शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनी प्रत्याक्रमणको डरमा खेरसन बासिन्दाहरूलाई ‘तुरुन्तै’ सहर छोड्न रुसको आग्रह

आइतबार, ०६ कात्तिक २०७९, १७ : ५८
आइतबार, ०६ कात्तिक २०७९

रुसको नियन्त्रणमा रहेको खेरसनका रुस पक्षधर अधिकारीहरूले त्यहाँका बासिन्दाहरूलाई ‘तत्काल’ सहर छोड्न आग्रह गरेका छन् । तिनले युक्रेनी सेनाले दक्षिणी युक्रेनस्थित सो सहरलाई पुनः कब्जा गर्न चाँडै प्रत्याक्रमण अभियान चलाउन लागेको भन्दै त्यस्तो निर्देशन दिएका हुन् ।  

क्षेत्रीय प्रशासनले शनिबार टेलिग्राम एपमा एक सन्देश पोस्ट गर्दै नागरिकहरूलाई खेरसन शहर छोड्न आह्वान गरेको थियो । अग्रमोर्चामा तनावपूर्ण अवस्था रहेको र युक्रेनी सेनाहरूद्वारा ‘आतंकवादी आक्रमण’ को खतरा रहेकाले स्थानीयहरु सुरक्षित स्थानमा जानुपर्ने तिनले बताएका छन् । 

उनीहरूले सहरका नागरिकहरूलाई रुसी नियन्त्रित क्षेत्रतर्फ जानको लागि नदीमा डुङ्गा प्रयोग गर्न पनि आग्रह पनि गरेका छन् ।  रुसले युक्रेनमा आक्रमण गरेको प्रारम्भिक दिनमै क्षेत्रीय राजधानी सहर खेरसन कब्जा गरेको थियो । त्यसपछिका महिनाहरूमा उसले त्यसक्षेत्रका अन्य भागहरू कब्जा गर्यो । 

राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना रुसमा गाभेका चार क्षेत्रमध्ये एक हो, खेरसन । बिहीबार उनले युक्रेनी सेनाद्वारा जारी प्रत्याक्रमणका बीच चार क्षेत्रहरूमा सैन्य शासन लागू गरेका छन् । खेरसनको क्रेमलिन–समर्थित अधिकारीहरूले यसअघि नै रुसले नियुक्त गरेका सबै अधिकारी तथा ६० हजार नागरिकहरुलाई सहरबाट बाहिर निकाल्ने योजना घोषणा गरेको थियो । 

रुसले खटाएका अधिकारी किरिल स्ट्रेमोसोभका अनुसार झण्डै २५ हजार नागरिकहरु सहर छाडेर गइसकेका छन् ।  शुक्रबार युक्रेनी सेनाले खेर्सन क्षेत्रभरि रूसी आधारहरूमा बमबारी गर्दै सहर कब्जाका लागि अन्तिम प्रयास गरेका छन् । –अल जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप