शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी निर्वाचनमा कति छ विप्लवको सुरक्षा थ्रेट ?

विप्लवका कार्यकर्तामाथि प्रहरीले बढायो निगरानी
बिहीबार, १७ कात्तिक २०७९, १४ : १२
बिहीबार, १७ कात्तिक २०७९

गत कात्तिक १५ गते मंगलबार नेत्रविक्रम चन्द विप्लव ‘सी’ नेतृत्वको नेकपाले पार्टीको निर्णय सार्वजनिक गर्दै मङ्सिर ४ का लागि तय भएको निर्वाचन बिथोल्ने चेतावनी दियो । नवौँ महाधिवेशनपछि बसेको पार्टीको बैठकले सरकारले घोषणा गरेको गतेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन बिथोल्ने निर्णय गरेको प्रवक्ता खड्ग बहादुर विश्वकर्माको भनाई थियो । 

निर्वाचनले समाजवादमा पुग्न मद्दत नगर्ने भएकाले त्यसलाई भण्डाफोर गर्दै बिथोल्ने गरी अभियान चलाउने पार्टीले निर्णय गरेको छ । उक्त भण्डाफोर अभियानमा सरकारले दमन गरे त्यसको प्रतिकार गर्ने चेतावनीसमेत दिइएको छ । यस अभियानमा सामना परिवारले जनसांस्कृतिक अभियान समेत चलाउने भनिएको छ । ‘मङ्सिर ४ गते हुने निर्वाचनले दलालहरू मात्रै निर्वाचित हुने र वास्तविक जनताको प्रतिनिधि नआउने भएकाले निर्वाचनका विरुद्ध भण्डाफोर अभियान चलाउन लागेका हौँ,’ प्रवक्ता विश्वकर्माले भने । 

नेकपाले भण्डाफोर अभियान चलाउने र चुनाव बिथोल्ने निर्णय गरेको भोलिपल्टै अर्थात् कात्तिक १६ गते अन्य साना कम्युनिस्ट पार्टीहरूले पनि निर्वाचन बिथोल्ने निर्णय गरेका छन् । आगामी कात्तिक १९ गते शनिवार पत्रकार सम्मेलन नै गरेर आन्दोलनको घोषणा गरी भण्डाफोर अभियान चलाउने र निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुने उनीहरूको चेतावनी छ । विप्लव नेतृत्वको नेकपासहित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले पनि निर्वाचन बिथोल्ने र भण्डाफोर अभियान चलाउने भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतिको तर्फबाट जारी संयुक्त विज्ञप्तिमा दलाल पुँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मङ्सिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिष्कार र खारेजी गर्ने निर्णय गरेको बताइएको छ । त्यसैगरी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीले पनि निर्वाचनमा भाग नलिने र भण्डाफोर अभियान चलाउने बताइसकेको छ । 

हिजो सशस्त्र युद्धमा रहेका माओवादीबाट छिन्नभिन्न भएका साना कम्युनिस्ट पार्टीहरूले निर्वाचन बिथोल्ने चेतावनी दिएसँगै निर्वाचन आयोग र सुरक्षा निकायको टाउको दुख्न थालेको छ । अघिल्लो संसदीय निर्वाचनमा पनि निर्वाचन बिथोल्ने भन्दै राजनीतिक दलका नेता र कार्यकर्तालाई लक्षित गर्दै बम विस्फोटसम्मको घटना भएको कारण विप्लव लगायतका साना कम्युनिस्ट पार्टीको निर्वाचन बिथोल्ने घोषणापछि निर्वाचन आयोग र सुरक्षा निकायले सुरक्षाको नयाँ योजना बनाउन थालेका छन् । भयरहित वातावरणमा निर्वाचनमा भाग लिन पाउने गरी वातावरण बनाउन आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगले आगामी निर्वाचनमा विप्लव समूहको सेक्युरिटी थ्रेट बढ्न सक्ने भन्दै त्यसका लागि योजना बनाउन पनि सरकारसँग आग्रह गरेको छ । 

विप्लवका कार्यकर्तामाथि प्रहरीले बढायो निगरानी

विप्लव लगायतका अन्य साना कम्युनिस्ट पार्टीहरूले निर्वाचन बिथोल्ने घोषणा नै गरेपछि नेपाल प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन सुरु गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार प्रहरीले सुरक्षा सतर्कता बढाइसकेको बताए । प्रवक्ता राईका अनुसार निर्वाचन बिथोल्ने चेतावनीपछि सुरक्षा सतर्कता थप बढाइएको भन्दै उनीहरूमाथि निगरानी बढाइएको बताए ।

डीआईजी राईले रातोपाटीसँग भने, ‘निर्वाचनमा मतदान नगर्ने र बिथोल्ने कुरा एउटै होइन । निर्वाचन बहिष्कार गर्न त पाइयो, तर बिथोल्न पाइएन । निर्वाचन बिथोल्ने गतिविधि हुन लागेमा वा भएमा हामी तत्काल त्यस्ता गतिविधिमा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्छौ । उहाँहरूले निर्वाचन बहिष्कारको अभियान चलाउने त संवैधानिक अधिकारकै विषय हो, तर निर्वाचनका अन्य गतिविधिलाई प्रभाव पार्ने, आम मतदातालाई डर धम्की दिने, त्रासमा राख्ने लगायतका काम भयो भने प्रहरी मूकदर्शक भएर बस्दैन ।’

अब विप्लव लगायतका साना दलका नेता कार्यकर्तामाथि धरपकड सुरु हुन्छ हो ? भन्ने रातोपाटीको प्रश्नमा डीआईजी राईले भने, ‘धरपकड भन्ने त हुँदैन । संविधानले दिएको अधिकार प्रयोग गर्दा कोहीमाथि धरपकड हुने वा कसैलाई पक्राउ गर्ने गर्दैनौँ । तर कसैले संविधान र कानुनभन्दा बाहिर गएर केही गर्छ भने उनीहरूलाई छाड्ने भन्ने हुँदैन । आवश्यक पर्दा नियन्त्रणमा लिने र मुद्दा चिलाउनेसम्मको काम हुन्छ । त्यसको सुरुवात भइसकेको छ ।’

पक्राउ पर्न थाले निर्वाचन बिथोल्ने समूहका नेता तथा कार्यकर्ता

निर्वाचन बिथोल्ने र निर्वाचनको सम्मुखमा आतङ्क फैलाउने विप्लव नेतृत्वको नेकपा तथा अन्य साना राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

तनहुँ प्रहरीले तनहुँको बन्दीपुर गाउँपालिका १ बानियाँटारबाट नेकपा माओवादीका संयोजक गौरव भन्ने अमृत सापकोटा, गण्डकी ब्यूरो इञ्चार्ज सागर लगायतलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट निर्वाचन बिथोल्ने पर्चा र बम बनाउन प्रयोग हुने बारुद लगायतका सामाग्री बरामद भएको र उनीप्रवक्ता  डीएसपी युवराज खड्काले रातोपाटीलाई बताए । 

त्यसैगरी प्रहरी नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य विमल निरौला र वैद्यनिकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिव महेश श्रेष्ठलाई पनि मोरङ प्रहरीले पक्राउ गरेको छ । निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले कात्तिक १६ गते मोरङको बेलबारीबाट पक्राउ गरेको छ । उनीहरूको साथबाट निर्वाचन बिथोल्ने प्रचार सामग्री लगायतका वस्तुहरू बरामद भएको प्रहरीले जनाएको छ । 

‘विप्लव लगायतका समूहले शक्ति देखाउन जे पनि गर्न सक्छन्’

नेपाल प्रहरीका पूर्व एआईजी धिरु बस्न्यात आगामी निर्वाचनमा विप्लव लगायतका पूर्व माओवादी समूहको सुरक्षा चुनौती रहेको बताउँछन् । लामो समय नेपाल प्रहरीमा रहेर हालसालै अवकाशमा गएका बस्न्यात पूर्व माओवादी समूह भएको पहिले पनि विभिन्न समयमा बम पड्काएको दृष्टान्त रहेको भन्दै उनीहरूको विषयमा सुरक्षा निकाय चनाखो हुनुपर्ने बताए । 

बस्न्यातले भने, ‘पछिल्लो समय उनीहरु पनि विचारको राजनीतिमा छैनन् । विचारको राजनीति गर्नेले आतङ्क ल्याउँदैन, आतङ्क मच्याउनेले विचारको राजनीति गर्दैन । निर्वाचन बिथोल्ने घोषणा गरिसकेको अवस्थामा उनीहरूको चुनौती प्रहरीका लागि सबैभन्दा ठुलो चुनौती हुनसक्छ ।’

पूर्व एआईजी बस्न्यातले खुला बोर्डर रहेको र देशमा राजनीतिक स्थिरता समेत नरहेको कारण आगामी निर्वाचनमा अन्य तत्त्वहरूले पनि चलखेल गर्न सक्ने बताए । उनले भने, ‘एकातिर साना साना पार्टी र समूहलाई आफ्नो अस्तित्व देखाउनु छ । उनीहरूको उद्देश्य राजनीतिक भन्दा पनि अन्य कुराहरूमा बढी छ । यदि कसैले उचालिदिएमा वा सहयोग गरिदिएमा उनीहरूले जे पनि गर्न सक्छन् । पहिले पनि बम विस्फोट लगायतका घटना भएकै हुन्, उनीहरूलाई त्यसबारे ज्ञान पनि छ भनेपछि केही नगर्लान् भनेर सोच्नु गलत हुनेछ । सुरक्षा निकायले त्यसका लागि व्यापक तयारी गर्नुपर्नेछ ।’

सिभिलमा व्यापक सुरक्षाकर्मी परिचालन गर्ने तयारी 

आगामी निर्वाचन शान्तिपूर्णरुपमा पूरा गराउनका लागि सुरक्षा निकायले व्यापकरुपमा सिभिलमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रहरीलाई पनि खटाएर विप्लव नेतृत्वको नेकपा लगायतका राजनीतिक दल र समूहका सदस्यहरूलाई कडा निगरानीमा राखिने आवश्यक देखिएमा उनीहरूलाई नियन्त्रणमा लिने योजना सुरक्षा निकायले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप