बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कात्तिक २५ गते राप्रपाले काठमाडौंमा आमसभा गर्ने

बुधबार, २३ कात्तिक २०७९, १३ : ४१
बुधबार, २३ कात्तिक २०७९

राप्रपाले कात्तिक २५ गते काठमाडौंमा आमसभा गर्ने भएको छ ।  आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले शुक्रबार (कात्तिक २५) काठमाडौंमा आमसभा गर्न लागेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागेको हो । उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम छ । यसपटक उपत्यका आफूहरू विजयी हुने श्रेष्ठले दाबीसमेत गरे । 

देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो । राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावीसभा गरिसकेको छ। 

राप्रपाले कात्तिक २४ गते एकैदिन ६ वटा सभाको आयोजना गरेको छ । अध्यक्ष लिङ्देन र पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

यथास्थितिमा परिवर्तनको नारा दिएर राप्रपाले मतलाई मनसँग जोड्न मतदातासँग मत मागिरहेको छ । अध्यक्ष लिङ्देन झापा–३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । अध्यक्षको झापाको चुनावी अभियानलाई दृष्टिगत गर्दै अन्य जिल्लामा चुनावी सभा तय गरिएको र कात्तिक २९ गतेसम्म चुनावी सभा गरिने राप्रपाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप