विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संस्कृत भाषाको पुनर्जागरणः आजको आवश्यकता

सोमबार, २१ कार्तिक २०७९, १२ : ४१
सोमबार, २१ कार्तिक २०७९

देवनागरी लिपिमा लेखिने  संसारको  सबै भन्दा पुरानो, मौलिक, विशिष्ट  एवं समृद्ध भाषा हो संस्कृत  । यो वेदको भाषा हो । भारोपेली परिवार अन्तर्गतका सबै भाषाको जननीको रुपमा  संस्कृतलाई मानिन्छ  । संस्कृतबाट क्रमशः अपभ्रंश हुँदै जुम्लाको सिन्जा प्रान्तबाट सुरूवात भएको  नेपाली भाषामा  पनि संस्कृतकै बाहुल्यता छ ।

नेपालीमा प्रयोग हुने तत्सम र तत्भव शब्दहरुको उत्पत्ति संस्कृतबाट भएको  हो । नेपालमा बोलिने प्रायजसो भाषालाई संस्कृतले प्रत्यक्ष वा  अप्रत्यक्ष रूपमा प्रभाव  पारेको  छ । तर संस्कृत भाषालाई कुनै निश्चित जाति वा सम्प्रदायको ( ब्राम्हण र क्षेत्री) मात्र भाषा हो भनेर भ्रम फैलाइएको छ, जुन सरासर गलत हो । संस्कृत जतिको स्पष्ट, तार्किक, ब्यवस्थित  एवम् बैज्ञानिक भाषा दुनियाँमा पाउन असम्भव छ ।

खास गरी संस्कृत भाषाको मुल जरा खोज्ने हो भने यो भारोपेली भाषा परिवार हिन्दू (युरोपेली भाषा परिवार) अन्तर्गतको आर्य–इरानेली उपशाखा अन्तर्गत  पर्दछ  । आधुनिक भारोपेली भाषाहरूअन्तर्गत  हिन्दी, उर्दू, पाली, सिन्धी, मराठी, पंजाबी, नेपाली, फारसी, बङ्गालीलगायत भाषा पर्दछन् । यी सबै भाषाको माउ संस्कृतलाई लिइन्छ । सनातन वैदिक परम्पराअनुसार सम्पूर्ण संस्कार र कर्मकाण्डको माध्यम पनि यही शास्त्रीय भाषा हो ।  हिन्दू, बौद्ध, जैन आदि धर्मका प्राचीन धार्मिक ग्रन्थ पनि संस्कृतमै लेखिएको छ ।

संस्कृत भाषालाई पूर्ण  भाषा, देववाणी, अमर भाषा, सुरभारती आदि विविध नामले पुकारिन्छ । यसको व्याकरण अत्यन्त  परिष्कृत  र ब्यवस्थित छ । महर्षि पाणिनी (अष्टाध्यायि) ,महर्षि पिङला (छन्द शास्त्र), महर्षि कात्यायन (वात्र्तिककार) तथा  योग शास्त्रको पिता  महर्षि पतञ्जलि (ब्याकरण  महाभाष्य) आदि जस्ता प्राचीन ऋषिमुनि एवं आचार्यहरूको अमर कृतिद्वारा यस भाषाको  विकास एवम् परिमार्जिन  गरिएको थियो । प्राग ऐतिहासिक कालमा रचिएको पाणिनीको  संस्कृत व्याकरण  आजको आधुनिक कालमा  पनि उतिकै प्रभावकारी र प्रसिद्ध छ । 

वैदिक तन्त्रमन्त्रको साधना गर्न, यज्ञ, जप, तप, होम, पूजा  आदि कर्मकाण्ड  गर्नको लागि यस भाषाको प्रयोग हुने हुँदा यसलाई देवभाषा भनिएको हो । सनातन वैदिक धर्मअनुरुप  गर्भाधानदेखि मृत्युसम्म हुने १६ संस्कार गर्नको निमित्त पनि  संस्कृत भाषामा नै प्रयोग गरिन्छ  । भारतवर्षको आधिकारिक भाषाको रुपम यो प्रयोग हुन्थ्यो ।

संस्कृत केवल आदिम  भाषा मात्र  हैन, यसले धर्म संस्कार, संस्कृतिलाई आत्मसात गर्ने हुँदा  यसको नाम ‘संस्कृत’ भएको  हो । केवल संस्कृत नै एकमात्र यस्तो  भाषा हो, जसमा अर्थ र नामको पूर्ण सामान्जस्यता कायम  रहेको  छ । यो अरु भाषा जस्तो  बस्तुविशेष हैन, सन्दर्भ विशेषअनुसार अनुसारको भाषा हो ।  यसमा लगभग एक खर्बभन्दा बढी  शब्द रहेको छ । त्यस्तै, सबैभन्दा अधिक पर्यायबाची शब्दपनि यही भाषामा नै भेटिन्छ । संस्कृतमा प्रत्येक शब्दका न्यूनतम  २५ रूप  हुन्छन् । संस्कृतमा पानी शब्दको  पर्यायबाची बुझाउने  २८० भन्दा बढी शब्द छन् ।

संस्कृत भाषाको प्रयोग गरेर  नै पूर्वीय दर्शन, धर्म र इतिहासको ब्याख्या गरिएको छ । यसबारे बुझ्न र व्याख्या गर्न पनि  संस्कृत भाषाको यथोचित ज्ञान हुनु एकदम आवश्यक छ ।

हिन्दू धर्मसँग सम्बन्धित लगभग सबै शास्त्र, धर्मग्रन्थ, ४ वेद, उपवेद, पुराण, उपनिषद, दर्शन, तत्व मिंमासा, इतिहास,  साहित्य, कला, बाङमय सबै संस्कृतमा लेखिएका छन् । रामायण, महाभारत, भागवत् गीता, महापुराण आदि जस्ता  अमुल्य  ग्रन्थमा लुकेका अथाह ज्ञान, विज्ञान अध्यात्म र चेतनालाई आधुनिक समयमा उपयोग गर्न पनि संस्कृत भाषाको विज्ञता प्राप्त गर्नुपर्ने हुन्छ ।

जर्मन, रसिया जस्ता अन्तरराष्ट्रिय मुलुकहरुमा यो भाषासम्बन्धि खोजतलास र अध्ययन भैरहदा हाम्रो मुलुकमा भने यसलाई अर्थहीन ठानेर सीमान्तकृत गर्दै थान्को लगाइयो । जबकि जर्मनमा मात्रै १४ भन्दा बढी विश्वविद्यालयमा यसको  अध्यापन हुँदै आएको छ । पूर्वीय भूमिमा उत्पत्ति  भएर  पनि यस भाषासम्बन्धि कार्यपत्र र शोधपत्रहरु पश्चिमा मुलुकहरुमा प्रस्तुत  हुने गरेको छ । इसकोन जस्ता अन्तर्राष्ट्रिय  धार्मिक संस्थाले यस भाषाको जगेर्ना गर्ने प्रयास  गरेको देखिन्छ ।

नासाले गरेको एक अध्ययनअनुसार कम्प्युटरमा प्रयोग हुने सशक्त भाषाको एलगोरिथमको रुपमा यो भाषा पहिलो प्राथमिकतामा परेको छ । आधुनिक विज्ञानले पत्ता लगाएका अदभूत सिद्धान्तहरु (क्वानटम मेकानिक्स), एरोडाइनामिक्सको सिद्धान्त, एनर्जी र लेजर तथा प्रकाश आदिको विश्वब्यापी तथ्यहरुको  सुत्रपात वास्तवमा  हजारौं वर्षअघि हाम्रो प्राचीन वेद, पुराण र उपनिषदमा थन्किएर बसेको थियो । आजको सुपरसोनिक जहाजको आविष्कार गर्नु भन्दा धेरै अघि हाम्रा पुर्खाहरु पुष्पक बिमानमा यात्रा गर्ने गरेको हाम्रो शास्त्रीय प्रमाणले पुष्टि गर्दछ ।

संस्कृतलाई केवल भाषाको परिधि भित्र राखेर साँगुरो रुपमा व्याख्या गर्नु  अनुचित हो । किनभने यो एक समग्र जीवन पद्धति  पनि हो । यसले  जीवन जिउने कला मात्र होइन, यसले मृत्युुको तयारी गर्न र भयरहित भयर बाँच्न पनि सिकाउँछ । जीवनमा  साक्षत्कार प्राप्त गर्न र मोक्षप्राप्तीको निमित्त  पनि यो उत्तिकै फलदायी छ । यो  जीवनदर्शन हो, यसले मानवलाई हिँड्ने बाटो पहिल्याउँछ ।

धर्म, अर्थ, काम र मोक्ष जस्ता पुरुषार्थ प्राप्त गर्नको निमित्त संस्कृत सारथी हो । सत्यको खोज र जीवनको बोधको निमित्त यो साधन हो । यो भाषाको जगमा नै विश्वको आदिम सभ्यताहरु खडा भएको थियो । र, आजको उत्तरआधुनिक युगमा पनि यसको उत्तिकै महत्व छ । तर, यसको उत्थानमा राज्यको ध्यान नपुगेको यथार्थलाई नकार्न सकिन्न । यति  भब्य  इतिहास बोकेको संस्कृत भाषालाई राष्ट्रले संरक्षण गर्न नसक्दा आज यो भाषा ओझेलमा परेको छ ।

पद्म शम्सेरको पालामा यस भाषालाई मृत भाषा घोषणा गरी राज्यले चरम लापरबाही गरेको तथ्य जगजाहेर छ ।  विशेष गरी अङ्ग्रेजी भाषाको प्रयोगकर्ताले यस भाषालाई  अतिक्रमित गर्दै आएका छन् । तथाकथित हिन्दू उग्रबादीहरुले यस भाषालाई आफ्नो पेवा  ठान्ने अनि आफूलाई  आधुनिक भनाउँदाहरुले  यसलाई रुढीवादी र कमसल र क्लिस्ट भाषाको ट्याग भिराएर यसको गरिमा र शाख गिराउने काम भैरहेको छ ।

आजको विश्वब्यापी युगमा संस्कृत भाषा मृतप्राय रुपमा लाइब्रेरीमा थन्किएर बस्नु ठूलो दुर्भाग्य हो । संस्कृत भाषाको अध्यापन गराउने विद्यालय, विश्व विद्यालयहरुमा विद्यार्थीको संख्या एकदम न्यून हुनु, यसको खोज र अनुसन्धानमा कसैको ध्यान नपुग्नु, यस भाषाको विज्ञहरुको अभाव हुनु, यसको प्रयोगकर्ताहरु अत्यन्त  कम हुनु लगायत कारणले यसको उचित संरक्षण र प्रवद्र्धन हुन सकेको छैन  । नेपाल, भारत र इण्डोनेसियाका सीमित देशमा मात्र यो भाषा बोलिने तथ्यले देखाएको  छ ।

सन् १८९३ तिर सिकागो सम्मेलनमा स्वामी विवेकानन्दले हिन्दू धर्म र संस्कृत भाषाको महिमा र गाथाबारे अमेरिकामा प्रवचन गरेपछि यस भाषाबारे चासो र चिन्ता बढ्यो । तर त्यसपछि उल्लेख्य रुपमा कहीँ कतैबाट  यसको संरक्षण र विकासमा  पहल भएन । अद्भूत ज्ञानविज्ञान र अध्यात्मको खानी भएर पनि लुकेको खजानाझैं यो भाषा पिछडिएको छ ।  अल्पसंख्यक  रुपमा रहेको संस्कृत अध्ययन संस्था र केन्द्रहरु पनि लगभग निस्तेज रुपमा रहेको देखिन्छ ।

ब्यवस्थित पाठ्यक्रम र पाठ्यपुस्तक एवम् अध्यापकको अभाव, प्रचारप्रसारको अभाव, उत्पादित जनशक्तिको रोजगारीको समस्या यसका विकराल चुनौती हुन् ।

नेपाली भाषाको प्रयोगमा शुद्धता ल्याउन र समग्र मानवीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याइ  ब्यक्तिको नैतिक, सामाजिक र चारित्रिक पक्षको विकास गर्न पनि  संस्कृत वाङ्मयको अहम्  भूमिका रहेको हुन्छ । वास्तवमा संस्कृत भाषालाई केवल कर्मकाण्डीय भाषाका रूपमा मात्र सीमित राखेर ज्ञानको स्रोतको रूपमा नलिनुले पनि यो भाषा राज्यको प्राथमिकतामा पर्न नसकेको हो ।

आधुनिकताको नाममा पश्चिमा मुलुकहरुबाट  आयातित  फेसन, धर्म,  दर्शन, संस्कार र सिद्धान्त आदिले हाम्रो मौलिक भाषा र संस्कृति नै धरापमा परेको छ । संस्कृत भाषालाई अपब्याख्या गर्ने नै आज महान अग्रगामी,  प्रगतिशील  र राष्ट्रवादी बनेका छन् । यस्ता छद्म  विद्वानहबाट नै यो भाषा खतरामा परेको छ ।

लेखक क्षेत्री हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

विष्णु सिलवाल क्षेत्री
विष्णु सिलवाल क्षेत्री
लेखकबाट थप