बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भिसा समस्याका कारण कतार जान पाएनन् नेपाली कामदार

यसरी भएको थियो विश्वकप फुटबल लक्षित कामका लागि कामदार पठाउने निर्णय
सोमबार, ३१ असोज २०७९, १० : ०६
सोमबार, ३१ असोज २०७९

भिसा समस्याले नेपाली श्रमिकहरू कतार जानबाट रोकिएका छन् । विश्वकप फुटबल लक्षित कामका लागि नेपाली श्रमिकलाई कतार पठाउने सरकारले निर्णय गरेको थियो । तर, भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति लिएर पनि जान नपाएका हुन् ।

कतार विश्वकपका लागि भनेर तीन महिनादेखि ६ महिनासम्मका लागि नेपाली कामदार पठाउने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको थियो । सोही आधारमा श्रम कार्यालयमार्फत २ हजारको हाराहारीमा पूर्वस्वीकृति लिएका थिए। उनीहरू मध्ये करिब १५० जना मात्रै कतार जान पाएको वैदेशिक रोजगार कार्यालय ताहाचलका सूचना अधिकारी तथा निर्देशक बसन्त बहादुर बोहराले बताए ।

नेपालको कानुन अनुसार वैदेशिक रोजगारीमा जानको लागि १ वर्षभन्दा कम अवधिका लागि श्रम स्वीकृति दिन मिल्दैन । श्रम मन्त्रालयले विशेष निर्णय गरेर नेपाली श्रमिक पठाएर कतारलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर, भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति लिएका कामदारहरू रोकिएका हुन् । व्यक्तिगत पहलमा भने १ जना मात्र श्रम स्वीकृति लिएर कतार गएका छन् ।

‘हाया’ भिसामार्फत विश्वकप हेर्न नेपालीहरू कतार जाने भएका छन् । जुन भिसा विशुद्ध विश्वकप फुटबल हेर्नको लागि मात्र हो । सरकारले सोही भिसा मार्फत श्रमिकलाई पनि पठाउने भनेको थियो । तर, त्यसबाट कामदारको रूपमा जान नसकिने भएपछि उनीहरू रोकिएको निर्देशक बोहराले बताए ।

‘हाया भिसा हुन्छ । त्यो भनेको विश्वकप हेर्न जानका लागि प्रवेषज्ञा हो । हाम्रोबाट कामदारको रूपमा जाने भएकाले कामदार भिसा जारी नभएकाले अहिलेसम्म रोकिएको छ,’ निर्देशक बोहराले भने । एयरपोर्टमा क्यूआर कोड स्क्रिनिङ गर्नुपर्ने र त्यसमा हाया भिसामार्फत गएकाको हकमा श्रमिक नदेखाउने हुँदा समस्या भएको उनको भनाइ छ ।

श्रमिक भनेपछि कम्पनीको नाम र काम दुवै प्रष्ट देखाउने गरी मात्र पठाउने गरेको भन्दै हाया भिसामार्फत त्यो कुनै पनि नदेखाउने निर्देशक बोहराले बताए ।

‘हायामा पठाउन सकिने अवस्था छैन । त्यसका लागि क्यूआर कोड स्क्रिनिङ गर्दा त्यसमा सम्बन्धित कामदारले काम गर्न जाने कम्पनीको नाम र जब टाइटल देखाउँदैन । त्यसले यो भिसामा पठाउन नसकिने अवस्था छ,’ उनले भने । 

भिसामा समस्या आएपछि कार्यालयले के गर्ने भनेर वैदेशिक रोजगार विभागलाई सोधेको छ । तर, उताबाट अहिलेसम्म केही जवाफ आएको छैन । ‘पूर्वस्वीकृति लिएकाहरूको हकमा के हुन्छ भन्ने अहिलेसम्म कुनै निर्णय भइसकेको छैन । हाया भिसाको हकमा के गर्ने भनेर विभागमा पत्र पठाएका छौं । त्यहाँबाट कुनै जवाफ आएको छैन,’ उनले भने ।

उनीहरूको विषयमा नेपालमा रहेको कतारी दूतावासबाट समेत भिसा जारी भएको छैन । ‘दूतावासले पनि तीन महिनाको अवधिका लागि किन भिसा दिएन भन्ने हो । दूतावासले भिसा नदिएपछि उतैबाट पनि समस्या भएको हो,’ निर्देशक बोहराले भने । 

तीन महिनादेखि ६ महिनाका लागि भिसा जारी गरिएको खण्डमा भिसा सकिएपछि कामदार स्वदेश फर्किनुपर्ने उनको भनाइ छ ।

जनवरी २०२१ मा नेपाल र कतार सरकारको संयन्त्र ज्वाइन्ट कमिटीको छैठौं बैठक काठमाडौंमा बसेको थियो । उक्त बैठकले विभिन्न निर्णय गरेको थियो । सोही बैठकले नेपालबाट विश्वकप लक्षित सिजनल कामदार पठाउने निर्णयसमेत गरेको थियो । त्यसका लागि कानूनी व्यवस्था नभएपनि नेपालले निर्णय नै गरेर कामदार सिजनल वर्करको रूपमा पठाउने भनेको थियो ।

मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले भने, ‘वर्ल्डकप भनेको एउटा देशको मात्र नभएर संसारकै हो । म्यानेजमेन्ट एउटाले गर्दा तर, गेम त सबैको हो भन्ने हिसाबले हामीहरू कतार गएका बेला आफैंले तपाईहरुलाई चाहिने सहयोग हामी गर्छौँ भनेका थियौं । त्यही सन्र्दभमा छोटो अवधिका लागि नेपालबाट कामदार पठाउने भन्ने थियो ।’

नेपालको कानून अनुसार छोटो अवधिका लागि कामदार पठाउन मिल्दैन तर, वर्ल्डकपका लागि भनेर निर्णय नै गरेर खोलिएको उनको भनाइ छ । ‘नेपालीले छोटो अवधिका लागि रोजगारी त पाउलान्, तर, कानूनी अभ्यास नै छैन । तैपनि हामीले निर्णय नै गरेर खोलेका हौं,’ उनले भने ।

विश्वकपका लागि भनेर गएका कामदारहरूले आवश्यक कानूनी प्रक्रिया पुरा गरेर लामो समयको लागि काम गर्न सक्ने उनको भनाइ छ । ‘विश्वकपलाई मात्र भनेर गएकाहरू त्यहाँको कानुन अनुसार स्टे परमिट लिएर थप समय पनि बस्न सक्ने भए । त्यसका लागि भिसा लगाउने, नेपालको श्रम स्वीकृति रिन्यू गर्ने काम गर्नुपर्छ,’ डा. भुसालले भने ।  

जुन कम्पनीमा काम गरिरहेका छन्, त्यो कम्पनीले राख्छु भनेपछि कानुन अनुसार थप समय काम गर्न पाउने उनको भनाइ छ । अहिले जान खोजेकाहरू एक पैसा पनि नतिरेर जान लागेका हुन् । कम्पनीलाई राम्रो लागेर भिसा थप गरिदियो भने थप समय बस्न पनि सक्ने उनको भनाइ छ ।

भिसा प्रक्रियामा समस्या आएको भए समाधान गरेर कामदार पठाउन सकिने उनले बताए । ‘छोटो समयको लागि भएपनि रोजगारीको राम्रो अवसर हो भनेर पठाउन खोजिएको हो । केही समस्या आए समाधान गर्छौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप