मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नगद लाभांशमा बैंकहरूको आकर्षण : ४० अर्ब रुपैयाँ बजारमा आउने आँकलन

मङ्गलबार, ०१ कात्तिक २०७९, १० : २५
मङ्गलबार, ०१ कात्तिक २०७९

नियामक राष्ट्र बैंकको खुकुलो नीतिका कारण यस पटक बैंकहरूले लाभांश वितरणमा रिल्याक्ससेसन (आराम) पाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म बैंकहरूले आफ्नो वितरणयोग्य नाफाबाट ३० प्रतिशतभन्दा बढी नगद लाभांश बाँड्न पाउँदैन थिए । तर, पछिल्लो पटक केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै नगद वा सेयर लाभांश वितरणमा कुनै सीमा नतोक्ने निर्णय गरेसँगै बैंकहरू स्वतन्त्र भएका हुन् । 

यस पटक बैंकहरू बोनस सेयरको साटो नगद लाभांशमा हौसिएका छन् । बैंकहरूको नगद लाभांश वितरणको प्राथमिकता हेर्दा अन्त्यसम्ममा बैंकहरूले बोनस सेयरको परिणामभन्दा तीन गुण बढी नगद लाभांश वितरण गर्ने स्थिति देखिन्छ ।

कुन बैंकको लाभांश कति ?

असोज मसान्तसम्म कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट १२.५ प्रतिशत लाभांश वितरण गर्ने भएको कुमारी बैंकले बोनस सेयर छाडेर शतप्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

यस्तै, एनसीसी बैंकले आफ्नो चुक्ता पुँजीको ७.६३३७ प्रतिशत नगद लाभांश र ३.३६६३ प्रतिशत बोनस सेयर बाँड्ने भएको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब १४ करोड ९८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, नगद लाभांशलाई नै प्राथमिकता दिएको बैंक अफ काठमाण्डू (बीओके) ले समेत यस वर्ष आफ्नो कुल चुक्ता पुँजीको २०.९५ प्रतिशत लाभांश बाँड्ने घोषणा गरेकोमा १४.९५ प्रतिशत नगद र बाँकी ६ प्रतिशत बोनस सेयर बाँड्ने भएको छ । प्रस्तावित लाभांश अनुसार यस वर्ष बैंकले नगद लाभांशमा १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार ११३ रुपैयाँ र बोनस सेयरमा ६३ करोड ७४ लाख ३९ हजार ६४४ रुपैयाँ ३२ पैसा बराबरको खर्च गर्नेछ ।

उसो त लाभांश वितरणको लाइनमा नै रहेका अन्य वाणिज्य बैंकहरूले समेत यस पटक बोनस सेयरको साटो नगद लाभांशलाई नै प्राथमिकता दिने देखिएको छ । जसले यस पटक बजारमा क्यास फ्लो बढ्ने देखिन्छ । 

लगभग ४० अर्ब रुपैयाँ बजार आउने

नगद लाभांश वितरणको क्रेजले यस पटक कम्तीमा पनि ४० अर्ब रुपैयाँ बराबरको क्यास बजारमा फ्लो हुने देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ मा २६ वटा वाणिज्य बैंकहरूले ७४ अर्ब ८० करोड १४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जसमध्ये ५३ अर्ब ६ करोड रुपैयाँ वितरणयोग्य नाफा हो । अहिले बैंकहरूले जसरी लाभांश वितरण गरिरहेका छन् त्यसैगरी जाने हो भने यस पटक कम्तीमा पनि ४० अर्ब रुपैयाँ बजारमा आउने देखिन्छ ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार बैंकहरूले आफ्नो वितरणयोग्य नाफाको कम्तीमा एकतिहाइ नगदमा लाभांश वितरण गरे ३५ देखि ४० अर्ब रुपैयाँ बराबरको तरलता बजार आउनेछ । यद्यपि, लाभांश वितरणमा अनुमान गरेजस्तै नहुन पनि सक्छ । २६ वटा वाणिज्य बैंकहरू मध्ये हालसम्म ३ वटा बैंकहरूले मात्र लाभांश घोषणा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप