बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भुसालले सार्वजनिक गरिन् तीन बुँदे प्रतिबद्धता पत्र

बुधबार, १६ कात्तिक २०७९, १४ : १०
बुधबार, १६ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसालले तीन बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छिन् । ललितपुरमा आयोजित एक कार्यक्रमका विच भुसालले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरी अबको भिजन गुणस्तरीय जीवन भएको भन्दै प्रतिबद्धता पत्र ल्याएकी हुन् । 

वाम लोकतान्त्रिक गठबन्धनकी ललितपुर–३ की साझा उम्मेदवार भुसालले गुणस्तरीय जीवनका लागि पर्यटनमा आधारित अर्थतन्त्र,पर्यावरण मन्त्री पूर्वाधार र समतामूलक समाज निर्माणमा लग्ने योजना अघि सारेकी छिन् । पर्यटनमा आधारित अर्थतन्त्र निर्माण गर्न ललितपुरको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै आकर्षक पर्यटकीय उत्पादनका लागि स्थानीयसँग परामर्श गरी स्पष्ट नीति निर्माण गर्ने बताएकी छिन् ।

यस्तै पर्यावरण मन्त्री पूर्वाधार निर्माण गर्न निर्माणाधीन बाग्मती,नख्खु, कर्मनासा लगायत करिडोर सम्पन्न गर्ने योजना अघि सारिएको छ । यस्तै ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर निर्माण गर्ने, स्थानीय जनसहभागितामा सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गर्ने योजना भुसालले ल्याएकी छिन् । कृषि पर्यटनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन   बजारीकरणको व्यवस्था गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

यस्तो छ भुसालको प्रतिबद्धता पत्रको पूर्ण पाठ 

‘अबको भिजन, गुणस्तरीय जीवन’

राजनीतिक परिवर्तनसँगै विश्वमा भएका प्रतिस्पर्धात्मक प्रगति अब हाम्रा सामु ठुलै चुनौती बन्न पुगेका छन् । हरेक नेपालीको आत्मसम्मान, स्वाभिमान र समृद्धिप्रति हामी शब्द र कर्ममै प्रतिबद्ध छौँ, रहने छौँ । हामी एक अर्कालाई सम्मान गर्छौँ र सहकार्यका लागि सधैँ तयार हुन्छौँ । हाम्रो यही प्रतिबद्धताका आधारमा सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ भने नागरिकको मौलिक अधिकार पनि सुनिश्चित हुने क्रममा छ । हामी दिने र लिने संस्कारबाट माथि उठेर समानतासहितको स्वतन्त्र समाज निर्माणको बाटोमा अगाडि बढेका छौँ । यो उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने अबको दायित्वलाई अझ प्रभावकारी तवरले अगाडि बढाउनु पर्नेछ ।

नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्त्वपूर्ण आधार तयार भएका छन् । ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको छ भने स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ । त्यस्तै भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ । यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो । समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने हाम्रो लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी छ । तसर्थ एकातिर हामीले तयार गरेको राजनीतिक आधारको संरक्षणका लागि निरन्तर संयुक्त सङ्घर्ष जारी राख्नुपर्ने छ भने अर्कोतर्फ समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्नेछ । हाम्रा यिनै अभिभारा पूरा गर्नका निम्ति हामी यहाँहरू माझ प्रस्तुत भएका छौँ ।

विगतमा ललितपुरवासीबाट पाएको माया र विश्वास आज मेरो राजनीतिक जीवनको महत्त्वपूर्ण सम्पत्तिका रूपमा अभिलिखित हुन पुगेको छ । आज फेरि म जनताबाट अनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा छु । जति धेरै मत त्यति धेरै आत्मविश्वास र राष्ट्रिय राजनीतिमा जिम्मेवारी प्राप्त हुन्छ । सदा झैँ अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगति उन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रूपमा महत्त्वपूर्ण भूमिका खेल्नेछु ।

हामी ललितपुरवासीका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवर्द्धन समृद्धिको महत्त्वपूर्ण आधार हो । यसलाई नै यहाँका हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोड्नु पर्छ । व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवर्द्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्दछ । त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ । 

यसरी अबको पाँच वर्षमा ललितपुरवासीको गुणस्तरीय जीवन जिउने आधार तयार हुनेछ । जुन समाजवादको प्रस्थान विन्दु पनि हो । त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरूपका नीति तथा कार्यक्रम तर्जुमा गर्न हामी प्रतिबद्ध छौँ । 

गुणस्तरीय जीवनका लागि तीन आधारभूत पिल्लरहरू 

क) अर्थतन्त्र

ख) पर्यावरण/वातावरण

ग) समाज

(क) पर्यटनमा आधारित अर्थतन्त्र

गुणस्तरीय जीवनका लागि एक महत्त्वपूर्ण खम्बा भनेको अर्थतन्त्र हो । यहाँको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।

– ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार गरिने ।

– रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गरिने ।

– हस्तकला (मूर्ति, काष्ठ, चित्र) केन्द्रहरूको स्तरोन्नति गरिने ।

– पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गरिने ।

– स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनर्निर्माण, संरक्षण र उपयोग गरिने ।

– पर्यटन उद्यमलाई प्रोत्साहन गरिने ।

(ख) पर्यावरणमैत्री पूर्वाधार

ललितपुरवासीले सुन्दर पर्यावरणमा रमाउन पाउनुपर्छ । स्वच्छ वातावरणमा रहेर सामाजिक–आर्थिक गतिविधि गर्न पाउनुपर्छ । त्यसका लागि पर्यावरणमैत्री पूर्वाधार विकास गर्ने र ललितपुरवासीले गर्व गर्न लायक सहर निर्माण गर्न म विगतमा झैँ प्रतिबद्ध छु ।

– निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने । 

– विकास निर्माणका निकायहरुबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने ।

– गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गरिने ।

– अध्ययन सम्पन्न भएका स्थान (ग्वार्को, सातदोबाटो र एकान्तकुना) मा Flyover  निर्माण गरिने ।

– स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग÷स्थानीय स्रोतको सामुदायिकीकरण गरिने ।

– स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनको प्रवर्द्धन गरिने ।

– जनसहभागितामूलक सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने ।

– कृषि पर्यटनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिने ।

(ग) समतामूलक समाज

स्वतन्त्रतासहितको समतामूलक समाज निर्माणका लागि युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै समुदायका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिनेछ ।

– हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन । 

– महिला हिंसाको उन्मूलन, हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका ।

– महिलाको वित्तीय अधिकार÷आर्थिक आत्मनिर्भरताका कार्यक्रम ।

– स्थानीय युवाका लागि रोजगारमूलक तालिम, Fellowship,  Internship र व्यवसायको अवसर ।

– बहुराष्ट्रिय कम्पनीसँग युवा उद्यमीलाई जोडिने ।

– ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने ।

– क्लब र समूहलाई सबल तुल्याई परिचालन । 

– शैक्षिक तथा उद्यम ऋणको कार्यान्वयनमा सहजीकरण । 

– ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि स्वास्थ्यमा विशेष पहुँचको सुनिश्चितता । 

– ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचनाको निर्माण तथा प्रवर्द्धन ।

जय देश, जय जनता !

पम्फा भुसाल

प्रतिनिधिसभा उम्मेदवार

ललितपुर–३, २०७९

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप