बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धान्न मुस्किल

विदेश जानका लागि सबै काम काठमाडौंमै केन्द्रित, विमान चढ्न को जान्छ भैरहवा ?
मङ्गलबार, ०१ कात्तिक २०७९, ०७ : २४
मङ्गलबार, ०१ कात्तिक २०७९

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एकमात्र उडान पनि जजिरा एयरवेजले रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जनाएको छ । जजिराले यसलाई यात्रुको कमी नदेखाई ‘अप्रेशन रिजन’ भनेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई लेखेको पत्रमा जजिराले ‘अप्रेशन रिजन’ भन्दै दैनिक गर्दै आएको उडानलाई सातामा तीन दिनमात्र गर्ने जनाएको हो । जजिराले आफ्नो नियमित उडान रोकेपछि वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत मर्कामा परेका छन् ।

विमानस्थल कार्यालयका अनुसार सोमबारमात्र ४८ जना यात्रु टिकट बुकिङ गरेर पनि उड्न पाएनन् । विमानस्थलका प्रवक्ता सुवास झाले १० अक्टोबरदेखि साताको उडान घटाएको बताए । ‘उनीहरूले अप्रेशन रिजन भनेर पत्र पठाएका छन् । त्यसमा जहाज, मेसिन, कर्मचारी आदिको व्यवस्थापन गर्ने आन्तरिक कुरा होला । हाम्रो तर्फबाट त कुनै समस्या छैन,’ उनले भने ।    

अप्रेशन रिजन भनेपछि विमानस्थल कार्यालयले यात्रुको चाप घट्दा उडान रोकेको बुझेका छन् । ‘उनीहरूले यात्रु कम भएर भनेका छैनन् । हाम्रो बुझाइमा यात्रुको चाप कम हुँदा उडान रोकिएको हो,’ उनले भने ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप घट्नु पछाडिको कारण सरकार नै जिम्मेवार देखिन्छ । वैदेशिक रोजगारीमा जाँदा आवश्यक पर्ने प्रक्रिया पूरा गर्न काठमाडौं आउनुपर्छ । मेनपावर व्यवसायीमार्फत भिसा लगाउनेदेखि लिएर श्रम स्वीकृति लिनेसम्मको काम काठमाडौंमै हुन्छ । अनि सबै काम काठमाडौंमा भएपछि यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नउडी भैरहवा जाने कुरा भएन ।

वैदेशिक रोजगार विभागले बुटवलमा श्रम कार्यालय राखेको छ । जहाँबाट संस्थागत श्रम स्वीकृतिमात्र प्रदान गरिन्छ । यदि व्यक्तिगत श्रम स्वीकृति लिनुपरेको खण्डमा काठमाडौं नै धाउनुपर्ने बाध्यता छ ।

विभागले बुटवल श्रम कार्यालयबाट विमानस्थलमा हेल्प डेक्स राखेको छ । ‘यहाँ एउटा हेल्प डेक्स जस्तो राखेको छ । श्रम स्वीकृति लिए/नलिएको चेक गर्छन् । स्वास्थ्य परीक्षण यहाँबाट हुँदैन । कागजपत्रमा धेरै काम त काठमाडौंमै हुन्छ,’ प्रवक्ता झाले भने ।

कतिपय कामका लागि काठमाडौं आउनुको विकल्प छैन । कतारले आफ्नो देशमा कामदार लैजान काठमाडौंमा कतार भिसा सेन्ट (क्यूभीसी) स्थापना गरेको छ । त्यस्तै स्वास्थ्य परीक्षण गर्ने अधिकांश कार्यालय काठमाडौंमै छन् । जसले गर्दा उनीहरू सबै काम काठमाडौंमा गरेर उड्नका लागि भैरहवा जाने कुुरा भएन ।

बुटवलमा रहेको श्रम कार्यालयबाट श्रम स्वीकृति नपाइरहेको उनको भनाइ छ । ‘नयाँ श्रम स्वीकृति पनि यहाँबाट पाइराखेको छैन । अरू काम गर्न काठमाडौं जानुपर्छ, अनि जहाज चढ्न फेरि फर्किएर भैरहवा आउनु व्यवहारिक भएन । यस्तो हुँदा उनीहरूलाई भैरहवा आउनुभन्दा उतैबाट सजिलो हुन्छ र उतैबाट उड्छन्,’ प्रवक्ता झाले भने ।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले श्रम कार्यालय खुलेको भएपनि सबै सेवा दिन नसकिरहेको बताए । ‘श्रम कार्यालय बुटवलमा थियो । त्यहीँका कर्मचारीहरू लगेर एयरपोर्ट छेउबाटै हुनुप¥यो भनेर भैरहवामा राखिएको छ । त्यहीँबाट श्रम स्वीकृति लिए÷नलिएको चेक हुन्छ,’ महानिर्देशक आचार्यले भने ।

विभागले अहिले दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाका श्रम कार्यालयलाई व्यवस्थित बनाउने प्रयास थालेको छ । सोही आधारमा विभागले अहिले कर्मचारीहरूलाई आईटीसम्बन्धी तालिम दिनेदेखि लिएर भौतिक पूर्वाधार विकास गर्नेसम्मको काम गरिरहेको छ ।

‘भैरहवामा आईटी ट्रेनिङ दिएका छौं । त्यस्तै पोखरामा पनि आईटी ट्रेनिङ दिन्छौं । तालिम दिनुका साथै पूर्वाधार विकासलाई पनि जोड दिएका छौं,’ उनले भने ।

अहिले भैरहवाको श्रम कार्यालयबाट संस्थागततर्फ मात्रै श्रम स्वीकृति प्रदान गर्दै आएको छ । अबको केही दिनभित्र व्यक्तिगत श्रम स्वीकृति समेत प्रदान गर्न थालिने महानिर्देशक आचार्यले बताए ।

‘तालिम दिएपछि संस्थागतसँगै व्यक्तिगत श्रम स्वीकृतिको काम हुनेछ । भैरहवाले अहिले संस्थागत मात्र श्रम स्वीकृति दिइरहेको छ,’ महानिर्देशक आचार्यले भने, ‘अब भैरहवा र पोखरा दुवै ठाउँबाट संस्थागत मात्र नभएर व्यक्तिगत श्रम स्वीकृति समेत दिन थाल्ने छौं । मलाई लाग्छ, एक हप्तामा त्यो काम हुन्छ ।’

विभागले मेन पावर व्यवसायीलाई शाखा कार्यालय खोल्न पनि अनुमति दिएको छ । त्यसका लागि आवेदन आह्वान गरेको छ । अबको केही दिनमा उनीहरूलाई शाखा कार्यालय खोल्न अनुमति दिइने उनले बताए ।

‘शाखा खोल्नका लागि थुप्रैले आवेदन पेस गरेका छन् । उनीहरूलाई स्वीकृति दिएपछि मात्रै सेवा दिन थाल्छन् । अबको केही दिनभित्रमा त्यो काम पनि हुन्छ,’ महानिर्देशक आचार्यले भने, ‘अनुमति पाएपछि त काठमाडौं नै आउनुपर्छ भन्ने छैन । शाखा कार्यालयबाटै वैदेशिक रोजगारका लागि अप्लाई गर्न सकिन्छ ।’

विमानस्थलले श्रम कार्यालयमात्र नभई विदेश जान चाहनेका लागि आवश्यक पर्ने सम्पूर्ण कार्यालय स्थापनाका लागि सरकारसँग माग गरेको छ । ‘हामीले आवश्यक कार्यालय स्थापनाका लागि पत्र लेखेका छौं । सबै व्यवस्था नहुँदासम्म यात्रु पाउन समस्या हुन्छ,’ विमानस्थलका प्रवक्ता झाले भने ।

तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले भैरहवामा श्रम कार्यालय स्थापना गरेका थिए । त्यो कार्यालयबाट अहिले राम्रोसँग काम नभइरहेको स्थानीयको गुनासो छ । त्यो बेला मन्त्री श्रेष्ठले चर्चाकै लागि कार्यालय स्थापना गरेको तर त्यसले सेवा प्रदान गर्न नसकिरहेको स्थानीयको भनाइ छ ।

गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले यात्रुहरु अहिले पनि श्रम, रोजगार, मेडिकललगायतका कामको लागि काठमाडौं नै जाने गरेको भन्दै सोही कारण यात्रु कम पाइएको बताए । यात्रुको चाप कम हुँदा विमानस्थल सञ्चालनमा कठिनाइ भइरहेको उनको भनाइ छ ।

सम्पूर्ण कार्यालय स्थापना गर्न सरकारलाई पटकपटक पत्र पठाइएको तर कुनै सुनुवाइ नभएको उनको गुनासो छ । भैरहवा क्षेत्रका स्थानीय तथा सरोकारवाला निकायहरूले समेत आवश्यक कार्यालय स्थापनाका लागि सरकारसँग माग गर्दै आएका छन् । तर, अहिलेसम्म कुनै सुनुवाइ नहुँदा दैनिक उडान गर्दै विमानस्थलको साख जोगाइरहेको जजिराले पनि उडान नै बन्द गरेको छ । यस्तै अवस्था रहेको खण्डमा विमानस्थलमा यात्रु नै नपाउने समस्या नआउला भन्न सकिन्न । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप