शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बारा–३ मा उम्मेदवारसँग मतदाताको गुनासो– घरको छानो फेरिएन

बुधबार, २३ कात्तिक २०७९, १५ : ४४
बुधबार, २३ कात्तिक २०७९

कलैया उपमहानगर वडा नम्बर २४, श्रीपुरका विश्राम महतोलाई ७० वर्षदेखि घरको छानो फेर्न नसकेको चिन्ता छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि गाउँमा भोट माग्न आउने सबै उम्मेदवारहरुसँग उनी एउटै गुनासो गर्छन्– खेती गरेर खान जग्गा जमिन छैन, दैनिक ज्यालादारी गर्नुपर्छ, भएको एउटा फुसको घरको छानो पनि फेर्न सकेको छैन ।

घरको छानो फेरिदिन्छु भन्दै नाम लेखेर लगे पनि अहिलेसम्म छानो नफेरिएको उनको गुनासो छ । छोरा घर बनाउने मिस्त्रीमा ज्यालादारी काम गर्दै आएको र उसकै कमाइबाट बिहान बेलुका पेट भर्ने गरेको उनले सुनाए ।

महतोको जस्तै कलैया–२४ की गायत्री गिरी पनि सरकारले गाउँमा जस्तापाता बाँडेको सुने पनि आफूले नपाएको गुनासो गर्छिन् । ‘५० वर्षदेखि फुसको घरमा बस्दै आएको छौँ, सरकारले जस्ताको छानो दिएको छ भन्ने सुनेको छु तर हामीले पाएको छैन,’  गिरीले भनिन् ‘भर्खरै गाउँमा बिजुली र पानी आएको छ, बाटो अझै बनेको छैन, वडाध्यक्षले पनि गाउँमा हामीजस्ता गरिव, विपन्नको कुरा सुन्दैनन् ।’

संघीय सरकारको सहयोगमा गरिब, विपन्न तथा दलित परिवारलाई फुसको छानो फेर्ने कार्यक्रम सञ्चालन भए पनि स्थानीय तहमार्फत सो कार्यक्रम कार्यान्वयन हुन असाध्यै ढिलासुस्ती भएको बारा–३ मा प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार रामबाबु यादवले गुनासो गरे ।

‘हामीले सबै लिष्ट कलैया उपमहानगरमा बुझाइसकेका छौं, तर बजेट अभावको कारण देखाउँदै उपमहानगरले काम अगाडि बढाउन सकेको छैन,’ यादवले भने ।

संघीय सरकारको कार्यक्रम अन्तर्गत बाराको कलैया उपमहानगरका २७ वटा वडामा मात्रै १ हजार १५३ घरको छानो फेर्ने निर्णय भएकोमा ६५३ घरधुरीले पहिलो र दोस्रो किस्ताको रकम बुझिसकेको र बाँकी ५ सय घरधुरीको हकमा स्थानीय तह निर्वाचनका कारण रकम निकासा हुन ढिला भएको बारा–३ का निवर्तमान संघीय सांसदसमेत रहेका रामबाबु यादवको भनाइ छ ।

 

कलैया उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नाथु साह भने घरको छानो फेर्ने कार्यक्रम अन्तर्गत पहिलो किस्ताको रकम निकासा भए पनि काम भए÷नभएको विषयमा हिसाब फर्छ्यौट नभएकाले दोस्रो किस्ता रोकिएको बताउँछन् । ‘पहिलो किस्तामा ६० प्रतिशत रकम हामीले उपलब्ध गराएका छौं, त्यसको बिल भरपाई फर्छ्यौट भएपछि दोस्रो किस्ता उपलब्ध गराउँछौं,’ उनले भने ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट लालबाबु सिंह उम्मेदवार छन् । अन्यत्र जसपा–एमालेबीच गठबन्धन भए पनि यहाँ दुवै दलले आ–आफ्ना उम्मेदवार खडा गरेका छन् ।

यहाँ जसपाबाट रामबाबु यादव र एमालेबाट ज्वाला साह उम्मेदवार छन् । बारा–३ मा जीतपुरसिमरा उपमहानगरको ८ वटा वडा, कलैया उपमहानगरको २६ र फेटा गाँउपालिकाको ३ वटा वडा गरेर ३७ वटा वडा पर्दछन् ।

जिल्लाको अधिकांश दक्षिणी भेग समेटिएको यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषिमा मल, सिंचाई लगायत मुख्य समस्या छन् । पूर्व संविधानसभा सदस्य लालबाबु सिंह नेपाली कांग्रेसका पुराना नेता हुन् । उनी अन्तिम समयमा लोसपा पार्टीमा प्रवेश गरेर सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । जसपाका मधेस प्रदेश अध्यक्ष यादव कांग्रेसभित्रको अन्तविरोधका कारण आधा मत आफूलाई आउने दावी गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप