शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुपाल्चोक–२ : ह्याट्रिकको दाउमा रहेका तामाङलाई बस्नेतले रोक्लान् ?

बुधबार, १६ कात्तिक २०७९, १५ : १५
बुधबार, १६ कात्तिक २०७९

प्रतिनिधिसभा अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ मा मुख्य रुपमा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ । सो क्षेत्रमा कांग्रेसबाट मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङबीच हुने प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । सो क्षेत्रमा आफ्नो बलियो उपस्थिति बनाएको एमालेका तामाङ ह्याट्रिक गर्ने दाउमा छन् भने क्षेत्र फेरेर पहिलो पटक सिन्धुपाल्चोक–२ मा चुनाव लड्दै गरेका कांग्रेसका बस्नेत भने तामाङको ह्याट्रिक रोक्ने दाउमा छन् ।

सो क्षेत्रमा एमालेको तर्फबाट तामाङ एक्लै चुनावी मैदानमा छन् भने बस्नेतलाई सत्ता गठबन्धनका दलहरुको समर्थन छ । बस्नेत माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहितको लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

सिन्धुपाल्चोक–१ बाट चुनाव लड्दै आएका बस्नेत यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवारका लागि दाबी गर्दै आएका थिए । तर, सोही क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले आफ्नो दाबी कसे ।

सिट बाँडफाँटमा सिन्धुपाल्चोक–१ माओवादी केन्द्रको भागमा परेपछि बस्नेत कांग्रेसको कोटामा परेको सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बनेका हुन् । पूर्वसभामुख सापकोटाले युवालाई अवसर दिने भन्दै चुनाव नलड्ने घोषणा गरेपछि माओवादी केन्द्रले सापकोटाका भतिज माधवप्रसाद सापकोटालाई सिन्धुपाल्चोक–१ मा उम्मेदवार बनाएको छ ।

यता लामो समय माओवादी केन्द्रको राजनीति गरेका र हालैमात्र एमाले प्रवेश गरेका चौतारा साँगाचोकगढीका अमानसिंह तामाङ सिन्धुपाल्चोक–२ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । गठबन्धनकातर्फबाट सो क्षेत्रमा माओवादीका युवराज दुलाल ‘शरद’ साझा उम्मेदवार छन् । दुलाल यसअघि २०७४ मा पनि यसै प्रदेशसभा क्षेत्रबाट निर्वाचित सांसद हुन् भने उनी तत्कालीन एमाले–माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकास मन्त्री भएका थिए । 

यस्तै सिन्धुपाल्चोक–२ (ख) बाट प्रदेशसभाका लागि एमालेले हस्तबहादुर पण्डितलाई उम्मेदवार बनाएको छ । पण्डित २०७४ को निर्वाचनमा हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका निमा ग्याल्जेन शेर्पासँग पराजित भएका थिए । उता सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले कृष्णकुमार तामाङलाई अघि सारेको छ ।

बस्नेतका चुनौती

सिन्धुपाल्चोक–२ बाट अहिलेसम्म कांग्रेसले जितेको छैन । सो क्षेत्रमा २०१५ साल यताका चुनावमा कांग्रेस पराजित भएको छ ।

गत निर्वाचनमा सिन्धुपाल्चोक–२ मा कांग्रेसको उम्मेदवार नै थिएन । कांग्रेसले राप्रपासँगको चुनावी तालमेलका कारण राप्रपाका पशुपति शमशेर राणालाई सघाएको थियो । राणा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए ।

आगामी निर्वाचनमा सो क्षेत्रमा बस्नेतले एमालेका बलियो उम्मेदवार तामाङको ह्याट्रिक रोकेर कांग्रेसको खाता खोल्नु पर्नेछ । तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रबाट एमालेका तामाङले २०७० र २०७४ को निर्वाचन जितिसकेका छन् ।

हालसम्म जित निकाल्न नसकेको कांग्रेसका लागि यस पटक गठबन्धनका सहयात्री दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ । तर, बस्नेतलाई गठबन्धनका दलहरुले इमानदारीपूर्वक सघाउँछन् कि सघाउँदैनन् भन्ने प्रश्न उत्तिकै महत्त्वपूर्ण छ । यस अतिरिक्त कांग्रेसभित्रकै विवादले चुनौती भने पक्कै छ ।

संस्थापन पक्षका नेता बस्नेतलाई संस्थापन इतर पक्षको वर्चस्व रहेको यस क्षेत्रमा सबै पक्षको विश्वास जित्नुपर्ने चुनौती छ । सो क्षेत्रमा माओवादी केन्द्र पनि विभाजित भएको छ । जसले गर्दा आगामी निर्वाचनमा बस्नेतलाई समस्या पर्न सक्ने अनुमान गरिएको छ ।

तामाङलाई विभाजनको असर

यता एमालेका तामाङ भने बलियो संगठनको बलमा बस्नेतविरुद्ध चुनाव जित्ने दाबी गर्दै आएका छन् । तर, उनलाई पनि पहिलेजस्तो सहज भने छैन ।

गत निर्वाचनमा माओवादी केन्द्रको पनि साथ पाएर वाम गठबन्धनको सहयोगमा जितेका तामाङ यस पटक एक्लै छन् ।

उनी एक्लामात्र होइन, उनको पार्टी पनि सग्लो छैन । एमाले विभाजन भइसकेको छ । गत भदौमा एमाले विभाजन पछि केही प्रभावशाली नेता तथा कार्यकर्ता माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा आवद्ध भएका छन् । आगामी निर्वाचनमा ह्याट्रिक गर्ने दाउमा रहेका तामाङलाई एमाले विभाजन महँगो पर्न सक्छ ।

तामाङलाई चुनावमा समस्या पर्न सक्ने अर्को पक्ष भनेको एमालेभित्रको विवाद हो । सो क्षेत्रमा एमालेभित्र चर्को विवाद छ । तामाङले उक्त विवाद समाधान गर्न नसक्ने हो भने थप समस्या पर्ने निश्चित छ ।

यस्तो छ विगतको निर्वाचन नतिजा

कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ मा चुनाव लडेका थिए । आगामी निर्वाचन उनको पाँचौं प्रतिस्पर्धा हो । प्रतिस्पर्धा गरेका निर्वाचनमध्ये उनले एउटा चुनाव जित्ने र अर्को हार्ने गरेका छन् ।

सिन्धुपाल्चोक–१ बाट २०४८ को निर्वाचनमा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका उनले २०५६ को निर्वाचन भने जिते । २०५१ को निर्वाचनमा भने उनले टिकट नै पाएनन् । २०५६ मा टिकट पाएका उनले एमालेका बोहरालाई नै पराजित गरे । यो नै उनको पहिलो जित थियो ।

राज्य व्यवस्था परिवर्तनपछि २०६४ मा भएको निर्वाचनमा उनी माओवादी केन्द्रका उम्मेदवार राजकुमार श्रेष्ठसँग पराजित भएका थिए । २०७० को निर्वाचनमा भने उनले सिन्धुपाल्चोक–१ बाट चुनाव जिते ।

उक्त निर्वाचनमा बस्नेतले एमालेका अरुणप्रसाद नेपाललाई पराजित गरेका थिए । संघीयतापछि भएको पहिलो संसदीय निर्वाचनमा भने उनी पराजित भए । वाम गठबन्धनका कारण उनी माओवादी केन्द्रका अग्नि सापकोटासँग पराजित भएका थिए ।

यता सिन्धुपाल्चोक–२ बाट चुनाव लड्दै आएका तामाङ पनि २ पटक पराजित भएका छन् भने २ वटा चुनाव जितेका छन् । तामाङले प्रतिस्पर्धा गरेको सुरुवाती दुई चुनाव हारेका थिए । मालेबाट पहिलो पटक २०५६ को चुनाव लडेका तामाङ तत्कालीन सिन्धुपाल्चोक–३ बाट पराजित भएका थिए । त्यसपछि उनी एमालेमा आवद्ध भए । तामाङ २०६४ को निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बने तर जित्न सकेनन् ।

पछिल्ला दुई वटा चुनाव भने तामाङले जितेका छन् । तामाङले २०७० मा सिन्धुल्पोल्चोक–३ बाटै पहिलो पटक चुनाव जिते । त्यसपछि भने सिन्धुपाल्चोकमा २ वटा निर्वाचन क्षेत्र कायम भयो । २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा तामाङ विजयी भए ।

बस्नेतको राजनीतिक यात्रा

२०३४ सालबाट कांग्रेसको विद्यार्थी संगठनमार्फत राजनीति सुरु गरेका बस्नेतले भूमिगत जीवनसमेत बिताए । उनी १४ वर्षको उमेरमा भूमिगत भएका थिए । विद्यार्थी राजनीतिमै उनी ३ महिना निर्वासितसमेत भए । सोही समयमा उनी बन्दी पनि बन्नु परेको थियो ।

त्यसपछि उनी तरुण दस्ताको अगुवा बने । तरुण दल हुँदै पार्टीको जिल्ला सभापतिसमेत बनेका उनले विभिन्न समयमा पार्टीले दिएको नेतृत्वदायी भूमिकामा समेत रहेर काम गरेका छन् । उनले पार्टीका विभिन्न कार्यक्रम र आन्दोलनहरुको नेतृत्वसमेत गरेका छन् ।

२०५३ सालमा पार्टीको सिन्धुपाल्चोक जिल्ला सभापति बनेका उनले ४ कार्यकाल पूरा गरे । उनी २०७२ सम्म पार्टीको सिन्धुपाल्चोक सभापतिको भूमिकामा रहे ।

२०४८ को निर्वाचनमा क्षेत्र–१ बाट सांसदको उम्मेदवार बनेका उनी त्यसयता २०५६, २०६४, २०७०, २०७४ सालमा भएको निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार बनेका थिए । उनले २०५६ र २०७० सालमा मात्रै जित्न सके ।

बस्नेत २०५६ मा चुनाव जितेकै कार्यकालमा २०५८ सालमा स्वास्थ्य राज्यमन्त्री बने भने २०७४ सालमा सूचना तथा सञ्चार मन्त्री भए ।

माले हुँदै एमाले बनेका तामाङको मन्त्रीसम्मको यात्रा

२०३६ सालबाट कम्युनिस्ट विचारधारा बोकेर मालेको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका तामाङ त्यस समयमा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौँको प्रारम्भिक कमिटीमा आवद्ध थिए ।

मालेबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका तामाङ २०४० सालमा अनेरास्ववियुको सिन्धुपाल्चोक जिल्ला अध्यक्ष बने । त्यसपछि २०४१ मा अनेरास्ववियुको सेल कमिटीको नेतृत्वमा रहेका उनी २०४२ पार्टीको सहयोग समूहको नेतृत्वमा पुगे ।

विद्यार्थी संगठनको राजनीतिपछि उनी युवा संगठनमा आवद्ध भए । उनी २०४७ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य बने । २०५१ मा उक्त संघको सचिव भएका उनी २०५४ मा महासचिव भए । त्यसपछि भने उनी एमालेमा आवद्ध भए ।

एमालेमा आवद्ध भएपछि उनले एमाले सिन्धुपाल्चोक जिल्ला सचिवको जिम्मेवारी पाए । २०५९ मा एमाले बागमती अञ्चल सदस्य बने ।

मालेबाट २०५६ को आम निर्वाचन लडेका उनी पराजित भए । उनले एमालेबाट २०६४ र ०७० संविधानसभाको निर्वाचनमा जिल्लाको तत्कालीन क्षेत्र ३ बाट उम्मेदवारी दिएका थिए । २०६४ को निर्वाचन हारेका उनले २०७० मा भने जिते । २०७४ मा एमालेबाट सिन्धुपाल्चोक–२ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेका उनले चुनाव जिते । सोही कार्यकालमा उनले मन्त्री बनेर कानुन मन्त्रालयको जिम्मेवारी लिएका थिए । तामाङ हाल एमालेका केन्द्रीय सदस्य छन् ।

यस्तो छ स्थानीय तहको अंकगणित

सिन्धुपाल्चोक–२ अन्तर्गत ४ वटा स्थानीय तहको पूरा भूभाग र एउटा स्थानीय तहको केही वडा पर्दछन् । सो क्षेत्रमा पाँच पोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका र चौतारा साँगाचोक गढी नगरपालिकाको १, ५, ६, ७, ८, ११, १२, १३ र १४ नम्बर वडा पर्दछन् ।

स्थानीय निर्वाचनमा कांग्रेसले हेलम्वु गाउँपालिका र मेलम्ची नगरपालिकाको नेतृत्व लिँदा एमालेले इन्द्रावती र पाँचपोखरी थाङपालमा गाउँपालिकाको नेतृत्व हात पारेको थियो । माओवादी केन्द्रले भने चौतारा साँगाचोक गढी नगरपालिकाको नेतृत्व लिएको छ ।

गत स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो भने सो क्षेत्रमा पहिलो दल एमाले छ भने दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्र छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप