शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बीपीएचका विद्यार्थीलाई झुलाउँदै पूर्वाञ्चल विश्वविद्यालय

पहिला दसैँपछिको भाका, अहिले छठपछि
बुधबार, ०२ कात्तिक २०७९, ०७ : ३६
बुधबार, ०२ कात्तिक २०७९

पूर्वाञ्चल विश्वविद्यालय (पीयू) को लापरवाहीले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् । पीयू अन्तर्गतका विभिन्न कलेज छनौट गरेका २५ जना ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) पढ्ने विद्यार्थी पढाइबाट वञ्चित भएका हुन् । 

विद्यार्थी कम भएको भन्दै सम्बन्धित कलेजले पढाउन नमान्दा उनीहरू समस्यामा परेका छन् । कम विद्यार्थी भएर नपढाएको खण्डमा विश्वविद्यालयले अर्को कलेजमा विद्यार्थीलाई पठाउनुपर्ने हुन्छ । तर, पढाई सुरू भएको डेढ महिना बितिसक्दा पनि ती विद्यार्थी कुन कलेजमा पढ्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

चिकित्सा शिक्षा आयोगले गत चैतमा एकीकृत प्रवेश परीक्षा लिएको थियो । परीक्षामा पास भएका विद्यार्थीहरू भदौ १९ गतेदेखि पढ्न थालिसकेका छन् । तर, विभिन्न कलेजमा छात्रवृत्ति कोटामा नाम निकालेका उनीहरूको अहिलेसम्म कलेजकै टुङ्गो लाग्न नसकेको हो ।

पीयू अन्तर्गत विराटनगरको इडेनवर्ग इन्टरनेशल कलेज, कोशी हेल्थ ईन्स्टिच्युट, युनिक मेडिकल कलेज लगायतका ५ वटा कलेजले विद्यार्थी कम भएको भन्दै उनीहरूलाई पढाउन अस्वीकार गरेका छन् ।

कजेलहरूले सम्बन्धित विद्यार्थीका विषयमा विश्वविद्यालयलाई पत्र लेखिसकेका छन् । तर, विश्वविद्यालयले आज, भोलि भन्दै भाका सार्दै आएको छ ।

‘सुरूमा विश्वविद्यालयले ¥याप–अप (समापन म्याचिङ) को २÷४ दिनमा हुन्छ भन्यो । ¥याप–अपको २÷४ दिनमा बुझ्दा त्यसपछि दसैँसम्म हुन्छ भन्यो । दसैँपछि पनि भएन,’ एक विद्यार्थीले भनिन्, ‘दसैँपछि फोन गर्दा २÷३ दिनमा हुन्छ भनियो । २÷३ दिनपछि कल गर्दा अब छठपछि मात्रै हुन्छ भनिरहेको छ । यसरी भाका सार्दै गएर अब चुनावपछि मात्रै हुन्छ कि जस्तो लागेको छ ।’

विश्वविद्यालयले मर्ज गरेर अर्को कलेजमा नपठाउँदा आफ्नो पढाइ छुटेको ती विद्यार्थीको भनाइ छ । ‘हाम्रो पढाइलाई लिएर उनीहरू किन गम्भीर छैनन् ? जहिले पनि आज हुन्छ, भोलि हुन्छ भनेर टार्ने काम भइरहेको छ । दिन प्रतिदिन ढिलाई हुँदा हाम्रो पढाइमा मर्का परिरहेको छ,’ उनले भनिन् ।

अहिले पूर्वाञ्चल विश्वविद्यालय बाहेक अन्य सबै विश्वविद्यालयमा मर्ज गरेर पढाइ भइरहेको छ । तर, पीयूमा मात्र ढिलासुस्ती भइरहेको उनको भनाइ छ ।

विश्वविद्यालयले के कति कारणले मर्ज गर्न ढिलाइ भइरहेको भन्ने विषयमा केही पनि जानकारी दिएको छैन । बीपीएच बाहेक अन्य विषयको भने यसअघि नै मर्ज गरिसकिएको थियो ।

विश्वविद्यालयको सेन्ट्रल कलेजमा बीपीएचतर्फ ८ सिट खाली छन् । त्यो बाहेक अन्यलाई काठमाडौंतिर मर्ज गर्नुपर्ने हुन्छ । ३० भदौमा भएको ¥याप–अपमा एक जना विद्यार्थीले पनि पूर्वाञ्चल विश्वविद्यालय छानेनन् ।

गत वर्ष पनि यस्तै समस्या भएपछि अन्तिममा विद्यार्थीहरूले आन्दोलन नै गरेका थिए । आयोगले खटाएको कलेजले विद्यार्थीको अभावमा पढाउन नमानेपछि उनीहरू मर्कामा परेका थिए । लामो समय आन्दोलन गरेपछि विश्वविद्यालयको पहलमा अर्को कलेजमा मर्ज गरिएको थियो ।

चिकित्सा शिक्षा आयोगले मर्ज गर्ने काम विश्वविद्यालयको हो भनेको छ । ‘हाम्रो काम भनेको परीक्षा लिने र विद्यार्थीका लागि कलेज तोकिदिने काम हो । मर्जका लागि विश्वविद्यालयलाई सम्पर्क गर्नुहोस भनिदियो,’ पीडित विद्यार्थीको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायका डीन होमनाथ निरौलाले अब छठपछि मर्ज गरिने बताए । ‘भदौ ३० मा ¥याप–अपको सूचना आयो । त्यसपछि असोज ६ गतेदेखि दसैँ बिदा नै भयो । अब छठपछि हुन्छ । अहिले सबैतिर बन्द नै छ,’ उनले भने ।

कलेजलाई विद्यार्थी पाउँनै मुस्किल

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मात्र    नभएर अन्य विश्वविद्यालय अन्तर्गतका कलेजले पनि विद्यार्थी पाएका छैनन् । प्रत्येक कलेजले ४ जना छात्रवृत्तिका विद्यार्थी पढाउनुपर्छ । त्यो बाहेक शुल्क तिरेर पढ्नुपर्छ । शुल्क तिरेर पढ्ने विद्यार्थी नपाएमा वा कम पाएमा कलेजले पठनपाठन नै गर्दैनन् । उनीहरूले छात्रवृत्तिका विद्यार्थीलाई समेत अन्यत्र जान भनिरहेका छन् ।

आयोगको तथ्यांक अनुसार बीपीएचमा यो वर्ष ९३१ सिट खाली छन् । १ हजार ३५० सिट निर्धारण गरिएकोमा ४१९ सिटमा मात्र विद्यार्थी भर्ना भएका छन् । बीपीएच मात्र नभएर बीएससी नर्सिङ, बी–फार्म, बीएनएस लगायतका विषय पढ्ने विद्यार्थी पनि सिट क्षमताभन्दा निकै कम छन् ।

विद्यार्थी नै नपाउने समस्या भएपछि गत वर्षदेखि कलेजहरूले मर्ज गरेर पढाउन थालेका थिए । यो वर्ष पनि कतिपय कलेजले सोही आधारमा विद्यार्थी भर्ना गराएर पठनपाठन गर्न थालेका हुन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप