शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘धेरैजसो यात्रा साहित्यमा विवरण आएको छ, अनुभूति छैन’

शनिबार, १२ कात्तिक २०७९, ०६ : १६
शनिबार, १२ कात्तिक २०७९

नेपाली साहित्यका क्षेत्रमा अहिले यात्रा साहित्य पनि धेरै लेखिने विधा भएको छ । धेरै नेपाली देश, विदेशको यात्रामा निस्किँदा त्यहाँका अनुभूतिहरू टिपोट गर्ने प्रचलन बढेकाले पनि यो विधा फस्टाएको हो । तर प्रायः कृतिले सूचना दिए पनि यात्रा साहित्यको उचाइ प्राप्त गर्न भने सकिरहेका छैनन् । 

यात्रा र साहित्य दुई भिन्न अर्थ बोक्ने शब्द हुन् । नेपाली बृहत् शब्दकोशले यात्रा शब्दको अर्थ ‘एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारी साधनद्वारा जाने काम, भ्रमण, पर्यटन, (२) धार्मिक उद्देश्यले तीर्थस्थलमा जाने कार्य; तीर्थाटन, (३) देवदेवीको उत्सवमा गरिने मेला, (४) परदेश जाने साइत, प्रस्थान’ भनेको छ । 

यसै गरी साहित्यको अर्थ ‘जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि’ लाई मानेको छ । यी दुई शब्दको उचित संयोजन नै यात्रा साहित्य हो ।

युगकवि सिद्धिचरण श्रेष्ठले ‘सौन्दर्यबोधको दृष्टिले उल्लासको भावनाले प्रेरित भएर यात्रा गर्नेको मुक्त अभिव्यक्तिलाई यात्रा साहित्य भनेको छन् । यात्रा साहित्यका बारेमा नेपाली साहित्यकोशले भनेको छ, ‘यात्राकालमा देखिएको, भोगिएको र सुनिएका कुराको कलात्मक वर्णन र त्यस क्रममा उब्जिएका लेखकीय दृष्टिकोणलाई निजात्मक शैलीमा गरिने साहित्य अभिव्यक्ति नै यात्रा साहित्य हो ।’ 

यसरी मानव जातिका यात्रानुभूतिलाई कलात्मक तरिकाले अभिव्यक्त साहित्य नै यात्रा साहित्य मानिएको पाइन्छ । 

यात्रा साहित्यमा कलम चलाउनेमध्ये एक हुन् युवराज नयाँघरे । हरेक समय कुनै न कुनै ठाउँको यात्रा गरिरहेको देखिन्छन् उनी । देश–विदेशका विभिन्न ठाउँहरू घुम्नु, त्यहाँको रहन सहन, चालचलन, संस्कृतिको अवलोकन गर्नु र अनुभूतिलाई शब्दमा उतार्नु उनको पर्याय नै बनेको छ । 

उनका नियात्रा सङ्ग्रहमा ‘अनाम पहाडमा फनफनी’, ‘घामको चुम्बन’, ‘ह्वाइट हाउसको घामपानी’, ‘डलरको डायरी’, ‘हाराबारा’, ‘औंला औंलामा अस्ट्रेलिया’, ‘तनक्खा’, ‘याकजी’ आदि प्रकाशित छन् । उनको ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहले २०६५ सालमा  ‘मदन पुरस्कार प्राप्त गरेको थियो ।  

प्रस्तुत छ, यात्रा साहित्य लेखनको आम अभिरुचि, जटिलता र स्तरीय यात्रा साहित्यका मुख्य पक्षबारे नियात्राकार नयाँघरेसँग रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानीः 

–हाल केमा व्यस्त हुनुहुन्छ ? 

अहिले निबन्ध प्रकाशनको तयारीमा छु । लेख्न भने एक दुई वर्षलाई ध्यानमा राखेर निबन्ध सङ्ग्रहमा काम गर्छु होला । मेरो जन्मस्थान इलाम हो । तर, आफ्नो गाउँ वरपरका केही ठाउँहरू अझैसम्म पुग्न सकिएको छैन । त्यसैले, तिहार, छठको छेको पारेर पूर्वतिर जान मन छ । मोरङतिरबाट छिरेर पूर्वतिर लाग्ने मन छ । 

–यात्रा साहित्यमा निरन्तर लागिरहनुभएको छ । यसमै कलम चलाउन तपाईंलाई केले प्रेरित गर्‍यो ? 

पहिले म निबन्ध लेखक हुँ । मलाई मदन पुरस्कार दिलाएको पनि आत्मपरक निबन्धले नै हो । २०५१ सालतिर हुनुपर्छ । म दार्जिलिङतिर गएको थिएँ । त्यहाँ शिवकुमार राई, इन्द्रबहादुर राई, लक्ष्मी सुब्बा, जगत क्षेत्रीलगायतका ठूल्ठूला लेखकहरूसँग भेट गरेर आएपछि केही कुरा निबन्धमा लेखिए तर कतिपय प्रसङ्ग चाहिँ निबन्धमा अट्दा रहेनछन् । यात्राले एउटा ठाउँ खोज्दो रहेछ । सबै कुरा बौद्धिक हिसाबले मात्र लेख्न सकिँदो रहेनछ । सबै कुरा दार्शनिक रूपमा मात्र लेख्न सकिँदो रहेनछ । 

केही केही कुरा चाहिँ नियात्रामा पनि आवश्यक पर्दोरहेछ । किनभने शिवकुमार राईलाई खार्साङमा भेटेर आएपछि खार्साङसँगको विशेष अनुभव चाहिँ मैले नियात्रामा लेखेँ । त्यो नियात्रा धेरैले मन पराए । त्यसपछि मैले बिस्तारै नियात्रामा पनि कलम चलाउन थालेँ । अनि केही प्रसङ्ग नियात्रामा, केही प्रसङ्ग निबन्धमा राख्न थालेँ । अलिक सांस्कृतिक, दार्शनिक कुरा विशेष गरी निबन्धमा तर बाहिरका भूगोलका कुराहरू, जनजीवनका कुराहरू, लोकसंस्कृतिका कुराहरू नियात्रामा लेख्न थालेँ । त्यसपछि दोहोरो यात्रा निरन्तर चलिरह्यो ।    

–निबन्ध त धेरै नै लेख्नु भयो । नियात्रा चाहिँ कतिवटा प्रकाशित छन् ?  

मेरा १८ वटा प्रकाशित कृतिमा नौवटा निबन्धका र नौवटै नियात्राका कृतिहरू प्रकाशित छन् । सबैभन्दा पछिल्लो नियात्रा डोल्पाको याकजी भन्ने हो । यो डोल्पा जिल्लासँग केन्द्रित भएर लेखेको छु । अस्ति भर्खरै वैशाखमा प्रकाशित भएको हो, निकै लोकप्रिय पनि भयो । 

–अहिले नियात्रा साहित्य लेखनमा बाढी नै आएको छ । ती सबै कृति साहित्यिक कोटीकै दर्जा पाउन सक्षम छन् त ? 

बाढी आउनु त राम्रै हो । एउटा निश्चित समयमा गएर थिग्रिन्छ । किनभने बर्खामा बाढी आएपछि मात्रै हिउँदमा सङ्लिन्छ । सबै एकैनाशका खोला त हुँदैन । लेखन सहभागितालाई नकारात्मक रूपमा लिनु हुँदैन । कतिले बुझेर लेख्छन्, कतिले रहरले लेख्छन्, कसैले करले लेख्छन् त कसैले जिम्मेवारी बोध गरेर लेख्छन् । जिम्मेवारी बोध गरेर लेखेपछि भने बढी चोटिलो हुन्छ, बढी खँदिलो हुन्छ । 

धेरैजसो यात्रा साहित्यमा विवरण आएको छ,  अनुभूति आएको छैन ।  विवरण र अनुभूति जति मिलेर आयो, त्यति उत्कृष्ट यात्रा साहित्य बन्छ । धेरैको रहर छ । रहरलाई निमोठिदिनु हुँदैन । पछि लहरिएर फल दिन सक्लान् । अहिले सहभागिता एकदमै राम्रो छ । 

कुनै ठाउँ घुम्न जाँदा कसैले भूगोलको बढी बयान गर्लान्, कसैले संस्कृति बयान गर्लान्, कसैले भाषाको बयान गर्लान्, कसैले आफ्ना सामान्य अनुभूति मात्र पोख्लान् । तर त्यो पाठकले त छुट्याइहाल्छन् । त्यसैले सङ्ख्या धेरै भयो तर यसको सिर्जनात्मक मौलिकता भने समाएका छन् । किनभने यात्रा साहित्यमा अहिले पनि पाँच सात जना भन्दा बढीको नाम आउँदैन । स्थिति आउँछ तर बलियो स्थिति चाहिँ आएको छैन । सहभागिता भने राम्रो छ । 

–एउटा नियात्रा लेख्दा त्यसभित्र समेटिनुपर्ने पक्ष वा नभई नहुने तत्त्व के के हुन् ? 

कुनै पनि ठाउँका बारेमा तपाईंले बुझेको अनुभव त्यहाँको भूगोल, त्यहाँको संस्कृति, त्यहाँको जनजीवन, त्यहाँको लोकसभ्यता, परम्परा, प्रकृति, भाषाजस्ता कुरा अलि गैरआख्यानका रूपमा प्रष्टसँग अलि अलि निबन्धको तत्त्वसँग र अनुभूतिसँग जोडिएर, भावनाको तत्त्वसँग जोडिएर आएमा राम्रो हुन्छ । यो निबन्धको कान्छो भाइ हो है । कतिले यो विधा बेग्लै हो भन्छन्, यो विधा निबन्धकै एउटा हाँगोको रूपमा विकास भएको हो । तर भोलिका दिनमा यसले अर्कै वर्चस्व कायम गर्न सक्यो भने बेग्लै हो तर निबन्ध चाहिँ प्रस्टसँग हो । 

–अमेरिका, बेलायतलगायत धेरै मुलुक र नेपालका अधिकांश ठाउँ घुमेर नियात्रा लेख्नु भएको छ, सबैभन्दा हर्षित भएर लेख्नुभएको नियात्रा कुन हो ? 

मलाई अहिले पनि युरोप, अमेरिका, अस्ट्रेलिया अथवा युरोपका अन्य देशहरू भन्दा पनि नेपालै प्यारो लाग्छ । नेपालका ठाउँ, गाउँ, नेपालका भूगोल, यहाँका खोलानाला, संस्कृतिसँग जोडिएका जति पनि भूमिहरू घुमेर लेखेँ, त्यसमै मलाई आनन्द लाग्छ । 

जस्तो च्छोरोल्पाबाट मैले जुन यात्रा गरेँ, मुगुबाट यता फाप्लार हुँदै जुम्लातिर झरेर मैले यात्रा गरेँ, ती मलाई विशेष लाग्छन् । सगरमाथातिर स्याङ्बोचेबाट लुक्लातिर झर्दा हिमाल र खोलासँगको गफगाफ गर्दै जुन दोहोरो यात्रा गरिन्छ, त्यो मलाई विशेष लाग्छ । कुनै एउटा निश्चित ठाउँ भन्ने छैन । 

तराईको भूमि लगभग उस्तै हुन्छ । तराई पनि म प्रायः सबै घुमेँ । तर तराईमा विविधता अलि कम हुन्छ । तराईमा जनजीवनको संस्कृति, भाषाका हिसाबले महत्त्वपूर्ण हुन्छ भने भूगोलको विविधता हुँदैन । भूगोलका हिसाबले हिमाल र पहाडमा बढी विविधिता हुन्छ । त्यसमध्ये अद्भुत अनुभव भएको मलाई डोल्पा लाग्यो । डोल्पा एक महिना जति यात्रा गरेर केही अघि याकजी (चौँरी गोठाला) पुस्तक पनि प्रकाशित गरेँ । 

यस्तो यात्राका लागि समय चाहियो, खर्चको व्यवस्था गर्नुपर्‍यो । जाडो हुन्छ लुगाफाटो त्यस्तै चाहियो । खानपान पनि त्यस्तै हुनुपर्‍यो । कतिपय ठाउँमा घर र बस्तीहरू हुँदैनन्, दुई दिन हिँडेपछि मात्र घर भेटिन्छ । कतै गोठ अनि ओेडारमा सुत्नुपर्ने हुन्छ । कुनै दिन रूखको फेदमा पनि आगो बालेर सुत्नुपर्ने हुन्छ । त्यो एड्भेन्चर पनि हो । एड्भेन्चरको रूपमा यात्रा गरियो भने धेरै कुरा सिकिन्छ, बुझिन्छ । मलाई यस्तो यात्रा अनुभव धेरै पुस्तक पढेभन्दा, धेरै समाज बुझेभन्दा पनि उत्कृष्ट अनुभव हो यो यात्रा अनुभव । 

मेरो आफ्नै कृति भन्नुपर्दा दिल खोलेर लेखेको अनाम पहाडमा फनफनी भन्ने किताब हो । यो २०६१ सालमा प्रकाशित भएको हो । त्यसपछि अलिकति परिपक्व पनि भइयो, समाज पनि फरक भएर गयो । अहिले त गाह्रो छ नि लेख्न । अहिले विभिन्न जातीय, क्षेत्रीय, लैङ्गिक कुराहरूलाई दिल खोलेर लेख्न सक्न अवस्था छैन । किनभने हरेक ठाउँबाट प्रश्न उठ्छ ।  नढाँटी भन्ने हो भने अहिलेको लेखन त भुत्ते लेखन हो । आफ्ना अनुभूति पोख्न सङ्कोच मान्नुपर्ने अवस्था छ । किनभने एकल महिला र विधवा भन्नमा फरक हुन्छ, पहिले कानो, बैरो जस्ता कतिपय शब्दले पाठकको जति बिझ्थ्यो, फरक क्षमताको व्यक्तिले त्यो किसिमको अर्थ त दिँदैन । 

यस्तो यात्रा गर्दा सबैभन्दा अप्ठ्यारो परेको कुनै ठाउँ छ ?

च्छोरोल्पा हिमताल जाँदा लेक लाग्छ कि भनेर बाटैभरी एकदमै डर लागेको थियो । यस्तो उचाइ यात्राको त्यति अनुभव पनि थिएन मलाई, हिमाल चढ्दा के कसरी जानुपर्छ भनेर । अहिले त म यो हावापानी बुझ्दै बुझ्दै पचाउँदै जाने, एक दुई रात बस्ने, प्रकृतिसँग भिज्ने अनि यात्रा गर्ने ज्ञान भयो । अहिले यो सम्बन्धी ज्ञान पनि भयो । त्यसअनुसार यात्रा पनि गर्न थालेँ । खानपान, लुगा, जुत्ता, चस्मा, पञ्जालगायत सजिलो खालको अनुभव लिएर यात्रा गर्न थालेँ । त्यस्ता अप्ठ्यारा पटक पटक भएका छन् । त्यसमध्ये पनि नागाउँ, बेदिङतिर, सिङगाउँ यात्रामा भएका थिए । च्छोरोल्पा हिमताल जाँदाखेरि सबैभन्दा कठिन अनुभव भएको थियो । 

–सबैभन्दा मन पर्ने नियात्रा कृति भन्नुपर्दा कुन कुन सम्झनुहुन्छ ?

त्यस्ता धेरै कृति छन् । तारानाथ शर्माको बेलाइततिर बरालिँदा कुनै पनि यात्रा गर्ने मान्छेले अध्ययन गर्नैपर्ने अद्भुत चिज हो । लैनसिं बाङ्देलको रोमको एउटा फूल र प्यारिसको एउटा काँडा भन्ने किताब छ । यी दुईवटा किताब अत्यन्तै अचम्मका र स्वादिला किताब हुन् । 

मन्जुलको सम्झनाका पाइलाहरू भन्ने एउटा पुस्तक छ । यसले पूर्वी नेपालको ओखलढुङ्गातिरबाट इलामतिरको एउटा अद्भुत यात्राको अनुभव छ । त्यो राजनीतिक भ्रमण गर्दाका अनुभव भए पनि । यसमा भूगोल, समाजको बयान, मानिसको आनिबानीको बयान जसरी छ, त्यस हिसाबले अत्यन्तै स्वादिलो किताब हो । पछिल्लो पटक प्रतीक ढकालको त्यो एउटा उज्यालो कर्णाली किताब आएको छ । यो निकै गतिलो किताब हो । कुनै कुनै किताबमा एउटा रचना उत्कृष्ट भएर पनि आएका हुन्छन् । 

–नियात्रा साहित्यको भविष्य कस्तो छ ? 

फसल बेस्सरी लागेको छ, त्यसमा कति पोटिला दाना लाग्छन् र कति आँगनसम्म ल्याउन सकिन्छ, त्यसका लागि पर्खिनैपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप