तिहार

तिहारको नालीबेली : किन र कसरी सुरु भयो तिहार ?

person explore access_timeकात्तिक १०, २०७९ chat_bubble_outline0

‘जीवेम शरदः शतम् ।’ अर्थात्, सयौँ शरदसम्म बाँच्नू । शुक्लयजुर्वेदसंहितामा शरद ऋतुलाई महत्त्व दिइएको छ । सामान्यतः हाम्रो समाजमा वृद्धवृद्धाले नातिनातिनाको मुख हेरेर मर्ने चाहना राखेको पाइन्छ । यहाँ शरद ऋतुसम्म बाँच्नू भन्ने कामना किन गरियो ? शरद ऋतुमा त्यस्तो के छ ?


जवाफ सीधा छ– शरद ऋतु धेरै कुराले धनी छ । केही भावुक कविले वसन्तलाई ऋतुको राजा भनेर लेखे, वास्तवमा वसन्त ऋतु आशाको बीउ वा बोट हो भने शरद फल हो । वसन्त आकांक्षी हो भने शरद विजेता । किनभने, शरद ऋतुमा अन्नबाली पाक्छन्, यो फूलैफूलको मौसम हो । हिन्दू धार्मिक अनुष्ठानमा फूलको महत्त्व विशेष छ । यद्यपि, नयाँ परिवर्तनको सपना देख्ने र देखाउने कविहरूले वसन्तलाई महत्त्व दिनु स्वाभाविक मान्नुपर्छ, बीउ र बोटबिना फल सम्भव छैन । 



नेपालमा हिन्दूहरूले मनाउने दुइ विशेष पर्व (दसैँ र तिहार) शरद ऋतुमै पर्छन् । दसैँमा शाक्त परम्परा अनुरूप शक्ति आर्जनका लागि देवी दुर्गाको पूजाआराधना गरिन्छ भने तिहार अर्थात् यमपञ्चकमा केही देवीदेउता, दाजुभाइ तथा दिदीबहिनी र प्र्रतीक स्वरूप केही पशुको पूजाअर्चना गरिन्छ । 



यमपञ्चक (कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म)मा पर्ने प्रत्येक पर्वसँग सम्बन्धित कथा छन् । कार्तिक कृष्ण त्रयोदशीलाई धनतेरस भनिन्छ । यस दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुवेरको पूजाअर्चना गरिन्छ, यही दिन अकालमा मृत्यु नहोस्् भनी मृत्युका देवता यमराजलाई ‘दीपदान’ गरेर सुरु भएको यमपञ्चक कार्तिक शुक्ल द्वितीयामा भाइटीका लगाएर सकिन्छ । भारतमा पनि लक्ष्मीपूजासहित दीपावली गरी ‘भाइदूज’ मनाइन्छ । शब्द सादृश्यताबाट सोच–विचार गर्दा तिहार शब्दले संस्कृतको ‘तिथिबार’ र हिन्दीको ‘त्योहार’प्र्रति संकेत गर्छ । 

भारतीय लेखक डा. माहेश्वरी सिंंह ‘महेश’को पुस्तक ‘हमारे सांस्कृतिक पर्व–त्योहार’मा दीपावलीको सन्दर्भमा केही कथा उल्लेख छन् । यमराजलाई दीपदान गर्ने सन्दर्भको एउटा कथा यस्तो छ ः

यमराजले एक दिन आफ्ना दूतसँग सोध्छन्– मेरा दूतहरू ! तिमीहरूलाई कुनै दिन कुनै प्राणीको प्राण हरण गर्दै गर्दा बढी दया–करुणा जागेको थियो कि ? 

एक दूतले भने– हंश नाम गरेका एक प्रतापी राजा थिए । एकपटक सिकारका क्रममा बाटो भुलेर उनी राजा हेमको राज्यमा पुगे । त्यही दिन राजा हेमलाई पुत्र लाभ हुन्छ । बालकको जन्म भएको छैटौँ दिनमा देवी प्रकट भएर भन्छिन्– यस बालक बढेर जहिले विवाह गर्छ, त्यसको चार दिनपछि उसको मृत्यु हुनेछ । राजा हंंशले हेमको पुत्रलाई मृत्युदेखि बचाउन यमुना नदी किनारको एक गुफामा लुकाउँछन् । युवा भएपछि ती राजपुत्रले विवाह गर्छन्, त्यसको चार दिनपछि हामीले उनको प्र्राण हरण गर्‍यौँ । यसपछि त्यहाँ जुन दर्दनाक स्थिति उत्पन्न भयो, त्यसबाट हामी आज पनि चिन्तित र दुःखी छौँ । अतः महाराज ! कृपापूर्वक यस परिस्थितिबाट उद्धार पाउने उपाय बताउनुहोस् ।’

त्यसपछि यमराजले धनतेरसको पूजा र दीपदानको विधान बताए । उनले भने– यस दिन यस विधिअनुरूप पूजाअर्चना गर्ने कसैको पनि असामयिक मृत्यु हुनेछैन । 

यस्तै, धन्तवन्तरि उत्पत्ति र पूजाका सम्बन्धमा कथा यस्तो छ :

प्राचीनकालमा सुर र असुर मिलेर समुद्र मन्थन गरी १४ रत्न निकालेका थिए । जसमध्ये एक अमृत घडाको साथमा धन्वन्तरि थिए । उनले रत्नहरूको वितरण गर्ने भगवान् विष्णुसँग प्रार्थना गरे– मलाई निवासको व्यवस्थासँगै यज्ञांश पाउने अधिकारी बनाइदिनुस् । 

यज्ञांशको वितरण भइसकेकाले विष्णुले केही कुरा सम्भव नरहेको बताउँछन् । यद्यपि उनले धन्वन्तरिलाई आश्वासन दिन्छन्– तिमीले दोस्र्रो जन्ममा अक्षय यश पाउनेछौँ । यति मात्रै होइन, तिमीले सशरीर देवत्व प्र्राप्त गर्नेछौ । 

भनिन्छ, दोस्रो जन्ममा धन्वन्तरि काशीका राजा दिवोदास भएर जन्मे । उनले पार्थिव शरीरबाटै देव शरीर प्र्राप्त गरे । 

पौराणिक कथा अनुसार, यमपञ्चक भनेको यमराजले फुर्सद पाएका पाँच दिन हुन् । यस सम्बन्धमा असुर राजा बलिसँग जोडिएको एउटा कथा छ । 

असुर कुलका राजा बलिले एकपटक तीनै लोकमा राज्य गर्थे । त्यतिबेला उनले एउटा यज्ञ गरी जसले जे मागे पनि दान दिने व्रत लिएका थिए । यही बेला बटु वामनले उनीसँग तीन पाउ जमिन दान मागे । बलिले प्रतिज्ञा गरी तीन पाउ जमिन दिएपछि वामन रूप धारण गरेका विष्णुले एउटा गोडो बढाएर स्वर्ग र अन्तरिक्ष, अर्को गोडो बढाएर पृथ्वी ढाकिदिए । एक पाउ जमिन नपुगेबापत बलिराजालाई नागपाशले बाँधेर तेस्रो पाउ जमिन माग्दा बलिले आफ्नो शिर देखाए । विष्णुले खुसी भएर बलिलाई सुतल नाउँको लोकको राजा बनाए र वरदान माग्न भने । चार महिना आफूलाई दर्शन दिन विष्णु सुतलमा बसिदिनुपर्ने वर बलिले मागे । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म बलिको पालेघरमा गएर आफू सुत्ने तथा कार्तिक कृष्ण पक्षका अन्तिम पाँच दिन राजा बलिले तीनै लोकको राज्य भोग गर्न पाउने वरदान विष्णुले उनलाई दिए । बलिको राज्यलाई फरक ढंगले चिनाउन पाँचै दिन दीपावली गर्नुपर्ने, लक्ष्मी खुसी भएर दीपावलीको उत्सव मनाउनेका घरघरमा बस्नुपर्ने, यसबाट यमराज पनि खुसी हुने वर बलिले प्राप्त गरे । 

त्यसै बेलादेखि प्रतिवर्ष तिहारका पाँच दिन बलिराजाले राज्य मान्ने प्रथा चल्यो । इन्द्रादि दश दिक्पालले बलिराजालाई राज्य गर्न छाड्नुपर्ने हुँदा यमराजले वर्षका पाँच दिन बिदा पाए । यो अवधिमा कहाँ जाने भनी विचार गर्दा दाजु आउनुभएन भनेर सधैँ पीर गर्ने बहिनी यमुनाका घरतिर गएर पाँच दिन गुजार्ने मन यमराजले गरे । बस्दासम्म यमराजले बहिनीको स्वागत–सत्कार पाए भने बिदा हुने दिनमा उनी बहिनीबाट पुजिए भने बहिनीलाई पनि उनले पूजाआजा गरी वस्त्र आभूषण दिएर भ्रातृ स्नेह जनाए । दिदीबहिनीको पूजा सत्कार गर्ने दाजुभाइ र दाजुभाइको सत्कार गर्ने दिदीबहिनीको आयु र कीर्ति बढ्ने, धनधान्य वृद्धि हुने वरदान पनि उनले दिए । 

यिनै कथाका आधारमा तिहारको यमपञ्चक नाउँ रहेको र यसलाई ठूलो चाडको रूपमा मनाउने चलन चलेको कुलचन्द्र कोइरालाको पुस्तक ‘नेपाली सांस्कृतिक जात्रापर्व’मा उल्लेख छ । 

लक्ष्मीपूजाको सुरुवात सम्बन्धमा ‘सनत्कुमार संहिता’मा एउटा कथा छ । बलि राजा अत्यन्त बलवान् थिए । उनको तागतको अगाडि देवताहरूको केही चल्दैनथ्यो । एक दिन उनले सारा देवतालाई समातेर कैद गरिदिए । त्यसमा लक्ष्मी पनि कैद भएकी थिइन् । यस्तो स्थिति देखेर विष्णु ज्यादै उद्विग्न भई आफ्नो दैवी शक्तिले लक्ष्मी लगायत सबै देवीदेवतालाई बलिको कैदबाट छुटाइदिए । त्यसपछि विष्णु आफ्नी प्रियतमा लक्ष्मीलाई लिएर समुद्रमा सुख शयनका लागि प्रवेश गरे । लक्ष्मीका नाताले सबै देवताले छुटकारा पाउन सकेको हुनाले यस दिन दीपावली गरेर लक्ष्मीपूजा गर्ने कुरा चलेको हो ।

यी कथामा सुर–असुरबीच भएको द्वन्द्व र युद्ध देखिन्छ । उसो त हाम्रा अधिकांश पर्वमा देवीदेवताले दानवलाई मारेको खुसियालीका कथा नै आएका छन् । त्यसैले चाडपर्वहरूको विवेचना गर्दा प्राचीन समाजलाई नियाल्नुपर्ने हुन्छ ।

विजयको कथा र धनको महत्त्व

प्राचीनकालमा एउटा राज्यले अन्य राज्यमा आक्रमण गर्ने, बालीनाली वा सम्पत्ति (जसमा पशु लगायत पर्थे) लुट्ने क्रम चलिरहन्थ्यो । खस–आर्यहरू लडाकु र घुमन्ते जाति हौँ भन्ने सम्बन्धमा निकै पुस्तक लेखिएका छन् । राज्य निर्माण र सभ्यताको क्रममा आर्यले आदिवासीमाथि आक्रमणसँगै आन्तरिक संघर्ष गरिरहे । आर्यहरूले हिजो गरेको युद्ध र विजयको कथाकै आधारमा आज अनेक संस्कृति स्थापित छन् । रामायण, महाभारत आदि आर्यहरूको बाह्य र आन्तरिक संघर्षका कथा हुन् । विजया दशमीलाई रामायणका पात्र रामको रावणमाथिको विजयसँग जोडेर मनाउने गरिन्छ । 

आजको भारत, पाकिस्तान, बंगलादेश लगायत दक्षिण एसियामा जब आर्यहरू आइपुगे, तब लुटपाट र युद्धको इतिहास सुरु भयो । आर्यहरूले यी क्षेत्रमा आदिमवासीसँग मात्रै संघर्ष गरेनन्, आ–आफ्नो राज्य स्थापित गरेसँगै आन्तरिक संघर्ष पनि चलिरह्यो । ऋग्वेदको ‘दाशराज्ञ’ युद्धले यही प्रमाणित गर्छ । भारतीय लेखक रामशरण शर्माको पुस्तक ‘शुद्रों का प्राचीन इतिहास’का अनुसार, दश राजाहरूबीच भएको युद्ध ‘दाशराज्ञ’मा आर्येतर व्यक्ति पनि सहायक रूपमा सम्मिलित थिए । 

हाम्रै भूगोलका राज्यहरूमा समसुद्दीन इलियास, तिमुर लङ लगायतले आक्रमण गरेको र यहाँका राज्यहरूबीच आन्तरिक संघर्ष चलिरहेको इतिहास साक्षी छन् । 

तिहारमा देउसीभैलो खेलेर दक्षिणा माग्ने प्रचलन तिमुर लङसँग जोडिएको पाइन्छ । बालकृष्ण पोखरेलको पुस्तक ‘खस जातिको इतिहास’का अनुसार, ‘जुम्लाका राजा बलिराजको नाममा तिहारमा खेलिने भौली रागमा आधारित भैलो तिमुर–लङलाई दिन संकलन गरिएको चन्दा थियो । जुम्लाका राजा बलिराजका छोरा बछराज (राय बहरूज, वत्सराज) र मंगोल विजेता तिमुर लङबीचको युद्ध हरिद्वार र देहरादुन जाने बाटोको मोहन दर्रामा भएको थियो । पोखरेलको पुस्तकमा उल्लेख छ, ‘काठमाडौंमा घुँटीमुँगल (गठेमंगल)को समयमा प्रत्येक वर्ष मागिने गरेको जगात काठमाडौंबाट समसुद्दीन इलियासलाई बिदा गर्न गरिएको तयारीको सम्झनामा मनाइएको चाड हो । समसुद्दीन इलियास बंगालको नबाफ थियो । बंगालीलाई हियाएर भन्दा बाङाल अथवा घुँटी भन्ने चलन अझै छ । गठेमंगलको घन्टाकर्ण समसुद्दीन इलियास थियो । उसले कानमा घन्ट बाँधेसरह थियो, किनभने ऊ बौद्ध, शैव, वैष्णव र शाक्तमध्ये कुनै धर्म पनि सुन्न चाहँदैनथ्यो । ठीक गठेमंगलमा झैँ सपादलक्षमा पनि तिमुरलाई ढिम्किन नदिन कल्यालहरूले प्रजाबाट रकम भेला गरे । यस बुद्धिमानीले गर्दा हिमालयमा तिमुरले ब्रह्मलुट मच्याउन पाएन ।’

राज्य चलाउन र युद्ध गर्न धन आवश्यक हुन्छ । धन वृद्धि गर्न उत्पादन र व्यापार चाहिन्छ । यमपञ्चकमा पर्ने धनतेरसमा धातुजन्य सामान किन्नुपर्ने चलन छ, यो चलन व्यापार बढाउने उद्देश्यले सुरु गरेको बुझिन्छ । कुलचन्द्र कोइराला आफ्नो पुस्तकमा लेख्छन्, ‘धनकी देवी लक्ष्मीलाई समुद्रपुत्री मान्ने र व्यापारवृद्धि, बाटाको सुरक्षाको निम्ति पनि लक्ष्मीको पूजा गर्ने चलन वैदिककालदेखि नै चलेको मान्न सकिन्छ । ईशापूर्व १५०० वर्ष अगाडिदेखि नै लक्ष्मीका मूर्तिहरू पश्चिम एसिया र रोममा प्राप्त भएको पुरातत्वविद्ले उल्लेख गरेका छन् । अन्य ऐतिहासिक अन्वेषणबाट पनि लक्ष्मीको मान्यता निकै पुरानो रहेको थाहा पाइन्छ । धनकी देवीको महिमा कुन देश कुन जातिलाई नचाहिने हुन्छ र !’

पहिले धातुका भाँडा लगायत सामग्री मुद्राजस्तै विनिमयका माध्यम थिए । त्यसैले यस्ता सम्पत्ति संकलन गर्न र धन वा लक्ष्मीका प्रतीकहरूको पूजा–प्रार्थना गर्नतिर हाम्रा पुर्खा प्रेरित भइरहे । प्राचीन कालदेखि यस भूमिका मूलवासीहरू विशेषतः पशुपालनमा पोख्त थिए । विभिन्न शास्त्रीय प्रमाणको सहारा लिएर भारतीय लेखक शर्मा आफ्नो पुस्तकमा लेख्छन्, ‘शुद्रको साथमा गोधन (गाईवस्तु) हुन्थ्यो, जसलाई उच्च वर्णका व्यक्तिले यज्ञका निम्ति पक्रने गर्थे ।’ अर्थात्, कुनै समय यस भूगोलमा गोधन महत्त्वपूर्ण थियो । गोधनमा गाई–गोरु, बाच्छाबाच्छी पर्छन्, जो कृषिका आधार हुन् । सभ्यताको इतिहासमा हाम्रा पुर्खाले गोधन लगायत कृषिसँग सम्बन्धित भौतिक वस्तुको पूजा–प्रार्थना गर्नु अस्वाभाविक थिएन । 

कृषिमा निर्भर कृषकमध्ये केहीलाई धातुजन्य सम्पत्तिको खोजमा लगाउन पनि आवश्यक थियो, जसका कारण राज्यहरूबीच व्यापार चल्न मद्दत पुगोस् । आजभन्दा ११४३ वर्षअघि पनि अहिलेको काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रका जनतालाई सुनको खोजी गर्न प्रेरित गरेको कथा पाइन्छ । 

कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत्अनुसार नयाँ वर्ष सुरु हुन्छ । यस संवत् सुरुवातको कथाले व्यापार र धातुको महत्त्वतर्फ संकेत गरेको छ । यस सम्बन्धमा गोपाल, राजभोगमाला, राज, केशर पुस्तकालय आदि वंशावलीमा केही उद्धरण उल्लेख छन् । भुवनलाल प्रधान (अनुवादक ः अशोक श्रेष्ठ) को पुस्तक ‘नेपाल संवत्’मा ती उद्धरणलाई कथाको रूप आउने गरी प्रस्तुत गरिएको छ । जुन कथासार यस्तो छ ः 

ललितपत्तन (ललितपुर) सहरतिर मानदेवका पुत्र राघवदेव राजा भए । भक्तपुरमा भने आनन्ददेवले राज्य गरिरहेका थिए । यही बेला भक्तपुर निवासी कुनै एक ज्योतिषीले बालुवा सुन हुने मुहूर्त (सुवर्ण योग)का बारेमा बताए । यही मुहूर्तमा भरियाले भद्रमति र विष्णुमतिको संगम लखुतीर्थमा गई बालुवा बोकेर आउँदै थिए । कान्तिपुरवासी शंख (धर) नामक साख्वा भन्ने एक ज्यापूले भरियालाई वशमा पारेर बालुवा सबै आफ्नो घरमा लगे । घटनाको चार दिनपछि थुपारिराखेको बालुवा हेर्दा शंखधरले सुन भएको देखे । शंख साह्रै ज्ञानी र धर्मात्मा थिए । उनले उक्त सुन साधारण जनको हित अर्थात् धर्मकार्यमा उपयोग गर्ने सोचे । त्यसपछि उनले पण्डित, ज्योतिषीको सम्मतबाट नेपाल निवासी सबै दुनियाँको ऋण तिरेर अऋणि गरी संवत् परिवर्तन गर्ने निश्चय गरे, यसका लागि राजासँग स्वीकृति पनि लिए । नेपाल निवासी सबै धनी–गरिबका सम्पूर्ण ऋण चुक्ता गरी कलि गताब्द ३९८१ र शाके ८०२ मा नेपाल संवत् (१) कायम गरे ।

बालुवा सुन हुने घटना हेर्दा यो कथा केही मिथकीय लाग्छ । यद्यपि ‘नेपाल निवासी’लाई ऋण लागेको प्रसंगले यस भूगोलका राज्यलाई नै ऋण लागेको यथार्थतिर संकेत गरेको बुझ्न सकिन्छ । अर्कोतिर, नदीको बालुवाबाट सुन निकाल्न सकिनेतिर पनि यस कथाले संकेत गरेको छ । यसै दिन नेवारहरूले भौतिक रूप आफ्नो शरीरको पूजा अर्थात् म्हपूजा गर्छन् । साधारण तर्कमा जाँदा म्हपूजाले शरीर, लुगाफाटो र घर सरसफाइको आवश्यकता र महत्त्वतिर संकेत गर्छ । मन र शरीरबीच सम्बन्ध छ । शरीर सफा र स्वस्थ हुँदा मन–मस्तिष्क र सोच पवित्र हुनेतर्फ पनि तर्क गर्न सकियो । 

दीपदान र दीपावलीको दर्शन

सभ्यताको इतिहासमा आगोपछि पात्रोको आविष्कार मानिसका लागि महत्त्वपूर्ण थियो । आगो पत्ता लागेदेखि काँचोभन्दा पोलेको खानेकुरा (विशेषतः मासु) खान, माटोको भाँडा बनाउन, धातु गाल्न मानिस प्रेरित हुँदै गयो । लुगाफाटो नभएको अवस्थामा न्यानोका लागि आगो बालेर रात काट्नु उसका लागि बाध्यताजस्तै थियो । 

आगो हेर्दा गतिवान देखिन्छ, छुँदा पोल्छ तर अन्य वस्तुलाई नष्ट गर्नुमा मात्रै यसको अस्तित्व साबित हुन्छ । आदिम मानिसका लागि सूर्य, आगो र पानी चिन्तनको गहिरो स्रोत तर आफैँमा एक रहस्य भइदियो । प्रकृतिसँग अनेक प्रार्थना र कामनाका लागि हिन्दूहरूले महिनौँ यज्ञ गर्थे, यसो गर्दा आगो जोगिन्थ्यो पनि । आगो बाल्ने ज्ञान सबैलाई नभएको अवस्थामा आगो जोगाउने अभ्यास र समाजमा आगोको लेन–देन हुन आवश्यक थियो । मैले नै बाल्यकालमा गाउँतिर आगो (अगुल्टो) मागेर काम चलाएको देखेको थिएँ । 

हिन्दू ऋषिमुनिहरू र प्राचीन युनानी दार्शनिकले आगो र पानीलाई सृष्टिको महत्त्वपूर्ण तत्त्व मान्थे । हिन्दू पौराणिक कथामा अग्निदेव र जलदेव (वरुण) पूजनीय छन् । आगो, दियो र जलबिनाको कुनै अनुष्ठान छैन भन्दा पनि हुन्छ । 

आदिम मानिसका लागि समय वा कालको अर्थ थियो– सूर्य उदाउनु र अस्ताउनु । औँसीको अँध्यारो रात उसका लागि भयानक थियो, अँध्यारोमा अनेक घटना–दुर्घटना हुन सक्थे । विषालु जीवले डस्न सक्थे । यस्तो बेला हातमा अगुल्टो हुन्थ्यो भने मानिसले खतरनाक जीवलाई पनि भगाउन सक्थ्यो । अर्कोतिर, कृषकले भण्डारण गरेको अन्नबाली लुटिने खतरा रहिरहन्थ्यो भने राज्य विस्तार गर्न वा उर्वर भूमि हडप्न एउटा राज्यले अर्को राज्यमाथि आक्रमण गर्ने क्रम पनि चलिरहन्थ्यो । 

यस्ता कतिपय दुर्घटना वा मृत्युबाट बच्न मानिसलाई अँध्यारो चिर्ने दीप र आगो अनिवार्य थियो । मानिसलाई उज्यालोको जोहो गर्ने सिकाउने पर्व भन्ने लाग्छ, धनतेरसको दीपदान । मृत्युका देवतालाई नै दीपदान गरी अकाल मृत्यु नहोस् भन्ने प्रार्थना गर्नुले बुझिन्छ– उज्यालो नै अकाल मृत्युबाट जोगिने एक उपाय हो । मानिसलाई उज्यालोको महत्त्व सिकाउन दीपदानको विधिविधान र वाङ्मय रचियो । यहाँनेर ज्ञानको उज्यालोलाई पनि प्रतीकार्थ लिन सकिन्छ । 

धनतेरसमा समुद्र मन्थनको प्रसंग आएको छ । आदिम मानिसका लागि पानीको मुहान्, नदी र समुद्र पनि चिन्तनको स्रोत र एक रहस्य थियो । आकाश कालोनीलो भएर मेघ गर्जन हुनु, पानी पर्नु, बिजुली चम्कनु, पानी बग्नु, पानीबाट तिर्खा मेटिनु, अधिकांश वस्तुलाई नष्ट गर्ने आगो पानीका अघि निभ्नु आदि अवस्थाप्रति घोत्लिएर मानिसले अनेक कल्पना गर्‍यो । हिन्दू दर्शनमा आगोसँगै आगोले नष्ट गर्न नसक्ने तत्व नै पञ्चतत्वमा परेको बुझिन्छ । आगोमा तताउँदा पनि पानी नष्ट नहुनु, बाफ बनेर उड्नु आदि विज्ञान नभएको परिस्थितिमा मानिसका लागि रहस्यमय घटना थियो । 

समुद्रपारि र समुद्रको गहिराइमा के होला ? यसका लागि हाम्रा पुर्खाले आफ्नै खालको अनुसन्धान आवश्यक ठाने । त्यसैको परिणाम भन्ने लाग्छ– समुद्र मन्थन । यसले संकेत गर्छ– समाज वा विभिन्न राज्यका सबै मिलेर कुनै वस्तु (रत्न वा धातु)लाई आधिकारिक विनिमयको माध्यम बनाउनु थियो । 

धनतेरसका दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरिको स्मरण गरिन्छ । यसले संकेत गर्छ– जडिबुटीका बारेमा ज्ञान लिई स्वस्थ हुनुपर्छ । जति स्वस्थ रहे पनि मृत्यु शास्वत सत्य हो । हिन्दूहरूले शरदसम्म बाँच्ने अर्थात् शरद ऋतु भोगेर मर्ने चाहना राख्नुको कारणमा मृत्युसंस्कारलाई लिन सकिन्छ । अन्नबाली भित्र्याएर दुई पर्व मनाएपछि अर्थात् शरद ऋतु भोगेर मर्दा मृत्युसंस्कारका लागि पनि सहज हुन्थ्यो । यसै पनि अधिकांश वृद्धवृद्धाको मृत्यु हिउँदको जाडोमै हुने गर्छ ।

असुरमाथि अन्याय

धार्मिक कथाका घटना अलौकिक वा अविश्वनीय हुन्छन्, जो विज्ञानको कसीमा प्रमाणित हुँदैनन् । यमपञ्चकको कथामा असुर अर्थात् दानव राजा बलिको राज्यलाई देवता भनिनेहरूले छल गरेर खोसिएको प्रसंग आएको छ । बलिबाट राज्य खोस्न सफल भएको खुसियालीमा यमपञ्चकमा दीपावली गरिएको पनि बुझ्न सकिन्छ । शब्द सादृश्यताको कसीमा खोज्दा आर्यको नजरका दानवहरू डेनुब नदी सभ्यताका उपज देखिन्छन् । बालकृष्ण पोखरेलको उपरोक्त पुस्तकमा उल्लेख छ, ‘मेसोपोटामियाको निवेवे क्षेत्रतिर असुरको अर्थ ईश्वर र देवको अर्थ दैत्य लाग्थ्यो । दक्षिण एसियामा आएर यी दुवै शब्दका अर्थ बिब्ल्याँटिन्छन्– असुर दैत्य हुन पुग्छ र देव ईश्वर । ...दानवझैँ महत्त्वपूर्ण जातिलाई नाम प्रदान गर्ने डेनुब नदी अति महत्त्वपूर्ण जलधारा हो ।’ 

जेहोस्, पौराणिक कथाहरूमा दानवहरू असत्य वा खराब विचारका प्रमाणित हुन्छन् । यमपञ्चकको कथाबाट यस्तो पनि प्रतीत हुन्छ— सुर र असुर मिलेर समुद्रबाट केही रत्न निकालिसकेपछि बाँडफाँडमा कुरा नमिलेर द्वन्द्व चर्केको थियो कि ?

शरद ऋतुमै मनाइने दसैंमा रामायणका पात्र रामले रावणमाथि विजय गरेको कथा पनि आउँछ । शूद्र भएर तपस्या गर्‍यो भनी रामले शम्बूक ऋषिको हत्या गरेका थिए । शूद्रहरू (आजका दलित)का आदर्श पुरुष राम होइनन्, शम्बूक हुन् । यद्यपि समय क्रमसँगै कला र शिल्पका धनी दलित मन्दिरमा बाजा बजाउने, युद्धका लागि हतियार बनाउने, मूर्ति बनाउने आदि कर्मले छुवाछुत र विभेद भोगेरै भए पनि धर्म र संस्कृतिसँग जोडिँदै आए । 

संस्कृतिको पिँधमा जति अन्यायपूर्ण वा अविश्वनीय कथाहरू होऊन्, तिहार पर्व उज्यालोतर्फ अग्रसर हुने पर्व हो । यस पर्वले दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्छ । विवाह गरेर नयाँ ठाउँ र परिवारसँग सम्बन्ध गाँस्न पुगेका चेलीहरू बेलाबेला माइती सम्झेर खिन्न हुनु स्वाभाविकै हो । कामले फुर्सद नपाउँदा उनीहरू चाहेका बेला माइतीलाई भेट्न जान पाउँदैनथे । कहिलेकाहीँ दाजुभाइ भेट्न पुग्दा उनीहरूको आहत मनलाई राहत मिल्थ्यो । चेलीलाई खुसी दिन अनि चेली र माइतीको सम्बन्ध सुमधुर राख्न भाइटीकाजस्तो सुन्दर पर्व सुरु भएको बुझ्न सकिन्छ । 

आज देश–देशबीच, समाजका व्यक्तिहरूबीच, नाताहरूबीच सम्बन्ध बिग्रँदा अशान्ति र तनाव सिर्जना भइरहेका छन् । मानिसबीच सम्बन्ध मजबुत बनाउने अरु थप पर्वहरू हुन आवश्यक छैन र ? 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।