शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

बालकथा : कागको गुनासो

आइतबार, ०६ कार्तिक २०७९, १० : ०२
आइतबार, ०६ कार्तिक २०७९

‘काग दाइ ! आज तपाईँको तिहार रहेछ होइन ? मानिसहरू काग तिहार भन्दै दुना टपरीमा खाने कुरा दिरहेका छन् । साथमा एकाध फूलको थुँगा पनि राखिएको देखेको छु । कतैकतै काग सम्मेलनको कुरा भइरहेको पनि सुनेको छु तर तपार्ईँलाई भने नरमाइलो माने जस्तो देखेको छु । के भो तपाईँलाई ? आज त खुसीको दिन, खुसी मान्नुपर्ने होइन र ? खोइ हाम्रा लागि त कोही चुइक्कसम्म बोलेका छैनन् । तैपनि त्यस्तो केही ठानेका छैनौँ । तपार्ईँ भने यस्तो ? अलि सुहाएन है ।’ ढुकुरले कागको कानमा खुसुक्क भन्यो ।

‘ढुकुर भाइ ! लाग्छ तिमीले कुरै बुझेका छैनौ । त्यसैले यस्तो कुरा गरिरहेका छौ तर कुरा त्यस्तो होइन । मानिसका यी सब व्यवहार देखावटी हुन् । देखाउनका लागि गरिरहेका छन् । उनीहरू निकै चलाख छन् । त्यसैले हामी कागको पनि हितैषी हौँ भन्ने देखाउन वर्षको एकपटक कर्मकाण्ड पूरा गर्छन् ? अघिपछि नजिक आउनु पनि अशुभ ठान्छन् र देख्नासाथ शुभबोल भन्दै  ढुङ्गाले हान्छन् । अनि वर्षको एकपटक काग तिहार मनाउनुको के अर्थ ? भन त । बरू हामीभन्दा त तिमीहरूलार्ई नै भाग्यमानी । कम्तीमा उनीहरू दृष्टिमा छि  छि  र दुरदुरको पात्र हुन त परेको छैन ।’ कागले वेदना पोख्यो ।

‘त्यो त दृष्टिकोणको कुरा हो दाइ ! तपाईँको स्थानबाट हेर्दा हामी भाग्यमानी । हाम्रो स्थानबाट हेर्दा तपाईँ भाग्यमानी । मानिसको व्यवहारकै कुरा गर्ने हो भने हामीलाई पो कहाँ छाडेका छन् र । तपाईँहरूलाई त नजिक आयो भनेर धपाउने मात्र गर्दा रहेछन् । हामीलाई त भेटे भने मारेर खान पनि बेर लगाउन्नन् । तैपनि हामीले नराम्रो मानेका छैनौँ । जीवन खुसी हुनका लागि हो खुसी हुनका लागि । बल्लबल्ल पाइएको जीवनमा पनि दुःखी बनेर को बस्छ ? कसले के गर्छन् उनीहरूका कुरा । आफूले गर्ने काम नछाडे भइहाल्यो नि होइन र ?’ ढुकुरले सम्झाउने प्रयास ग-यो ।

‘कुरो त ठीकै हो भाइ ! तिमी–हामीले गर्ने त्यही हो, गर्दैै आएका पनि छौँ । मानिसको देखाउने र खाने दाँत अलगअलग देखेर मात्र नराम्रो लागेको हो ।’   

‘देखावटी रे ? कसरी भन्न सक्छौँ कि देखावटी भनेर ।’

‘प्रष्टै छ नि ।’

‘प्रष्टै छ रे ?’

‘हो त नि ।’

‘भन्नुस् न दाइ ! के हो त्यो भनेको ।’

‘यही कि अघिपछि देखिनसहनेले वर्षको एकपटक किन तिहार मनाउनुप-या होला भनेको नि ।

‘त्यसको पनि कारण होला नि दाजु ! बरू त्यतातिर पो ध्यान दिने हो कि ?’

‘खोइ त्यो त उनीहरू नै जानून् । सुने अनुसार हामीले अशुभ खबर लाने गछौँ रे । त्यसैले लखेट्नेका गरेका रे ।’

‘नलानुस् त त्यस्तो  खबर । टन्टै साफ, नरहे बाँस न बजे बाँसुरी ।’

‘कुरा त्यसो होइन भाइ !’

‘के हो त दाजु !’

‘यही कि उनीहरूका कारण हाम्रो खाने दाना छिनिएका छन् । बस्ने स्थान छिनिएका छन् । हामीले भन्नेको भनेको त्यसो नगर । हामी पनि यही प्रकृतिको प्राणी हौँ, हामीले पनि बाँच्न पाउनुपर्छ भन्ने नै हो ।’

‘त्यही खबर दिन उनीहरूका अगाडि गएर कराउनुहुन्छ ?’

‘हो त नि ।’

‘यसमा अशुभ मान्नुपर्ने नै के छ र ?’

‘त्यही त भन्या भाइ ! उनीहरू नराम्रो काम गर्छन् । अरूले त्यसो नगर भन्यो भने अशुभ बोल्यो भन्छन् । मानिसको जातै त्यस्तै । आफूलाई मन पर्ने जति सबै शुभ । मन नपर्ने जति सबै अशुभ । यस्तो पनि हुन्छ ?’

‘अनि मानिसकै कारण हाम्रो खाने दाना र बस्ने स्थान खोसियो भन्ने जुन कुरा गर्नुभयो यसबारे पनि प्रष्ट पारिदिनु हुन्छ कि ।’

‘त्यो पनि प्रष्टै छ नि भाइ ! उनीहरू आफ्नो मात्र हित हेर्छन् र बालीनालीमा विषादी छर्ने गर्छन्, जसले गर्दा हामीले कीरा कमिलासमेत टिपेर खान पाउँदैनौँ । यसैका कारण हाम्रा दाजुभाइ कैयौँले ज्यान गुमाइसकेका छन् ।’

‘एऽऽ हो त ! यसबाट हाम्रै दाजुभाइ पनि धेरैको ज्यान गइसकेको छ ।’

‘अनि ?’

‘बुझेँ दाजु ! यसप्रति आभारी छु । अनि बासस्थान नासिँदै गयो भनेर जुन कुरा गर्नुभयो यसबारे पनि जानकारी पाए थप आभारी हुने थिएँ ।’

‘यो पनि प्रष्टै छ भाइ ! हेर न । शहर बजारतिर एउटै रुख छैनन् । भएको पनि काटिसके, काटिँदैछन् । हुँदाहुँदा वन फडानी गरेर बस्ती तथा शहर विकास गर्न थालेकाले गाउँघरतिर पनि बस्ने स्थान पाउन गाह्रो पर्न थालेको छ । वन जङ्गल नै नासिएपछि कहाँ बास बस्ने भन त । के हामीले चाहिँ बस्ने चाहिन्न ? थोरै संसार उनीहरूको मात्र पेवा हो ?’

‘हो त नि दाइ ! मैले त त्यतातिर ध्यानै दिएको रहेनछु । हामी सबैको हितको कुरा उठाउनु धेरै राम्रो काम गर्नुभएको रहेछ । तपार्ईँ उस्तो होइन । अपितु मानिस नै उस्ता हुन् । त्यसैले आउनुस् उनीहरूका सद्बुद्धिका लागि भगवानसँग प्रार्थना गरौँ ।’

‘ठीक भन्यौ भाइ ! तैपनि बुद्धि पलाइहाल्छ कि ?’ 

काग र ढुकुरबीच यस्तै संवाद हुँदै थियो । एक हुल मानिस काग सम्मेलन गर्न भनेर त्यतै आए । त्यसपछि उनीहरू दुवै डरले भागेर कतै लुक्न गए । उता मानिसहरू भने खुसीले गदगद हुँदै काग सम्मेलनमा जुटे– काग, काग, काग । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप