बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतापपुरमा सेलिब्रेटीभन्दा विनोद चौधरीको क्रेज

बिहीबार, २४ कात्तिक २०७९, ०९ : ३७
बिहीबार, २४ कात्तिक २०७९

बुधबार नेपाली कांग्रेसले पश्चिम नवलपरासीमा ‘प्रदेश स्तरीय विशाल आमसभा’ आयोजना गरेको थियो । सो सभाको प्रमुख वक्ता थिए नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि ।

पूर्व पश्चिम राजमार्गको बर्दघाटबाट करिब १५ किलोमिटर दक्षिणमा पर्ने प्रतापपुर पुग्दा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोदकुमार चौधरीको आकर्षण कुनै सेलिब्रेटीको भन्दा कम देखिएन । चौधरी सो क्षेत्रका लागि नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार पनि बनेका छन् ।

चौधरीलाई भेट्न र एकपटक उनीसँग कुरा राख्नको लागि आम सर्वसाधारण लालायित भएको सभाको मञ्चमै देखिन्थ्यो । किनभने मञ्चमा नै उनलाई भेट्न र उनीसँग कानेखुसी गर्न जानेहरूको सङ्ख्या निकै ठुलो थियो । चौधरी पनि मौका मिलाएर सर्वसाधारणका गुनासा सुनिरहेका र आफ्नो तर्फबाट समाधानको विकल्प पनि दिइरहेका जस्तो देखिन्थ्यो ।

कार्यक्रममा वक्ताहरूले भाषण गरिरहँदा होस वा लोकगायिकाहरु चन्दा अर्याल र रितु थापाले आआफ्नो प्रस्तुति दिइरहँदा चौधरी भने कसैलाई माला लगाइदिँदै थिए, कसैसँग अँगालो मार्दै थिए भने कसैलाई कुनातिर लगेर उनीहरूका गुनासा कान थापेर सुन्दै थिए । लोकगायिका अर्यालले ‘खान्न म त पिँडालु क्योक्याउँछ...’ भन्ने बोलमा लोकगीत प्रस्तुत गर्दा र लोकगायिका थापाले गाएको ‘सुन सुन साथी हाम्रो काँग्रेस पार्टी...’ गीतमा लय मिलाउँदै टाउको हल्लाउन पनि भ्याएका थिए भने गितको तालमा नाच्नेहरूलाई हौसला दिन ताली पनि बजाउँदै थिए चौधरी ।

कार्यक्रममा चौधरीले दिएको भाषण पनि आम सर्वसाधारण ध्यानपूर्वक सुनिरहेका थिए । आफ्नो मन्तव्यमा चौधरीले विकासको यात्रामा जोडिन सबैलाई आह्वान गरेका थिए । विगतमा यस क्षेत्रबाट चुनाव जितेर जाने उम्मेदवारले यो क्षेत्रलाई उपेक्षा गरेको विचार व्यक्त गर्दै चौधरीले भनेका थिए ‘२५ वर्षसम्म यो क्षेत्रलाई उपेक्षा गरियो, अब जनताको भावना माथि खेलबाड हुँदैन । २५ वर्षदेखि नगुडेको विकासको रेल अब एक्सप्रेस गतिमा गुड्छ । आउनुहोस्, सँगै यात्रा गरौँ, जो छुटे तिनीहरू सदाका लागि छुटे ।’

चौधरीले विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था र यहाँको जीवनस्तर उस्ताको उस्तै रहनु दुर्भाग्यपूर्ण रहेको बताए । आम जनताको भावनालाई भड्काएर ब्ल्याकमेल गरेर जनताको मतलाई सत्ताको भर्‍याङ मात्र बनाउने प्रवृत्ति धेरै नटिक्ने चौधरीको भनाई थियो । स्थानीय श्रोत, साधनको समुचित सदुपयोग गरेर अघि बढ्न सके परिवर्तन चाडै नै सम्भव हुने भन्दै उनले जनताबाट अनुमोदित नभएको राजनीतिक यात्रा दीर्घकालीन नहुने धारणा राखे । अरूले जस्तो नकारात्मक टिप्पणी गरेर विरोध गर्ने आफूसँग फुर्सद नभएको र सकारात्मक सोच,र उचित एजेन्डामा नै जीवन समर्पित भएको चौधरीको भनाई थियो । 

नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले राजनीतिसँगै मुलुकको आर्थिक विकास जोडिने हुँदा यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि विनोद चौधरीलाई जिताउनु पर्ने बताए । नागरिकताविहीनको सवालमा बोल्दै निधिले एमालेले विधयेक रोकेको बताउँदै गठबन्धन सरकार बनेपश्चात् राष्ट्रपति परिवर्तन गरेरै भए पनि नागरिकता विधेयक पास गराउने प्रतिबद्धता जाहेर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप