शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युवाले अब नसोचे कहिले सोच्ने ?

मङ्गलबार, १५ कात्तिक २०७९, १० : ०९
मङ्गलबार, १५ कात्तिक २०७९

राजनीतिमा चासो राख्ने एकथरी युवा छन् भने कत्ति पनि चासो नराख्ने युवाको जमात पनि धेरै छ । एकथरी युवा बुझेर राजनीतिमा लागेका छन् भने अर्कोथरी लहलहैमा । युवाहरू गाउँदेखि सहरसम्म राजनीतिमा आवद्ध भएकाको उद्देश्य मुलुकलाई विकसित देशको तुलनामा पु¥याउने बाटोतिर लैजाने भन्दै तल्लीन छन् । उनीहरू राजनीतिक रुपमा चेतनशील छन् । तर्क–वितर्क गर्न सक्षम छन् । कडा भाषण गर्छन् ।

केही युवा आफ्नो विचारभन्दा बाहिर जुनसुकै दलको आज्ञा पालना गर्ने तप्काका पनि छन् । हचुवाको भरमा पार्टीका नेतालाई सर्वश्रेष्ठ मानेर बाटोमा आन्दोलन गर्न, गाडी जलाउन, क्याम्पस गेटमा आगो बाल्नतर्फ उद्दत देखिन्छन् । आफ्नो नेताको आज्ञाकारी चेलो मात्र हुने तर, कुरिती र विसंगतिविरुद्ध केही नबोल्ने । यसले उनीहरूलाई व्यक्तिगत लाभ त होला तर देशलाई कुनै फाइदा हुँदैन ।

त्यस्तै अर्को युवाको पनि ठूलो जमात छ, जसलाई सामान्यतया देशको वर्तमान राजनीतिक परिवेश, कार्यकारी प्रमुख, राजनीति कसरी चलिरहेको छ ? उनीहरूले केही चासो पनि राख्दैनन् । युवाले झन् बढी थाहा पाएर जिम्मेवारीपूर्ण रुपमा अघि बढ्नुपर्ने अवस्था छ । जो बुझेर राजनीतिमा लागेका छन्, उनीहरूले आफ्नो दलका नेतालाई युवाहरूको वर्तमान स्थितिको बारेमा अवगत गराउन सक्नु पनि राजनीति हो ।

अवको युवा भनेको राजनीतिक दललाई दबाव दिन सक्ने खालको हुनुपर्छ । विचार र सिद्धान्तलाई भन्दा पनि काम गर्ने हुटहुटी भएको सक्षम नेतालाई चुन्न सक्नुपर्छ । आजको युवाको कर्तव्य यो हुनुपर्छ ।

पटक पटक देशको नेतृत्व गरेका, सत्ताको स्वाद चाखिसकेका नेताको पछाडि त हामी युवा धेरै पटक लागिसक्यौँ । ठूला नेताको आससभामा लाखौँको सङ्ख्यामा उपस्थित हुन सक्ने युवाले अव सक्षम उम्मेदवारलाई छान्न पनि सक्नुपर्छ । कुनै कुराको लोभ प्रलोभनमा नपरी देशलाई माया गर्ने, युवाहरूलाई विदेश प्रेरितभन्दा पनि स्वदेशमा नै रोजगारीमा अवस्था सिर्जना गर्न सक्ने उम्मेदवारलाई सहयोग गर्नु युवाको दायित्व हुनपर्छ ।

युवाहरूलाई स्वदेशमा नै रोजगारी दिने भिजनसहित जनतामाझ जानुका सट्टा नेताहरू फ्रि भिसा फ्रि टिकटको लोभ देखाउँदै भोट माग्न थालिसकेका छन् । यो गलत हो । युवाहरू कुनै लोभ प्रलोभनमा नपरी योजनामुखी नेता छान्न सक्नुपर्छ ।

स्वास्थ्य, शिक्षा, रोजगारी, भूमिहीनलाई सुरक्षित बासस्थान, सबैलाई सुपथ मूल्यमा खाद्यान्नको सेवा दिनेबारे स्पष्ट लक्ष्य भएको र जनताको बारेमा सोच्ने आफ्नो प्रतिनिधिलाई रोज्न सक्नुपर्छ ।

मसँगै तमाम् युवाले देशलाई समुन्नतिको बाटोमा गएको, स्वदेशमा रोजगारीको व्यवस्था भएको, देशले विकास निर्माणमा काँचुली फेरेको हेर्न चाहने युवाको जमात धेरै छ । अब सही बेला आएको छ, देश विकास गर्ने स्पष्ट भिजन भएको प्रतिनिधि छान्ने ।

आजसम्म पार्टीको नाममा भोट माग्न युवा धेरै लागे । अव युवा साँच्चिकै सचेत हुने बेला आएको छ । एक सक्षम प्रतिनिधि छान्ने यो सुवर्ण असर पनि हो ।

अहिलेसम्म पनि हजुरबा, बुवापुस्ता नै निर्वाचनमा हावी हुँदै आएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि पुरानै अनुहार हावी भएका छन् । गएको स्थानीय तहको निर्वाचनमा जसरी बालेन शाह र हर्क साम्पाङको उदय भयो । यसबाट स्पष्ट हुन्छ कि जनता पुरानो राजनीतिबाट वाक्क–दिक्क भइसकेका छन् । ठूला दलहरूप्रति वितृष्णा बढेसँगै नयाँ पार्टी र स्वतन्त्रका रुपमा उदाउँदै गएका युवा उम्मेदवारप्रति क्रेज बढ्दो छ । स्वतन्त्र र नयाँ पार्टी भन्ने वित्तिकै राम्रो र पुरानो दल विभिन्न कालखण्डमा देशका लागि योगदान पु¥याउने दल नराम्रो भन्ने होइन । यसमा युवापंक्ति विशेष ख्याल गर्नुपर्ने अवस्था छ ।

काँग्रेस, माओवादी, एमालेलगायतका अन्य दलहरूले देशमा व्यवस्था परिवर्तन गराए । लोकतन्त्रका लागि लडे । तर लोकतन्त्रका लागि लडेका नेताहरूले देशको विकास, युवालाई रोजगारीको व्यवस्था गर्न नसक्नु नेताहरूप्रति वितृष्णा बढ्नुको कारण हो ।

ठूला राजनीतिक दलमा पनि स्पष्ट भिजन भएका र देशका लागि केही गर्ने हुटहुटी भएका नेता छन् । त्यसका लागि मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा आफ्नो मत दिँदा बुद्धि र विवेकको प्रयोग राम्रोसँग गर्नुपर्ने हुन्छ ।

नेपालमा सम्भावना नै नभएको होइन, प्रशस्तै सम्भावना छ । नेपालको माटोमा ठाउँअनुसारको उत्पादन गर्ने हो भने सम्पूर्ण नागरिकलाई रोजगार दिन सकिन्छ, पर्यटनको हिसाबमा पनि धेरै गर्न सकिन्छ । तर, किन भइरहेको छैन त ? यसमा चुनावी मुखमा युवाले विशेष समीक्षा गर्नु जरुरी छ । 

हिमाल, नदीनाला, पहाड, हरियाली जङ्गल हेर्न करोडौँ पर्यटक भित्र्याउन सक्ने हाम्रो देशको सौन्दर्य छ । जलस्रोतको त कुरै नगरौँ, उत्पादन गर्ने हो भने सारा नेपालीलाई बसी बसी खान पुग्छ । यतिका सम्भावना भएर नि आज हामी नेपाली काम गर्न विदेशी भूमिमा जानुपर्ने बाध्यतामा छौँ । युवा जनशक्ति विदेशी भूमिमा पसिना बगाइरहेका छन्, त्यसले विदेशी भूमि मलिलो भइरहेको त छ, यता हाम्रो जमिन बाँझिदै गएको अवस्था छ । यसको मुख्य जड भनेकै हामीले आफ्नो योग्य उम्मेवार छनोट गर्न नसक्नुको परिमाण पनि हो ।

जुनसुकै पार्टीप्रति आस्था भएपनि आजको युवाको मुख्य कर्तव्य भनेको सक्षम उम्मेदवार छनोट गर्नु हो । तँ यो पार्टी म यो पार्टी भन्दा पनि कुन उम्मेदवारको एजेण्डा कस्तो छ ? त्यो बुझेर आफ्नो मताधिकारको प्रयोग गर्न सक्नु सचेत नागरिकको कर्तव्य हो । यसमा युवाको चासो, चिन्तन् र अभियान अझ बढी जरुरी छ । किनकि आज युवा सक्षम र सभ्य हुन सकेनन् भने भोलि देशको भविष्य पक्कै राम्रो हुन्न । त्यसैले हामीले यहीबेला विशेष विचार गरेर सक्षम नेतृत्व चयन गर्ने र देश विकासको लागि भूमिका खेल्नु जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप