बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रोकर लाइसेन्स लिन बैंकहरुको लर्को, नबिलले माग्यो डिलर कारोबारको अनुमति

‘बैंकहरुले ब्रोकरको काम गर्दा इन्साइडर ट्रेटिङको खतरा कम हुन्छ’
बिहीबार, ०३ कात्तिक २०७९, १६ : १७
बिहीबार, ०३ कात्तिक २०७९

ब्रोकर लाइसेन्स लिनका लागि बैंक तथा वित्तीय संस्थाहरुको लर्को लागेको छ । ब्रोकर लाइसेन्सका लागि कुल ४६ वटा कम्पनीले आवेदन दिएकामा बैंक तथा वित्तीय संस्थामात्रै १४ वटा रहेका छन् । ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम मिति असोज ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत धितोपत्र बोर्डमा ब्रोकर लाइसेन्स पाउँ भन्दै १४ वटा बैंक तथा वित्तीय संस्थासहित ४६ कम्पनीले आवेदन दिएका हुन् ।

रातोपाटीलाई प्राप्त आवेदन सूचीअनुसार ११ वटा वाणिज्य बैंकहरुले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिने वाणिज्य बैंकहरुमा एनएमबि बैंकको तर्फबाट एनएमबी सेक्युरिटिज, माछापुच्छ्रे बैंकको तर्फबाट माछापुच्छ्रे सेक्युरिटिज र एनआईसी एशियाको तर्फबाट एनआईसी एशिया सेक्युरिटिजले आवेदन दिएका छन् । यस्तै मेगाबाट मेगा स्टक मार्केट्स, प्रभु बैंकबाट प्रभु स्टक मार्केट क्यापिटलको नाममा आवेदन परेको छ ।

यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) बाट आरबीबी सेक्युरिटिज, नबिल बैंकबाट नबिल सेक्युरिटिज, सानिमा बैंकबाट सानिमा सेक्युरिटिज, हिमालयनबाट हिमालयन सेक्युरिटिज, सनराइज बैंकबाट सनराइज सेक्युरिटिज र सेन्चुरी बैंकको तर्फबाट सेन्चुरी सेक्युरिटिजको नाममा आवेदन परेको छ । यस्तै विकास बैंकतर्फ गरिमा विकास बैंकको तर्फबाट गरिमा सेक्युरिटीजको आवेदन परेको छ ।

नबिल बैंकले माग्यो डिलर कारोबारको अनुमति

बैंकहरुको ब्रोकर कम्पनीमध्ये नबिल बैंकले धितोपत्र कारोबारको डिलरकै लाइसेन्स माग गरेको छ । उसो त सबै आवेदकहरु मध्येबाटै डिलर लाइसेन्सको अनुमति माग गर्ने एक मात्र कम्पनी नबिल बैंक मात्र हो । बैंकले कुल १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीसहित डिलर लाइसेन्सको माग गरेको हो ।  

धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संशोधन गर्दै धितोपत्र बोर्डले बनाएको मापदण्ड अनुसार स्टक डिलरका लागि न्यूनतम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने बताइएको छ । सोही व्यवस्था बमोजिम बैंकले न्युनतम चुक्ता पुँजीसहित डिलरको लाइसेन्सका लागि असोज २८ गते नेपाल स्टक एक्सचेन्जमार्फत बोर्डसँग अनुमति माग गरेको हो ।

यस्तै, यता मर्चेन्टसहितको पूर्णकालिन ब्रोकर लाइसेन्सका लागि ३ वटा वाणिज्य बैंकको आवेदन परेको छ । नेप्सेका अनुसार हिमालयन बैंक, मेगा बैंक र सेन्चुरी बैंकले समान ६०÷६० करोड रुपैयाँ चुक्ता पुँजीसहित मर्चेन्टसहितको पूर्णकालिन ब्रोकरका लागि आवेदन दिएका हुन् ।

धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावलीले यस्तो कारोबारका लागि न्यूनतम चुक्ता पुँजी ६० करोड रुपैयाँ तोकेको छ ।

कुन कम्पनीले कति चुक्ता पुँजीसहित आवेदन दर्ता गरे ?
बैंकतर्फ
एनएमबि सेक्युरिटिज – २० करोड रुपैयाँ
माछापुच्छ्रे सेक्युरिटिज – २१ करोड रुपैयाँ
एनआईसी एशिया सेक्युरिटिज – २० करोड रुपैयाँ
प्रभु स्टक मार्केट क्यापिटल – २० करोड रुपैयाँ
आर.बी.बी सेक्युरिटिज – २० करोड रुपैयाँ
सानिमा सेक्युरिटिज – २० करोड रुपैयाँ
सनराईज सेक्युरिटिज– २० करोड रुपैयाँ
अन्य कम्पनीहरुको आवेदन सूची हेर्नुहोस्

४५ को सूचीबाहेक थप शनि सेक्युरिटिजले समेत पूर्णकालिन ब्रोकर लाइसेन्सका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए ।
 नियमावली अनुसार डिस्काउन्ट ब्रोकरका लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिएको छ । कुल आवेदकहरु मध्ये अन्य ८ वटा बैंकसहित २३ कम्पनीहरुले सोही बराबरको पुँजी राखि लाइसेन्स माग गरेका छन् ।

अहिले आवेदन उपर बोर्डले अध्ययन गरिरहेको छ । तोकिएको मापदण्ड तथा व्यवस्था बमोजिम योग्य पाइए सबै आवेदक कम्पनीहरुलाई लाइसेन्स प्रदान गर्ने तयारी बोर्डको रहेको केसीको भनाइ छ । उसो त यसअघि नै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कुनैपनि कम्पनीलाई लाइसेन्स लिनबाट बञ्चित नगरिने बताइसकेका छन् । खुला लाइसेन्स नीति अनुसार तोकिएको मापदण्ड तथा क्राइटएरिया पुरा गर्ने सबैलाई लाइसेन्स प्रदान गर्ने उनले बताएका छन् ।

बैंकहरुले ब्रोकर लाइसेन्स पाउनु खुशीकै कुरा हो : सीईओ कार्की

कतिपयले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनेबारेमा बारेमा प्रश्न उठाइरहँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की भने बैंकहरु पनि धितोपत्र दलाल तथा व्यापारका लागि सहभागि हुनु उचित भएको तर्क गर्छन् ।

‘बैंकहरुले ब्रोकर लाइसेन्स पाउनु खुशीकै कुरा हो’ सीईओ केसीले भने, ‘धितोपत्र कारोबारको हिस्सेदार बैंकहरुले नै ब्रोकरको समेत काम गर्न पाउदा सेवाग्राही र समग्र धितोपत्र बजारलाई नै सहज हुन्छ । यो फाइदाकै विषय हो’ उनले भने ।

 बैंक तथा वित्तीय कम्पनीहरुले ब्रोकरको कारोबार गर्दा अझ बढी पारदर्शी र सुरक्षित हुने उनको दाबी छ । बैंक तथा वित्तीय कम्पनीहरुले ब्रोकरको काम गर्दा इन्साइडर ट्रेटिङको खतरा कम हुनसक्ने सीईओ कार्कीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप