विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्ट काउन्सिलमा प्रदर्शित समसामयिक मुद्दामा जुर्मुराएका कला

शनिबार, १२ कार्तिक २०७९, ०७ : ०४
शनिबार, १२ कार्तिक २०७९

नेपाल आर्ट काउन्सिलको प्रदर्शन कक्षभित्र कलाकार रवीन्द्र श्रेष्ठले माटोलाई चारपाटे आकार दिएर अत्याधुनिक कला निर्माण गरेका थिए । लगभग अढाइ फुट चौडाइ र अढाइ फुट उचाइको देखिने यस कलाको नाम राखिएको थियो, ‘माटो’ । आर्ट काउन्सिलमा हालै भएको सामूहिक कला प्रदर्शनीमा प्रदर्शित थुप्रै कलामध्ये उनको काम शक्तिशाली समसामयिक कला थियो । 

विश्व कलाबजारमा सन् १९६० पछि देखिएको नितान्त नौलो कला–प्रवृत्तिलाई समसामयिक कला भन्ने प्रचलन छ । रवीन्द्रको यो काम (कला) विश्व कलाबजारमा समसामयिक कलाको खण्डमा राख्न सकिने खालको थियो । तथापि पश्चिमी समसामयिक कलाको परिभाषालाई आधार मानेर हेर्ने हो भने यहाँ प्रदर्शित कैयौँ कला समसामयिक कलाभित्र नपर्ने खालका थिए । यस प्रदर्शनीमा प्रदर्शित कति परम्परागत कला थिए भने केहीले पूर्वआधुनिक कलाका प्रवृत्ति बोकेका थिए । सबै आधुनिक कलालाई समसामयिक कलाभित्र राख्ने प्रचलन अहिले छैन । तथापि हामीले समसामयिक कलाको आफ्नै परिभाषा बनाएका छौँ । यसर्थ यहाँ प्रदर्शित सबैजसो कला समसामयिक कला हुन् । यो कला प्रदर्शनीमा पाका कलाकार हरिप्रसाद शर्मा, शशि शाहदेखि युवा कलाकार कुन्ती श्रीका समेत कला प्रदर्शित छन् । यीमध्ये केही कलाको चर्चा यहाँ गरिनेछ । 

युवा कलाकार रवीन्द्र श्रेष्ठले पछिल्ला वर्ष नौला–अनौठो काम गर्दै आएका छन् । एक वर्षअघि ललितपुरको नागदहमा रहेको एउटा पुरानो डुंगालाई उनले काठमाडौं बबरमहलस्थित आर्ट काउन्सिलमा ल्याए । इन्स्टलेसन आर्टबाट यसलाई सजाएर उनले माइतीघरमा प्रदर्शन समेत गरेका थिए । म्यानमारमा सेनाले सत्ता हत्याएपछि विरोधमा उत्रँदा ज्यान गुमाउन पुगेका जनताप्रति श्रद्धाञ्जलीस्वरूप आफूले यो काम गरेको रवीन्द्रले बताएका थिए । डुंगाले दुईतिरका मानिसलाई जोड्ने र म्यानमारका जनताले दुःख पाउँदा नेपालीको पनि मन दुख्ने अर्थमा उनले यो काम गरेका थिए । त्यसपछि उनले नेपालका निवर्तमान प्रधानमन्त्रीको दैनिक अखबारमा छापिएका ठुल्ठूला तस्बिरलाई मूल पात्र बनाएर काम गरे । प्रज्ञा प्रतिष्ठानको डबलीमा प्रदर्शित उनको त्यस ‘पर्फर्मेन्स कला’मा बौद्धिक वर्गको एउटा ठूलो झुन्ड समावेश भएको थियो । उनी आफैँ त्यहाँ कलाको रूपमा पुराना पत्रिका बेच्न बसेका थिए । यी कला (पत्रिकाहरू)लाई भावकले महँगो मूल्यमा किनेका थिए । 

अर्कोपल्ट, तत्कालीन प्रधानमन्त्रीले भाषण गरिरहँदा भाषण सुन्नेहरूको भीडभाड (काठमाडौंको दरबारमार्ग)मा बसेर उनले प्रधानमन्त्रीका तस्बिर छापिएका पत्रिकालाई कलाको मूल्यमा बेच्न बसे । व्यंग्यात्मक र कलात्मक रूपमा उनले १० रूपैयाँको पत्रिकाको मूल्य सय रूपैयाँभन्दा बढी राखेका थिए । तैपनि सबै बिक्री भए । आम मान्छेको राजनीतिमाथिको आक्रोश, कलाकारको व्यंग्यात्मक (पेरोडी) अवयव त्यो पत्रिकामा अवतरण हुँदा कला–मूल्य ह्वात्तै बढेको हो । समसामयिक राष्ट्रिय राजनीतिको सवालमा आधारित भएर बनेको यो उनको अर्को पावरफुल पर्फर्मेन्स कला थियो । 

सामान्य वस्तुलाई कलाको रूपमा प्रस्तुत गर्दा त्यसको भ्यालुलाई बढाउने प्रचलन अहिलेको अत्याधुनिक कलाको मूल विशेषता हो । यस्तो कला प्रवृत्तिलाई पश्चिमाले ‘रेडिमेड एप्रोच’ भन्ने गर्छन् । यो सन् १९१६ ताका देखिएको सशक्त कला प्रवृत्ति थियो । 

अर्को काममा उनले माओवादी विद्रोहको सवाल उठाएका थिए । आफ्नै रगतले चित्र बनाएर उनले माओवादीले उठाएका सवाल अनि त्यसबखत आम समुदायमा परेको नकारात्मक वा सकारात्मक प्रभावलाई समेटेका थिए । उनी आफैँ ल्याबविज्ञ भएकाले चित्रका लागि सिरिन्जमा रगत निकाल्न, संकलन गर्न त्यस्तो गाह्रो भएन । माओवादी आन्दोलन चरमोत्कर्षमा पुगेका बेला बनाइएका चित्रलाई उनले गणतन्त्र स्थापना भएपछि माओवादीकै शीर्षस्थ नेतालाई अवलोकन मात्र गराएनन्, यसबारे बेलीविस्तार समेत गरे । 

उनको अर्को काम विभिन्न राजनीतिक, सामाजिक सवालमा आधारित थियो । विभिन्न माग लिएर सडकमा ठूलो हुल भागदौड गरिरहेको दृश्यलाई उनले छापाचित्रमा कैद गरी तत्क्षणै भित्तामा टाँसेर आन्दोलनप्रति ऐक्यबद्धता प्रस्तुत गर्दै कला बनाएका थिए । हातको साइँली औँला (जसलाई नितान्त अश्लील, नराम्रो प्रतीकको रूपमा लिइन्छ) उठाएर गरिएको फोटोग्राफ भित्ताभरि टाँसेर पनि उनले अद्भूत काम गरे । 

अर्को काममा उनले अंग्रेजी भाषामा लेखिएको विश्व कला इतिहासको पुस्तकलाई प्रयोगमा ल्याए । मोटो र महँगो पुस्तकको बीचमा धारिलो छुराले घोपेर पढ्न नसकिने बनाएको सन्दर्भले उनको विरक्तता र आक्रोश झल्काउँथ्यो । यो इन्स्टलेसन काममा उनले ‘विश्वका कलाकारको यस्तो इतिहास बन्छ, नेपालको खै ?’ भन्ने भावना र विरक्तता व्यक्त गरेको बुझिन्थ्यो । यस कामलाई छिमेकी मुलुक भारतमा भएको अन्तर्राट्रिय कला प्रदर्शनीमा राखिएको थियो ।

अर्को काममा उनले आफ्नै एकल कला प्रदर्शनीमा हरेक भावकको बूढीऔँलाको छाप (फिंगर प्रिन्ट) लिए । एउटा आफैँसँगै राखे, अर्कोचाहिँ सानो चिटिक्क परेको फ्रेममा सजाएर भावकलाई नै उपहार प्रदान गरे । यसबाट उनले आ–आफ्नो पहिचानसहित विश्वका मानिसलाई एकापसमा जोड्न खोजेका थिए । 

उनले अर्को कोल्याबोरेटिभ काम गरे, जसमा १८–२० जना स्थापित नेपाली समसामयिक कलाकारका कलालाई आफ्नो कलामा मिसाएका थिए । यसलाई उनले बडो तामझाममा साथ सोलो कलाको रूपमा प्रदर्शन समेत गरेका थिए । चाइनाको झन्डाको चित्र बनाएर उनले अर्को काम गरे । जसमा बेचिने वस्तुमाथि लगाइने खोल राखिएको थियो । अन्य वस्तु किन्दा बाहिर बेरिएर राखेको जस्तै यो चित्रमाथि बेरिएको खोल यहाँ वा घरमा लगेर फाल्न सकिन्थ्यो । जतिसुकै कलात्मक ढंगले वस्तुलाई बेरेर राखे पनि घरमा पुगेर यसलाई फाल्ने नै हो । खोलमा मेड इन नेपाल लेखिएको थियो । साह्रै सस्तो मूल्यमा उनले यी कला राखेका थिए, सबैले किनून् भन्ने उद्देश्यले उनले कलालाई सर्वसुलभ वस्तुका रूपमा प्रस्तुत गर्न खोजेका थिए । चीनले विश्वभर द्रूत गतिमा फैलाएको व्यापारमा आधारित भएर उनले यो काम गरेका थिए । 

गत साल मात्रै उनले झन्डै चार फिटको काठको मुढालाई खुला आकाशमुनि राखेर भावकलाई सिक्का ठोक्न लगाएका थिए । पर्फर्मेन्स र इन्स्टलेसनको संयुक्त रूपको यो उनको काममा विदेशीले समेत डलर ठोकेर सहभागी जनाए । देशका उपराष्ट्रपतिले समेत सिक्का ठोकेर उनको कामको अहं हिस्सा बनेका थिए । पौराणिक किंवदन्तीमा आधारित लोकगाथालाई उनले कलामार्फत उठाएका थिए । यसो गरे दुखेको दाँत निको हुन्छ भन्ने लोकोक्ति गाँसिएको सन्दर्भ थियो । 

छातालाई मुख्य पात्र बनाएर उनले अर्को काम गरे, जसको नाम दिइएको थियो– ‘मेमोरी अफ माई कन्ट्री’ । आफ्नी सानी छोरी अनि भविष्यको परिकल्पना आदिलाई पनि उनले यस काममा घुसाएका थिए । छोरी ठूली भएर आफूभन्दा टाढा (सम्भवतः विदेशमा) गएपछि छोरीले सानोमा प्रयोग गर्ने छाता सम्झना हुन सक्छ । आदि अवधारणाका साथ फोटोग्राफी–भिडियो आर्टको रूपमा उनले यो काम गरेका थिए । पर्फर्मेन्स कला जस्तो बन्न पुगेको यो काममा उनले खाल्डाखुल्डी परेको सडकमा वेगले गाडी गुडेको र गाडीको तेजिलो प्रकाश छातामाथि पर्न गएको दृश्यलाई क्यामेरामा कैद गरी त्यसैलाई भिडियो आर्टका रूपमा प्रस्तुत गरेका थिए । पानी पर्दा सडक हिलाम्मे भई गाडीदेखि बटुवालाई यात्रा गर्न असहज हुन्छ, यी र यस्तै कारण आजका केटाकेटी सानैदेखि विदेशको सपना देख्न थाल्छन् । यस्तै यथार्थलाई उनले आफ्नो काममा उतारेका थिए ।   

माटोको मर्म

यसपल्ट आफूले गरेको ‘माटो’ शीर्षकको कामलाई रवीन्द्रले प्रदर्शन सकिएपछि भत्काए । इन्स्टलेसन कामको मूल विशेषता यही हो । प्लाइउडको एक फलेकमाथि बनाइएको यो कामलाई अन्यत्र लैजान सम्भव पनि थिएन । कमलो काँचो माटोले बनेको हुँदा यो स्थायी रूपमा रहिरहन सक्दैनथ्यो । यसपछि यो नितान्त माटोको डल्लो मात्र हुन्थ्यो । यसलाई पुनः अर्को ठाउँमा यही स्वरूपमा बनाउँदा थोरै अलग्ग पनि हुन्छ होला । किनभने ठाउँ अर्कै, वातावरण अर्कै, अवलोकन गर्ने भावक अलग्गै हुँदा यो पहिलेकै स्वरूपमा रहँदैन । तत्काल निश्चित भावकमा पर्नुपर्ने वा पारेको प्रभाव नै इन्स्टलेसन कलाको ध्येय हुन्छ । 

सुगन्ध आउने गरी विभिन्न रङका माटोको प्रयोग गरिएको यो काम आकारमा हँुदाहँुदै पनि अमूर्त रूपमा देखापरेको थियो, हजारौँ साल लगाएर प्रकृतिले आफैँ बनाएको एक अलौकिक रूपजस्तो । प्रकृतिमा स्वस्फूर्त बन्न गएको सौन्दर्यताको सुगन्ध (एसेन्स अफ एस्थेटिक्स) रवीन्द्रको यस कलामा पनि महसुस गर्न सकिन्थ्यो । यो कसरी बन्न गयो, कसरी बनाउन सके होलान् भनेर दर्शक अवाक् बनेका देखिन्थे । माटोको सौन्दर्यता र महत्व उनको यस कलामा आएको छ । अवशेषका रूपमा सबैभन्दा पहिला यही माटोका कला प्राप्त भएका थिए । प्राचीनकालदेखि मानवको दिनचर्यामा भाँडाकँुडा अनि बस्ने घर आदि आउँछन्, त्यसैले माटो मानव सभ्यताका लागि अहं हिस्सा बनेको छ । रवीन्द्रको यो कलाले माटो र मान्छेबीचको गहिरो सम्बन्धको कथा बोकेर उभिएजस्तो देखिन्थ्यो । पचासौँ कला माझ रवीन्द्रको यही एक कला अलग्ग पहिचान र विशेषताका साथ उभिएको आभास हुन्थ्यो । हुन त ‘यस्तो पनि कला हुन्छ’ भन्ने भावक यसलाई हेर्दै नहेरी अगाडि बढेको पनि देखियोे । कतिले अचम्म मान्दै यस कलाको छेउमा उभिएर फोटो खिचे । यस कामको अनेकौँ टेक्चर हेर्दा मिहिनेत र समय निकै लागेको बुझिन्छ । 

अहिले सहरीकरण हुँदा माटो देख्नै गाह्रो छ । यही अहं सवाललाई ठूलो प्रश्नका रूपमा खडा गर्नु नै यस काममा कलाकारको मूल अवधारणा देखिन्थ्यो । अमूर्त भाव बोकेको यस कला केही पनि होइन जस्तो तर नितान्त नौलो प्रयोगमा सम्पूर्णता छाएजस्तो देखिन्थ्यो । 

प्रदर्शित केही कला 

यही प्रदर्शनीमा कलाकार मुकेश श्रेष्ठले एउटा काम प्रस्तुत गरेका थिए । हातमा डरलाग्दो खड्ग बोकेका भीमकाय भीमसेनले चारवटा उन्मुक्त साँढेलाई नियन्त्रण गर्न खोजेको जस्तो देखिने उनको कलाले समसामयिक राजनीतिक मुद्दालाई दर्शाउँछ । उनको कलामा उन्मुक्त हुन खोज्दै गरेका चार साँढेले चारवटा मूल राजनीतिक पार्टीको प्रतिनिधित्व गरेका छन् । नियन्त्रणमा नभएका भए यी साँढे जता जे गर्न पनि तँछाडमछाडको रूपमा देखिन्थे होला । नियन्त्रणपछि भने लुते र लुरे बनेका देखिन्छन् । अहिलेको अवस्थादेखि यसको परिणतिसम्म प्रक्षेपण हुन जाँदा यो चित्र पृथक् देखिएको हो । यसकारण यो उनको कलाले गहन शिल्प–दक्षता मात्र होइन, नितान्त नवीनपना अनि वर्तमान र भविष्यलाई समेत उजागर गरेको छ । यही नै यो कलाको मूल विशेषता हो । 

यस कलाका सम्बन्धमा कलाकार स्वयंको भनाइ छ– अब यी साँढेलाई नियन्त्रणमा लिन सकिएन भने राष्ट्र कता कुन खाल्डोमा जाकिने हो, थाहा छैन । परम्परागत गाथामा भीमसेनलाई एउटा आध्यात्मिक शक्तिशाली पात्रका रूपमा कल्पना गरिएको छ । भीमसेनको आज पूजाआजा गरिन्छ । हजार हात्ती बराबर बल भएका भीमसेनले ठुल्ठूला अत्यन्त बलवान मै हुँ भन्नेलाई पनि धराशयी गरेको किंवदन्ती पाइन्छ । यसैले यस पात्रलाई कलाकारले छानेको हुन सक्छ । एउटा यस्तो महापुरुषको अवतरणको पर्खाइमा जनता बसिरहेको तथ्यसत्य सन्दर्भलाई कलाकारले आफ्नो कलामार्फत प्रस्तुत गर्न खोजेका छन् । यही गहकिलो अवधारणाका साथ र एक अलग्गै कला शैलीमा काम गरिरहेका मुकेश राजनीतिको ‘एस्थिटिकल्ली जजमेन्ट’को सन्दर्भमा अति अब्बल देखिएका छन् । सपाट पृष्ठभूमिमा शक्तिशाली रेखाले गतिपूर्ण रूपमा बटारिएर पेरोडी (व्यंग्य) भाव र अर्थमा उनको कला प्रस्तुत भएको छ, जो उनको एक अलग्ग विशेषता हो । यो एकलौटी कलागत सिग्नेचरले उनलाई अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित गराएको छ । 

कलाकार सुभाष तामाङले अनुहार छोपिएको व्यक्तिचित्र बनाएका छन् । उनी गतका वर्षदेखि आफ्ना काम (कला)मार्फत तामाङ जातिको अहं सवाललाई उठाउँदै आएका छन् । नितान्त अत्याधुनिक प्रवृत्तिमा बनेका यस्ता चित्र उनले गतका वर्षदेखि तीव्रगतिमा आम जनतामाझ ल्याउने काम गर्दैछन् । 

यस्तै, मुना भडेलले वेशाभूषा अनि लोककलाको अंशलाई समेत अंगालेर ‘सुपर रियालिजम्’ शैलीमा काम गरेकी छन् । सुन्दर लामाको मान्छे र घोडाको समीश्रणको व्यंग्यात्मक चित्र अझ उत्कृष्ट छ । मेख लिम्बुको फोटोग्राफीको अलौकिक संयोजन अझ घतलाग्दो छ । यी चारैजना युवा कलाकार उत्तर आधुनिक प्रवृत्तिमा उदाएका सशक्त युवा कलाकार पनि हुन् । 

यही कला प्रदर्शनीमा कौशल हमालको ‘एक्स्ट्रा पर्सनल ल्यान्डस्केप’ नामक चित्र पनि राखिएको थियो । अचम्मको मोटिफ अनि संयोजनको ढाँचामा संगठित हुँदा एक अलग्ग पाराको कामको रूपमा यो कला देखिन्छ । जहाँ मान्छेका आन्द्राभुँडी सबल पात्रका रूपमा उदाएका छन् । यसबाट एउटा अजीव किसिमको भाव र सन्देशका अवयवलाई भावकले आत्मसात गर्न सक्छन् । जहाँ आँखा, नाक, मुख मेरुदण्ड आदि सपाट पृष्ठभूमिमा सगोल रूपमा देखापर्छन् । उनको यो कला अनेकौँ समसामयिक घटनामाथि अनेकौँ प्रश्न लिएर उभिएको जस्तो देखिन्छ । भुँडीभित्रको कलेजो, मुटु, रिडको हड्डी छरिएर समायोजन हुँदा यो आफैँमा अनौठो देखिन्छ । ६ वटा स–साना चित्र एकै ठाउँमा समग्रमा प्रस्तुत भएको छ, यसले एक अलग्ग अर्थ बोकेको भान हुन्छ । 

यही प्रदर्शनीमा मीना कायस्थको ‘जंक आर्ट’ प्रदर्शित थियो । कैयौँ वर्षदेखि जंक आर्टमा रमाउने सम्भवतः उनी मात्र एक महिला कलाकार हुन् । समसामयिक मूर्तिकलामा यथेष्ट स्थान बनाइसकेका भुवन थापा ‘बहुबी’को काम गएका सालदेखि एक अलग्ग पारामा देखिन थालेका छन् । वस्तुहरू (कलाको रूपमा)लाई झुन्डाएर एक अलग्ग स्वरूपमा देखाउनु उनको निजी शैली बनेको छ । त्यसैको निरन्तरता हो, उनको यसपल्टको काम । गोलाकारमा झुन्डिएका थुप्रै अवयवको संयोजनको मूर्ति भावकका लागि अर्को आकर्षकको केन्द्र हो । 

यसै प्रदर्शनीमा कृष्ण मानन्धर, किरण मानन्धरदेखि मनीषलाल श्रेष्ठ, चिराग वाङ्देल, एरिना ताम्राकार, प्रमिला बज्राचार्य, राजन काफ्ले, भाइराजा महर्जन, विनोद श्रेष्ठ, प्रदीप बज्राचार्य, आशा डंगोल, सागर मानन्धर, ज्यासमिन राजभण्डारी, सविता डंगोल, संगी श्रेष्ठ, विधाता केसी, कृष्ण लामा आदिका काम राखिएका थिए । नेपालमै बसी धिमा गतिमा भए पनि लयात्मक, कवितात्मक शैली (पोइटिक एब्स्ट्रयाक्सन)मा काम गर्ने सम्भवतः सबैभन्दा पाको महिला कलाकार शशिकला तिवारीको अमूर्त स्वभावको ‘इन्च्यान्टेड क्लाउड’को चित्र यस प्रदर्शनीमा राखिएको थियो ।  

यसै कला प्रदर्शनीमा रोशन प्रधानको अति आकर्षक र शक्तिशाली ‘द मास्क’ नामक काम पनि राखिएको थियो । गतका केही वर्षदेखि उनी मास्क सिरिजमा काम गरिरहेका छन् । यथार्थताको पराकाष्ठा सुपर सियालिजम् शैलीमा काम गर्न सक्ने यी कलाकारको यसपल्टको प्रस्तुतिमा दुई मानवको अस्वाभाविक आसनको परिकल्पनाका साथ कलाको संयोजन भएको देखिन्छ । दुईमध्ये एकले मात्र मास्क लगाएको देखिन्छ । अति सज्जन देखिने अनुहार वास्तविक रूपमा पाखण्डी हुँदा रहेछन् भन्ने अनुभव बटुलेपछि हरेकजसो मान्छे मुकुण्डो लाउने गर्दोरहेछ भन्ने ‘थट प्रोसेस’मा उनी पुगेका हुन् । केही मुकुण्डोलाई मूल मोटिफका रूपमा प्रयोग गर्दै उनले विचारलाई सम्पे्रषण गर्ने चाह राखेको देखिन्छ । हाम्रो संस्कृतिमा देवीदेवताको मुकुण्डो लगाई नाच्ने परम्परा त्यसै पनि छँदैछ । मुकुन्डो पात्र उनलाई मनपर्ने एउटा कारण छ, त्यो हो– उनी बाल्यकालदेखि भोजपुरमा लाखे नाचसँग नजिक रहे । काठमाडौंमा उनका मामाहरू छन्, त्यसैले मामाघर आउँदा उनले सानैदेखि सधैँजसो मामाघरअगाडि बेच्न राखिएका मुकुण्डोहरू झुन्डिरहेको देखेका थिए । यसर्थ उनी भैरव आदि देवीदेवतालाई संयोजन गरी चित्र बनाउने गर्छन् । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप