शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भैँसीको मासुमा साटिने भोट

शनिबार, २९ असोज २०७९, १८ : ११
शनिबार, २९ असोज २०७९

‘ए बुढी ! मेरा जुत्ता कहाँ छन्, टोपी कहाँ पर्‍यो ?’ आँगनमा निस्केर सुर्केबहादुर कराए– भाष्करदेव बिस्टले बोलाका छन् रे, यसो पुगेर आउनपर्‍यो । खै के भन्न बोलाका हुन्, चुनाब आको बेलामा ! 

‘यी यहाँ, मेरा टाउकाँ छन् तिम्रा जुत्ता । आफ्ना जुत्ता स्याहार्न सक्दैनौँ ?’ घर भित्रबाट बेलौती बोलिन्– कतै हिँड्न लागे कि धोतीदेखि टोपीसम्म सधैँ मैले खोजिदिनुपर्छ ?’ 

टोपी हातमा लिएर उनी बाहिर निस्किन् । ‘ऊऽऽऽ त्यहाँ गोठको छानामा छन् तिम्रा जुत्ता । कि जुत्ता पनि ल्याएर पाउमै टक्राउनपर्ने हो, बाबुसाबलाई ?’ 

‘मेरो टोपी र धोती फुस्कने भनेकै तँसँग चल्दा त हो !’ गोठतिर जाँदै सुर्केबहादुर ठट्ट्यौली शैलीमा प्रस्तुत हुन्छन्– ‘तँलाई थाहा नभएर कसलाई हुुन्छ त ? कि अर्कैसँग चल्न जानपर्‍यो ?’ डाँडा काटिसकेको आफ्नै बैंसलाई बेलाबेला जिस्क्याउन उनलाई बानी लागेको छ । 

‘हेर न, बोलेको । अनुहारका छाला चाउरी परेको चाल पाका छैनौ ? बूढो भइसक्यौ, अलिकति लाज त मान ।’ आँगन छेउमा थुपारिएको दाउरा अँगालोमा राखेर बेलौती घरभित्र छिरिन् । घरमा खरको छाना फालेर टिन तेर्साइएको छ । पिँडीको छानो भने खरकै छ । अर्थराजनीतिक विश्लेषणबाट हेर्दा यो घरले अर्धसामन्त र अर्धपुँजीवादको झल्को दिन्छ ।  

जुत्ता लगाएर सुर्केबहादुर बिस्टका घरतिर लागे । भित्रबाट बेलौतीले चिच्याइन्– आउँदा साइँलीकहाँ पसेर नुन लिएर आऊ है, अस्ति पैँचो लगेकी थिई । 

यो दम्पतीबीच यो प्रकृतिको झगडा वा भनौँ प्रेम सधैँ चलिरहन्छ । यी दुवै आफूहरूको ठाकठुकपूर्ण सम्बन्ध दुनियाँलाई देखाउन र सुनाउन चाहन्छन् । यिनीहरूसँग यो सम्बन्धबाहेक अर्को महत्वपूर्ण सम्पत्ति के नै छ र ? कुन दिन कुन युट्युबर र टिकटकर पुगेर यिनलाई ‘भाइरल’ बनाउने हुन्, थाहा छैन । 

सुर्केबहादुर दमाईलाई उनकी आमाले जिम्मावालको बारीको सुर्कोमा जन्माएकी हुन् । सुर्कोमा जन्मेको भएर जिम्मावाल खलकले यिनलाई सुर्के भन्न थाले, त्यही नाम यिनको नागरिकतामा लेखिएको छ । बेलौती दमिनीको पनि यस्तै कथा छ । उनलाई उनकी आमाले घाँस काट्दाकाट्दै बेलौतीको रुखमुनि जन्माएकी थिइन् । उमेरले तीन बीस वसन्त काटिसकेको यो जोडीले सात सन्तानलाई जन्म दिएका थिए, तीन सन्तान हुर्किएनन् । हुर्केका दुई छोरीको विवाह भइसकेको छ । जेठो छोरो सानै उमेरमा बम्बै छिरेको थियो, उतै बिहे गरेर बसेको छ । ऊ चार वर्ष जस्तोमा एकचोटि घर आउँछ, दसैँका बेला । २४ वर्षको कान्छो छोरो प्रकाश यतिखेर गाउँघरमै ज्याला–मजदुरी गर्छन् । ९ कक्षामा पढ्दा उनी एउटी क्षत्रिनी केटीको प्रेममा परेका थिए । एक दिन उनले केटीपक्षबाट नराम्रोसँग धुलाई भेटे, त्यसपछि बहकिएर पढाइ छाडिदिए । ढल्कँदो उमेरका बाआमालाई मेलापात पठाएर आफू स्कुल जान पनि उनलाई उचित लागेन । 

यतिखेर उनले प्रेम र विवाहलाई घृणा गर्न थालेका छन् । उनीभित्र एउटा कच्चा ईख हुर्कंदो छ– पख् तँभन्दा राम्री केटी बिहे गरेर देखाउँछु । यिनलाई थाहा छैन– किशोरकालको आकर्षण केवल मीठो दुर्घटना हो । यो दुर्घटना वा भनौँ पहिलो प्रेमसँग दुश्मनी साँधेर, ईख लिएर वा चिढिएर प्रेमको दुनियाँमा अगाडि कहीँ पुगिँदैन । पहिलो प्रेमलाई प्रेम नै गर्न जान्नुपर्छ, सिक्नुपर्छ । 

०००

भाष्करदेव बिस्ट घरको बार्दलीमा बसेर रेडियो सुनिरहेका थिए । उनकै लगानीको एफएम रेडियोबाट उनकै अन्तर्वार्ता बजिरहेको थियो । उनी भन्दै थिए– महिला, दलित, उत्पीडित वर्गको पक्षमा म सधैँ उभिएको छु... । 

‘सुर्केदाइ आयौ ?’ 

‘नमस्कार हजुर,’ आँगनबाट सुर्केले बिस्टप्रतिको सम्मान र आफ्नो उपस्थिति एकैचोटि जनाए । 

भाष्करको यो घर ०४५ सालतिर बनेको हो । इँटाको एकहाते गारो लगाएर, ढुंगाले छाएर बनाइएको तीनतले यस घरलाई पहिले दलितहरूले दरबार नै ठान्थे । अहिले ढुंगा झिकेर टिन लगाइएको छ । यस घरको आँगनमा आएर आँसु खसाएपछि, वा हात फैलाएपछि कोही पनि रित्तो हात फर्कनुपर्दैनथ्यो । 

आँगनको डिलमा रहेको मेचतर्फ औँलाउँदै भाष्करले भने– ‘त्यसमा बस ।’ 

रेडियोमा उनी बोल्दै थिए– मैले जातीय रूपमा कसैलाई ठूलो–सानो मान्दिनँ । मेरो घरमा कसैलाई छुवाछूत गर्दैनौँ... । 

रेडियोको अन्तर्वार्ता सकिएपछि भाष्कर पिँढीमा राखिएको सोफामा बस्न आइपुगे र मुखिया मुद्रामा बोले, ‘सुर्केदाइ ! जाऊ, दुइटा भैँसी खोज । भैँसी खाने सबैलाई भतेर खुवाउनुपर्‍यो ।’

‘किन होला हजुर !’

– चुनाव आयो ! चामल पनि बाँड्छु । भोजभतेर खाने, अनि मेरी छोरीलाई भोट दिने ।

‘गाउँको उपादच्छेमा मेरै दाइकी छोरी सपना उठ्दै छ हजुर । गाउँ कम्टीले सिफारिस गरिसक्या छ भन्छन् । भोट उसैलाई दिनुपर्ने होला ! फेरि अचेल पहिलापहिला जसरी गाउँका दलितहरूले भैँसीको मासु खाँदैनन् हजुर ।’

‘भैँसी नखानेलाई खसी खुवाउँला, हातहातमा दुई–चार हजार राखिदिउँला, यसपालि मेरी छोरीलाई भोट दिनुपर्छ । सपनाले टिकट पाउँदिनन् । गाउँ कमिटीले सिफारिस गरेर मात्रै हुँदैन, केन्द्रमा मैले कुरा मिलाइसकेको छु,’ भाष्कर झोँक्किन्छन्, ‘उहिलेदेखि तिमीहरूले भैँसीकै मासुमा भोट बेचेका हौ । चुनावको अघिल्लो दिन भैँसी ढाल्थे । बिस्टका भकारीबाट अन्न लैजान्थे । अहिले आएर यिनीहरु भैँसी नखाने भइसके ! तिम्रो कान्छो छोरो गाउँमा हल्लिराको छ, त्यसलाई विदेश पठाउन पैसा हालिदिउँला । सपनालाई पनि सदरमुकाममा सिलाउने पसल खोल्न पुग्ने पैसा दिउँला, उसको लोग्नेलाई विदेश पठाउने  पैसा हालिदिउँला, उसलाई उम्मेदवारी फिर्ता लिन भन । जाऊ, भोलि साँझसम्म यति कुरा मिलाएर आऊ ।’ 

केही नबोली सुर्के घरतिर लागे । 

साँझको खाना खाइसकेपछि पिँढीको एक छेउमा गुन्द्रीमाथि बसेर सुर्केले चुरोट तानिरहेका थिए । चैतेदसैँ भर्खरै सकिएको थियो । आँगनभरि पोखिएको जूनको ज्योतिसँग एकाकार हुँदै प्लास्टिकको कुर्सीमाथि बसेर प्रकाशले मोबाइल चलाइरहेका थिए । पिँढीको अर्कोछेउमा जाँतो थियो, बेलौती मकै पिस्दै थिइन् । एउटा लय र धुनमा जाँतो घुमिरहेको थियो । एक तमासको सुन्दर पृरिदृश्य र लयलाई चिरेर सुर्केले दिउँसोको घटना सुनाए । 

प्रकाश बोले– हुँदैन बा । सपनादिदी चुनाव लड्नैपर्छ, भोट दिदीलाई नै दिने हो । अरु चान्स नै छैन ।

‘भाष्कर बिस्टले यसो–यसो भनेका छन् भनेर सपनालाई सुनाउने कि नसुनाउने त, उसले के भन्छे ?’ अन्तिम सुर्को चुरोट तानेर बाँकी ठुटो पत्नीलाई दिँदै सुर्केले भने, ‘फेरि भाष्कर बिस्टलाई भोलि साँझसम्म जवाफ दिनुपर्‍यो ।’

आँगनमा सपना झुल्किइन् । मैले सबै सुनिसकेँ, कान्छाबा । चुनावकै विषयमा कुरा गर्न आउँदै थिएँ, यहाँ हजुरहरू बोलेको सुनेँ । कोही विपक्षी आएको रहेछ कि भनेर करेसातिर लुकेर बसेकी थिएँ । 

प्रकाशले सपनालाई कुर्सी छाडिदिए । ‘तैँ बस्, म यहाँ बाको छेउमा बस्छु,’ सपना पिँढीमा बस्न खोज्दै थिइन्, प्रकाशले उनको हातमा समाएर कुर्सीमा बसाउँदै भने, ‘हजुरलाई नेता मानेर पो कुर्सी छाडिदिएको ।’ 

प्रकाशभन्दा सपना १४ वर्ष जेठी हुन् । जनयुद्धको उत्तराद्र्धतिर उनी लडाकु बनिन्, जतिबेला उनी १७ वर्षकी थिइन् । उनले आफ्नो घरदेखि पारिको गाउँमा विवाह गरेकी छन् । कहिलेकाहीँ माइतीगाउँ आउँदा उनले केही न केही बोकेकी हुन्छिन् । झोलाबाट सिमीको पोको निकालेर कान्छीआमालाई दिँदै भनिन्, ‘कान्छाबालाई सिमीको तरकारी मनपर्छ, अलिकति ल्याइदिएको ।’

‘नल्याएको भए नि हुन्थ्यो, तँलाई पाहुर बोकेरै आउनुपर्छ त सधैँ ?’ सिमीको पोको आफ्नो काखमा राख्दै बेलौतीले भनिन् । 

‘के सोच्नु हुँदै छ त कान्छाबा ? मैले चुनाव जितेर गाउँकै हितमा केही गर्ने कोसिस त गर्छु, भाइलाई मात्रै हेर्दा नातावादको कुरा उठ्छ । उता भाष्करले पैसाको ध्वाँस लगाइसकेका छन्,’ आँगनमा उभिएर सपनाले सोधिन् ।

बाको छेउमा बसेका प्रकाश बोले– अब के सोच्नुपर्‍यो र ? हाम्रो कुरो क्लिअर छ, हजुर चुनावमा उठ्नुपर्छ, हामीले भोट हजुरलाई नै हाल्छौँ । अनि, यस गाउँको विकास गर्नुपर्छ ।

‘त्यही हो छोरी, तिमीहरूले जे गर्छौ हामीले त्यही मान्छौँ,’ सुर्केले छोराको कुरामा सही थापे । 

०००

जसोतसो सपनाले टिकट पाइन्, तर पार्टीभित्रैबाट अन्तर्घात गरी उनलाई हराइयो । विपक्षी दलले उनलाई हराउन पैसाको खोलै बगाएको थियो । चुनाव हारेपछि सपना केही दिन घरबाट बाहिर निस्किनन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै थियो । उनले आफ्नो चुनावी क्षेत्रका दलित बस्तीहरू चहार्न थालिन्, दलितहरूको मात्रै दुई हजार भोट रहेछ । 

निर्वाचन मिति घोषणा गरियो, उम्मेदवार मनोनित भए । गाउँठाउँमा सपनाको नाम राम्रै चल्थ्यो । उनले हल्ला चलाइन्– ‘मैले तीन महिना लगाएर अनुसन्धान गरेँ । यस निर्वाचन क्षेत्रमा दलितहरूको भोट दुई हजार रहेछ । यस भोटले यस क्षेत्रको हारजितमा धेरै नै प्रभाव पार्न सक्छ । मेरो संयोजकत्वमा हामी दलितहरूले ५० जनाको दलित सशक्तीकरण कमिटी बनाएका छौँ । कमिटीमा फलाना–फलाना छौँ । यो कमिटीले हाम्रो भोट बिक्री गर्नेछ । प्रतिनिधिसभाका लागि हाम्रो भोटको मूल्य दुई करोड रुपैयाँ हो, र प्रदेशसभाका लागि एक–एक करोड । जसले बढी दिन्छ उसैले भोट पाउँछ ।’

यो हल्ला उनको क्षेत्रमा मात्रै होइन, देशैभरि फैलियो । त्यस क्षेत्रबाट उनकै पार्टीका अध्यक्ष उम्मेदवार थिए । निर्वाचन प्रचार–प्रसारको बहाना गरी उनी हेलिकप्टर चढेर सपनाको गाउँमा पुगे, साँझपख घरमै गएर सपनालाई भेटे । उनले अनेक प्रलोभन देखाए, तर सपना आफ्नो अडानबाट ढुलमुल भइनन् । अन्ततः अध्यक्षले भने– ‘तपाईंले चार करोड रुपैयाँको कुरा गर्नुभएको छ, मैले पाँच करोड रुपैयाँको व्यवस्था गरिदिन्छु । चुपचाप मलाई भोट हाल्नुहोला ।’

यति भनेर अध्यक्ष काठमाडौं फर्किए । यता उनीहरूको भोटको लिलाममा बढाबढ हुन थाल्यो । एक स्वतन्त्र उम्मेदवार आएर उनीहरूको भोटको मूल्य १० करोड रुपैयाँ दिन तयार भए ।

निर्वाचन नजिकिइसकेको थियो । सपनाको अध्यक्षतामा दलित सशक्तीकरण कमिटीको बैठक बस्यो । कसलाई भोट दिने भन्ने सम्बन्धमा उनीहरूबीच लामै छलफल चल्यो । धेरैले भने– यो स्वतन्त्र उम्मेदवार राजावादी हो भन्ने सुनिन्छ त !

सपनाले निष्कर्षमा भनिन्, ‘राजावादी नै सही, पैसा आउँछ अनि हाम्रो लक्ष्य पूरा हुन्छ भने । चुनाव जितेपछि हाम्रा लागि कार्यक्रम कसैले ल्याउने होइनन् ! भोट बेचेर पैसा आउँछ र हामीले हाम्रो उत्थानमा केही गर्न पाउँछौँ भने किन्ने ग्राहक जोसुकै होस्, त्यता सोच्न जरुरी ठान्दिनँ म । व्यापारीका लागि बढी तिर्ने ग्राहक नै असल हुन्छ ।’

सपनाको सपना वा भनौँ लक्ष्य थियो– आफ्नो क्षेत्रमा एउटा तालिम तथा उत्पादन केन्द्र खोल्ने । जहाँ दलितका पुख्र्यौली सीप, पेसा र कलालाई प्रवद्र्धन गरी आयआर्जन तथा उत्पादनमूलक बनाउने, अन्य स्थानीय उत्पादन बढाउने तालिम दिई उत्पादन सुरु गर्ने सपनाको योजना थियो । जसका लागि उनले चार करोड रुपैयाँ लागत अनुमान गरेकी थिइन् । पैसामा भोट बिक्ने राजनीति बुझेपछि नै उनी यो महत्त्वाकांक्षी योजनामा अगाडि बढेकी हुन् । उनले आफ्नो योजनासहित घरदैलो कार्यक्रम गरेकी थिइन् । त्यस क्षेत्रका दलितलाई आफ्नो योजनामा विश्वस्त बनाउन उनलाई समस्या भएन । 

अन्ततः उनीहरूको भोट १० करोड रुपैयाँमा बिक्री भयो । त्यसपछि उनीहरू आफ्नो योजनाअनुरूप अघि बढे । उनीहरूको तालिम तथा उत्पादन केन्द्रले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाउन थाल्यो । त्यहाँ बनेका पन्चै बाजा, खुकुरी, सांरगी र केही डिजाइनका कपडाले विश्वबजार पायो । 

यो देखेपछि देशैभरिका दलित र अल्पसंख्यकले आफ्नो भोट लिलाममा राख्न थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप