बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शरद गौचनका हत्याराले चिनाएको ठाउँबाट पेस्तोल ल्याएर भक्तपुरमा लुटपाट

बुधबार, ०२ कात्तिक २०७९, १६ : २८
बुधबार, ०२ कात्तिक २०७९

भक्तपुरको गठ्ठाघरस्थित श्याम बस्नेतको घरमा भदौ २५ मा बिहान ३ बजेतिर लुटपाट भयो । दुई जना युवाले पेस्तोल देखाएर लुट्न थालेपछि घरधनीले हो–हल्ला गर्न थाले । अनि, आरोपीहरू फरार भए । लुटपाटमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भएका ४१ वर्षीय अम्बर बहादुर मगर र सङ्खुवासभाको पाँचपखन नगरपालिका–८ घर भएका ३२ वर्षीय रविन किशोर राई उर्फ सुवासलाई प्रहरीले पक्राउ गरेको छ ।

लुटमा संलग्न अम्बरको विगत पनि आपराधिक देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । अम्बर डाँकाचोरी मुद्दामा ४ वर्ष जेल बसेर छुटेका हुन् । २०७२ बाट ०७६ सम्म जेलमा बसेका अम्बर  केही समय सुन्धारास्थित केन्द्रीय कारागारमा बसेका थिए । २०७५ मा केन्द्रीय कारागारमा बस्दा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसँग उनको चिनजान भयो ।  

गौचनका हत्यारासँग ‘पेस्तोल कहाँ पाइन्छ ?’ भनेर उनले सोधेका थिए । प्रहरीसँगको बयानमा अम्बरले भनेका छन्–‘तिनै सुटरले रक्सौलमा किन्न पाइने बताएका थिए ।’ अम्बरलाई गौचनका हत्याराले रक्सौलमा पेस्तोल किन्ने ठाउँको ठेगाना पनि दिए । २०७९ असारमा अम्बर रक्सौल गएर पेस्तोल लिएर आए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्–‘उनले उपत्यकामा लुट्ने योजना बनाएर पेस्ताले लिएर आएको देखिन्छ ।’

भक्तपुरमा लुट्न जाँदा उनीहरूले प्रयोग गरेको ‘मेड इन इटली’ लेखिएको एकथान पेस्तोल र दुई राउण्ड गोली अपराध अनुसन्धान कार्यालयले बरामद गरेको छ । सो पेस्तोल आफूले ६५ हजार रुपैयाँमा भारतीय बजार रक्सौलमा किनेको अम्बरले प्रहरीलाई बताएका छन् । २०७४ असोज २३ मा गौचनलाई शान्तिनगरमा गोली हानेर हत्या गरिएको थियो । उनको हत्यामा संलग्न ११ जना अभियुक्त जेलमा छन् ।

नेकपा (एकीकृत समाजवादी)का भक्तपुर जिल्ला अध्यक्ष समेत रहेका श्याम बस्नेतको घरबाट उनीहरूले ६० हजार लुटेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बिहान ३ बजे उनीहरू पेस्तोल लिएर लुट्न गएका हुन् । मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा लुट्न जानेमा उनीहरू सहित ४ जना रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सो लुटको योजना अम्बरले बनाएका हुन् । पक्राउ परेपछि पेस्तोल देखाएर ‘लुट धन्दा’ मच्चाउने उनको योजनामा ब्रेक लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप