आइतबार, ०९ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा मिटरब्याजी धन्दाले स्वरुप फेर्दै ?

जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजीविरुद्ध ३७ वटा उजुरी दर्ता
आइतबार, ०६ कात्तिक २०७९, २१ : २४
आइतबार, ०६ कात्तिक २०७९

पछिल्लो एउटा घटनाले विराटनगरमा मिटरब्याजी धन्दा अझ झाङ्गिदै गएको देखाउँछ । मिटरब्याजीले ‘गुण्डागर्दी’ स्वरुपसमेत ग्रहण गर्न थालेको र यसभित्र राजनीतिक आड पनि देखिएको उदाहरणका रुपमा सो घटनालाई लिन थालिएको छ ।

नेकपा एमाले निकटको युवा संघ विराटनगरका अध्यक्ष किरण लामा नै सो धन्दामा रहेको किटानी परेको मात्रै छैन, उनले लगाएको मिटर ब्याजको पैसा असुल्न दुई जना व्यवसायीलाई बन्धक नै बनाएका छन् । लामाले विराटनगरको हस्पिटल चोकमा रहेको यादव फार्मेसीका सञ्चालक नवल यादव र अभिषेक साहलाई शुक्रबार दिउँसो घरमा बन्धक बनाएर कुटपिट गर्दै मिटर ब्याजमा लगाएको पैसा जसरी पनि फिर्ता दिन दबाब दिए ।

लामा समूहको कुटपिटबाट घाइते भएका दुईमध्ये अभिषेक उम्किएर भागेका थिए । उनैले मोरङ प्रहरीलाई घटनाको बारेमा जानकारी दिएपछि प्रहरीले लामाको घर खानतलासी गर्दा बन्धक बनाइएका नवललाई फेला पारेर उद्धार गरेको थियो ।

प्रहरीले यादवको उद्धार गरे पनि शरीर बन्धक बनाउने युवा संघका अध्यक्ष लामा भने पक्राउ परेका छैनन् । कुटपिटबाट फार्मेसी सञ्चालक नवल घाइते भएका छन् । यादवले लामासँग दुई महिना अगाडि व्यवसाय सञ्चालनका लागि पाँच लाख रुपैयाँ ऋण लिएका थिए । जाहेरीअनुसार नवल यादवले लामाबाट गत असार २९ गते पाँच लाख रुपैयाँ सापटी लिएका थिए ।

लामाले तीन महिनामै पाँच लाख रुपैयाँको मिटरब्याज कारोबारमा १८ लाख असुलिसकेको उनीहरुको दाबी छ । ‘उक्त पैसा दिइसकेकोमा लामाले सामान्य कुरा गर्न भनि मलाई बोलाएका थिए, मसँग रहेका अभिषेक साह समेतलाई लिएर घरमा पुगें,’ यादवले जाहेरीमा भनेका छन्, ‘घर पुगेपछि मुनि तलामा रहेको कोठामा बस्नुस् भनी नचिनेका केटाहरूको सहयोगमा कोठाभित्र थुनेर ताल्चा लगाइदिए ।’

त्यसपछि लामाले यादवलाई पाँच लाखको मिटरब्याजमध्ये अब पच्चीस लाख रुपैयाँ बाँकी रहेको भन्दै तत्काल उपलब्ध गराउन दबाब दिएका थिए । ‘कुटपिट गर्दै उनले पैसा नदिए टुक्रा–टुक्रा पारेर कोसीमा फालिदिन्छौँ,’ जाहेरीमा लामाले भनेको कुरा उल्लेख गर्दै भनिएको छ, ‘तिमीहरूको केही लाग्दैन, पुलिस प्रशासन सम्पूर्ण हाम्रो हातमा छ ।’

मिटरब्याजी लामाविरूद्ध उनीहरूले मोरङ प्रहरीमा अपहरण, शरीर बन्धक, मिटरब्याज र फिरौती कसुरको जाहेरी दिएका छन् । विराटनगर महानगरपालिका–११ बस्ने ३३ वर्षीय लामाविरूद्ध विराटनगर–८ का ३४ वर्षीय यादव र विराटनगर–११ का २४ वर्षीय साहले जाहेरी दिएका हुन् । जाहेरीमा लामाका सहयोगी ३२ वर्षीय अनुज मगरलाई पनि प्रतिवादी बनाइएको छ ।

दुबै पीडितलाई शुक्रबार लामाले आफ्नै घरमा बोलाएर बन्धक बनाएका थिए । शुक्रबार नै पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा ठाडो निवेदन दिएका थिए । शनिबार भने जाहेरी दरखास्त दिएका हुन् । मोरङ प्रहरीका डीएसपी टीका कार्कीले पीडितले जाहेरी दिएको पुष्टि गरे ।

गृह मन्त्रालयले मिटरब्याजी विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङका १५ जना विरुद्ध उजुरी दर्ता भएको छ । सरकारले तोकेको समयसीमा भित्र जिल्ला प्रशासन कार्यालय मोरङमा ३७ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये विराटनगर महानगरपालिकाभित्रका १६ वटा उजुरी विभिन्न १५ जना व्यक्तिका विरुद्धमा रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

विराटनगर–१८ का मिटरब्याजी धन्दावाला धनजित मण्डलका विरुद्ध पीडित पक्षले उजुरी दर्ता गराएका छन् । यस्तै विराटनगर–१७ का शिवु विश्वकर्मा र विराटनगर–१८ का गुलाबचन्द यादव, विराटनगर–७ का ललन ठाकुर, विराटनगर–१२ का झरिलाल यादव, विराटनगर–४ का महानन्द यादव, विराटनगर–१४ का लक्ष्मीकान्त विश्वासविरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै विराटनगर–२ प्रविण जैनका विरुद्ध दुई वटा उजुरी दर्ता भएको छ । प्रशासन कार्यालयका अनुसार विराटनगर–८ का श्यामकुमार यादव, विराटनगर–१३ का राजकुमार शर्मा धवानी, विराटनगर–७ का सञ्जयकुमार करवा, विराटनगर–९ का सञ्जयप्रसाद रौनियारले मिटरब्याज लिएर ठगी गरेको उजुरी परेको छ । मिटरब्याजी विराटनगर–१७ का दिलिपकुमार ताम्रकार, साविक विराटनगर–२१ का बुधनप्रसाद साह तेली र विराटनगर–१५ का जितेन्द्रकुमार रजकविरुद्ध पनि उजुरी दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार उजुरी आएका मध्ये केही प्रमाणसहित र केही ठाडो निवेदनका रूपमा दर्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप