शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्यूठान र गुल्मी–२ का कांग्रेसले बुझ्नुपर्ने कुरा

बुधबार, २३ कात्तिक २०७९, २० : ४९
बुधबार, २३ कात्तिक २०७९

मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुँदैछ, त्यसका लागि कांग्रेस र एमालेको नेतृत्वमा छुट्टाछुट्टै गठबन्धन मैदानमा छन् । चुनावी सिट भागबण्डा गरेरै दुई गठबन्धन चुनावमा लागेका छन् र, खासगरी कांग्रेस नेतृत्वको गठबन्धनमा अलि असन्तुष्टि देखिन्छ, त्यो पनि नेतृत्व गरेकै कांग्रेसका नेता कार्यकर्तामा । यसको फाइदा उठाउन सकिन्छ भनेर नेकपा एमाले मज्जैसँग लागिरहेको छ । त्यस्तो निर्वाचन क्षेत्रमा पर्छन् प्यूठान र गुल्मीको क्षेत्र नम्बर २ । 

सुरुमा प्यूठानको चर्चा गरौं । 

गठबन्धनका शीर्ष नेताहरुले बिना कुनै असहमति प्यूठानको प्रतिनिधिसभा सिट राष्ट्रिय जनमोर्चालाई दिए र त्यहाँ जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाएको छ । तर प्यूठानमा कांग्रेसको एक खेमा यो कदमबाट असन्तुष्ट छ । यसको अगुवाई केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले गरेका छन्, उनी चुनाव प्रचारका लागि प्यूठान गएका छैनन् र उनको पुरानो घोषणा भोट माग्न जान्न नै भन्ने छ । भलै कात्तिक १९ गते बुटवलमा भएको गठबन्धनको भेलामा उनी उपस्थित भएर बोलेकाले केही नरम हुने संकेत गरेका छन् र, जनमोर्चाकै नेता कार्यकर्ताको कुरा मान्ने हो भने कांग्रेसको एउटा खेमा अहिले पनि गोविन्दराज पोखरेलको पर्खाइमा छ, उनले जे भन्छन् त्यो गर्ने मनस्थितिसहित । 

प्यूठान कांग्रेसमा जनमोर्चालाई किन भोट हाल्ने भन्ने छ किनकि यो जिल्लामा यी दुई पार्टीको निकै तिक्ततापूर्ण सम्बन्ध छ, भलै गएको स्थानीय चुनाव उनीहरुले मिलेर लडे । तर पुरानो सम्बन्धले उनीहरुबीचमा सौहार्द्रता छैन । जनमोर्चाले आफू जिल्लाको शक्तिमा हुँदा निकै दमन गरेको कांग्रेसको आरोप छ । हुन पनि विगतमा यी दुई पार्टीबीच भौतिक आक्रमण भएका कयौं घटना छन्, त्यसैले कांग्रेसको एउटा खेमा जनमोर्चाका उम्मेदवारलाई भोट हाल्न हिच्किचाईरहेको छ । 

असन्तुष्ट कांग्रेसले बुझ्न नसकेको यथार्थ 

यदि कांग्रेसको असुन्तष्ट खेमाले जनमोर्चालाई भोट दिएन भने त्यसको फाइदा एमालेले लिनेछ र एमालेका सूर्य थापाले चुनाव जित्न सक्नेछन् । कांग्रेसको असन्तुष्ट खेमाले प्यूठानमा जनमोर्चालाई भोट दिन्नौं भन्दै गर्दा एउटा सत्य र तथ्य बिर्सेको छ । त्यो के हो भने अहिले जनमोर्चाको रिसले भोट नदिँदा प्रकारान्तरले त्यसको सबैभन्दा ठूलो घाटा उसैलाई हुनेछ । किनकि एमाले र कांग्रेस पछिल्लो पटक प्यूठानमा बढ्दै गएका शक्ति हुन् भने जनमोर्चा खिइँदै र सकिँदै गएको शक्ति हो । 

विगतमा जिल्लामा २ क्षेत्र हुँदा जनमोर्चाले ०५६ सालमा दुवै क्षेत्र जितेको थियो, त्यसअघि दुई पटक तत्कालीन जिल्ला विकास समिति पनि उसैले बनाएर चलाएको थियो । तर अहिले उसको त्यो अवस्था छैन । नेकपा मसालले ०४८ सालमा चुनाव बहिस्कार गर्दा दुवै सिट कांग्रेसले जितेको थियो भने ०५१ मा एक सिट जितेको थियो । तर त्यसपछि उसले प्यूठानमा प्रतिनिधिसभा जित्न सकेको छैन । ०६४ मा माओवादीले जित्यो भने ७० मा एमालेले । ०७४ मा वाम गठबन्धनका कारण जनमोर्चाले जित्यो । 

तर  त्यतिबेलाका कांग्रेस उम्मेदवार गोविन्दराज पोखरेलले राम्रो मत पाए भने जिल्लामा पछिल्लो समय कांग्रेस उठ्दै गएको छ । गएको स्थानीय चुनावमा जनमोर्चासहित भएको गठबन्धनले उसलाई फाइदा नै भएको छ, त्यसैले अहिले प्यूठानमा कांग्रेसको प्रतिस्पर्धा जनमोर्चासँग होइन, मुख्यतः एमालेसँगै हो र भोलिसम्म पनि हुने यही हो । किनकि जनमोर्चा जिल्लामा निरन्तर ओरालो लागिरहेको छ भने एमाले निरन्तर उकालो । 

एमालेले चुनाव जित्ने गरी कांग्रेसको असन्तुष्ट खेमाले काम ग¥यो भने भोलि एमालेसँग लड्न उसलाई सजिलो हुने छैन, किनकि शक्ति भनेको शक्ति हो त्यो कांग्रेसका हरेक कार्यकर्ताले बुझेको हुनुपर्छ । 

त्यसैले अहिले जनमोर्चाका उम्मेदवारलाई जिताउनु नै भोलिको प्यूठान कांग्रेसका लागि सुरक्षित हुनु हो किनकि जनमोर्चा अर्को चुनावसम्म झन् ओरालो लाग्नेछ, उसको राजनीतिक कार्यदिशा र व्यवहार नै उसको स्खलनको प्रमुख कारण बनिरहेको छ । र, कांग्रेस थप बलियो बन्दै जाने निश्चित छ । तर शर्त के हो भने अहिले गठबन्धन एकजुट हुनैपर्छ ।

जनमोर्चाको जितमै कांग्रेसको भविष्य देखिन्छ भन्ने मलाई लाग्छ । त्यसैले कांग्रेसको असन्तुष्ट पक्षले आफ्नो भविष्यमाथि बन्चरो हान्ने काम गर्नेछैन र गोविन्दराज पोखरेलले त्यस्तो हुन दिने छैनन् । 

गुल्मी २ मा पनि उस्तै  

गुल्मी क्षेत्र नम्बर २ मा अहिले एमालेका तर्फबाट गोकर्णराज बिष्ट र सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री मैदानमा छन् । झाँक्री हिजो बिष्टको सहयोगी थिइन् भने पार्टी विभाजनपछि उनी प्रतिस्पर्धीका रुपमा बिष्टलाई चुनौती दिइरहेकी छन् । यहाँ झाँक्रीको पार्टी कमजोर छ, गत स्थानीय तहको चुनावलाई आधार मान्दा एकीकृत समाजवादीको भोट ७ सय पनि छैन । 

हो, यही ७ सय भोट छैन भन्ने कुराले कांग्रेसमा केही असन्तुष्टि देखिएको छ र सबै भोट खन्याएर कसरी झाँक्रीलाई जिताउनु भन्ने असन्तुष्टि कांग्रेसमा देखिन्छ । असन्तुष्टि स्वरुप डा. दामोदर भुसालले बागी उम्मेदवारी पनि दिए, तर पछि उनले फिर्ता लिएर अहिले रामकुमारी झाँक्रीलाई सघाइरहेका छन । तर एमालेले यहाँ भोट नै नभएको झाँक्रीको पार्टीलाई प्रतिनिधिसभा सिट दिनु कांग्रेसका नेता कार्यकर्तामाथिको अन्याय हो भनेर स्थापित गर्न खोजेको छ र चुनावमा भोट माग्दा बिष्टले मत पत्रमा रुख चिन्ह हुँदैन, त्यसैले सूर्यलाई भोट दिनोस् भनेर खुलेर माग्ने गरेका छन् । 

गुल्मीमा पहिले ३ सिट थिए र अहिले २ चुनावी सिट छन् । कांग्रेसले यहाँ ०४८ साल बाहेक अरु चुनाव जित्न सकेको छैन, बरु कमजोर हुँदै गइरहेको छ । गोकर्ण बिष्टले ०५६ सालदेखि बीचमा ०६४ बाहेक लगातार एमालेका तर्फबाट चुनाव जितिरहेका छन् । कांग्रेसलाई यसपटक बिष्ट हराउने मौका छ झाँक्रीलाई सहयोग गरेर र झाँक्री बिष्टलाई टक्कर दिने उम्मेदवारका रुपमा देखिएकी पनि छन् । त्यसैले एमालेबाट कांग्रेसको भोट तान्न कांग्रेसले आफ्नो उम्मेदवार उठाउनुपर्थ्यो भन्ने आवाज उठिरहेको छ । 

गुल्मी–२ मा कांग्रेसलाई एउटा राम्रो मौका छ एमालेलाई हराएर आफूलाई बलियो बनाउने, त्यसका लागि उसले दायाँबायाँ नगरी झाँक्रीलाई जिताउन सम्पूर्ण शक्ति लगाउने । किनकि यो क्षेत्रमा नेकपा एकीकृत समाजवादी लगभग छैन भन्दा हुन्छ र संगठन बन्ने सम्भावना पनि देखिन्न । र, झाँक्रीले जितिन् र संगठन बलियो बनाउने कोशिस गर्दा पनि एमालेकै नेता कार्यकर्ता तान्ने हुन् र कमजोर हुने एमाले नै हो । तर अहिले बिष्टले जिते कांग्रेस थप कमजोर हुनेछ, जबकि स्थानीय तह चुनावमा गठबन्धन गर्दा यहाँ कांग्रेसलाई फाइदा नै भएको छ । 

त्यसैले गुल्मी–२ का हरेक कांग्रेसले सोच्नुपर्ने कुरा एमालेलाई कमजोर बनाउने र आफू कसरी बलियो बनाउने भन्ने नै हो । अहिले त्यो भनेको एकमात्र मिशन एमाले हराउने र रामकुमारी झाँक्री जिताउने बाहेक अरु हुन सक्दैन । 

बिष्टले अहिले रामकुमारीलाई टुरिष्ट उम्मेदवार भन्ने गरेका छन् तर रामकुमारीलाई भूगोलको पोलिटिक्स गर्न नदिने पनि बिष्ट नै हुन्, हिजो माधवकुमार नेपालको गुटमा हुँदा शक्तिको प्रयोग गरेर ओली समूहका नेता कार्यकर्तालाई पीडित बनाउने पनि उनै हुन् । त्यसैले कांग्रेस कार्यकर्ताले उनको यो व्यवहारलाई हेरेर पनि कदम चाल्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप