हो । 

एस्ट्रोनट (अन्तरिक्ष यात्री) उनका मूल पात्र हुन् । जुन गतका पाँच–सात वर्षदेखि उनीसँगै छन् । यस बाहेकका अन्य पात्र उनका कलामा परिवर्तित भईकन देखापर्ने गर्छन् । मूलतः अहिले अत्यधिक रूपमा देखापर्ने उनका सबल पात्रमा कप, चियर, प्वाँख, चन्द्रमा र छछल्किँदै गरेको पानी हो । यी हरेक विम्बको गहिरो अर्थ छ । पानी छछल्किनुलाई उनी ग्राभिटीसँग जोड्ने गर्छन् । पानीमा मानव स्वयं तैरन सक्छन् । यसले मानिसको स्वतन्त्रतालाई संकेत गर्छ । मानिस उफ्रेर उड्न सक्दैन । यो स्वाभाविक ग्राभिटीको असर हो । ‘सबमेर्जेन्स’, ‘पोइट्री अफ द फल’, ‘जोन सेकेन्ड’, ‘अनएम्टी’ आदि नाम दिइएका उनका कलामा यस्तै वैचारिक अन्तर्वस्तु यथेष्ट रूपमा पाउन सकिन्छ । अर्को उनको शक्तिशाली मोटिफ हो ‘चियर’, जसलाई खाली स्पेसको प्रतीकात्मक विम्बका रूपमा उनी प्रस्तुत गर्छन् । मेच खाली भएपछि नै कसैलाई त्यहाँ बस्न मिल्छ । खाली हुनु र अर्कै कोही त्यहाँ बस्नु भनेको परिवर्तन र विकासको द्योतक हो, (शरीर, विचार र दर्शनको सन्दर्भमा) । खाली नभई कोही अर्को मान्छे वा वस्तु आएर बस्न अनुकूल हुँदैन । अनि यथास्थिति सदैव बनिरहन्छ । यो ‘स्टेरियोटाइप’ नै समाजमा समस्याको जड हो, विकासको अवरोध पनि हो । 

‘एबोभ टाइम बियान्ड स्पेस’ शीर्षकको उनको चित्रमा नदेखिने गरी सोफामा बसेको व्यक्ति र अर्को स्पष्ट रूपमा देखिने गरी उभिएको अन्तरिक्ष यात्री स्पष्ट रूपमा दृष्टिगोचर हुन्छ । अर्को चित्र ‘अन एब्स्ट्र्याक’ मा कुर्सीबाट उछिट्टिँदै गरेका प्वाँख कतै एक गोलाकारमा थोपरिँदै गरेको र नांगो रूखको रूपमा अन्तरिक्ष यात्री पनि साथै उभिएको देखिन्छ । ‘बर्ड अन द मुन’ चित्रमा अन्तरिक्ष यात्रीहरू छलफल गरिरहेका देखिन्छन् । यी र यस्तै चित्र उनका मूल विशेषताका रूपमा देखिएका छन् । 

मूलतः भौतिक शरीरभन्दा पनि भूत, वर्तमान र भविष्यमा अनवरत रूपमा बाँचिरहने आत्माको सन्दर्भ उनका चित्रमा आएका छन् । खाली हुनु, भरिनु नै परिवर्तन वा विकासको प्रक्रिया हो । खाली भएपछि हल्का हुन्छ, जहाँ जसरी पनि उड्न सक्छ, कसैले छेकेबार लाउन सक्तैन । कसैले छेक्न नसक्ने, हल्का भएर उड्न सक्ने सबैभन्दा मिल्दो प्रतीक भनेकै आत्मा हो । यसर्थ उनले प्वाँखलाई आत्माको प्रतीकका रूपमा प्रयोग गर्छन् । 

यस्तै उनको चित्रमा कप एउटा विम्ब भएर उदाउनु, भरी हुनु र पोखिनु वा खाली हुनु, पुनः भरिनु आदि प्रक्रिया देखिन्छ । चियाले भरिएको कपमा पानी पस्दा पानी छछल्किने मात्र होइन, कपभित्रको चिया पनि पोखिएर खाली नै हुन्छ । यस अवधारणाले यो संकेत गरिरहेको छ कि परिवर्तन वा विकास हुनका लागि भरिएको खाली हुनुपर्छ र खाली भरिनुपर्छ । तत्पश्चात नयाँ नौलो कुराहरू उम्रन, जन्मन सक्छन् । उनको चित्रमा चन्द्रमा संचेतनाको प्रतीक हो । मूलतः जम्मै कुरा यही संचेतनामा केन्द्रीभूत हुने हुँदा यो उनको मन पर्ने मोटिफ बनेको छ । यसैले गर्दा उनका सबैजसो पात्र केन्द्रीकरण हिसाबमा समायोजन गरिएका देखिन्छन् । 

छछल्केको पानीभित्र आँखा, पानीभित्र डुब्दै गरेको अन्तरिक्ष यात्री, छछल्केको पानीबाट माछाबाहिर उफ्रिरहेको वा उड्दै गरेको जस्तो देखिनु, पानीभित्र रहेको पन्छीलाई माथिबाट अन्तरिक्ष यात्रीले समात्न खोज्दै गरेको परिदृश्य आदि उनको कलामा देखिएका छन्, जसले आमभावकमा कलागत दर्शन सम्प्रेषण गर्छन् । 

सरोजसँगै यही प्रदर्शनीमा भारतीय कलाकार साहिल भोपाल पनि छन् । भारतको लद्दाखमा एउटा विशेष अवस्थामा थाङ्का कला सिकेका साहिलले नेपालमा यसका पारखी बढी पाए । गत ५–६ वर्षदेखि नेपालमै रमाउन थालेका साहिलले परम्परागत थांका चित्रमा महारथ हासिल गरेकै थिए । यसपल्ट भने उनले यही शैली र प्रवृत्तिलाई आधुनिकतामा ढाल्दै कला पस्केका छन् । थांकाका स–साना मोटिफ, बुट्टाहरूलाई उनले लयात्मक रूपमा खेलाउँदै नितान्त नयाँ ढंगको संयोजन गरेका छन् । परम्परागत धर्म र संस्कारसँग आबद्धता, तन्त्रमन्त्र र यन्त्रको समागमन, ध्यान र भक्तिको अलौकिक शक्ति आदिलाई समग्रमा मिलाउँदै एउटा अलग्गै कथा उनले निर्माण गरेका छन् । धर्मगाथा, दन्त्यकथाको समिश्रणमा एउटा कथा जन्मेको देखिन्छ । यथार्थपरक वस्तुहरूलाई प्रतीक र विम्बका साथै देवीदेवताका कोमल आकर्षक रूपलाई समेत प्रस्तुत गर्न उनी आतुर देखिएका छन् । जसले गर्दा भावकहरू उनका चित्र हेर्दै गर्दा मन्त्रमुग्ध मात्र हुँदैनन्, चिन्तन र मनन गर्न पनि लालायित देखिन्छन् । भावकको यो सामीप्यता नै उनका लागि ठूलो उपलब्धि बनेको छ । 

(लेखक मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप