मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाङमा किशोरकिशोरी हत्या प्रकरण : शंकाको सुई साथी र परिवारतिरै

बढीमा एक सातामा अपराधीलाई सार्वजनिक गर्ने दाङ प्रहरीको दावी
आइतबार, १३ कात्तिक २०७९, १३ : ४९
आइतबार, १३ कात्तिक २०७९

असोज ३० गते आइतबार हत्यापछि गाडेको अवस्थामा दाङका दुई किशोरकिशोरी भेटिए । गत असोज २७ गते साँझदेखि हराइरहेका १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतारा क्षेत्रीको शव दाङको दमारगाउँमा रहेको जङ्गलमा गाडेको अवस्थामा भेटिएको थियो । तर, घटनाको दुई साता बितिसक्दा प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन भने घटना रहस्यमय बनेको छ । 

दुई किशोरकिशोरीको शवको पोष्टमार्टम रिपोर्ट र घटनास्थलको प्रकृति हेर्दा उनीहरुको हत्या गरी गाडेको पुष्टि भएको दाङ प्रहरीले जनाएको छ । यद्यपि घटनामा क–कसको कस्तो संलग्नता थियो भनेर प्रहरीले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । किशोरकिशोरीका घरबाट हराएको तेस्रो दिनमा मृतक किशोरका हजुरबुबाले खोज्दै जाँदा जङ्गलमा नयाँ खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही खाल्डो खनेर हेर्दा किशोरकिशोरीको शव पाइएको थियो । 

शरद र रोशनी प्रेम सम्बन्ध ?
दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँका १४ वर्षीय शरद आचार्य तुलसीपुर उपमहानगरपालिका १३ स्थित दमारगाउँमा रहेको मामाघरमा बस्ने गर्दथे । बुवा र आमाको छोडपत्र भएपछि शरद आमासँगै मामाघरमा बसेर अम्बापुर माविमा कक्षा ८ मा पढ्थे । तर असोज २७ गते साँझदेखि उनी घर फर्किएनन् । 

दमारगाउँकै १५ वर्षीय रोशनी महतारा पनि असोज २७ गते साँझबाट नै घरबाट हराइन् । अम्बापुर माविमै अध्ययनरत रोशनी पनि शरदसँगै हराएपछि सुरुमा परिवारले उनीहरु विवाह गरेर कतै भागेर गए भन्ने अनुमान लगाए । उनीहरु दुवैजना प्रेम सम्बन्धमा रहेको सामान्य जानकारी दुवै परिवारलाई थियो । त्यही कारण उनीहरु विवाह गरेर कतै गए भन्ने अड्कल काटियो । यद्यपि शरदकी हजुरआमाले असोज २८ गते शरदकी हजुरआमाले स्थानीय कौवापुर प्रहरी चौकीमा नाति हराएको भन्दै निवेदनसमेत दिएकी थिइन् । 

विवाह गरेर कतै गएपनि परिवारलाई खबर त गर्छन् होला भन्ने अनुमान शरदका हजुरबुबालाई थियो । दुई दिनसम्म पनि खबर नआएपछि शरदका हजुरबुबाले आसपासका जङ्गलमा शरदको खोजी सुरु गरे । त्यही क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको जनकल्याण सामुदायिक वनको जंगलमा नयाँ पाइला र भर्खरै खनेको खाल्डो शरदका हजुरबुबाले देखे । त्यसपछि प्रहरीलाई खबर गरियो र खाल्डो खनेर हेर्दा शरद र रोशनीको शव एकै स्थानमा गाडेको अवस्थामा भेटियो । धारिलो हतियारले शरीरका विभिन्न स्थानमा काटिएको र अनुहार लगायतका स्थानमा ढुङ्गाले हानेर किचेको जस्तो घाउचोट देखिएको अवस्थामा उनीहरुको शव खाडलबाट निकालिएको थियो । मृतक शरद आचार्यको अण्डकोषमा समेत गम्भीर प्रकृतिको घाउ देखिएको थियो । उनको अण्डकोषमा पनि पटकपटक प्रहार गरिएको हनुमान प्रहरीले गरेको छ ।  

जुन स्थानमा शरद र रोशनीको शव गाडिएको अवस्थामा भेटिएको थियो, उक्त स्थान रोशनीको घरबाट करिब १ सय मिटरको दुरीमा थियो । र, जुन स्थानमा शव गाडिएको अवस्थामा थियो, त्यस स्थानबाट अर्को करिब १ सय मिटरको दूरीमा किशोरकिशोरीमाथि आक्रमण गरिएको संकेत र प्रमाण पाइएको दाङ प्रहरीका प्रमुख एसपी वीर बहादुर वलीले रातोपाटीलाई बताए ।

पुष्टि हुने प्रमाणको खोजीमा प्रहरी
प्रहरीले ह्यूमन इण्टिलिजेन्स र टेक्निकल एनालाईसिस दुवैको प्रयोग गरेर अनुसन्धान गरिरहेको प्रहरीले दावी गरेको छ । दुई किशोरकिशोरीको हत्यापछि शव गाडिएको र उक्त कार्यमा दुईभन्दा बढी मानिसहरुको संलग्नता रहेको प्रहरीको दावी छ । तर ‘दुईभन्दा बढी’ ती व्यक्तिहरु को को थिए भनेर प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । 

प्रहरीले घटनाको २४ घण्टाभित्रै घटनामा संलग्न रहेको भन्दै सल्यानको कपुरकोट गाउँपालिका ६ घर भएका २१ वर्षीय सुशील पुन मगर र मकवानपुरको हेटौंडा नगरपालिका ८ घर भएका ट्रिपर चालक २४ वर्षीय सुवास थिङलाई पक्राउ गरेको थियो । त्यसपछि गाउँकै स्थानीय अन्य तीनजना युवाहरुलाई पनि नियन्त्रणमा लिइएको थियो । तर घटनामा संलग्नताको ठोस प्रमाण नपाएपछि उनीहरुलाई निगरानीमा राख्दै हाजिरी जमानीमा छाडिएको छ । घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीको दावी छ ।

हत्यामा साथी कि परिवारकै संलग्नता ?
घटनाको प्रकृति हेर्दा हत्यामा परिवारकै सदस्य वा किशोर र किशोरीका नजिकका साथीभाइको संलग्नता बाहेक अन्य संलग्नताको आधार नदेखिएको प्रहरीले जनाएको छ । दाङका एसपी वलीका अनुसार किशोर किशोरीको अन्य व्यक्तिसँग आर्थिक कारोबार, व्यापार व्यवसाय आदि केही नभएको कारण उनीहरुको हत्यामा आर्थिक वा अन्य कुनै कारण देखिएको छैन । प्रेम सम्बन्धमा परिवारको स्वीकारोक्ति वा किशोर वा किशोरीलाई मन पराउने व्यक्ति वा दोहोरो सम्बन्धमा रहेको कारण पनि हत्या भएको हुनसक्ने प्रहरीको विश्लेषण छ । हत्या आवेग केन्द्रीत भन्दा पनि योजनावद्ध रहेको र हत्यामा दुईभन्दा बढी व्यक्तिहरुको संलग्नता रहेको कारण दोहोरो प्रेम सम्बन्ध वा किशोरीलाई मन पराउने व्यक्तिले योजनावद्ध हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । 

तीन दर्जनसँग सोधपुछ
किशोरकिशोरीको हत्यामा संलग्नता वा अन्य कुनै सुराक पाउन सकिन्छ कि भनेर दाङ प्रहरीले अहिलेसम्म तीन दर्जनभन्दा बढीसँग सोधपुछ गरिसकेको छ । किशोर–किशोरीको नजिकका साथीभाइ, संगत र सम्बन्धको विषयमा सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय प्रहरीले घटनामा परिवारका सदस्यको भन्दा पनि साथीभाइकै संलग्नता रहेको हुनसक्ने भन्दै अनुसन्धानलाई त्यही कोणबाट अनुसन्धान गरिरहेको छ । पहिले पक्राउ परेकाहरुले केही सुराक दिएको कारण घटनामा संलग्नहरुको खोजी भइरहेको र घटनाको कारणमा मात्रै केन्द्रीत रहेको प्रहरीले जनाएको छ । 

एसपी वलीका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगिसकेको छ र घटनाको तथ्यसँगै कारण खोजी प्रमाणले पुष्टि गराउन प्रमाणको संकलनको मात्रै काम भइरहेको छ । वलीले भने, ‘हामी अनुसन्धानको अन्तिम चरणमा पुगिसकेका छौँ । कुनै हत्याराले मैले हत्या गरेको हो भनेपनि त्यसको कारण र त्यो कारणसँग सम्बन्धित आधार र प्रमाण पुराउनै पर्ने हुन्छ । हामी यतिबेला प्रमाण संकलनकै क्रममा छौँ, बढीमा अबको एक सातामा हत्यारा सार्वजनिक गर्नेछौँ ।’

स्रोत भन्छ, ‘शरदको मात्रै हत्या गर्ने योजना देखिन्छ’
घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीका अनुसार सुरुमा शरदको मात्रै हत्या गर्ने योजना बनेको दावी गरेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सुरुमा हत्याराले शरदको मात्रै हत्या गर्ने योजना बनाएका थिए । रोशनीलाई भेट्न शरद रोशनीको घर नजिकै आएको समयमा योजनाबद्धरुपमा शरदलाई नियन्त्रणमा लिई सुरुमा आक्रमण गरिएको र त्यसपछि शरदको हत्या गरेको प्रहरीको दावी छ । आक्रमणसमेत शव गाडिएको स्थानबाट एक सय मिटरको दुरीमा गरिएको पाइएकाले शरद र रोशनी जङ्गलमै बसिरहेको समयमा आक्रमण भएको हो कि नियन्त्रणमा लिई जङ्गलमा लगेर हत्या गरिएको हो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि शरद र रोशनी जङ्गलमै भेटघाट गरिरहेको समयमा हत्यारा समूहले आक्रमण गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 

सीआईबीको टोलीसमेत घटनास्थलमा
घटनामा संलग्नहरुको खोजीमा जुटेको दाङ प्रहरीलाई सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)बाट डीएसपीको नेतृत्वमा दुई प्रहरी अधिकृत दाङमा पुगेका छन् । करिब एक सातादेखि उनीहरु दाङमै रहेको सिआइबीले जनाएको छ । सिआइबीको टोलीले प्रविधिको प्रयोग गरी घटनामा संलग्नहरुको खोजी गरिरहेको छ । प्रहरीले संकित व्यक्तिहरूमाथि प्रविधिक अनुसन्धान गरिरहेको संलग्नताको आधार र प्रमाणको खोजी गरिरहेको छ ।
परिवारले पोस्टमार्टमपछि शव बुझेर अन्तिम संस्कार गरिसकेका छन् । सुरुमा भने परिवारले शव बुझ्न अस्वीकार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप