शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कुकुरलाई माया गर्न तिहार कुर्नुपर्दैन’

म सुटिङबाट घर आउँदै छु भन्ने यिनी (कुकुर)हरूलाई थाहा हुन्छ : नम्रता सापकोटा
सोमबार, ०७ कात्तिक २०७९, ०९ : १३
सोमबार, ०७ कात्तिक २०७९

 कलाकार नम्रता सापकोटा कहिलेकाहीँ सुटिङ लगायत कामविशेषले महिना दिनसम्म घरबाहिर हुन्छिन् । उनी घर फर्कने अघिल्लो दिनसम्म उनको घरका कुकुर सामान्य अवस्थामै हुन्छन् । उनी फर्कने दिन भने कुकुरहरूको व्यवहार नै फरक हुन थाल्छ । ‘मेरी आमा भन्नुहुन्छ– तिमी फर्कने दिन यिनीहरू बिहानैदेखि अलर्र्ट भएर बस्छन्,’ नम्रता भन्छिन्, ‘कुकुरले दिने संकेतबाट हामीले धेरै कुरा बुझ्न सक्छौँ । उनीहरूसँग बसेर समय बिताउँदा दुःख भुल्न समेत सजिलो हुन्छ ।’

भनिन्छ, पशुपन्छीलाई भविष्यमा हुने घटनाबारे पूर्वाभास हुन्छ । आफू फर्कने दिन कुकुरले थाहा पाएको कुराले नम्रतालाई थप खुसी दिन्छ । अहिले उनको घरमा पाँचवटा कुकुर छन् । यीमध्ये एक ‘पग’ प्रजातिको कुकुरलाई उनले आठ वर्षअगाडि ३० हजार रुपैयाँमा किनेकी हुन् । त्यसअघि उनको घरमा ‘जर्मन सेफर्ड’ थियो, त्यो मरेपछि उनले ‘पग’लाई ल्याएकी हुन् । तीन वर्षअघि उनको घरमा एउटा कुकुर आयो, जसको नाम उनले ‘सेतु’ राखेकी छन् । यस्तै गएको वर्ष उनको घरमा अर्को कुकुर आयो, जसको नाम उनले ‘काली’ राखेकी छन् । बाँकी दुईवटा कुकुर सधैँ उनको घरअगाडि हुन्थे, तिनैलाई उनले संरक्षण दिएकी हुन् । 

उनी कामको सिलसिलामा घरबाहिर हुँदा कुकुरलाई उनका बुबाआमाले हेरचाह गर्छन् । बुबाआमा आफूभन्दा बढी जनावरप्रेमी भएको उनी बताउँछिन् । 

सानोमा स्कुलबाट घर फर्कंदा उनी बाटोमा कुकुरसँग खेल्दै हिँड्थिन् । कुकुरका बच्चा भेटाए घरमा लिएर आउँथिन् । आफन्तहरूको घरमा पनि कुकुर पालेको उनले सानैदेखि देखेकी हुन् । ‘त्यसैले होला, कुकुरप्रति मेरो सानैदेखि लगाव बढ्न थाल्यो,’ उनले भनिन् । 

‘कुकुरले माया गर्न सिकाउँछ’

कतिले कुकुरलाई घरको रक्षक बताउँँछन्, कतिपयले धार्मिक र आध्यात्मिक महत्त्वसँग जोडेर हेर्छन् । जसले जस्तो रूपमा लिए पनि कुकुर सदियौँदेखि मानिसको बफादार मित्र रहँदै आएको छ । 

कलाकार सापकोटा कुकुरले मानिसलाई स्नेह र सम्बन्धको व्यवहार र परिभाषा सिकाउने बताउँछिन् । ‘कुकुर माया गर्न सिकाउने प्राणी हो । सम्बन्ध के हो, माया के हो भन्ने कुकुरबाट सिक्न सकिन्छ, साथै कुकुरले बाँडेर खान पनि सिकाउँछ,’ उनी भन्छिन्, ‘थोरै भए पनि कुकुरलाई खुवाएर खाने बानी लाग्यो मलाई । त्यसैले अहिले ममा कुनै पनि कुरामा लोभ छैन ।’ 

जनावरमध्ये उनलाई कुकुर विशेष मन पर्छ । उनले सानैदेखि कुकुरलाई केही खानेकुरा दिने गर्थिन् । 

कतिपय मानिस कुकुरसँग डराउँछन् । नम्रता भने कुकुरले बिनाकारण नटोक्ने बताउँछिन् । ‘जबसम्म हामी कुकुरलाई जिस्काउँदैनौँ, गाली गर्दैनौँ, तबसम्म उसले आक्रमण गर्दैन,’ उनी भन्छिन्, ‘कुकुरले माया गरेको, गाली गरेको वा जिस्काएको सजिलै बुझ्छ ।’

आफूले कुकुरको भावना बुझ्न सक्ने नम्रता बताउँछिन् । ‘मानिस जनावरप्रेमी भएपछि उसको भावना समेत बुझिनेरहेछ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ कुकुरले खाँदैन । आज यसलाई खान मन छैन होला भन्ने मलाई त्यसअघि नै महसुस हुन्छ ।’

खर्च

अचेल नेपाली बजारमा ७५ हजार रुपैयाँ मूल्यसम्मको कुकुर पाइन्छ । यद्यपि महँगा कुकुर पाल्ने नम्रताको सोख होइन । प्रजाति हेरेर बजारबाट कुकुर किन्नुभन्दा वरपर भएका कुकुरकै संरक्षण गर्न उनलाई आनन्द लाग्छ । 

घरमा पाँच–पाँचवटा कुकुर पाल्दा खर्चदेखि समयको व्यवस्थापन गर्नुपर्ने हुन्छ । नम्रताले आफ्ना प्रत्येक कुकुरलाई ६ महिना वा वर्ष दिनमा रेबिज र बुस्टरदेखि सबै प्रकारका इन्जेक्सन लगाइदिन्छिन् । ६–६ महिनामा शरीरमा कीरा नलाग्ने औषधि समेत छर्कनुपर्छ । त्यस्तै, आपसमा लडेर लाग्ने घाउमा मलमपट्टी गर्नुपर्छ । कुकुरलाई सामान्य चोट लाग्दा प्राथमिक उपचार उनले घरमै गर्छिन् । त्यसका लागि आवश्यक सामान समेत उनले जोडेकी छन् । 

उनको घर कोलोनीभित्र भएकाले कुकुरलाई बिहान–साँझ डुलाउन केही सजिलो छ । कहिलेकाहीँ टाढा जानुपरेका बेला उनले सानो कुकुरलाई गाडीमा हालेर आफूसँगै लैजान्छिन् । उनको गाडी प्रायः कुकुरका खानेकुराले भरिएको हुन्छ । क्याफेमा साथीभाइ भेट्दा पनि एउटा सानो कुकुर उनीसँगै हुन्छ । कुकुरलाई फ्रेस बनाउन साथमा लिएर हिँड्ने र डुलाउनुपर्ने उनको अनुभव छ । 

कुकुरलाई साताको एकपटक नुहाउने र अन्य सरसफाइ गर्ने नियमित रुटिन छ उनको । पालैपालो पाँचवटालाई नुहाइदिँदा चार घन्टाजति लाग्छ । प्रत्येक कुकुरलाई सातामा एकपटक मात्र नुहाइदिन उनलाई डाक्टरले सुझाएका छन् । 

कुकुरलाई खुवाउन मात्र होइन, औषधिमा पनि उनले ठूलो खर्च गर्नुपर्छ । कहिलेकाहीँ खेल्न छोड्दा बाहिरबाट घाइते भएर आउँछन् । त्यस्तो बेला कुकुरलाई औषधिदेखि विभिन्न इन्जेक्सन लगाउनुपर्छ । केही दिनअगाडि मात्र उनको एउटा कुकुरलाई तीन दिनसम्म सलाइनपानी दिएर राख्नुपरेको थियो । 

उनका पाँच कुकुरका लागि खानेकुरा पनि फरक–फरक चाहिन्छ । ठुलाका लागि उनी हड्डीको धुलोको सुप बनाएर भातसँग दिन्छिन् । सानालाई अन्डा र बोइल खाना चाहिन्छ । ‘पगको त हाम्रोभन्दा धेरै डिमान्ड छ,’ उनी भन्छिन् । 

घरका सबै कुकुरलाई खुवाएर मात्र उनले खाने गरेकी छन् । घरमा पाँच–पाँचवटा कुकुर पाल्न कति खर्च हुन्छ होला ? मासिक १५–२० हजार रुपैयाँ औषधिमै खर्च हुने उनी बताउँछिन्, ‘कुकुरलाई किन यति धेरै खर्च गरेको भनेर साथीभाइले उनलाई सोध्ने गर्छन् । यसमा उनको सधैँ एउटै जवाफ हुन्छ– माया गरेर आफूसँग राखेपछि पैसा खर्च भइहाल्छ ।

उनले कुकुरका लागि सुत्ने ठाउँको पनि व्यवस्था गरेकी छन् । ‘पग’ उनीसँगै सुत्छ । ‘सेतु’का लागि भने छुट्टै खाट छ । अन्य तीनवटाका लागि उनले घर कम्पाउन्डभित्र खोर बनाएकी छन् । कम्पाउन्डभित्र बस्ने कुकुरहरू रातभरि जागा हुन्छन् र बिहानीपख सुत्छन् । ‘यिनले हाम्रो घरको मात्र होइन, पूरै टोलकै सुरक्षा गर्छन्,’ उनले भनिन् । 

जाडो बिस्तारै बढ्दै छ । पहिले उनले नबुझेर जाडोमा सबै कुकुरलाई कपडा लगाइदिन्थिन् । अहिले भने सानोलाई मात्र लगाइदिन्छिन् । ठूला चल्ने–खेल्ने भएकाले जिउ त्यसै तात्ने र रौँले पनि जाडो छेक्ने उनको बुझाइ छ । तैपनि राति चिसो हावाले नहानोस् भनेर उनले खोरलाई केही न केहीले छोपिदिन्छिन् ।

भन्छिन्, ‘बस्ने मात्र होइन, सही समयमा आवश्यक भोजन प्राप्त भएन भने कुनै पनि प्राणीको शरीर राम्रो हुँदैन । यो मैले फिल गरेको कुरो हो ।’

अचेल कुकुरको जन्मदिन मनाउने ट्रेन्ड बढ्दो छ । नम्रताले भने कुकुरको जन्मदिन मनाउने गरेकी छैनन् । कुकुर तिहार उनलाई विशेष लाग्छ । यस दिन हरेक वर्ष बिहानै कुकुरको पूजा गरी मनपर्ने परिकार दिएर दंग पार्छिन् । उनको बुझाइ छ– कुकुरलाई माया गर्न तिहार कुर्नुपर्दैन, कुकुर लगायत धेरै जनावरको संरक्षणमा मानिसले सकेको भूमिका खेल्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप