शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गठबन्धनका शीर्ष नेताहरुको कार्यकर्तालाई प्रशिक्षण : दायाँबायाँ गर्ने होइन

शुक्रबार, ०४ कात्तिक २०७९, २३ : ०६
शुक्रबार, ०४ कात्तिक २०७९

सत्ता गठबन्धनका शीर्ष नेताहरुले पोखरामा शुक्रबार सामूहिक कार्यकर्ता भेला गरेका छन् । प्रशिक्षण कार्यक्रममा अधिकांश स्थानीय तहका सत्ता गठबन्धनमा निर्वाचित जनप्रतिनिधि थिए । शीर्ष नेताहरुले उनीहरुलाई गठबन्धनमा इमानदारिता देखाउन र एक अर्कालाई सघाउन निर्देशन दिएका हुन् ।

‘राजनीतिमा हिजोको कुरा सम्झेर एकले अर्कोलाई असहयोग गर्ने स्थिति नहोस् । राजनीतिमा हिजोका कुरा सम्झेर हुँदैन । हिजोका कुराले हुनेवाला पनि केही छैन । अहिलेको आवश्यकता गठबन्धन सरकार हो । गठबन्धनका उम्मेदवारलाई असहयोग गर्ने कुरा तपाइँहरु नगर्नुस्,’ प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भने । 

देउवाले गठबन्धन अहिलेको आवश्यकता भएकाले निर्वाचनमा एकले अर्कोलाई सहयोग गरेर उम्मेदवार जिताउन खटिनुपर्ने सुनाए । ‘गठबन्धन आजको आवश्यकता छ । गठबन्धनका नेताहरुलाई शंका गर्ने काम गर्नुहुँदैन,’ उनले भने, ‘सबै राजनीतिक पार्टी अलग अलग पृष्ठभूमिबाट आएको हो । प्रचण्ड, माधवजीलाई धन्यवाद दिन चाहन्छु । यत्रा नेता हुँदाहुँदै पनि उहाँहरुले मलाई प्रधानमन्त्री बनाउनुभयो । उहाँहरुले मलाई होइन, नेपाली कांग्रेसको सभापतिलाई प्रधानमन्त्री बनाउनुभएको हो ।’  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका साझा उम्मेदवारलाई हात नकमाइ मतदान गर्न र प्रचार प्रचारमा सरिक हुन निर्देशन दिएका छन् । ‘यहाँ कतिपयले एउटा चिन्ह बाहेक अरुतिर भोट हाल्न हात कमाएको पाइयो । यस्तो कदापि होइन,’ उनले भने, ‘माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गर्नु नै कांग्रेसको पक्षमा भोट हालेको हो । जतिबेला देशमा विषम परिस्थिति हुन्छ । हामीसँगै हिँड्नुपर्छ । एकले अर्को पार्टीलाई भोट हाल्न न हिचकिचाइ भोट हाल्नुस् । तपाईंहरु अघि बढ्नुस्, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई जिताउन लाग्नुस् ।’

नेकपा एकीकृत समाजवादीको नेता माधवकुमार नेपालले पनि गठबन्धन पवित्र उद्देश्यले बनेकाले कार्यकर्तालाई इमान्दार हुन निर्देशन दिएका छन् । ‘एमालेले जस्तो ‘अप्राकृतिक’ तरिकाले यो गठबन्धन बनेको होइन । यो गठबन्धन संविधान रक्षार्थ र प्राकृतिक र पवित्र भएको उद्देश्यका साथ बनेको हो । हाम्रो ध्यान सत्तामा पुग्ने मात्र होइन जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बताउन बनेको हो,’ अध्यक्ष नेपालले भने । 

नेकपा एमाले र जनता समाजवादी पार्टी लगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उनको आरोप छ । गठबन्धनका सबै दलमा केही नेताले टिकट नपाएको असन्तुष्टि रहेपनि त्यसलाई बिर्सेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न सबैको आह्वान थियो ।  ‘सिट बाँडफाँटमा म त डराएको थिए । उहाँहरुले मिलाउनुभयो । सबै पार्टीमा टिकट नपाएको असन्तुष्टि छ । तपाईंहरु आफ्नो कर्म गर्नुस् । भोलि अवसर एकपटक पक्कै आउँछ,’ प्रधानमन्त्री देउवाले भने । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदा गोरुगाडा सिद्धान्त  अपनाउन लागेपछि गठबन्धन बनेको बताए ।  ‘एमालेभित्र जन आन्दोलनताका गोरुगाडा सिद्धान्त बताउँथे । नेकपा हुँदा पनि फेरि गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो,’ उनले भने, ‘यो गठबन्धन निर्वाचनमा जान मात्र हैन । आर्थिक विकास र  समृद्धिका लागि  आजको आवश्यकता र प्रतिगमनलाई परास्त गर्न बनेको हो ।’ 

प्रतिगमनविरुद्ध सबै एक हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कुष्णचन्द्र नेपाली पोखरेलले प्रतिगमनविरुद्ध सबै गठबन्धनका दल एक जुट भएर हिँड्नुपर्ने बताएका छन् । शुक्रबार प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले देश विकासका लागि अग्रगामी शक्ति एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने बताए । ‘मुलुकमा परिवर्तन गर्ने दुई शक्ति भनेको नेपाली कांग्रेस र माओवादी तथा एकीकृत समाजवादी हुन् । देशमा संकट आउँदा संविधानमाथिको अतिक्रमण र प्रतिगमनका विरुद्धमा एक जुट हुनुपर्छ । गठबन्धनमा दायाँबायाँ गर्नु हुँदैन ।’ 

नवौं राष्ट्रिय खेलकुदमा देशले एक होनहार खेलाडी गुमायो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ दुर्घटनाले दुखित बनाएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित गठबन्धनको कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन आएका उनले प्याराग्लाइडिङ पाइलट निसिमको निधनले स्तब्ध बनाएको सुनाए ।

प्याराग्लाइडिङ दुर्घटना हुँदा आइतबार बिहान आर्मीका खेलाडी निसिम थापा मगरको निधन भएको थियो । क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा सराङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको थियो । प्रतियोगितामा भाग लिने क्रममा १०० मिटरमाथिबाट प्याराग्लाइडिङ खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप