शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित

आइतबार, २० कात्तिक २०७९, १० : ४६
आइतबार, २० कात्तिक २०७९

दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उनका बुवाको मृत्यु भयो । परिवारमा कमाइ गर्ने अभिभावक नभएपछि उनलाई आर्थिक समस्या थपियो । तर पनि आमाले जेनतेन गाई भैँसी पालेर घरखर्चको जोहो गरिन् ।  हिमा माथिल्लो कक्षामा पढ्न थालिन्, तब उनलाई कापी, किताब र पढाइ खर्च अभाव हुन थाल्यो । यतिसम्मकि उनलाई अर्थाभावकै कारण आफ्नो पढाइ छुट्ने चिन्ताले सताउन थाल्यो ।

अर्थ अभावकै कारण हिमा विद्यालय छाड्ने निर्णयमा पुगिन्। त्यति बेला उहाँ ८ कक्षामा पढ्दै थिइन् । उनकी आमा तुलसी विक भन्छिन्, “घरमा हामी आमाछोरीमात्र छौँ, कमाउने मान्छे नहुँदा घरखर्च चालाउनै मुस्किल छ । विद्यालय पोशाक र किताब किन्ने पैसा नहुँदा छोरीले स्कुल नै छाड्ने अवस्था आयो, गरिबलाई त पढ्न पनि सजिलो रहेनछ ।” तर अर्थावस्थाका कारण समस्या परेकी हिमाले अहिले छात्रवृत्ति पाउन थालेकी छिन्। छात्रवृत्तिले गर्दा हिमाको पढाइ पनि नियमित भएको छ । 

गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा लागू भएको ‘जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम’मार्फत सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले छात्रवृत्ति उपलब्ध गराउन थालेको हो । संस्थाको पहलमा छोरीको पढाइ नियमित भएपछि हिजोआज तुलसीको अनुहारमा खुसी छाएको छ । 

हिमामात्रै होइन, गुराँस गाउँपालिका–४ रिठ्ठाका प्रेम मल्ल र देवीसरा मल्लका आमाबुवा दुवै छैनन्। उनीहरु अहिले हजुरआमाको संरक्षणमा छन् । उनीहरूलाई पनि पढाइ खर्च जुटाउन हम्मेहम्मे थियो । शिक्षामा लाग्ने सबै खर्च जुटाउने माध्यम केही थिएन । अनि जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रममार्फत प्रेम र देवीसरा पनि छात्रवृत्तिका लागि छनोटमा परे। सहकारीमा जम्मा भएको रु २५–२५ हजार रकमबाट आउने ब्याजले हिजोआज उनीहरुको पढाइ खर्च जुटेको छ । अर्थअभावकै कारण पढाइ पूरा गर्न सकिन्न कि भन्ने चिन्ता अहिले हटेको छ ।

प्रेम अहिले १० कक्षामा पढ्छन् भने देवीसरा ८ कक्षामा पढ्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप