शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अछाम–१ का उम्मेदवार कुँवरलाई भीम रावलमाथि आश

मङ्गलबार, ०१ कात्तिक २०७९, २० : ००
मङ्गलबार, ०१ कात्तिक २०७९

अछाम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले एमाले नेता भीम रावलले आफूलाई सहयोग गर्ने विश्वास गरेका छन् । रावल अछाम १ मा आफूले टिकट नपाएपछि एमालेसँग असन्तुष्ट छन् भने केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष केपी ओलीको कडा आलोचना गरेका थिए । 

यही क्रममा मंगलबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले भीम रावल राष्ट्रिय व्यक्तित्व भएको र उनका अभिव्यक्तिले लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सहयोग पुग्ने बताए । 

‘भीम रावललाई राष्ट्रिय नेता हो, उहाँ अछामी जनताको अभिभावक पनि हो, अछामी जनताले रोजेका र जनताको हितमा काम गर्ने उम्मेदवार बनाएकोले उहाँले हामीलाई सहयोग गर्नुहुन्छ” उनको विश्वास छ ।  उनले लोकतन्त्र र संविधान रक्षाको लागि गठबन्धन बनेकाले रावललगायत अछामको बौद्धिक समुदायले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त समेत गरे । 

कुँवरले आफूले कुटो, कोदाली, बाख्रा चलाउनेदेखि संविधान लेखन, राष्ट्रियसभामा रहेर देश र राष्ट्रियताको विषयमा आवाज उठाएको अछामी जनताले बुझेको बताए । सेती लोकमार्गजस्ता विकासका अधुरा योजना पूरा गर्न र जनताका समस्या समाधानसँगै लोकतन्त्र र संविधानको रक्षाको लागि आफूले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकोले जित सुनिश्चित जस्तै भएको कुँवरले दाबी गरे । 

मन्त्री कुँवरले आफूले मन्त्रालयको जिम्मेवारी समालेको चार महिनामा श्रमिकसँग श्रममन्त्री, सामाजिक सुरक्षा कोषलाई श्रमिकको पक्षमा उपयोग, नयाँ श्रम गन्तव्यको खोजी, सीपलाई श्रमसँग जोड्नेलगायतका कार्यक्रम लागु गरेको जानकारी समेत दिए । उनले बेलायत, जर्मनी, हंगरीजस्ता देशमा श्रम सम्झौता गरेको समेत बताए । 

त्यसैगरी कार्यक्रममा सोही निर्वाचन क्षेत्र अन्तरगत प्रदेशसभा (क) का उम्मेदवार मेघराज खड्काले देशको आवश्यकताका कारण गठबन्धन बनेको बताउँदै आफूहरु प्रतिवद्ध भएको बताए । उनले गठबन्धनका उम्मेदवारलाई जिताएर प्रदेश र संघको सरकार बनाएर लोकतन्त्र र संविधान रक्षा गर्ने बताए । सुदूरपश्चिम प्राकृतिक साधान र स्रोतको प्रयोग गरी खड्काले धनी प्रदेश बनाएर जनताको जीवनमा समृद्धि ल्याउन पनि गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप