बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा छिरेर राजनीति प्यूरिफिकेशन गर्नेछु : हेमराज थापा

बिहीबार, २४ कात्तिक २०७९, १४ : २०
बिहीबार, २४ कात्तिक २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वाम लोकतान्त्रिक गठबन्धकातर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल प्रतिस्पर्धामा छन् । 

यो क्षेत्रबाट २९ जनाले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन् । यीमध्ये राजनीतिक दलका तर्फबाट १४ र स्वतन्त्रतर्फबाट १५ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका हेमराज थापासँग रातोपाटीले चुनावी गतिविधिमा केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरेको कुराकानीको सम्पादित अंश–ः

तपाईं स्वतन्त्रतर्फबाट चुनावी अभियानमा हुनुहुन्छ । घरदैलोका क्रममा मतदाताले कस्तो प्रतिक्रिया दिएका छन् ?

हामीले मतदाताबाट एकदमै राम्रो माया र सद्भाव पाएका छौं । यस क्षेत्रमा राजनीतिक दलका उम्मेदवार मत माग्न आउँदा मतदाताले मुन्टो बटार्ने गरेका छन् । तर, हामी आएको देख्ने बित्तिकै मतदाताले ४ तलादेखि झरेर माया दिइरहनुभएको छ । पछिल्लो माहौलबाट हाम्रो जित सुनिश्चित भइसकेको देखिन्छ ।

यो क्षेत्रबाट धेरैपटक सांसद बनेका नेताहरू पटकपटक एउटै एजेन्डा बोकेर आउने गरेका छन् । अघिल्लो ५ वर्षमा पनि एउटै र त्यसको १० वर्षपछि सोही मान्छे निर्वाचनमा आउने गरेका छन् । यही कारणले पनि मतदाताले यसपटक मत परिवर्तन गर्नुहुन्छ ।

तपाईंहरू स्वतन्त्र स्वतन्त्र भनेर लागिरहनु भएको छ । तर, यही क्षेत्रमा स्वतन्त्र उम्मेदवारको लर्को छ । तपाईंको उम्मेदवारी चाहिँ किन ?

मेरो उम्मेदवारी स्वतन्त्रविरुद्ध नभएर पार्टीका भ्रष्ट मनोविज्ञान बोकेका व्यक्तिविरुद्ध हो । र, म यस क्षेत्रमा विगत लामो समयदेखि निरन्तर सडकबाट आवाज उठाइरहेको छु । यही विषयलाई भोलिका दिनमा संसदमा लगेर बोल्ने योजना बनाएको छु । म सांसद बन्ने परिकल्पना गर्ने योजना बन्नुभन्दा अघिदेखि नै सडकबाट जनताको आवाज बोलिरहेको छु । यसअघि, सडकबाट र सामाजिक सञ्जालबाट बोलिरहेका हामी सदनबाट आवाज उठाउनका लागि पनि मतदाताले हामीलाई चुन्नुपर्ने हुन्छ ।

तपाईंलाई यस क्षेत्रका मतदाताले निर्वाचिन गरेभने के कस्ता काम गर्नुहुन्छ ?

राज्य सञ्चालनमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गरी ३ वटा अंग हुन्छ । म जाने भनेको व्यवस्थापिकामा हो । व्यवस्थापिका भनेको नीति निर्माण गर्ने ठाउँ हो । म कार्यकारी हुनेछैन । त्यसैले मैले यस क्षेत्रबाट जितेर गए पनि देशैभरिका जनताको आवाज बोल्ने प्रयास गर्नेछु । 

अर्को कुरा, अहिले राजनीतिक दलप्रति मतदाता रुष्ट छन् । विश्वविद्यालय, सडक, खानेपानी, अस्पताल, विद्यालय, मालपोत, यातायात, कर कार्यालय, सबै प्रकारका सरकारी कार्यालय अस्तव्यस्त छ । यो राजनीतिक नियुक्तिका कारणले हो । त्यसैले मेरो मुख्य लक्ष्य नै सरकारी सेवामा राजनीतिक नियुक्तिको सट्टा सक्षम र दक्ष व्यक्तिलाई पठाउनु नै हुनेछ । यसका लागि निरन्तर आवाज उठाउँछु । 

यस्तै, यस क्षेत्रमा अलमलमा परेको विकास निर्माणका काम समेत अघि बढाउँछु ।

स्वतन्त्र रुपमा जितेको सांसदले संसदमा आफ्ना आवाज बुलन्द पार्न र जनताका समस्या समाधान गर्न सक्छ र ?

प्रतिनिधिसभामा छिरेपछि हाम्रो मूख्य काम भनेको बोल्ने नै हो । अहिले राजनीतिक दलहरूले आपसमा मिलेर करोडौं कमाइरहेका छन् । र, निर्वाचन जितेपछि फर्केर नआउने स्थिति छ । यो स्थितिलाई हामी परिवर्तन गर्छौं । यस्तै, ७५३ मध्ये ३ वटा स्थानीय तहमा स्वतन्त्रले जित्दा अहिले धेरै स्वतन्त्र उम्मेदवार उठे । यीमध्येबाट ३ वा ४ जनामात्रै जितेर गए पनि हामी संसद सफाईमा लाग्छौं ।

स्थानीय निर्वाचनमा २÷३ जनाले जितेको देखेर नै तपाईंहरूले उम्मेदवारी दिनुभएको हो ?

हैन । म त विगत ७÷८ वर्षदेखि नै जनताको आवाज बोल्दै आएको थिएँ । सोही कारण, तपाईंहरूले यस्ता प्रश्न गर्दा हामीलाई अन्याय हुन्छ । राष्ट्रियताको विषयमा हामीले आवाज उठाएका छौं । कोरोनाकालमा भएका भ्रष्टाचारका विषयमा हामीले आवाज उठाएका छौं । यही कारणले यो ५ वर्षमा म १९ पटक हिरासतमा पुगेको छु । विगत २० वर्षअघि हामी सानो हुँदा पनि यिनै उम्मेदवार थिए । अहिले हामीले उम्मेदवारी दिँदा पनि यिनै उम्मेदवार छन् । राजनीतिमा व्यापक ‘प्यूरिफिकेसन’ आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप