शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेंगुको त्रास : १९ वर्षयताकै सबैभन्दा बढी सङ्क्रमित

सरुवा रोग विशेषज्ञहरू भन्छन्,  ‘एक लाखभन्दा धेरैलाई डेंगु सङ्क्रमण भइसक्यो’
मङ्गलबार, ०१ कात्तिक २०७९, १९ : ००
मङ्गलबार, ०१ कात्तिक २०७९

गएको १६ दिनयता साढे ११ हजार जना बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । असोज १५ गतेसम्म ३० हजार १८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकोमा कार्तिक १ गतेसम्म सङ्क्रमितको सङ्ख्या बढेर ४१ हजार ७४३ पुगेको हो । यो १६ दिनको अवधिमा ११ हजार ५५७ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । 

यस्तै, यस्तै, गएको २४ घण्टामा १७ सय बढीमा डेंगुको केस पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । साउन महिनायता ४१ हजार ७४३ जना सङ्क्रमित भइसकेका छन् । ४९ जनाको डेंगुको कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सरकारी तथ्याङ्कमा झन्डै ४२ हजार जनामा सङ्क्रमण पुष्टि भएको आँकडा भए पनि सरुवा रोग विशेषज्ञहरूका अनुसार एक लाखभन्दा धेरैलाई डेंगु सङ्क्रमण भएको जनस्वास्थ्यविद्हरू अनुमान लगाउँछन् । ​डेंगुको लक्षण देखिए घरघरमा बिरामी हुँदा समेत अस्पतालमा नपुग्ने दर धेरै रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक बाबुराम मरासिनी सुनाउँछन् ।

​यस्तै, काठमाडौँ उपत्यकाका अस्पतालहरूमा बिरामीको चाप कम भए पनि सङ्क्रमितको दर नघटेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘काठमाडौँ उपत्यका लगाएका केही स्थानमा सङ्क्रमित दर घटेजस्तो देखिनुको मुख्य कारण धेरै मानिस सङ्क्रमित भएर कम जस्तो देखिएको हो,’ उनले भने, ‘डेंगुको लक्षण देखिएका बिरामी घरघरमा छन् अन्य कुनै कारणले सङ्क्रमित कम भएका होइन, राजधानीको हकमा धेरै जना सङ्क्रमित भइसकेका छन् । एक पटक डेंगु सङ्क्रमण भएकालाई तत्काल सङ्क्रमण हुँदैन ।’

२०१९ मा डेंगुले प्रकोपको रूप लिँदा मङ्सिर महिनासम्म सङ्क्रमित अस्पताल पुग्ने गरेको पाइएको छ । केही स्थानमा सङ्क्रमित कम देखिँदैमा जोखिम कम नहुने कम नभएको डा. पुन बताउँछन् ।

डेंगुको प्रकोप अझै डेढ महिनासम्म रहिरहने ईडीसीडीले जनाएको छ । जबसम्म तापक्रम १५ डिग्री सेल्सियससम्म पुग्दैन, तबसम्म निरन्तर डेंगुको केस देखिने डा. मरासिनी सुनाउँछन् । उनी भन्छन्, ‘डेंगुका बिरामी लगातार वर्षभरि नै देखिने आधारहरू सिर्जना भएका छन् ।’

नेपालमा डेंगु देखिन थालेको १९ वर्ष भयो

 नेपालमा डेंगु देखिएको १९ वर्षको अवधिमा सबैभन्दा धेरै सङ्क्रमित यस वर्ष भइरहेको मन्त्रालयले जनाएको छ । सन् २००४ मा पहिलो पटक एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । सन् २००५ मा भने सङ्क्रमण देखिएन । त्यसपछि क्रमशः २००६ देखि २००९ सम्म वर्षेनी १० देखि ३२ दरमा जना सङ्क्रमित भए । २०१० मा सङ्क्रमण ह्वात्तै बढेर ९१७ जना सङ्क्रमित भएका थिए । त्यसको ९ वर्षको अवधिमा सङ्क्रमण दर निरन्तर देखिए पनि २०१९ मा डेंगु प्रकोपको रूपमा फैलिएको थियो । त्यस वर्ष १७ हजार ९९२ जना सङ्क्रमित भएका थिए ।

१९ वर्षको अवधिमा कुन सालमा कति सङ्क्रमित भए ?

२००४– १

२००५–०

२००६–३२

२००७–२७

२००८–१०

२००९–३०

२०१०–९१७

२०११–७९

२०१२–१८३

२०१३–६८६

२०१४–३५६

२०१५–१३५

२०१६–१५२७

२०१७–२१११

२०१८–८११

२०१९–१७९९२

२०२०–५३०

२०२१–५४०

२०२२–४१७४३

सातै प्रदेश अर्थात् ७७ वटै जिल्लामा सङ्क्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै सङ्क्रमित बाग्मती प्रदेशमा पुष्टि भएको छ । बाग्मती प्रदेशमा ३२ हजार ४९४ जना सङ्क्रमित भएका छन् । बाग्मती प्रदेशपछि  लुुम्बिेनी प्रदेशमा ४ हजार ३९९ वटा केस  पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए । बाग्मती,लुम्बिनी प्रदेशपछि प्रदेश नम्बर एकमा १ हजार २८२ वटा केश देखिएको छ । यस्तै, क्रमशः सुदूरपश्चिम १ हजार १४४,गण्डकी प्रदेशमा १ हजार ९१,मधेस प्रदेश ६८५ र कर्णाली ६४७ वटा केस देखिएको छ ।

 यी हुन् बढी केस पुष्टि भएका जिल्ला

सङ्क्रमण देखिएको ७७ वटै जिल्लामध्ये १० जिल्लामा बढी सङ्क्रमित देखिएको छ । सबैभन्दा बढी सङ्क्रमित काठमाडौँ जिल्लामा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तथ्याङ्कले देखाउँछ । काठमाडौँ जिल्लामा १२ हजार ६५२ जना सङ्क्रमित भएका छन् । यस्तै, दोस्रोमा ललितपुरमा ८ हजार ८७६ वटा केस पुष्टि भएको छ भने तेस्रोमा  मकवानपुर जिल्लामा ८ हजार ८७६ केश देखिएको छ ।

बढी सङ्क्रमित देखिएका जिल्ला

काठमाडौँ–१२ ६५२

ललितपुर–८८७६

मकवानपुर –४३२०

भक्तपुर– ३०२०

दाङ –२००५

चितवन–१६७८

रुपन्देही–११७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप