बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के तिमीलाई चुनावमा मात्रै गाउँ चाहिने हो !

आइतबार, ०६ कात्तिक २०७९, १७ : १३
आइतबार, ०६ कात्तिक २०७९

अहिले गाउँमा धेरै समयसम्म चहलपहल रहने वाला छ । दसैं सिद्धियो । ढकमक्क फुलेका फूलहरुले तिहारलाई निम्तो पठाइसके । तिहारपछि फेरि अर्को विशेष पर्व पनि आउँदैछ । जुन पाँच वर्षमा एक पटक आउँछ । यो पर्व अरु भन्दा पृथक खालको छ । अरु पर्वमा हामी भविष्यलाई बिर्सेर वर्तमानमा रमाउने कोशिस गर्छौं । तर यसले वर्तमानको सही चिन्तन मनन र निर्णयबाट भविष्यलाई सहज बनाउनको लागि गोरेटो तयार पार्छ ।

झुटा सपनाका पोकाहरु बोकेर तिमी गाउँमा आउने तरखरमा छौ । मलाई थाहा छ, तिमी नकावधारी बनेर ‘इमोशनल ब्ल्याकमेलिङ’ गर्नको लागि गाउँ छिर्न लागेका हौ । अब मंसिरमा धान स्याहार्ने चटारो हुनेछ । त्यो बेला गाउँ रित्तो हुनेछ । मान्छेहरु सबै बेसीका खेत खेतमा धान काट्दै हुनेछन् । जनताको दुःखमा सधैं यसरी नैं साथ दिनेछु भन्ने भान पार्न तिमी अभिनयमा जुट्नेछौ । कहिल्यै हँसिया नसमाएका तिम्रा हातले धान काट्नेछन् । गोठ देख्दासाथ नाक थुन्ने तिमी भैंसी दुहुन तम्सिनेछौ ।

भोट पाउनु नेताको अधिकार हो र भोट दिनु जनताको कर्तव्य हो । लोकतान्त्रिक परिपाटीमा तिम्रो बुझाई यत्तिमा सीमित रह्यो । भोट किन दिने र के का लागि दिने ? यसमा जनता कहिल्यै प्रष्ट हुन पाएनन् । मैले चुनावको मेसो पाउन थालेको पनि धेरै वर्ष भइसक्यो । यस अवधिमा तिमी छ पटक चुनाव लड्यौ तर प्रत्येक पटक नयाँ पाटीको उमेदवार बनेर गाउँमा आयौ । मलाई बताइदेऊ, चरम व्यक्तिगत स्वार्थ र अवसवारवादको राजनीतिमा यो भन्दा गतिलो उदाहरण अरु के हुन सक्छ ?

आफ्नो गुहुमुत समेत स्याहार्न नसक्ने अवस्थामा रहेका र वर्षौदेखि गाउँमै ओछ्यान परेका ती असी कटेका बुढा बालाई झुटा सपना देखाएर एउटा भोट आफ्नो पक्षमा पार्दैमा तिमी संसार जितेको नठान । सपना देखाउनेहरुले ठूला सपना देखाए तर त्यसको तुलनामा उनको सपना हात्तीको अगाडि कमिलो जत्तिकै थियो । ती बयोवृद्ध बाले सबै सपनालाई अघि लगाइसके । अब बाँकी छ त, उनको अन्तिम इच्छा । सिटामोल समेत नपाएर ज्यान गुमाएको छोरालाई सम्झदै उनी बेला बेलामा भक्कानिन्छन् । गहभरी आँसु पार्दै मसँग उनले भनेका थिए ‘अब गाउँका कुनै पनि जनताले सिटामोलको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआइदिए हुन्थ्यो ।’ अन्तिम इच्छा त शत्रुले नि पूरा गर्छ भन्छन् तर तिमी त गाउँकै छोरो प¥यौ । आशा छ, तिमीले यो कुरालाई मनमा लिनेछौ ।

सिद्धान्त केन्द्रित राजनीतिले बाटो बिराएको पनि धेरै वर्ष भइसकेछ । हुँदा हुँदै अहिले टिकट केन्द्रित राजनीति हावी भएको छ । त्यसको एकजना हिस्सेदार तिमी पनि हौ । आफ्नो स्वार्थको लागि पार्टी चहार्दैमा तिम्रो राजनीतिक यात्रामा पूर्णविराम लाग्ने बेला भइसक्यो । तर एक पटक पनि जनताको बारेमा सोचेनौ । एयर एम्बुलेन्सको जमानामा सामान्य उपचारको लागि बिरामीलाई डोकोमा राखेर अस्पताल पु¥याउन खोज्दा बिरामीले पानी पनि भन्न नपाई अकालमै मरेका घटनाहरुले अहिले पनि निरन्तरता पाइराखेका छन् । तिमीलाई यस्ता घटनाले कत्ति पनि छुदैन हगि ?  

गाउँघरले तिमीबाट ठूलो अपेक्षा पनि गरेको छैन । वर्षौदेखि बाँझिएर वनमासाको झाडीले घेरेको खेतबारीमा मकै फलेको र लह लह धान झुलेको हेर्ने उत्कट अभिलाषा बोकेको छ गाउँघरले । शासक बन्यौ, सेवक बन्न सकेनौ । कानुन बनायौ तर माटो सुहाउँदो कानुन बनाउन जानेनौ । तिमीले गाउँको जग्गा बाँझो राख्नेलाई सजाय हुने कानुन बनायौ । तर बाँदर र जङ्गली जनावरको आतङ्कले गाउँलेहरुलाई उठीबास गराएको यथार्थतालाई बुझेर पनि बुझ् पचायौ ।

अबको सय वर्ष पछिको जनसंख्यालाई सहरले मात्रै थेग्न सक्छ र ? आखिर अन्तिम विकल्प भनेकै गाउँ नै त हो । त्यसैले गाउँलाई यति सारो उपेक्षा गर्नु पनि त राम्रो होइन । पुर्खौदेखि लिएर तिम्रो हिजोको आफ्नै परिवारसम्मको प्राणपखेरु धानेको पधेराको हालत अहिले आउँदा एकचोटी हेरेर जाऊ है ! बाउबाजेले नुन तेल बोकेर तिमीलाई जनतासँग भोट माग्ने हैसियतमा पु¥याएको बाटोको हविगत तिमी आउँदा देख्छौ नै ।

तिमीले बिर्सियौ कि सम्झना छ कुन्नी ? गाउँबेसी र धानपराल गर्दा सुस्ताउने एउटा चौतारो थियो । त्यो चौतारोले तिम्रो पछिल्लो सन्ततिको उपस्थितिलाई धेरै वर्षदेखि कुरिरहेको छ । ऊ बेलामा हजुरबाले कोशौं परबाट ढुङ्गा बोकेर चिनेको चौतारो हो त्यो । चौतारोबाट अलग्गिएर तितर–बितर भएका ढुङ्गाहरुलाई ठीक ठाउँमा राखिदिए पनि पितृको आशिर्वाद लाग्छ तिमीलाई । तिम्रो हरेक क्रियाकलापमा तिमी जन्मेको माटोको सुगन्ध पाउँछु मैले । तर तिमी आफूले चाहिँ कहिल्यै महसुुस गर्न सकेनौ । सुनेको छु, गाउँको सारा अमूल्य गुन र यादहरुलाई भोटसँग लिलाम विक्री गरेर सहरमा सात पुस्ताका लागि विलासी जिन्दगी खरिदेका छौ रे ।   

यो पाँच वर्षको अन्तरालमा तिमी मन्त्री पनि भयौ । पहिरोले बस्ती निल्यो । त्यो बेलामा करले भएपनि आकाशबाट आयौ । आकाशबाटै फर्कियौ । चरालाई कनिका छरेझैं एक÷एक बोरा चामल बाँडेर गयो । समाचारमा सुनेको थिएँ पच्चीस लाखमा हेलिकप्टर चार्टर गरेर आएका थियो रे । तिमी गुडेर आउने जाँगर गरेको भए त्यो पैसाले ती घरबारबिहीन भएका सात परिवारको मुन्टो लुकाउने ओत बन्न सक्थ्यो । यस्तो कुरामा तिमी कहिल्यै संवेदनशील बन्न सकेनौ । किन ?

मैले अठोट गरें । अब मेरो त्यस्तो स्वार्थी उम्मेदवारप्रति कदापी साथ र समर्थन रहने छैन, चाहे ती उम्मेदवार मेरा बा नै किन नहुन् । आजको दुनियाँमा कसैलाई बदल्छु भनेर बदल्न सकिदैन । समाज बदल्ने यात्राको सुरुवात आफैंबाट हुनुपर्छ ।

मेरो एउटा भोटले करोडौं नेपालीको जीवनस्तर बदलिन सक्छ भने मैले मेरो विचारलाई किन नबदल्ने । पुर्खाको सनातनी राजनीतिक विरासतलाई थामिराख्नुपर्छ भन्ने पनि त छैन । समयको आवश्यकता र समुन्नत राष्ट्रको मूलप्रवाहमा आफूलाई समाहित गर्न सक्नु नै असल राजनीतिक संस्कार हो । तपाईंको आफ्नो सानो लोभ, लालच र स्वार्थको कारणले देशले ठूलो क्षति बेहोर्न नपरोस् । योग्य उमेदवार छानौं । शुभकामना !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप