मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनमा रुसको नयाँ युद्ध रणनीति : घना वस्तीमा ठूलो संख्यामा ड्रोन आक्रमण

शुक्रबार, ०४ कात्तिक २०७९, १६ : ०६
शुक्रबार, ०४ कात्तिक २०७९

सोमबार बिहान ७ बजेभन्दा केही अघि कीभका मानिसहरूले भुनभुनाइरहेको आवाज सुने । मानिसहरुले आवाजको स्रोत थाहा पाउनुअघि आकासमा ‘कामिकाजी’ ड्रोनहरूको समूह देखियो ।  युक्रेन युद्धमा युक्रेनी पक्षले पहिलेदेखि नै ड्रोनहरू व्यापक प्रयोगमा ल्याएको भए पनि पछिल्लो समय रुसले ड्रोनको झुण्डहरूको प्रयोग गर्न सुरु गरेको छ ।  

रुसले प्रयोग गरेको ड्रोन पावर स्टेसन, आवासीय भवनदेखि रेलमार्गतर्फ हान्निदै गएका धेरै भिडियोहरू समाजिक सञ्जालमा छाइरहेका छन् । युक्रेनी सैनिक तथा नागरिक भने ड्रोनलाई गोली हानेर झार्ने प्रयास गरिरहेका भिडियो पनि समाजिक सञ्जालमा अपलोड भइरहेका छन् । 

सोमबार बिहानमात्र कीभ सहर लक्षित गरेर करिब २८ ड्रोन प्रक्षेपण गरिएको थियो । एउटा आवासीय भवनमा ठोक्किएपछि कम्तिमा चार सर्वसाधारणको मृत्यु भएको थियो । मानिसहरु अब ड्रोनले कुन बाटो लेला भनेर ध्यान दिएर बस्न थालेका छन् । यसले शहरमा तनाव उच्च बनेको छ । यसले गर्दा सोमबार दिनभर ड्रोनको भुनभुनाहट, मानिसहरुको चित्कार र बन्दुकको आवाज किभको माहोला आतंकित बनेको थियो । समय समयमा ड्रोनहरु तिनका लक्ष्यमा ठक्कर खाएर पड्केको आवाजले थप भय बढाउँथ्यो ।  

रुसले युक्रेनविरुद्ध प्रयोग गरिरहेको ड्रोनलाई अहिले ‘कामिकाजी’ ड्रोन भनिँदैछ । दोस्रो विश्वयुद्धमा जापानले शत्रु पक्षको पानी जहाजमा सिधै विमान ठोक्काउन एक युद्धक विमान दस्ता बनाएको थियो, जसलाई कामिकाजी भनिन्थ्यो । तिनै आत्मघाती सैन्य दस्ता जस्तै यी ड्रोन पनि लक्ष्यमा गएर ठोक्किएर नष्ट हुन्छन् । 

अर्थात यी ड्रोन एक पटकको आक्रमणलाई मात्र प्रयोग गर्न सकिन्छ । युक्रेनी अधिकारीहरूले हाल रुसले प्रयोग गरिरहेका ड्रोनहरु इरानमा निर्मिति ‘शाहेद–१३६’ रहेको बताएका छन् ।  रुसले गत अगष्टमा इरानसँग लगभग २४०० शाहेद १३६ ड्रोन खरिद गरेको थियो । युक्रेन युद्धमा यस ड्रोनको पहिलो प्रयोगको घटना एक महिना बाहिर आएको थियो । 

इरानमा ड्रोन उच्च प्राविधिक छैनन् तथापि तिनको सस्तो मुल्य(प्रति ड्रोन २० हजार डलर) ले रुसलाई आकर्षित गरेको हुनुपर्छ । यी साना ड्रोनहरु तुलनात्मक सस्तो पर्ने भएकाले रुसले एकैपटक धेरै प्रयोग गर्न थालेको छ । यी ड्रोनले ३५ देखि ४० केजी विस्फोटक पदार्थ बोक्ने गर्छ । 

‘रुसले प्रयोग गरिरहेका ड्रोनहरु तुलनात्मक रूपमा साना छन्, र तिनीहरू एकपटक मात्र प्रयोग गर्न सकिने खालको छ । यो ड्रोन सामान्यतया प्रयोग हुने अन्य ड्रोन जस्तै युएस प्रेडेटरजस्तो निरन्तर प्रयोग गर्न सकिँदैन । यी त खासमा अहिले मिसाइलको जस्तो काममा प्रयोग भइरहेको छ,’ इन्स्टिच्युट फर द स्टडी अफ वारका अनुसन्धान फेलो क्याथरिन ललरले भनिन् । 

यस ड्रोनको कम मूल्यको कारण यसलाई ठूलो संख्यामा तैनाथ गर्न सकिन्छ र लक्ष्यमा ठक्कर खानुअघि यिनलाई आकासमा केही समय चक्कर लगाउन सकिने भएकाले मानिसहरुमा मनोवैज्ञानिक भय उत्पन्न गराउँछ । 

युक्रेनी अधिकारीहरूले आफ्ना सैनिकले पछिल्लो साता गोली हानेर दर्जनौं ड्रोन खसालेको दावी ग्रेका छन् । तिनको दावी सत्य हो भने पनि गोली लागेपछि ती ड्रोन हावामा विस्फोट हुन्छन्, जसले तल झर्दा असर पु¥याउँछ नै । लक्ष्यमा ठोक्किँदा तिनको प्रभाव झन् भयानक हुन्छ । 

युक्रेनमा ड्रोनहरूको झुण्डद्वारा आक्रमणको पछिल्लो श्रृङ्खलालाई रुसी आक्रमणको प्रकृतिमा आएको परिवर्तनको संकेतको रुपमा हेरिएको छ । केहीले मस्कोसँग लामो दूरीका क्षेप्यास्त्रहरू कम भएपछि ड्रोनमा भर पर्न थालेको बताएका छन् । 

रुसले ड्रोनका झुण्डहरूलाई राजधानी किभजस्ता सघन जनसंख्या भएको सहरी क्षेत्रहरूमा केन्द्रीत गरेको छ । यी ड्रोनहरु सुरुमा क्राईमिया पुलमा आक्रमणहरूको बदलाको रूपमा परिचालन गरेको भएपनि अहिले युक्रेनी जनसंख्या र लडाकूहरुलाई आतंकित बनाउन प्रयोग गरेको जस्तो देखिन्छ । 

युक्रेनी सेनाले आफैंले युद्धको सुरुदेखि नै ड्रोनको व्यापक प्रयोग गरिरहेको छ । विशेषत टर्कीले बनाएको बायराक्टार र अमेरिकाले आपूर्ति गरेको स्विचब्लेड ड्रोनहरु उसले प्रयोग गर्दै आएको छ ।  अन्य देशबाट ड्रोन लिन नपाएपछि रुस भने पश्चिमको राम्रो सम्बन्ध नभएको इरानतर्फ फर्कियो । इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स’का सदस्यहरू पछिल्लो समय रुसी सेनालाई ड्रोनको प्रयोगको तालिम दिन क्राइमिया पुगेको पश्चिमी गुप्तचरहरूले बताएका छन् । 

ड्रोनले युक्रेनी सेना र नागरिक माझ भय सिर्जना गरेकाले अहिलेको लागि रुसको यो रणनीतिले काम गरेको सङ्केत गरेको छ । समाचारहरूका अनुसार पछिल्ला रुसी ड्रोन आक्रमणहरू धेरै त ऊर्जा पूर्वाधारहरूमा लक्षित छन्, जसले युक्रेन भर विद्युत आपुर्ति अवरुद्ध बनाएको छ ।  ।

अन्य देशहरू र युक्रेनी राजनीतिज्ञहरूको निन्दाको बाबजुद इरानले रुसलाई थप ड्रोन र मिसाइलहरू पठाउन सहमति जनाइसकेको छ । ‘यस्ता ड्रोनहरूको प्रयोग युक्रेनी नागरिक र नीति निमार्ताहरुमा मनोवैज्ञानिक डर सिर्जना गर्ने उद्देश्यले गरिएको छ । तर यो युद्ध मोर्चामा यसले धेरै परिवर्तन हुने देखिँदैन,’ ललरले भनिन् । –अल–जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप