शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको संगत गरेपछि देउवा पनि बन्दुकको कुरा गर्न थालेछन् : केपी ओली

सोमबार, २१ कात्तिक २०७९, २१ : ३८
सोमबार, २१ कात्तिक २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले भोटको राजनीति गरेर जनतालाई स्थायी सरकारको सपना देखाएका आरोप लगाएका छन् । ओलीले मंगलबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो आरोप लगाएका हुन् । अध्यक्ष ओलीले गठबन्धन स्वार्थ पूरा गर्न र देशलाई अस्थिरतातर्फ धकेल्न बनेको बताए ।

उनले कांग्रेस नेतृत्वको गठबन्धनले छुट्टाछुट्टै घोषणापत्र बनाएर देशलाई अस्थिरतातर्फ र स्वार्थ पूरा गर्न लागेको आरोप लगाए । ‘विचार नभएका र नीति नभएका दलहरूको गठबन्धन छ । माओवादीले, एउटा गरेको छ । कांग्रेसले एउटा गरेको छ । माकुनेले एउटा गरेको छ । चित्रबहादुर केसीले अर्को गरेको छ । कुनचाहिँ घोषणा पत्र कार्यान्वयन गर्ने हो ?’ ओलीले प्रश्न गर्दै भने, ‘सबै मिसाएर के गर्ने ? धानसँग चामल पनि मिसाउने, कनिका पनि अनि पकाउने कस्तो खाना बन्छ ? यो गठबन्धन सरकार पनि यस्तै हो ।’

ओलीले गठबन्धन दिशाहीन र गन्तव्यहीन भएको बताउँदै कर्मकाण्ड पूरा गर्न र देशलाई अस्थिरतातर्फ लैजान आ–आफ्नो घोषणा पत्र जारी गरेको बताए ।  ‘यो गठबन्धनलाई जसरी पनि जनता अल्मल्याउनु छ । सरकार टिकाउनु छ । विदेशी प्रभुका अगाडि कम्फर्टेबल छु सरकार भनेर लम्पसार पर्नुछ,’ ओलीले थपे, ‘गठबन्धनको चंगुलबाट देशलाई यो निर्वाचनबाट जोगाउनुपर्छ । यस्तो भिजन, मिसन, नीति थिति कार्यक्रम र गन्तव्य नभएकाहरुलाई रोक्नुपर्छ ।’

गठबन्धनले तँलाई बढि कि मलाई बढि भन्ने बाहेक केही नगरेको र भावी प्रधानमन्त्रीको बारेमा झगडा हुन थालेको उनले सुनाए । ‘अब फेरि प्रचण्ड र शेरबहादुरको झगडा पर्नेवाला छ । शेरबहादुर देउवाले मै प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ । प्रचण्डले पनि मै प्रधानमन्त्री भनिरहेका छन्,’ ओलीले प्रश्न गरे, ‘ गठबन्धनबाट भावी प्रधानमन्त्री जनताले सुन्न चाहन्छन् तपाईंहरूको प्रधानमन्त्री को ?’ 

गठबन्धन बनेपछि संविधान च्यात्ने काम भएको ओलीको आरोप छ ।  प्रधानमन्त्रीले  संविधान विघटन गरेर ताजा जनादेशमा गएको विषयलाई संविधानको हत्या गरेको आरोप लगाएको ओलीले सुनाए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भन्दै हिँड्नुभएको छ । संविधान बचायौँ भनेर,’ ओलीले भने, ‘अदालत मार्फत सेटिङ गरेर संसदबाट बनेको बहुमतको सरकारलाई ढालेर संविधान कुल्चिन काम भयो ।’

एउटा स्थायी सरकार गठन भइसकेको अवस्थामा त्यसलाई ढालेर दक्षिणपन्थीको  नेतृत्वमा सरकारले गठन भएको ओलीको आरोप छ । उनले गठबन्धनका नाइकेले संविधानको रक्षाका लागि निर्वाचनमा लोकतन्त्र र देशको स्वाधीनता मिच्ने काम गरेकाले एमालेले निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए ।

‘यो निर्वाचन सामान्य निर्वाचन होइन । यो निर्वाचन देशको भविष्य रेखा कोर्ने निर्वाचन हो’ ओलीले भने, ‘०७४ सालको निर्वाचनमा माओवादीसँग मिलेर संयुक्त घोषणापत्र बनायौँ । जनतासँग संयुक्त प्रतिवद्धता गर्यौं । चुनावपछि पाटी एकीकरण गर्यौैं । तर, प्रचण्डले ती कुरालाई लत्याएर बहुमतको सरकारलाई ढाले,’ ओलीले भने, ‘जनादेशको सरकारलाई ढलाउने प्रयास गरेपछि ताजा जनादेशमा संसद विघटन गरे । त्यो विघटनलाई  गठबन्धनका नाइकेहरूले मिलेर अदालतको सेटिङमा परमादेश जारी गरी गठबन्धन सरकार गठन गरियो ।’

परमादेशले जनताको इच्छा विपरीत संसदीय प्रणाली र संसदको गरीमा महत्व र मर्यादालाई कुल्चिएको ओलीको आरोप छ । गठबन्धन दलले निर्वाचनमा फरक फरक मुद्दा लिएर जनतामा गएको भदै ओलीले भने– ‘माओवादीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री भनेको छ । कांग्रेसले यहि व्यवस्थालाई भनेको छ,’ उनले भने, ‘एउटाले प्रत्यक्ष प्रधानमन्त्री भनेको छ । यी प्रणालीमा प्रधानमन्त्रीको टुंगो लगाएर आउनुस् । यो देशलाई विकास शान्ति, भ्रष्टाचार र विकास तर्फ लैजान सुदृढ राष्ट्रिय बनाउन आवश्यक छ । त्यो बोकेर आउनुस् ।’

ओलीले वार्तामार्फत देशको भूमि फिर्ता ल्याउने बताए । यसअघि शेरबहादुर देउवाले भूमि फिर्ता ल्याउन ओलीलाई सीमामा बन्दुक लिएर जान जवाफ दिएका थिए । मंगलबार भने शेरबहादुर देउवालाई जवाफ फर्काउँदै ओलीले वार्तामार्फत जमिन फिर्ता ल्याउने बताए । ‘बन्दुक लिएर हैन शेरबहादुरजी कुरा गरेर थुपै समस्या समाधान भएका छन्,’ उनले भने, ‘बन्दुकले मान्छे मार्ने हो । प्रचण्डको संगत गरेपछि बन्दुकको कुरा गर्न थालेछन् । बन्दुकले केही गर्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप