शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा सत्तारुढ गठबन्धनको भेला : बागीलाई फकाउने प्रयास, ओलीको आलोचना

आइतबार, ०६ कात्तिक २०७९, १९ : ०२
आइतबार, ०६ कात्तिक २०७९

‘कर्णालीमा पनि गठबन्धनको विरुद्धमा उभिएका साथीहरु हुनुहुन्छ । हो, केही टिकट प्राप्त गर्ने साथीहरु छुट्नुभएको छ, त्यो हामीले पनि सोचिरहेका छौं । टिकट नपाएका साथीहरुलाई सम्बोधन गर्ने प्रशस्त ठाउँ छन्, त्यसैले गठबन्धनविरुद्ध आत्मघाती कदमचाँहि नचाल्नुहोस्,’ आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय लोकतान्त्रिक–वाम गठबन्धनको भेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागी उम्मेदवारलाई सम्झाउँदै भने । उनले १/२ दिनमै उम्मेदवारी फिर्ताको घोषणा गर्न उनीहरुलाई सुझाव पनि दिए ।

प्रचण्डले उम्मेदवार बन्न नपाएकाहरुलाई थुप्रै राजनीतिक नियुक्तिका स्थान रहेको र त्यसका बारेमा छलफलसमेत गरिसकिएको बताए । प्रचण्डमात्रै होइन, शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, रामचन्द्र पौडेलले पनि निराश र टिकट प्राप्त गर्न नसकेकाहरुलाई फकाउनमै समय खर्चिए । प्रधानमन्त्री देउवाले गठबन्धन ऐतिहासिक आवश्यकता भएकाले त्यसको विरुद्धमा नजान नेता, कार्यकर्तालाई अनुरोध गरे । झण्डै १० मिनेट बोलेका देउवाले पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई टोकरीमा फ्याँक्ने काम गरेको आरोप लगाए । ‘हो, त्यसकै विरुद्धमा बनेको गठबन्धन हो, सबै साथीहरु मिलेर गठबन्धनलाई विजयी गराउनुहोस्,’ देउवाले भने, ‘हामी परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएका छौं, गठबन्धन लामो समयसम्म टिक्छ ।’

गठबन्धनको विजयका लागि सबैनेताहरु एकबद्ध रुपमा मिल्नुबाहेक विकल्प नरहेको भन्दै देउवाले गठबन्धनका उम्मेदवार विरुद्ध गठबन्धन घटककै दलबाट उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गर्न आग्रह गरे । ‘त्यसका लागि उचित ठाउँमा‌ व्यवस्थापन हुन्छ,’ उनले भने । साथै देउवाले चुनाव जिताएको खण्डमा पाँच वर्षमा रिजल्ट देखाउने गरी काम गर्ने दाबीसमेत गरे । कार्यक्रममा प्रचण्डले गिरिजाप्रसाद कोइरालाले अन्तिम अवस्थामा आफूलाई देशको जिम्मा लगाएको कुरा उल्लेख गर्दै आफू भावी प्रधानमन्त्रीको रेसमा रहेको संकेत गरे । उनले भने, ‘कुनैबेला ओली गोरु गाढा चढेर अमेरिका पुगिँदैन भनेर भन्थे, तर पछि तिनै मान्छे संविधानको पक्षमा हस्ताक्षर गर्न अघि सरे । मैले त उनी सुध्रिसके सोचेको थिएँ, तर मौकाको खोजीमा रहेछन् । संसद विघटनदेखि देशलाई अस्थिरतातर्फ लाने प्रयास गरे ।’

साथै प्रचण्डले गठबन्धनलाई कसैले पनि हल्का रुपमा नलिन आग्रह गरे । ‘यो गठबन्धनले लोकतन्त्र, संविधानको रक्षा गरेको छ,’ उनले भने, ‘विगतदेखिनै कांग्रेस–माओवादीबीच विभिन्न साझेदारी हुँदै आन्दोलन गरिएको र सफल भएका पनि छन् ।’ पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि अधिकांश समय ओलीकै विरोध गरे । नेपालको राजनीतिमा व्यक्तिवादी प्रवृत्ति हावी भएको बताउँदै उनले ओलीमा त्यो प्रवृत्ति देखिएको बताए ।​

​‘ओलीले व्यक्ति केन्द्रित राजनीति गरे, व्यक्तिवादी सत्ता चलाउने चेष्टा गरे त्यो अधिनायकवादी चरित्र हो,’ नेपालले भने, ‘ती व्यक्ति (ओली)ले संविधान कुल्चे, देशलाई अस्तव्यस्त मात्र होइन, लोकतन्त्रलाई धुलिसात पार्ने कोसिस गरे, हामीले त्यसलाई रोक्यौं ।’ साथै उनले ओलीले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गर्न थालेको उल्लेख गर्दै प्रतिगमनका पक्षधरले चुनाव जित्न नहुने बताए । उनले भने, ‘अग्रगमनका हिमायतीहरुले जित्नुपर्छ, यो गठबन्धन अग्रगामी गठबन्धन हो ।’​

उनले ओलीले उठाएका जोखिमलाई आफूहरुले चट्टानी अडानमा परास्त गरेको उल्लेख गरे । उनले भने, ‘ओलीले देश भाँड्मा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सञ्चालन गरे ।’ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि केपी ओलीमाथि नै आरोप तेर्स्याए । उनले गठबन्धनको आधिकारिक उम्मेदवारको पक्षमा निष्ठाको साथमा लाग्नसमेत आग्रह गरे । उनले भने, ‘म कर्णालीका कांग्रेस नेता–कर्याकर्तालाई हँसिया हथौडादेखि नडराउन आग्रह गर्दछु । हाम्रो यो अभियान गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधान जोगाउने हो । त्यसैले यो वा त्यो दलका उम्मेदवार नभनेर आफ्नै उम्मेदवार भनेर भोट हाल्नु होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप