शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : महासचिव गुरुङ

शनिबार, ०५ कात्तिक २०७९, १२ : ३८
शनिबार, ०५ कात्तिक २०७९

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् । गठबन्धनमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौँ सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन भएको बताए।

 “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनमा आबद्ध दललाई जिताउन आवश्यक छ”, उनले भने । आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवारसमेत रहेका महासचिव गुरुङले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको उल्लेख गरे । उनले कृषि, पर्यटन, जलविद्युत्मार्फत लमजुङको विकास गर्न सकिने बताउँदै यसका लागि पूर्वाधार निर्माणको खाँचो औँल्याए । घरेलु उद्योग, कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्नसके लमजुङको विकास हुने उनको भनाइ छ । उनले मर्स्याङ्दी, चेपे, दोर्दी, मिदिम, रुदी तथा मादी नदीमा करिडोर निर्माण गर्नसके लमजुङलाई उत्तर–दक्षिण व्यापारिक नाकाको रुपमा विकास गर्न सकिने बताए ।

लमजुङ प्रदेशसभा (क)का उम्मेदवार डा टकराज गुरुङले संविधानको कार्यान्वयन गर्नका लागि गठबन्धन निर्माण भएको बताए । उनले अघिल्लो निर्वाचनमा पार्टीले हारे पनि देशले जित्नुपर्छ भनेर कांग्रेसले निर्वाचन गरेको स्मरण गर्दै देशको विकासका लागि गठबन्धनको जित आवश्यक रहेको उल्लेख गरे ।

कांग्रेस लमजुङका सभापतिसमेत रहेका डा गुरुङले लमजुङका सबै ग्रामीण बस्तीमा मोटरबाटो पु¥याएर त्यहाँको पर्यटन, कृषि र जलविद्युत्लाई देशको अर्थतन्त्रसँग जोड्नुपर्ने बताए । लमजुङ प्रदेशसभा (ख)का उम्मेदवार भेषबहादुर पौडेलले समृद्ध लमजुङ निर्माण आफ्नो अभियान भएको बताए । “म लमजुङ उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदादेखि समृद्ध लमजुङको अभियानलाई अगाडि बढाउँदै आएको छु, लमजुङको विकास नै मेरो र गठबन्धनको प्रमुख एजेण्डा हो”, उनले भने । कृषि, पर्यटन र जलविद्युत्लाई रोजगारीसँग जोड्न सके लमजुङको विकास हुने उनको भनाइ छ ।

नेपाली कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन सम्पर्क समिति तथा मञ्चको महत्वपूर्ण भूमिका रहेकाले उक्त कार्यक्रम आयोजना गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप