शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

मप्रतिको जनताको माया र सद्भावमा अलिकति पनि कमी आएको छैन : रञ्जु दर्शना

विहीबार, २४ कार्तिक २०७९, १४ : १६
विहीबार, २४ कार्तिक २०७९

स्थानीय निर्वाचन, २०७४ मा लोकप्रिय मतसहित काठमाडौँ महानगरपालिकामा पराजित रञ्जु दर्शना यसपटक प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँ क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धा गर्दैछिन् ।

काठमाडौँ क्षेत्र नं. ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, वाम–लोकतान्त्रिक गबन्धकातर्फबाट साझा उम्मेदवारको रुपमा कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन् ।

यो क्षेत्रमा रञ्जु दर्शनासहित १४ जना स्वतन्त्र उम्मेदवार छन् । एकातिर प्रमुख दलका प्रभावशाली नेताहरु, अर्कोतिर स्वतन्त्र उम्मेदवारको भिडका बीच रञ्जु दर्शना कसरी आफ्नो चुनावी अभियानलाई अघि बढाइरहेकी छन् भन्नेबारे रातोपाटीले उनीसँगै संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, रञ्जु दर्शनासँग गरिएको कुराकानीको सम्पादित अंश–

२०७४ पछि ठ्याक्कै ५ वर्षमा तर स्वतन्त्र रुपमा मत माग्न जनताको घरदैलो गर्दै हुनुहुन्छ । कस्तो सद्भाव पाउँदै हुनुहुन्छ ?

२०७४ को स्थानीय निर्वाचनको बेला र अहिलेको प्रतिनिधिसभाको निर्वाचनको बेला मप्रतिको जनताको माया, सद्भावमा अलिकति पनि कमी आएको छैन । बरु अझ बढेको महसुस गरिरहेको छु । निर्वाचनकै सवालमा घरदैलो गर्दैगर्दा, मत माग्दै गर्दा यहाँका दाजुभाइ दिदीबहिनी, आमाबुवाहरुले ‘यो क्षेत्रबाट उठ्दिनुभयो, धन्यवाद’ भनिरहनुभएको छ । उहाँहरुको साथ सपोर्ट र हौसला समेत पाइरहेको छु ।

जहाँसम्म ५ वर्षपछिको राजनीतिमा ‘कमब्याक’को कुरा छ, हो, तपाईले जस्तै यहाँका जनताहरुले मलाई सोधेका छन्, ‘५ वर्षसम्म कता जानुभयो ?’ मैले उहाँहरुलाई उत्तर पनि दिइनै रहेको छु ।

अघिल्लो पटक स्थानीय तहको निर्वाचन लडिरहँदा म ब्याचलर फस्ट सेमेस्टरमा पढ्दै थिए । ब्याचलर पास गरेको थिइनँ, कम्तीमा मास्टर्ससम्म पास गर्नुपर्छ भन्ने मलाई लाग्छ । राजनीतिमा आएँ भनेर फेरि पढाई छाड्ने कुरा पनि भएन । यो ५ वर्षको अन्तरालमा मैले आफ्नो समयलाई भरपुर पढाइमा खर्चिएँ । ब्याचलर क्लियर गरेँ । डेपलमेन्ट स्ट्राडिजिमा त्रिभुवन युनिभर्सिटीको सर्टिफिकेट अहिले मसँग छ । त्यसो त डिग्रीमात्र होइन, डिग्रीसँगसँगै ज्ञान पनि बोकेको छु । पद्यमकन्या कलेजबाट मास्टर्स गरेको छु ।

सँगसँगै योबीचमा मैले आमासँग मिलेर सेलरोटीको व्यवसाय समेत गरेँ । सेलरोटी बेच्दैगर्दा धेरैले खिसिट्युरी पनि गरे, जाबो सेलरोटी बेच्ने भनेर । तर, मैले त बेचेँ, पैसा कमाएँ । यतिमात्र गरिनँ, सँगसँगै मैले यो अवधिमा आफ्नो राजनीतिक तयारी पनि गरिरहेको थिएँ । बाहिर बसेर पनि पार्टीको संगठन बलियो होस् भनेर काम गरिरहेको थिएँ । तर, सोचेजस्तो भइदिएन । पार्टीको अध्यक्षले नै अर्कैको चुनाव चिह्न बोकेर हिँडिदिनु भयो । खैर, अहिले म त्यतातिर जान चाहन्न । त्यसको असर भनौं वा पार्टीको विचलन ममा पनि प¥यो । त्यसैले पार्टीगत भन्दा पनि हामीजस्तो युवाहरु स्वतस्फुर्त आयो भने केही गर्न सकिन्छ भन्ने लाग्यो र मैले स्वतन्त्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएँ ।

यही क्षेत्रबाट तपाईजस्ता कयौं युवाले प्रतिनिधिसभाकै लागि उम्मेदवारी दिनुभएको छ । युवाकै खोजी गर्ने हो भने अब तपाईको उम्मेदवारी चाहिँ केका लागि ?

मेरो उम्मेदवारी मैले ल्याएको दमदार एजेन्डाका लागि । र अर्को, राजनीतिक उपस्थितिको निरन्तरताका लागि । यहाँका मतदाताहरु नयाँ उम्मेदवारहरुलाई के भनिरहेका छन् भने ‘ठिक छ, आयौ । यसपटक शुभकामना दिन्छु र अर्को पटक भोट दिन्छु ।’ यसको मतलब जनताहरु आफ्ना प्रतिनिधिहरुको राजनीतिक निरन्तरताको खोजी पनि गरिरहेका छन् । यो स्वाभाविक पनि हो । यही निरन्तरताका लागि पुनः म राजनीतिमा कमब्याक भएँ ।

अर्को कुरा, चुनाव लड्नु भनेको सामान्य कुरा होइन, कठिन कुरा हो । ५ वर्षसम्म के गरिस्, किन मौन रहिस् भन्ने प्रश्नहरु आइरहेका छन् । तर म चुप रहेको थिइनँ, राजनीतिक माहोल बनाउनकै लागि, आफूलाई राजनीतिमा अझ परिपक्व बनाउनकै लागि तयारी गरिरहेकी थिएँ । गम्भीर भएर नै यसपटक म आफ्नो घोषणापत्रसहित चुनावी मैदानमा उत्रिएको छु । अब संसदमा गएर रञ्जु दर्शना वील्सरब्लोर बन्ने हो । ठूलोठूलो प्रोजेक्टको भण्डाफोर गर्ने हो ।

रञ्जु दर्शनाको चुनावी एजेन्डामा खास त्यस्तो के छ, जुन अरुमा छैन ?

मैले आफ्नो घोषणापत्रमा मानसिक स्वास्थ्यको मुद्दा उठाइएको छु । बेनामी कारोबारसम्बन्धी मुद्दा उठाएको छु । वील्सरब्लोर मुखविर नीति सम्बन्धी कानुन बनाउनुपर्छ भन्ने मुद्दा उठाएको छु । यो उठाउनका लागि राज्यलाई आर्थिक भार पर्दैन । अरुले ओहो भन्ने खालका योजनाहरु ल्याउँछन् तर त्यसको कार्यान्वयनमा कति खर्च लाग्छ, ? राज्यको ढुकुटी रित्तिन्छ कि रित्तिदैन भन्ने कुराको कुनै हेक्का नै हुँदैन । यस्ता धेरै मुद्दाहरुमा राज्यको खर्च बिनानै धेरै सुधार गर्न सकिन्छ । सिस्टमहरु बसाल्न सकिन्छ, जुन मैले आफ्नो घोषणापत्रमा समेटेको छु ।

मुद्दा स्थापित गर्न संसदमा पुग्नुपर्छ, यसका लागि निर्वाचित हुनै पर्छ । तर ईश्वर पोखरेल, प्रदीप पौडेल जस्ता ठूलाठूला दलका उम्मेदवारसँगको प्रतिस्पर्धासँगै स्वतन्त्रहरुकै भिडमा आफू जित्नेमा चाहिँ कत्तिको विश्वस्त हुनुहुन्छ ?

म त जित्न आएको, जिताउने काम मेरा मतदाताहरुको हो । मैले यसपटक अनुहार लिएर, भाषण लिएर मतदाताको अगाडि आएको होइन, एजेन्डा लिएर आएको हो । सँगै राजनीतिक पार्टीका उम्मेदवार र अन्य स्वतन्त्रबाट आएका उम्मेदवारहरुको पनि आ–आफ्नै एजेन्डा होलान्, योजनाहरु होलान् । तर, म कसैलाई तानेर वा पछि पारेर आफू माथि जान आएको होइन । व्यक्तिगत रुपमा म कसैलाई गाली गर्न चाहन्न । विगतमा भाषणका क्रममा कतिलाई गाली पनि गरेँ होला तर अहिले गर्दिनँ ।

वास्तवमा मुलुकले चाहेको, खोजेको मुद्दा स्थापित गर्न मैले उम्मेदवारी दिएको हुँ । तर, मैले होइन राजनीतिक पार्टीहरुले मलाई कडा प्रतिस्पर्धीको रुपमा हेरिरहनुभएको छ ।

पछिल्लो पटक देशभर स्वतन्त्रहरुको उभार आइरहेको बेला तै जितिहालिन्छ कि भनेर छेको हान्न लागेको हो ?

मैले यसैको उत्तर दिन खोजिरहेको थिएँ । पुस महिना, २०७८ सालमा लगभग १ वर्ष अघि मैले स्वतन्त्रबाटै जाने निर्णयसहित पार्टीबाट राजीनामा दिएको थिएँ । त्यति बेला त स्वतन्त्रको लहर आएको थिएन होला । त्यतिबेलै स्वतन्त्र रुपमा राजनीतिमा अघि बढ्छु भन्ने निर्णय गर्नुको त अर्थ थियो होला । स्वतन्त्रबाट उठ्दैगर्दा, तयारी गर्दैगर्दा ठूला राजनीतिक दलहरुले आफूमा तान्न नखोजेका होइनन् । तर म कतै नगइकन स्वतन्त्र नै रहेँ नि त !

तर मलाई थाहा छ, म एक जना नजाँदैमा, स्वतन्त्रबाट उठ्दैमा आजको भोलि नै मुलुकमा आमुल परिवर्तन आउने, देशले काँचुली फर्ने भन्ने त हुँदैन । तर, १, २, ३.. गर्दै यसरी नै स्वतन्त्रहरु जाग्ने र जनताले विश्वास गर्ने हो भने त्यो असम्भव पनि छैन । देशमा स्वतन्त्रको लहर आयो, २–४ जनाले जिते, देशका लागि राम्रै भइरहेको छ । तर, स्वतन्त्रको लहर नआएको भए पनि यसपटक म काठमाडौँ क्षेत्र नं.५ बाट स्वतन्त्र रुपमा लड्थेँे लड्थेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप