मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगुको उच्च जोखिममा बर्दिबास

सोमबार, ०७ कात्तिक २०७९, १९ : ४३
सोमबार, ०७ कात्तिक २०७९

जताततै दिवाली (दीपावली, तिहार) पर्वको रमझम बढिरहेका बेला महोत्तरीको बर्दिबास अस्पतालमा भने डेंगु सङ्क्रमित भरिभराउ देखिएका छन् । भर्खरै पहिलो साता बित्दै गरेको कात्तिकमा मात्रै २० जना डेङ्गु सङ्क्रमित पाइएका छन् ।

यसपालि गत साउनदेखि बर्दिबासमा डेङ्गुको सङ्क्रमण देखिन थालेको हो । यो क्रम हालसम्म (अस्पतालको अभिलेखअनुसार कात्तिक ५ गतेसम्म) आइपुग्दा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक सय ४० पुगेको बर्दिबास अस्पतालले जनाएको हो । “यसपालि गत साउनमा पहिलो पटक दुईजनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हालसम्म यो सङ्ख्या एक सय ४० पुगेको छ”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले भने  । यो बर्दिबास अस्पतालको जाँच नतिजाको मात्र सङ्ख्या हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालमा पनि डेङ्गु जाँच हुँदै आएका छन् ।

अस्पतालमा गत साउनमा २६, भदौमा एक सय २४, असोजमा दुई सय ३९ र जारी कात्तिकको पाँच गतेसम्म ४९ जनाको जाँच गरिएको थियो । जसमा साउनमा दुई, भदौमा २४, असोजमा ९४ र जारी कात्तिकका पाँच दिन (कात्तिक ५ गतेसम्म) २० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । चाडपर्वमा भीडभाड बढ्ने र सरसफाइमा समुचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नाउँको लामखुट्टेको वृद्धि भएर सङ्क्रमण बढेको चिकित्सकको भनाइ छ । बर्दिबास नगरक्षेत्र पछिल्ला पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ सालमा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो ।

२०७४ सालको साउनदेखि असोज मध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै आठ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको पुरानो अभिलेख उद्धृत गर्दै नगर कार्यपालिकाको कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जनाएको छ । त्यसयताका वर्षमा केही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही महिनाभित्रै सङ्क्रमितको सङ्ख्या एक सय ४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले बताए ।

पछिल्लोपटक नगरक्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखेको छ । नगरका सबै (१४ वडा) वडामा वडाध्यक्षको संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र कीटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले बताए । यद्यपि नगरका सर्वसाधारण भने औषधि छर्कने र आडेस लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान प्रभावकारी सञ्चालन नभएको गुनासो गर्छन् ।

आफ्ना घरआँगन, कोठाचोटा र वरपर नियमित सरसफाइ गर्ने, लामखुट्टेले पानीमा फुल पार्ने भएको हुँदा कतै पानी जम्न नदिने र घर प्रयोजनका लागि भण्डारण गरिने पानी छोपेर राख्ने मात्रै गरिए पनि यसको नियन्त्रणमा बल पुग्ने डा महर्जनले बताए । यसबाहेक नगर कार्यपालिका र स्वास्थ्यसम्बद्ध सबै संस्थाको डेङ्गु नियन्त्रणमा सङ्गठित प्रयत्न हुनुपर्ने चिकित्सकहरुको भनाइ छ । यसैबीच डेङ्गु सङ्क्रमणको अवस्थाप्रति सबै सचेत भई यसविरुद्धका अभियानमा सरिक हुन बर्दिबास नगरप्रमुख प्रल्हाद क्षेत्रीले नगरवासीसँग अपिल गरेका छन् । भीडभाड बढ्ने चाडपर्वका बेला अझ यसबारे सचेत भई सरसफाइमा विशेष ध्यान दिन नगरप्रमुख क्षत्रीको नगरवासीमा आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप