शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा चुनावी तयारी तीव्र

बिहीबार, १७ कात्तिक २०७९, २१ : १५
बिहीबार, १७ कात्तिक २०७९

सङ्घ र प्रदेशको चुनाव आउन १७ दिन बाँकी छ । राजनीतिक दलदेखि निर्वाचन आयोग र सम्बद्ध निकाय चुनावको तयारीमा जुटेका छन् । दल र उम्मेदवार मतदाता रिझाउन तल्लीन छन् ।  सुरक्षा योजनालगायत चुनावको व्यवस्थापकीय तयारीका कामलाई पनि तीव्र पारिएको छ । मतदान र त्यसपूर्व चाहिने सबै सामग्री यहाँ आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

“मतदान केन्द्रअनुसार मतपत्र छुट्याउने, प्याकिङ गर्ने काम भइरहेको छ, निर्वाचन सामग्री लगभग सबै आइसकेको छ”, जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले भने, “कर्मचारीको खटनपटन, तालिमलगायतका काम पनि सँगसँगै हुँदैछ ।”

मतदाता शिक्षाका लागि वडास्तरमा स्वयंसेविका खटाइएको उनको भनाइ छ । पालिका तहमा नमुना मतदान अभ्यास गराइने भएको छ । सञ्चारकर्मीलगायत सरोकार भएका पक्षलाई चुनावबारे अभिमुखीकरण गरिने निर्वाचन अधिकारी रिजालले बताए ।

यहाँका दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ जना कर्मचारी र नौ सय ३० जना स्वयंसेवक खटिनेछन् । एउटा मतदान केन्द्रमा आठ जना कर्मचारी परिचालन गरिनेछ । अस्थायी मतदान केन्द्रमा भने तीन जना कर्मचारी खटिनेछन् । 

जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ एक सय छ मतदानस्थल रहेका छन् । जिल्ला सुरक्षा समितिले तीमध्ये ३५ प्रतिशतलाई अतिसंवेदनशील, १५ प्रतिशतलाई संवेदनशील र ५० प्रतिशतलाई सामान्यमा वर्गीकरण गरेको छ ।

मतदानस्थलको अवस्था र संवेदनशीलता हेरेर चुनावी सुरक्षा योजना बनाइएको सुरक्षा समितिले जनाएको छ । सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहको यस जिल्लामा कुल एक लाख ९२ हजार दुई सय २६ मतदाता छन् । १ नं क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नं मा ९५ हजार पाँच सय ६१ मतदाता छन् । 

मतदानको दिन नजिकिँदै गर्दा चुनावी माहोल पनि गर्माएको छ । निर्वाचन आचारसंहिताले मतदानको १७ दिनअघिबाट चुनावी प्रचारको समय दिएका कारण घरदैलो र भेटघाटमा सीमित बनेका दलहरू अब भने आमसभासहित ठूला प्रचारात्मक कार्यक्रम गर्ने तयारीमा छन् । कतिपय दलले पार्टीको शीर्ष नेतृत्वलाई नै चुनाव क्षेत्रमा उतार्दैछन् ।

परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिका साथ राजनीतिक दल र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । मतदातासामु भए÷गरेका उपलब्धि सुनाउने र नौला प्रतिबद्धता जाहेर गर्ने क्रम पनि चलिरहेको छ । मुलुक सङ्घीय शासन व्यवस्थामा गएपछिको दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको हो । 

दलका शीर्ष नेतासहित ३१ उम्मेदवार चुनावी मैदानमा छन् । बागलुङ–१ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा (एमाले) बाट सूर्यप्रसाद पाठक मुख्य प्रतिस्पर्धी रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बिपी) बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्री पनि बागलुङ–१ को उम्मेदवार रहेका छन् ।

बागलुङ–१ (१) मा गठबन्धनका तर्फबाट कांग्रेसका दीपेन्द्रबहादुर थापा, एमालेका हिराबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल चुनावमा होमिएका छन् ।

बागलुङ–१ (२) मा गठबन्धनका तर्फबाट कांग्रेसका डिल्लीराम सुवेदी, एमालेबाट नवराज पौडेल, राप्रपाबाट गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापा चुनाव लड्दै छन् । बागलुङ–२ मा गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलका विरुद्ध एमालेबाट मञ्जु शर्मा चालिसे चुनावी मैदानमा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट तुलसीराम अर्याल र डिलबहादुर कार्की पनि सोही क्षेत्रबाट चुनाव लड्दै छन् ।

बागलुङ–२ (१) मा सत्ता गठबन्धनका जीत शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीबीच प्रतिस्पर्धा हुँदैछ । बागलुङ–२ (२) मा गठबन्धनबाट कांग्रेसका दोर्ण कुँवर, एमालेका लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी,  स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती चुनावी मैदानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप